विकासन्युज

सिभिल अस्पतालले प्रत्येक आइतबार विशेष ओपीडी सेवा सञ्चालन गर्ने

काठमाडौं । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार विहान ९ देखि दिउँसो १ बजेसम्म विशेष ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपीडी सेवा सञ्चालन गर्ने हो । अस्पतालका अनुसार विशेष ओपिडी सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान तथा घाँटी रोग (इएनटी), रेडियोलोजी र प्याथोलोजी लगायतका सेवा प्राप्त हुनेछ । सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिएसँगै सरकारी अस्पतालहरुमा विरामीको चाप बढ्दै गएको छ । त्यसैलाई मध्यनजर गर्दै अस्पतालले विशेष ओपीडी सेवा सञ्चालन गर्न लागेको जनाएको छ । 

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । छलफलमा सहभागी नागरिकहरूले ‘नोटबन्दी किन नगर्ने ?’ भन्ने प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा स्पष्ट पारे । 'नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ । तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन । नोटबन्दीबारे हामीले सोचेका छैनौँ,' उनले भने । नोटबन्दीको अभ्यास गरेका अन्य मुलुकमा पनि त्यसको सफलता राम्रो नदेखिएको उनको भनाइ छ ।

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र

काठमाडौं । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापनसम्बन्धी विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाएको हो । मन्त्रालयले स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट औषधि निःशुल्क वितरण गर्ने तथा वर्षभरि औषधिको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले संलग्न सूचीअनुसार सम्बन्धित तहको जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरेको छ । पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूचीसमेत संलग्न गरिएको छ । सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्रीसमेत समेटिएका छन् । स्थानीय तहले आफ्ना मातहतका स्वास्थ्य संस्थामा आवश्यक औषधिको उपलब्धता,भण्डारण तथा निःशुल्क वितरणलाई व्यवस्थित गर्नुपर्नेछ ।

मार्क जुकरबर्गले किने आयरल्यान्डमा ऐतिहासिक दरबार

काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले आयरल्यान्डको काउन्टी वाटरफोर्ड मा रहेको १९औँ शताब्दीको ऐतिहासिक स्ट्रान्काली क्यासल खरिद गरेका छन्। गोथिक शैलीमा बनेको यो सम्पत्ति उनले र उनकी पत्नी एक निजी डिलमार्फत किनबेच गरेका हुन्। उनले यो महल भ्रमणका  क्रममा बिदा मनाउने ठाउँको रूपमा प्रयोग गर्नेछन् । सार्वजनिक नगरिएको यो सम्झौतामा किनिएको दरबारको मूल्य खुलाइएको छैन । तर पहिलोपटक यो खबर छाप्ने पत्रिका ‘द आइरिस टाइम्स’ ले यसको मूल्य २ करोड युरो (करिब १७ मिलियन पाउन्ड) देखि ३ करोड युरोको बीचमा रहेको अनुमान गरेको छ । द हाउस अफ आयरल्यान्ड नामक पुस्तकका अनुसार यो दरबार सन् १८३० मा तत्कालीन कन्जर्भेटिभ सांसद जोन केलीका लागि बनाइएको थियो । वास्तुकार (आर्किटेक्ट) जेम्स र जर्ज रिचर्ड पेनले यसलाई यति विशाल शैलीमा डिजाइन गरेका थिए कि यसको ‘डाइनिंग रुम’बाट भान्छासम्म पुग्न मात्रै साढे चार लाग्छ । ब्ल्याकवाटर उपत्यकामा अन्य थुप्रै ऐतिहासिक सम्पत्तिहरू रहेका छन्, जसमा ‘ब्यालिनाट्रे हाउस’ पनि पर्छ । जसलाई उद्यमी जेम्स डाइसनले सन् २०२४ मा किनेका थिए । अझै उत्तरतर्फ जाने हो भने, प्रविधि प्लेटफर्म ’स्ट्राइप’ का सह–संस्थापक जोन कोलिसनले सन् २०२१ मा काउन्टी लाओसमा रहेको ‘एबी लेक्स’ नामक सम्पत्ति खरिद गरेका थिए । (एजेन्सीको सहयोगमा)  

कानुनी व्यवस्था स्पष्ट छ, सूचना प्रवाहमा अलमलिनु पर्दैन : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियासँग सम्बन्धित सूचना उपलब्ध गराउनु सूचना अधिकारीको कानुनी दायित्व भएको बताएका छन् । शुक्रबार सिंहदरबारमा आयोजित संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै सांसद पुनले प्रचलित कानुनबमोजिम सूचना प्रवाह गर्ने विषयमा समितिले छुट्टै निर्देशन दिइरहनु आवश्यक नरहेको बताएका हुन् । सांसद पुनले सूचना माग गर्ने व्यक्तिलाई कानुनले तोकेको ढाँचामा सूचना उपलब्ध गराउनु सूचना अधिकारीको अधिकार क्षेत्रभित्र पर्ने स्पष्ट पारे । समितिका सम्पूर्ण कामकारबाही पारदर्शी र सार्वजनिक रहेको उल्लेख गर्दै उनले संसदीय सुनुवाइ प्रत्यक्ष प्रसारण भएकाले कुनै पनि जानकारी गोप्य नरहेको दाबी गरे । सूचना माग गर्ने व्यक्तिले सूचना अधिकारीमार्फत प्रक्रिया अघि बढाउनुपर्ने र त्यसबाट चित्त नबुझे राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्न सकिने कानुनी व्यवस्था रहेको उनले बताए । समितिले सूचना अधिकारीको अधिकार क्षेत्रमा हस्तक्षेप गर्न नमिल्ने भन्दै पुनले विद्यमान कानुनी व्यवस्थाको पालना गर्नु नै उपयुक्त हुने धारणा राखे । उनले भने, ‘सूचना दिने विषय सूचना अधिकारीसँग सम्बन्धित हो । यो एक स्थापित र कानुनी बाध्यताको विषय भएकाले यसमा समितिले थप निर्देशन दिइरहनु आवश्यक देखिँदैन । हामीले सबै सुनुवाइ प्रक्रिया प्रत्यक्ष प्रसारण गरेका छौँ । यो देश–विदेशमा रहेका करिब ३ करोड नेपालीले थाहा पाइसकेको विषय हो, त्यसैले यसमा गोपनीयताको कुनै प्रश्न उठ्दैन ।’ सुनुवाइको कार्यविधि कतै पनि नमिचिएको दाबी गर्दै पुनले उजुरीकर्तालाई समेत मिडियाको उपस्थितिमा वा गोप्य रूपमा सुनुवाइ गर्ने विकल्प दिइएको बताए । उनका अनुसार उजुरीकर्ताकै रोजाइअनुसार मिडियाको उपस्थितिमा छलफल भएको थियो । ‘सम्बन्धित व्यक्तिको उजुरी, वितरण र माननीय सदस्यहरूबीचको प्रश्नोत्तर सबै सार्वजनिक भइसकेका छन्,’ उनले भने । सांसद पुनले कानुनी रूपमा स्पष्ट भइसकेका विषयलाई समितिको कार्यसूची बनाएर धेरै अल्झिरहन आवश्यक नरहेको बताए । सूचना अधिकारीले नै विद्यमान कानुनी व्यवस्थाअनुसार आफ्नो जिम्मेवारी पूरा गर्नु उपयुक्त हुने उनको भनाइ छ ।

बैंकका कर्मचारीहरूले बुझे साढे ७३ अर्ब तलब, कुन बैंकको कति बढ्यो ?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका २० वटा वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई तलबबापत कुल ७३ अर्ब ३६ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ७.२३ प्रतिशत अर्थात् ४ अर्ब ९५ करोड १४ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूले कर्मचारी तलबमा ६८ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ खर्च गरेका थिए । समीक्षा अवधिमा अधिकांश बैंकको कर्मचारी तलब खर्च बढेको छ । २० वाणिज्य बैंकमध्ये १७ वटा बैंकको कर्मचारी खर्च बढ्दा ३ वटा बैंकको खर्च घटेको देखिन्छ । तलबमा सबैभन्दा धेरै खर्च गर्ने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले गत वर्ष कर्मचारीलाई तलबबापत ५ अर्ब ४८ करोड ५६ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो वर्षको ४ अर्ब ८० करोड १५ लाख ३० हजार रुपैयाँको तुलनामा यो १४.२४ प्रतिशत अर्थात् ६८ करोड ४० लाख रुपैयाँ बढी हो । समीक्षा अवधिमा कर्मचारी तलब खर्च सबैभन्दा धेरै सिटिजन्स बैंकको बढेको छ । बैंकको तलब खर्च २०.१२ प्रतिशत अर्थात् ४० करोड ९६ लाख रुपैयाँले बढेर २ अर्ब ४४ करोड ५३ लाख ३१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ३ करोड ५६ लाख ५१ हजार रुपैयाँ खर्च गरेको थियो । यस्तै, नेपाल बैंकको १६.५४ प्रतिशत अर्थात् ६३ करोड ८८ लाख रुपैयाँ बढेर ४ अर्ब ४९ करोड ९१ लाख ९६ हजार रुपैयाँ, कुमारी बैंकको १३.४७ प्रतिशत अर्थात् ५८ करोड १० लाख रुपैयाँ बढेर ४ अर्ब ८९ करोड २० लाख ९८ हजार रुपैयाँ, सानिमा बैंकको १४.०५ प्रतिशत अर्थात् २६ करोड १३ लाख रुपैयाँ बढेर २ अर्ब २६ करोड ३० लाख १७ हजार रुपैयाँ तलबबापत खर्च गरेका छन् ।  यस्तै, माछापुच्छ्रे बैंकको १०.२६ प्रतिशत अर्थात् २५ करोड ३१ लाख रुपैयाँ बढेर २ अर्ब ७१ करोड ८९ लाख ३४ हजार रुपैयाँ, नेपाल एसबिआई बैंकको १०.१६ प्रतिशत अर्थात् २० करोड १५ लाख रुपैयाँ बढेर २ अर्ब १८ करोड ४८ लाख १० हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ९.५८ प्रतिशत अर्थात् ४७ करोड ६ लाख रुपैयाँ बढेर ५ अर्ब ३८ करोड २४ लाख ४ हजार रुपैयाँ, सिद्धार्थ बैंकको ९.०१ प्रतिशत अर्थात् २९ करोड २१ लाख रुपैयाँ बढेर ३ अर्ब ५३ करोड २३ लाख ३६ हजार रुपैयाँ कर्मचारी तलबमा खर्च गरेका छन् ।  त्यसैगरी कृषि विकास बैंकको८.११ प्रतिशत अर्थात् ३३ करोड ८३ लाख रुपैयाँ बढेर ४ अर्ब ५० करोड ८५ लाख ७८ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको ७.८६ प्रतिशत अर्थात् ३६ करोड ८९ लाख रुपैयाँ बढेर ५ अर्ब ६ करोड ४ लाख ७३ हजार रुपैयाँ, एभरेष्ट बैंकको ७.८३ प्रतिशत अर्थात् २० करोड ६८ लाख रुपैयाँ बढेर २ अर्ब ८४ करोड ७३ लाख २२ हजार रुपैयाँ, हिमालयन बैंकको  ६.९५ प्रतिशत अर्थात् २३ करोड ७९ लाख रुपैयाँ बढेर ३ अर्ब ६५ करोड ६३ लाख ७३ हजार रुपैयाँ तलबमा खर्च गरेका हुन् ।  प्राइम बैंकको ६.८० प्रतिशत अर्थात् १५ करोड ६० लाख रुपैयाँ बढेर २ अर्ब ४४ करोड ९९ लाख १० हजार रुपैयाँ, नबिल बैंकको ५.३४ प्रतिशत अर्थात् २७ करोड रुपैयाँ बढेर ५ अर्ब ३१ करोड ८९ लाख ९३ हजार रुपैयाँ, प्रभु बैंकको १.०३ प्रतिशत अर्थात् ४ करोड २७ लाख रुपैयाँ बढेर ४ अर्ब १७ करोड २६ लाख ४७ हजार रुपैयाँ, एनएमबि बैंकको ०.२९ प्रतिशत अर्थात् ८९ लाख रुपैयाँ बढेर ३ अर्ब ५ करोड १५ लाख ३७ हजार रुपैयाँ तलबमा खर्च गरेका हुन् ।  तर, गत वर्ष विधिन्न तीन एनआइसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) र स्ट्याण्डर्ड चार्टर्ड बैंकको कर्मचारीको तलबमा खर्च घटाएका छन् । एनआइसी एशिया बैंकको ७.८५ प्रतिशत अर्थात् १० करोड रुपैयाँ बढेर ३ अर्ब ५२ करोड २ लाख २६ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) ३.७६ प्रतिशत अर्थात् १५ करोड ६ लाख रुपैयाँ घटेर ३ अर्ब ८४ करोड ५८ लाख ५१ हजार रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.२९ प्रतिशत अर्थात् २ करोड १ लाख रुपैयाँ घटेर १ अर्ब ५३ करोड १ लाख ४४ हजार रुपैयाँ कर्मचारीको तलबमा भुक्तानी गरेका हुन् । 

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौं । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो । नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोरजी सेवा उपलब्ध हुनेछ । उक्त टावरबाट गौरी, ओखरवाडा, हाट सिँजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गालगायतका क्षेत्रमा सेवा पुग्नेछ । टावर सञ्चालनका लागि हाल सोलार ब्याट्री प्रयोग गरिएको छ । टावर स्थापना भएको दुई महिनाभन्दा बढी समय भए पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण सेवा सञ्चालनमा ढिलाइ भएको कार्यालयप्रमुख पुजाराले बताए । राष्ट्रिय प्रसारणलाईनबाट विद्युत् जडान गर्न नसकेपछि तत्कालका लागि सोलार प्रणालीमार्फत टावर सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।   सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । सोही योजनाअनुसार बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा यस हप्ताभित्रै फोरजी सेवा सञ्चालनमा आइसक्नेछ । सगरमाथा आधार शिविर क्षेत्रमा समेत ४जी सेवा विस्तारका लागि अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ ।   यसअघि उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा पनि ४जी सेवा विस्तार भइसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार नौ सय मिटर उचाइमा फोरजी सेवा सञ्चालनमा छ । त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार चार सय मिटर उचाइमा ४जी सेवा सुरु भइसकेको छ ।  देशका अन्य दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा समेत सेवा विस्तार गर्ने सरकारको योजना छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो ।  हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै रु छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।

रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, मूल्य ५ लाख ९९ हजार

काठमाडौं । रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा र वीरताको सम्मान गर्दै क्लासिक ३५० गोरखा एडिसन नेपाली बजारमा सार्वजनिक गरेको छ । गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो मोटरसाइकललाई नेपालको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ । विशेष गोरखा ग्रीन रङमा उपलब्ध मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ । क्लासिक ३५० को परिचित डिजाइनलाई निरन्तरता दिँदै गोरखा विरासत झल्काउने केही विशेष डिजाइन र फिचर थपिएका छन् । रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपाली राइडरमाझ लामो समयदेखि लोकप्रिय रहेको बताए । गोरखा एडिसनमार्फत नेपालको पहिचानसँग गहिरो रूपमा जोडिएको गोरखा विरासतलाई सम्मान गर्न पाएको उनले बताए । उनका अनुसार गोरखा समुदाय विश्वभर साहस, वफादारी र सम्मानका लागि परिचित छ । यही विरासतलाई क्लासिकको मौलिक पहिचानसँग जोड्ने प्रयास गरिएको उनले बताए । नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले क्लासिक ३५० ले नेपाली मोटरसाइकल पारखीमाझ विशेष स्थान बनाइसकेको बताए । गोरखा एडिसनले नेपालको पहिचानसँग जोडिएको इतिहास र मूल्यलाई नयाँ ढंगले प्रस्तुत गर्ने उनको भनाइ छ । क्लासिक ३५० गोरखा एडिसनमा क्लासिक सिरिजकै परिचित अपराइट राइडिङ पोस्चर, डिजाइन र जे–सिरिज इन्जिन दिइएको छ । सहज गियर सिफ्टका लागि यसमा असिस्ट एन्ड स्लिपर क्लचसमेत उपलब्ध छ । मोटरसाइकलसँगै कम्पनीले गोरखा कलेक्सन पनि सार्वजनिक गरेको छ । उक्त कलेक्सनमा गोरखा विरासतबाट प्रेरित राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेललगायत सामग्री समावेश छन् । कलेक्सनको डिजाइनमा क्रस खुकुरी, परम्परागत नेपाली ढाका बुनाइ र नेपाली हस्तकलाबाट प्रेरित तत्व प्रयोग गरिएको छ । गोरखा ग्रीन, रेजिमेन्टल क्रिमसन, ट्याक्टिकल ओलिभ ग्रीन, म्याट ब्ल्याक र वार्म ब्रन्जजस्ता रङलाई कलेक्सनमा प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्लासिक ३५० गोरखा एडिसन नेपालभर रहेका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ । यसको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।