बैंकहरूको नाफा ४१.२४ अर्ब रुपैयाँ, नेपाल बैंकको छलाङ, नबिल नम्बर वान
काठमाडौं । वाणिज्य बैंकहरूले ९ महिनामा सवा ४१ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा २० बैंकले १.३८ प्रतिशत अर्थात् ५६ करोड ३८ लाख रुपैयाँ बढाएर ४१ अर्ब २४ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत वर्षको चैतसम्म यी बैंकको खुद नाफा ४० अर्ब ६७ करोड ८९ लाख रुपैयाँ थियो । पछिल्लो समय अर्थतन्त्र सुस्ताएका कारण बैंकहरूले व्यवसाय विस्तार गर्न सकेका थिएनन् । जसको कारण बैंकहरूको आम्दानी घट्न गई त्यसको असर नाफामा परेको देखिन्छ । समीक्षा अवधिमा ११ वटा बैंकको नाफा बढेको छ भने ९ बैंकको नाफामा गिरावट आएको छ । यसअवधिमा सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा नेपाल बैंक अग्रस्थानमा देखिएको छ । यस बैंकले २ हजार ३२ प्रतिशत नाफा बढाएर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । जबकी गत वर्षको चैतमा नेपाल बैंकको नाफा १३ करोड ५ लाख रुपैयाँ मात्रै थियो । तर, नबिल बैंक भने सर्वाधिक नाफा गर्ने बैंक बनेको छ । नबिल बैंकले चैतसम्म ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैतमा बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबी) बैंकको ३८.६१ प्रतिशत बढेर ४ अर्ब ५४ करोड रुपैयाँ, ग्लोबल आइएमईको ३७.१२ प्रतिशत बढेर ४ अर्ब ५३ करोड रुपैयाँ, एभरेष्ट बैंकको ३२.५५ प्रतिशत बढेर ३ अर्ब ४५ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको २८.८९ प्रतिशत बढेर १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै, सानिमा बैंकको १४.७९ प्रतिशत बढेर १ अर्ब ६५ करोड रुपैयाँ, एनएमबि बैंकको ५.८७ प्रतिशत बढेर २ अर्ब ३७ करोड रुपैयाँ, प्रभु बैंकको ३.५० प्रतिशत बढेर १ अर्ब ८७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३.३५ प्रतिशत बढेर १ अर्ब २० करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २.२४ प्रतिशत बढेर १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । समीक्षा अवधिमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको नाफा घटेको छ । एनआईसी एशियाको ९१.८१ प्रतिशत घटेर १५ करोड ६७ लाख रुपैयाँमा नाफा सीमित भएको हो । हिमालयन बैंकको ७४.३३ प्रतिशत घटेर ५० करोड ४८ हजार रुपैयाँ, कुमारी बैंकको ७२.८५ प्रतिशत घटेर २८ करोड ५८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४९.२८ प्रतिशत घटेर १ अर्ब २० करोड रुपैयाँ, प्राइम बैंकको २२.५५ प्रतिशत घटेर २ अर्ब २२ करोड रुपैयाँमा नाफा झरेको छ । यस्तै, सिटिजन्स बैंकको २०.५९ प्रतिशत घटेर ९६ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.१७ प्रतिशत घटेर २ अर्ब १७ करोड रुपैयाँ, कृषि विकास बैंकको १०.१६ प्रतिशत घटेर १ अर्ब ८४ करोड रुपैयाँ र सिद्धार्थ बैंकको १.१९ प्रतिशत घटेर १ अर्ब ६६ करोड रुपैयाँ मात्रै नाफा गरेका छन् ।
सम्पदा लघुवित्तको साधारण सभा सम्पन्न, मर्जर प्रक्रिया अघि बढाउने प्रस्ताव पारित
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा शनिबार तनहुँको बन्दिपुर–५ स्थित मर्स्याङ्दी रिभर भ्यू रिसोर्टमा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पारित गरिएको छ । सभामा ५६.१९ प्रतिशत सेयर सदस्यको उपस्थिति रहेको थियो। राष्ट्रिय स्तरमा सेवा विस्तार गर्दै आएको सम्पदा लघुवित्तले हालसम्म ४४ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थाको हालको चुक्ता पुँजी ७० करोड ८ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ । प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले साधारण सभामा दिएको जानकारीअनुसार संस्थाको पुँजीकोष अनुपात ८.१५ प्रतिशत, खराब कर्जा ४.८० प्रतिशत, प्रति सेयर आम्दानी (इपिएस) १० रुपैयाँ ४८ पैसा रहेको छ । सोही अवधिमा संस्थाले ७ करोड ३४ लाख २१ हजार ९० रुपैयाँ खुद नाफा आर्जन गरेको छ । हाल संस्थाले ९ अर्ब ६९ करोड ६५ लाख ७८ हजार ३ सय ४२ रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, २ अर्ब ५४ करोड ३२ लाख १३ हजार ५८ रुपैयाँ निक्षेप संकलन गरिएको छ । यसबाहेक, संस्थाले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ५६ करोड २८ लाख ५४ हजार ९ सय १३ रुपैयाँ ऋण लिएर लघुवित्त कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ । देशभर १५५ शाखा रहेको सम्पदा लघुवित्तमा हाल १ लाख ७७ हजार ९ सय २ जना सदस्य छन् भने ७६ हजार ९ सय २० जना ऋणी रहेका छन् । सभामा सेयर सदस्यहरूले राखेका जिज्ञासामा अध्यक्ष कृष्ण बहादुर थापा, कम्पनी सचिव पवन कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत पौडेलले स्पष्ट पारेका थिए । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष, सेयर सदस्य तथा पूर्व सञ्चालकहरूले मन्तव्य राखेका थिए । सभाबाट संस्थापक तर्फ अर्जुन कुमार सिंह, हरि प्रसाद डुम्रे, जिब मूर्ती पन्त र प्रदिप सिग्देल शर्मा सञ्चालकमा निर्वाचित भएका छन् । सर्वसाधारण तर्फबाट भेष राज रोकाया र विनोद तमाङ्ग सञ्चालकमा चयन भएका छन् । अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकमा बीपी एसोसिएट्स एण्ड चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ । साथै, अन्य लघुवित्तसँग सम्भावित मर्जरको प्रक्रिया अघि बढाउन नयाँ सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाबाट पारित गरिएको छ ।
कामना सेवा विकास बैंकको वित्तीय विवरण सार्वजनिक, निक्षेप र कर्जामा वृद्धि
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको कर्जा प्रवाह र निक्षेप संकलनमा उल्लेख्य वृद्धि देखिएको छ । बैंकको निक्षेप संकलन अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा ५९.०६ अर्ब रुपैयाँ रहेकोमा यस वर्ष सो बढेर ६१.८९ अर्ब रुपैयाँ पुगेको छ। निक्षेपसँगै कर्जा प्रवाह पनि बढेको छ । अघिल्लो वर्ष ४५.९८ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको बैंकले यस त्रैमासमा कर्जा प्रवाह ४९.४७ अर्ब रुपैयाँ पुर्याएको छ । समिक्षा अवधिमा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ भने कुल सम्पत्ति ७०.२७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा कुल सम्पत्ति ६७.१९ अर्ब रुपैयाँ थियो । बैंकको गैर–सञ्चालक कर्जा (एनपीए) अनुपात ३.५५ प्रतिशतबाट वृद्धि भई ४.२७ प्रतिशत पुगेको छ । यद्यपि, बैंकको निष्कृय कर्जा र कर्जा नोक्सानी व्यवस्थाको अनुपात भने १०४.६४ प्रतिशत रहेको छ, जुन बैंकको जोखिम व्यवस्थापन क्षमताको सूचक हो । बैंकले ब्याजदरको चाप, बढ्दो बजार प्रतिस्पर्धा र साइबर सुरक्षाका चुनौतीहरूबीच पनि व्यवसाय विस्तार गर्न सफल भएको जनाएको छ । हाल बैंकको देशभर १३० वटा शाखा छन्, जसबाट डिजिटल प्रविधिमार्फत विभिन्न वित्तीय सेवा प्रदान गरिँदै आएको छ । बैंकले अघिल्लो वार्षिक साधारणसभाबाट अविमोच्य अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको छ । अहिले उक्त प्रस्ताव नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको प्रक्रियामा रहेको छ ।
खोटाङका २ हजारभन्दा बढी घरमा अझै अन्धकार, विद्युतीकरणका लागि ५ करोड आवश्यक
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको सर्वेक्षणअनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रसारण लाइन तथा १० प्रतिशतमा माइक्रो हाइड्रो र सोलार ग्रिडबाट विद्युत् बलेको पाइएको हो । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको २५ वर्ष पूरा हुँदा पनि जिल्लामा अझै दुई हजारभन्दा बढी घरपरिवार उपभोक्तामा विद्युत् पुगेको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिक्तेल बजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् औपचारिक रूपमा उद्घाटन गरेका थिए । विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार जिल्लामा माइक्रो हाइड्रोबाट तीन हजार ४३० र सोलार ग्रिडबाट २८३ घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरिरहेका छन् । विद्युतीकरण हुन बाँकी जिल्लाका दुई हजार बढी घरपरिवार उपभोक्तामध्ये कतिपयले अझै पनि मट्टितेलको धिप्री तथा सोलार टुकीको भर पर्नुपर्ने अवस्था रहेको जनाइएको छ । विद्युत् बल्न बाँकी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्याउन रु पाँच करोड बजेट आवश्यक पर्ने विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले जानकारी दिए। “हामीले गरेको सर्वेक्षणअनुसार जिल्लाका दुई हजार उपभोक्ताको घरमा विद्युतीकरण हुन बाँकी छ । यसका लागि हामीले केन्द्रमा बजेटसमेत माग गरेका छौँ”, उनले भने, “केन्द्रबाट बजेट स्वीकृत भएर आएको खण्डमा आगामी वर्ष नै जिल्लामा पूर्ण विद्युतीकरणको काम सम्पन्न हुन्छ । त्यसका लागि सम्बन्धित ठाउँमा पहल गरिरहेका छौँ ।” दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित सबस्टेशनबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका उपभोक्तालाई विद्युत् वितरण गरिएको छ । तीन जिल्लाका उपभोक्ताका लागि वितरण गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत्मा पटकपटक समस्या देखिने गरेको छभने उक्त समस्या दीर्घकालीन रूपमा समाधान गर्न टावर अनिवार्य जडान गर्नुपर्ने विज्ञहरूले बताएका छन् । जिल्लामा उत्पादन गरिएका तीनवटा जलविद्युत् आयोजनाबाट १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाइड्रोपावर गरी १०.६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत् आयोजना ६.६ मेगावाट, केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा नं ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । जिल्लाका फरक–फरक तीनवटा खोलाबाट उत्पादन गरिएका जलविद्युत् बुइपास्थित ३३ केभी प्रसारण लाइनमा जोडिएका छन् । विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार जिल्लामा उत्पादित विद्युत्मध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन । जिल्लामा विस्तार गरिएका केन्द्रीय प्रसारण लाइनको विद्युत् पटकपटक अवरुद्ध हुँदा उपभोक्ता हैरानीमा पर्ने गरेका छन् । यतिसम्म कि अलि बढी पानी पर्दा, अलि ठूलो हावा चल्दा र बाढीपहिरो आउनासाथ विद्युत् अवरुद्ध हुने गरेको छ । एकैदिन दर्जनौँपटक विद्युत् आउने र जाने समस्याले तीन सेवाग्राही मारमा पर्दै आएका छन् । केन्द्रीय प्रसारण लाइनको विद्युत् झ्याप्प आउनेजाने समस्याका कारण विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत् अवरुद्ध हुने गरेको प्राधिकरणले जनाउँदै आएको छ । रासस
वितरणयोग्य नाफामा सिटिजन्स बैंकको ७५९.५६ प्रतिशत छलाङ, नाफा ९६.१८ करोड रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंकको चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा २०.६० प्रतिशत घटेर ९६ करोड १८ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ११.५८ प्रतिशत बढेर ४ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा २८.३४ प्रतिशत घटेर १ अर्ब ३३ करोड ४१ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी १४.८९ प्रतिशत बढेर ५ अर्ब ९७ करोड ६२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७५९.५६ प्रतिशत बढेर १६ करोड २६ लाख २१ हजार रुपैयाँ रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा १ करोड ८९ लाख १९ हजार रुपैयाँ थियो । फागुनसम्म बैंकको चुक्ता पुँजी ४ प्रतिशत बढेर १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ र जगेडा कोष १२.८३ प्रतिशत बढेर ७ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ रहेको छ । चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन ५.१३ प्रतिशत बढेर १ खर्ब ९८ अर्ब ९४ करोड ६० लाख रुपैयाँ र कर्जा लगानी ९.४० प्रतिशत बढेर १ खर्ब ६७ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २.६९ रुपैयाँ घटेर ८.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२.७५ रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ५.७१ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ३.७६ प्रतिशत थियो ।
अधिकांश सूचकमा माछापुच्छ्रे बैंकको फड्को, नाफा २८.८९ प्रतिशत बढाउँदा ईपीएस १२.६५ रुपैयाँ
काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा २८.८९ प्रतिशत बढेर १ अर्ब १० करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १०.४१ प्रतिशत बढेर ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ५२.७६ प्रतिशत बढेर २ अर्ब ५ करोड ७८ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी १३.०६ प्रतिशत बढेर ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७ करोड ७ लाख रुपैयाँ रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक थियो । फागुनसम्म बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ र जगेडा कोष १०.५१ प्रतिशत बढेर ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँ रहेको छ । चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन ६.९४ प्रतिशतश बढेर १ खर्ब ६९ करोड ६५ लाख ९० हजार रुपैयाँ र कर्जा लगानी १०.९४ प्रतिशत बढेर १ खर्ब ४० अर्ब ६१ करोड ५० लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २.८४ रुपैयाँ बढेर १२.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५६.२ रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ४.५९ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ३.६८ प्रतिशत थियो ।
लक्ष्मी सनराइज बैंकको नाफा १.६५ अर्ब रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । लक्ष्मी सनराइज (एलएस) बैंकको चालु आर्थिक वर्ष २०८१÷८२को तेस्रो त्रैमासमा खुद नाफा २.२४ प्रतिशत १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ७.३१ प्रतिशत घटेर ७ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा १३.३४ प्रतिशत बढेर २ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी २.०८ प्रतिशत घटेर १० अर्ब २४ करोड ५० लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक थियो । फागुनसम्म बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ र जगेडा कोष १०.५६ प्रतिशत बढेर १७ अर्ब ७६ करोड ९५ लाख रुपैयाँ रहेको छ । चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन ४.६४ प्रतिशतश बढेर ३ खर्ब ४४ अर्ब २० करोड ३० लाख रुपैयाँ र कर्जा लगानी ११.५८ प्रतिशत बढेर २ खर्ब ७६ अर्ब ४ करोड ६१ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ९.०५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७६.१६ रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ५.८६ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ५.४९ प्रतिशत थियो ।
एनआईसी एशिया बैंकको खुद नाफा १५.६७ करोड रुपैयाँ
काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा ९१.८१ प्रतिशत घटेर १५ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशत घटेर ७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष ९ महिनामा बैंकले ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकको खुद फि तथा कमिशन आम्दानी ४०.६६ प्रतिशत घटेर ९६ करोड ८१ लाख रुपैयाँ, सञ्चालन नाफा ६४.४० प्रतिशत घटेर १ अर्ब २९ करोड ५ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशत घटेर ९ अर्ब १९ करोड २२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक थियो । १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष १.४५ प्रतिशत बढेर १४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ रहेको छ । चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन १६.९५ प्रतिशत घटेर २ खर्ब ९४ अर्ब ६ करोड १ लाख रुपैयाँ र कर्जा लगानी १३.९४ प्रतिशत घटेर २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँमा झरेको छ । बैंकको नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १५.८९ रुपैयाँ घटेर १.४० रुपैयाँमा सीमित भएको छ । बैंकको मूल्य आम्दानी अनुपात २६६.६४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२.८५ रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ५.७५ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ३.०८ प्रतिशत थियो ।