आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल
काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा.अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सा विषयमा एमडी गरेका छन् । एमडीमा उनले स्वर्ण पदकसहित विशिष्ट श्रेणी हासिल गरेका थिए । उनी सन् २००९ देखि नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत छन् । यसअघि नरदेवीस्थित आयुर्वेद अस्पतालमा कन्सल्टेन्ट कायचिकित्सकका रूपमा समेत काम गरेका थिए । डा. अर्याल नेपाल आयुर्वेद मेडिकल काउन्सिलका पूर्व कार्यकारी सदस्य तथा सिंहदरबार वैद्यखाना विकास समितिका पूर्व कार्यकारी सदस्यसमेत हुन् ।
मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
काठमाडाै । नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा.श्रेष्ठसँग काउन्सिलको नियमन, परीक्षा, चिकित्सा शिक्षा र प्रशासनिक काममा लामो अनुभव छ । डा.श्रेष्ठले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि गरेका छन् । उनी सन् २०१४–२०१६ मेडिकल काउन्सिलको पदेन सदस्य तथा सन् २०१९–२०२३ मा मनोनीत सदस्यका रूपमा कार्यरत थिए । काउन्सिलमा रहँदा उनले शिक्षा, परीक्षा, आचारसंहिता तथा खरिदसम्बन्धी समितिको संयोजकको जिम्मेवारी सम्हालेका थिए ।
झुपडीमा बित्यो बाल्यकाल, युट्युबबाटै करोडौंको सम्पत्ति जोडेका मनोज
काठमाडौं । युट्युबले धेरैको जीवन बदलिदिएको छ। निरन्तर कन्टेन्ट बनाएर आफ्नो पहिचान त बनाए नै, साथै करोडौंको सम्पत्ति पनि जोडेका छन् भारतका लोकप्रिय युट्युबर मनोज डेले । कुनै समय गरिबीमा बाँचेका मनोज डे आज महिनामा लाखौं रुपैयाँ कमाउँछन् । उनीसँग धेरै गाडी छन्, जसमध्ये लगभग १ करोड २८ लाख रुपैयाँ मूल्यको मर्सिडिज बेन्ज एसयूभी पनि रहेको छ । मनोज डेको युट्युब च्यानलमा हाल करिब ७.७८ मिलियन सब्स्क्राइबर छन्, भने इन्स्टाग्राममा उनका करिब २० लाख फलोअर छन् । उनको यो उपलब्धि विशेष यसकारण पनि मानिन्छ किनभने उनको सुरुवाती जीवन अत्यन्त सामान्य र आर्थिक चुनौतीहरूले भरिएको थियो । मनोज डे झारखण्डका बासिन्दा हुन् र उनको जन्म एक गरिब परिवारमा भएको थियो । उनका बुबा गाउँमा साइकल पञ्चर बनाउने काम गर्थे र दिनको २०० देखि २५० रुपैयाँसम्म कमाएर ६ जनाको परिवार पाल्थे । मनोज र उनको परिवार गाउँको एउटा झुपडीमा बस्थे। उनले आफ्नो पढाइ सरकारी विद्यालयबाट पूरा गरेका थिए । पछि उनले गुजरातको एउटा कारखानामा पनि काम गरे, तर केही समयपछि आफ्नो गाउँ फर्किए । सुरुवाती दिनहरूमा मनोजले साह्रै सीमित स्रोतसाधनका साथ युट्युबमा भिडियो बनाउन थाले । कमाइ सुरु हुनुअघि थप आम्दानीका लागि उनले साना-साना काम पनि गर्थे । भिडियो सम्पादन सिक्नका लागि उनले निःशुल्क उपकरणहरूको प्रयोग गरे । सुरुमा उनका भिडियोमा धेरै भ्युज आउँदैनथे र उनले धेरैचोटि असफलताको सामना गर्नुपर्यो । मनोजको सफलताको कथामा असफलताको ठूलो भूमिका छ । उनका तीनवटा युट्युब च्यानल पूर्ण रूपमा असफल भए । एउटा च्यानलमा उनले गीतसम्बन्धी भिडियो राख्थे भने अर्कोमा हास्य सामग्री बनाउँथे । तेस्रो च्यानल प्रविधिसम्बन्धी थियो र यो राम्रैसँग बढिरहेको थियो, तर बीचमै त्यसको एडसेन्स बन्द भयो, जसले गर्दा विज्ञापनबाट हुने आम्दानी रोकियो । यति हुँदाहुँदै पनि मनोजले हार मानेनन् । उनले आफ्नो रणनीति परिवर्तन गरी निरन्तर नयाँ तरिकाले सामग्री बनाउन थाले । बिस्तारै उनका भिडियोले दर्शक पाउन थाले र लोकप्रियता तीव्र गतिमा बढ्दै गयो । युट्युबमा सफलता पाएपछि मनोजले आफ्ना उपकरण र स्टुडियो पनि स्तरोन्नति गरे । हाल उनी धेरैवटा युट्युब च्यानल चलाउँछन् र गुणस्तरीय सामग्री तयार पार्छन् । मिडिया रिपोर्टअनुसार उनको मासिक आम्दानी लगभग १६ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ, भने उनको कुल सम्पत्ति करिब १२ करोड ८० लाख रुपैयाँ रहेको अनुमान छ । यद्यपि, कुनै पनि युट्युबरको वास्तविक कमाइ विज्ञापन, ब्रान्ड डिल, प्रायोजन (स्पान्सरसिप) र अन्य आयस्रोतका आधारमा फरक-फरक हुन सक्छ । एजेन्सीको सहयोगमा
मुस्ताङ जाँदै प्रधानमन्त्री बालेन
काठमाडाै‌ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज पोखरा हुँदै मुस्ताङ जाँदैछन् । प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँगै उनका केही सल्लाहकार र सहयोगीसमेत मुस्ताङ जाने तयारी रहेको बताइएको छ । यद्यपि यस विषयमा प्रधानमन्त्रीको सचिवालयबाट केही खुलाईएको छैन ।
विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ पूर्वाधारको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदैछन् । मन्त्री श्रेष्ठ आफ्नो टिमका साथ शुक्रबार दिउँसो १ बजे कोशी प्रदेशको राजधानी विराटनगर प्रस्थान गर्दैछन् । टोलीले पूर्वमा विद्यमान विद्युत समस्या, प्रसारण लाइनलगायत पूर्वाधारको अवस्थाको निरीक्षण गर्नेछ । यसैगरी पूर्वमा सिँचाइको पहुँच, नहरहरुको अवस्थाको पनि स्थलगत अवलोकन गरेर आवश्यक सुधारका लागि रणनीति बनाइनेछ । ऊर्जामन्त्री श्रेष्ठको टिममा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिव मोहनकुमार शाक्य, मन्त्रीका निजी सचिव सुदर्शन श्रेष्ठ, सचिवालय सदस्य देवेश बेल्बासेलगायत छन् । यसैगरी जलस्रोत तथा सिँचाइ विभागबाट महानिर्देशक डा. महेश्वर श्रेष्ठ, उपमहानिर्देशक दिनेश भट्ट, नेपाल विद्युत प्राधिकरणका कामु निर्देशक दिर्घायुकुमार श्रेष्ठसहित अधिकारी जाँदैछन् । मन्त्रीको सचिवालयकाअनुसार तीन दिने भ्रमणका क्रममा इनरुवाको चार सय केभी भोक्राहा सबस्टेसन, केरौना सबस्टेसनको अवलोकन गरिनेछ । यसैगरी बराहक्षेत्र चतहराको नहरको साइट भिजिट गरिनेछ । यसैगरी नेपालको विरासत बोकेको चन्द्र नहरको पनि निरीक्षण गर्ने कार्यक्रम छ । मन्त्री श्रेष्ठले यसअघि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश पुगेर त्यहाँका समस्या प्रत्यक्षरुपमै बुझेका थिए ।
सुनको भाउ बढ्ने क्रम जारी, तोलामा ३ हजार ३ सय महँगियो
काठमाडौं । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढी ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
इरानमाथि ‘इतिहासकै कडा प्रतिबन्ध’ लगाउने अमेरिकी घोषणा
रोयटर्स । अमेरिकाले इरानमाथि ‘इतिहासकै कडा प्रतिबन्ध’ लगाउने घोषणा गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले नयाँ प्रतिबन्धले इरानविरुद्ध थप ठूलो सैन्य कारबाहीको आवश्यकता कम गर्न सक्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानलाई कुनै पनि प्रकारको सहयोग वा आर्थिक ‘जीवनरेखा’ उपलब्ध गराउने देशलाई आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। त्यसको भोलिपल्ट बेसेन्टले नयाँ प्रतिबन्धको घोषणा गरेका हुन्। बेसेन्टले प्रतिबन्धसम्बन्धी विस्तृत विवरण आगामी सोमबार सार्वजनिक गर्ने बताएका छन्। उनले इरानमाथि ‘अधिकतम आर्थिक दबाब’ दिइने भन्दै त्यसले ठूलो स्तरको सैन्य कारबाही पुनः सुरु गर्ने आवश्यकता कम गर्न सक्ने संकेत गरे। अमेरिकी चेतावनीपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीन साताभन्दा बढी समययताकै उच्च विन्दुमा पुगेको थियो। इरानविरुद्ध आर्थिक दबाब बढाएर करिब छ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रयासका कारण तेल बजार प्रभावित भएको हो। यस द्वन्द्वमा हजारौँ मानिसको मृत्यु भइसकेको छ। इरानले होर्मुज जलडमरूमध्यबाट हुने समुद्री आवागमनमा अवरोध सिर्जना गर्न सक्ने क्षमता देखाएपछि विश्व बजारमा थप चिन्ता बढेको छ। फेब्रुअरीअघि विश्वभर व्यापार हुने कुल तेलमध्ये करिब २० प्रतिशत यही जलमार्गबाट ओसारपसार हुने गरेको थियो। अमेरिका र इरानले अप्रिल र जुनमा दुईपटक युद्धविराम घोषणा गरेका थिए। होर्मुज जलडमरूमध्यमार्फत समुद्री आवागमन सहज बनाउँदै द्वन्द्व अन्त्य गर्ने उद्देश्यले गरिएका दुवै प्रयास छोटो समयमै असफल भएका थिए। इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि करिब पाँच दशकदेखि अमेरिकी आर्थिक प्रतिबन्ध सामना गर्दै आएको छ। अमेरिकी घोषणाअघि इरानी विदेश मन्त्रालयले अमेरिकी आर्थिक तथा व्यापारिक प्रतिबन्धको विरोध गर्दै त्यसलाई ‘आर्थिक आतंकवाद’ भनेको थियो। प्रतिबन्धले इरानको स्वतन्त्रता, गरिमा र राष्ट्रिय सार्वभौमसत्ता रक्षा गर्ने संकल्पमा कुनै प्रभाव नपार्ने इरानको भनाइ छ। बेसेन्टले नयाँ रणनीतिलाई ‘एकपछि अर्को प्रहार’को संज्ञा दिएका छन्। उनका अनुसार इरानमाथि जारी नौसैनिक नाकाबन्दी र नयाँ आर्थिक प्रतिबन्ध यसको मुख्य हिस्सा हुनेछन्। अमेरिकाले अप्रिलमा इरानमाथि नौसैनिक नाकाबन्दी लगाएको थियो, जुन जुनको मध्यमा एक महिनाका लागि स्थगित गरिएको थियो। बेसेन्टले अमेरिकी प्रतिबन्धले इरानमा प्रभाव पार्ने र वर्तमान शासन पतन हुने दाबी गर्दै अमेरिकी सहयोगी तथा विश्वका अन्य देशलाई आफ्नो पक्ष रोज्न आग्रह गरेका छन्। यसैबीच, इरानको सबैभन्दा ठूलो तेल खरिदकर्ता चीनमाथि पनि अमेरिकी दबाब पर्न सक्ने संकेत गरिएको छ। सन् २०२५ को तथ्यांकअनुसार इरानबाट निर्यात हुने तेलको ८० प्रतिशतभन्दा बढी चीनले खरिद गरेको थियो। तर चीनमाथि थप आर्थिक दबाब लगाए अमेरिकाविरुद्ध चीनले प्रतिकार गर्न सक्ने जोखिम रहेको छ। चीन अमेरिकालाई दुर्लभ खनिजलगायत महत्वपूर्ण सामग्री निर्यात गर्ने प्रमुख मुलुक हो। इरानसँग व्यापार गरेको भन्दै चीनलाई निशाना बनाउने सम्भावनाबारे सोधिएको प्रश्नमा बेसेन्टले केही विषय सार्वजनिकभन्दा निजी छलफलमार्फत समाधान गर्नु उपयुक्त हुने बताए। चीनको वासिङ्टनस्थित दूतावासले भने प्रतिबन्ध र दबाबले समस्या समाधान गर्न सहयोग नगर्ने प्रतिक्रिया दिएको छ। दूतावासले सम्बन्धित पक्षलाई जिम्मेवार कदम चाल्दै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ।
बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ तरलता खिच्न ६ महिनाका लागि निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै १७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ८५ अर्ब रुपैयाँ संकलन गर्न बोलकबोल आह्वान गरेको जनाएको छ । सूचनाअनुसार बोलकबोल भदौ ५ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत हुनेछ । निक्षेप संकलन उपकरणको निष्कासन पनि सोही दिन हुनेछ भने ब्याजदर बोलकबोलबाट निर्धारण गरिनेछ । राष्ट्र बैंकले निक्षेपको साँवा तथा ब्याज आगामी माघ २९ गते भुक्तानी गर्ने जनाएको छ । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यो निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । एउटै संस्थाले फरक–फरक ब्याजदरमा बहुबोलकबोल गर्न सक्ने व्यवस्था पनि गरिएको छ । राष्ट्र बैंकका अनुसार सबैभन्दा कम ब्याजदरबाट सुरु गर्दै आह्वान गरिएको रकम बराबरसम्म बोलपत्र बाँडफाँट गरिनेछ । समान ब्याजदरमा माग बढी भएमा ‘प्रो–राटा’ आधारमा रकम बाँडफाँट हुनेछ । राष्ट्र बैंकले आवश्यक परे सम्पूर्ण वा आंशिक बोलपत्र स्वीकार वा अस्वीकार गर्न सक्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिसँग रहने पनि जनाएको छ । यो निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ । तर, यसमा लगानी गरिएको रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने र राष्ट्र बैंकको निर्देशनअनुसार एसएलआर तथा तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ ।