विकासन्युज

केरुङबाट नुवाकोटको छहरे हुँदै टोखा काठमाडौं रेलमार्ग सुरू गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताका आकाङ्क्षा पूरा गर्नेतर्फ वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् ।  विश्वमा दुर्लभ मानिएको रेडपाण्डा (रातो हाब्रे) संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले गोसाइँकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (लाकोस) द्वारा आयोजित ३०औँ वन्यजन्तु सप्‍ताह, १३औँ रेडपाण्डा ट्रफी तथा चौथो ग्रामीण चलचित्र महोत्सव समापन कार्यक्रममा उनले जनताका आकाङ्क्षा अनुरूप पूर्वाधार निर्माणमा वर्तमान सरकार केन्द्रित रहेको बताए ।  मन्त्री गुरुङले विगतमा अधुरा रहेका आयोजनालाई वर्तमान सरकारले पूर्णता दिनेगरी अघि बढिरहेको उल्लेख गरे । वर्तमान सरकार जनता केन्द्रित विकास, निर्माणमा जुटेकाले गाउँगाउँमा परिवर्तन महसुस हुने गरी काम भइरहेको उनको भनाइ छ ।  नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धनबाट बनेको वर्तमान सरकार परिवर्तन नहुने बताउँदै उनले भने, ‘सरकार परिवर्तन भइरहँदा कतिपय आयोजना अलपत्र पर्ने भएकाले पुराना अधुरा आयोजनालाई पनि पूर्णता दिने कामलाई यो सरकारले प्राथमिकतामा राखेको छ ।’ मन्त्री गुरुङले स्याफ्रु बेँसी-रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग व्यवस्थित गराउने प्रतिबद्धता जनाए । रसुवाको पर्यटन, सडकलगायत पूर्वाधार विकासमा सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको उनले उल्लेख गरे ।  केरुङबाट नुवाकोटको छहरे हुँदै टोखा काठमाडौं रेलमार्ग सुरू गर्ने, चालु आवभित्र रसुवाका प्रत्येक घर घरमा टेलिफोन सेवा पुर्‍याउने, जिल्लाका २७ वटै वडामा सञ्चार सेवा पुर्‍याई इन्टरनेट सेवा विस्तार गर्ने, सुशासन प्रत्याभूत गराउने, विज्ञान प्रविधिको विकास गर्दै इन्टरनेटको माध्यमबाट नागरिकको गुनासो सुनुवाइ गर्ने लगायत योजना सरकारले बनाएको मन्त्री गुरुङले जानकारी दिए ।  गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पू तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्थानीय बासिन्दा, नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकार जितु नेपाल, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधिलगायत राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थिति थियो ।

बजेट ‘फ्रिज’ हुँदा विकासले गति लिन सकेन : कांग्रेस उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले विनियोजित बजेट कार्यान्वयन नहुँदा विकासले गति लिन नसकेको बताएका छन् । कांग्रेस स्याङ्जा-काठमाडौं सम्पर्क समितिले नयाँ वर्षको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विनियोजित बजेट ‘फ्रिज’ हुँदा विकासले गति लिन नसकेको बताए । स्याङजाबाट प्रतिनिधिसभामा निर्वाचित पूर्वमन्त्री गुरुङले स्याङ्जाका सडकलाई जोखिम मुक्त बनाउने अभियानमा आफू लागेको बताए । उनले सिद्धार्थ राजमार्गको स्तरोन्नतिदेखि भित्री सडक जोखिम मुक्त बनाउने अभियानमा आफू लागेको उल्लेख गरे ।  उपसभापति गुरुङले विकास निर्माणमा राजनीति गर्न नहुने भन्दै सबै मिलेर समाज, जिल्ला र समग्र मुलुकको विकास सम्भव हुने धारणा राखे । एक पार्टीले अर्को पार्टीलाई गाली गर्दैमा गणतन्त्र बलियो नहुने भन्दै उनले आपसी सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए । 

२ करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

काठमाडौं । खोटाङको खोटेहाङ गाउँपालिका-६ इन्द्रेणी पोखरीमा अवस्थित पर्यटकीय स्थल ‘इन्द्रेणी पोखरी’ स्तरोन्नतिका लागि रु दुई करोडभन्दा बढी लगानी गरिएको थियो । बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणी पोखरीलाई स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सङ्घ, प्रदेश र स्थानीय तहले २ करोड १२ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेका हुन् । परापूर्वकालमा इन्द्रले बाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ । प्राकृतिक रूपमै पर्यटकीय स्थल रहेको यस पोखरीको चौतर्फी विकास गर्न स्तरोन्नतिको काम थालियो । यस कार्यले पोखरीलाई थप सुन्दर तथा मनमोहक बनाउँदै पर्यटक भित्र्याउन सघाउ पुग्ने भनेर स्थानीय वासी हर्षित भएका थिए । त्यस विपरीत प्राकृतिक रूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ । यसले स्थानीयको खुसी धेरै टिक्न सकेन । यो पोखरी वर्षौंदेखि जलहाँस तथा मलेवाको क्रिडास्थल (खेल्ने ठाउँ) थियो । हरेक नयाँ वर्षको दिन वृहत् मेला लाग्ने गर्दछ । समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको प्राकृतिक पोखरी (इन्द्रेणीपोखरी)को स्तरोन्नति गर्न भुइँ ढलान, बाल उद्यान निर्माण, पानीको फोहोरा निर्माण तथा पोखरी संरक्षणका लागि घेरबार निर्माण गरिएको छ । इन्द्रेणी पोखरीका नाममा रहेको करिब २१ रोपनी सार्वजनिक जग्गामा ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरीसमेत बनाइएको छ । पर्यटन प्रवर्द्धन गरेर आम्दानी वृद्धि गर्ने उद्देश्यले स्तरोन्नति गरिएको पोखरीमाथि इन्द्रेणीको स्वरूप देखाउन फलामको पाता प्रयोग गरेर इन्द्रेणीको आकृतिसमेत बनाइएको छ । राज्य कोषको २० लाख रुपैयाँ रकम खर्चेर बनाइएको सो इन्द्रेणीको आकृति पनि गत वर्षको हावा हुरीले ढाल्यो र पुनः राखियो । फरक–फरक समयमा फरक-फरक शीर्षकमा गाउँपालिकाबाट इन्द्रेणी पोखरीको स्तरोन्नति गर्न योजना बनाएर उपभोक्ता समितिमार्फत काम गरिएको हो । पोखरीको स्तरोन्नतिका लागि प्रदेश सरकारको ४० लाख रुपैयाँ, तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संसदीय विकास कोषबाट २० लाख रुपैयाँ गाउँपालिकाको १ करोड ५२ लाख रुपैयाँभन्दा बढी बजेट खर्च भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला तथा तराईका फाँटहरू अवलोकन गर्न सकिने ठाउँमा अवस्थित इन्द्रेणी पोखरीको स्तरोन्नतिपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको थियो । स्तरोन्नतिको काम गरिए सँगै उल्टै पोखरीको पानी सुकेपछि स्थानीय वासी निराश बनेका छन् । प्राकृतिक संरचनालाई स्तरोन्नति गर्ने क्रममा सावधानी नअपनाइएकाले समस्या सिर्जना भएको स्थानीय इन्द्र नारथुङ्गेले गुनासो गरे ।  ‘राज्य कोषको लगानीमा निर्माण हुने संरचनालाई गुणस्तरीय र उपयोगी बनाउन सबैले चासो दिन जरुरी छ  । इन्द्रेणी पोखरीको स्तरोन्नति गर्दा सावधानी अपनाउन सकिएन,’ उनले भने, ‘बिना अध्ययन यहाँ संरचना निर्माण गर्दा प्राकृतिक पोखरीको पानी नै सुकेको छ । यसले पोखरीको ऐतिहासिकता नै सङ्कटमा परेको छ ।’ इन्द्रेणी पोखरीबाट धार्मिक तथा पर्यटकीय स्थल बरापोखरी, उत्तर पूर्वी क्षेत्रमा पर्ने ट्याम्के, सोल ढुङ्गा, कपासे तथा रोक्सिम भञ्ज्याङलगायत पर्यटकीय स्थलहरू जोड्न सडक मार्गसमेत निर्माण गरिएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएको इन्द्रेणी पोखरीमा बाह्र महिना वनभोज खाने र दृश्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पोखरीको पानी नै सुकेपछि समस्या भएको स्थानीयले बताएका छन् । पर्यटन प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहको ठूलो लगानी भए पनि पानी सुकेपछि लामो समयदेखि उपयोग विहीन भएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताए ।  ‘इन्द्रेणी पोखरीमा कुनै पनि मुहान छैन । प्राकृतिक रूपमा बनेको पोखरीमा पानी सुकेपछि स्तरोन्नति गर्ने क्रममा गरिएको ढलानसमेत चिरा-चिरा भएर फुटेको छ । अन्यत्रबाट पानी ल्याएर लगाउने सम्भावना पनि छैन,’ उनले भने ।  १० स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहहरूले पनि आ-आफ्नो क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीय स्थलहरूको स्तरोन्नति गरिरहेका छन् । हलेसी, बराहापोखरी, टेम्के, जन्ते ढुङ्गा, तावा भञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुले लगायत धार्मिक तथा पर्यटकीय स्थलहरू स्तरोन्नतिको काम सुरु गरिएको छ । त्यहाँ पनि सतर्कता अपनाउन समयमै ध्यान दिनुपर्ने सरोकार भएकाहरूको आग्रह छ । 

शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न प्रहरी एक्लैको प्रयास सम्भव नहुने

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न प्रहरी एक्लैको प्रयास सम्भव नहुने बताएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीले आज पोखरामा आयोजना गरेको कार्यक्रममा उनले प्रहरी र स्थानीय समुदाय, सङ्घसंस्था, आमा समूह, विभिन्न क्लब, विद्यालय तथा स्थानीय तहको समन्वय र सहकार्यबाट अपराध रोकथाम गर्न सकिने धारणा राखे ।  विभिन्न सचेतना मूलक कार्यक्रम गरी जनचेतना अभिवृद्धि गर्ने कार्यमा समेत सामुदायिक सेवा केन्द्रको योगदान भएको खण्डमा समाजमा शान्ति कायम गर्न सघाउ पुग्ने उनले बताए ।  प्रहरी महानिरीक्षक थापाले भने, ‘समाजमा घट्ने जुनसुकै घटनाको जानकारी तुरुन्त प्रहरीलाई गराइ अपराधीलाई कानुनी दायरामा ल्याउन समुदाय र प्रहरीको साझेदारी आवश्यक छ । यसबाट छिटो अपराध अनुसन्धानमा सहयोग पुग्दछ ।’ थापाले देशभर रहेका १८१ सामुदायिक सेवा केन्द्रले प्रहरी र नागरिकका बीचमा पुलको रूपमा काम गरेर सुमधुर सम्बन्ध कायम राखी शान्ति सुव्यवस्था, अमन चयन कायम राख्ने तथा अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग गरेको बताए । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भीम पराजुलीले समुदाय र प्रहरीबीचको सहकार्यले समाजमा घट्ने आपराधिक घटनामा कमी आएको बताए । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसी, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलिया, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष गङ्गा थापा लगायतले सामुदायिक सेवा केन्द्रको भूमिकालाई अझ प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । 

७ सहकारीका ६६ जना सञ्चालकविरुद्ध मुद्दा, २० जना पक्राउ, उजुरी आउने क्रम बढ्दै

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा सहकारीको रकम अपचलन अभियोग लागेकामध्ये २० जना पक्राउ परेका छन् भने ४६ जना फरार रहेका छन् । विभिन्न सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको अभियोगमा हालसम्म २० जनालाई सञ्चालक पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठगीविरुद्ध जाहेरी परेका तीन सहकारीको अनुसन्धान सम्पन्न भई जिल्ला अदालतमा पेस भएको कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । ती सहकारीमध्ये बनेपाको पुण्यश्वरी सहकारीको ३ करोड ८० लाख ९३ हजार ४१८ रुपैयाँ, गरुड सहकारीको १४ करोड रुपैयाँ र युनिटी सहकारीको ३ करोड ५० लाख रुपैयाँभन्दा धेरै बचत फिर्ता नभएको अनुसन्धानबाट खुलेको छ । सूचना अधिकारी घलेका अनुसार यहाँ ७ सहकारीका ६६ सञ्चालकविरुद्ध ठगीमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । बाँकी ४ सहकारीको अनुसन्धान जारी  छ । थप केही सहकारीविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गर्नेगरी अनुसन्धान भएको जनाइएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले सहकारी ठगीबारे पछिल्ला केही महिनादेखि उजुरी तथा जाहेरी आउने क्रम बढ्न थालेको बताए ।   ‘७ सहकारीका ६६ जना सञ्चालक विरुद्ध मुद्दा परेकोमा २० जनालाई पक्राउ गरिएको छ, बाँकी फरार छन्, फरारको खोजी कार्य भइरहेको छ । पछिल्लो समय उजुरी आउने क्रम बढिरहेको छ,’ उनले भने । 

४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय तत्काल लागू गर्नुपर्ने

काठमाडौं । चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले आवासीय चिकित्सकलाई सङ्घीय सरकारको आठौँ तह सरहको ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने भनी गरेको निर्णय तत्काल लागू गर्नुपर्ने नेपाल चिकित्सक सङ्घले माग गरेको छ । चिकित्सा शिक्षा आयोगको वैशाख ३ गतेको बैठकले सिट पुनरावलोकनका साथै शुल्क समायोजनसम्बन्धी कार्यदल गठन गरेको थियो । उक्त विषयमा सङ्घको आज बसेको केन्द्रीय कार्यकारिणीको नियमित बैठकले गरेको निर्णय अनुसार प्रदर्शनरत आवासीय चिकित्सकलाई निःशर्त र सुरक्षित रूपमा काममा फर्कने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग गरेको हो ।  बैठकपछि सङ्घका महासचिव डा सञ्जीव तिवारीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनरत आवासीय चिकित्सकलाई निःशर्त र सुरक्षित रूपमा काममा फर्कने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग पूरा नभएसम्म यो कार्यदलको काम कारबाहीमा सहभागी नहुने भनी गरिएको निर्णय संयोजकलाई जानकारी गराउन चाहन्छु ।

संविधान र गणतन्त्र रक्षाका लागि ओली, देउवा र प्रचण्ड एकै ठाउँमा उभिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उनीहरूबीच संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमन चयनमा खलल पुर्‍याउने प्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनु पर्नेमा समान मत देखिएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ।  छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेका कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए । 

राप्रपाले निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी

काठमाडौं । गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘संविधान  र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई पनि कानूनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।