विकासन्युज

ट्रकको ठक्करबाट महिला साइकलयात्रीको मृत्यु

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१, आन्दोलन चोकस्थित हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट एक महिला साइकलयात्रीको मृत्यु भएको छ। कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको मोरङको सुनवर्षी नगरपालिका–१० निवासी ४३ वर्षीय कृष्णप्रसादले चलाएको ना ५ ख २३६० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेकी साइकलयात्री जिल्ला कपिलवस्तु नगरपालिका–२, बर्गदवा बस्ने अन्दाजी २२ वर्षीया निशा गद्दीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी निशालाई व.प्र.का. तौलिहवा, कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी जिल्ला अस्पताल तौलिहवा पठाएको थियो। अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनामा उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। ट्रक तथा ट्रक चालक जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको नियन्त्रणमा रहेका छन् भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

पेटभित्र सुन लुकाएर ल्याएका बंगलादेशी नागरिक पक्राउ

काठमाडौं। पेटभित्र लुकाएर ल्याएको सुनसहित बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ परेका छन् । शुक्रबार नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्याप्सुल जस्तो देखिने ३५ वर्षीय मोहम्मदर रसिल हल्दार पक्राउ परेका हुन् ।  दुबईबाट काठमाडौं आएका विमानस्थलको भन्सार एरिया क्रस गरेर पार्किङतर्फ जाँदै गर्दा सादा पोशाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा करिब १५० ग्रामको सुन लुकाई ल्याएको भनी स्वीकार गरेका थिए । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार काठमाडौ मेडिकल कलेज, सिनामंगलमा प्लेभिक एरियाको एक्स रे जाँच गराउँदा शंकास्पद धातु पेट भित्र देखिएको थियो । तत्काल शौच गराउँदा उक्त वस्तु ननिस्किएर पेटमा अड्किएर बसेको देखिएको थियो । स्वास्थ्यमा कुनै प्रतिकुलता नदेखिएको र आवश्यक कानूनी प्रक्रिया पुरा गरी ५ दिन उनलाई अस्पतालमा भर्ना गरी राखिएको छ । बंगलादेशी नागरिकलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय गौचरमा बुझाइएको सूचना अधिकारी राजकुमार सिलवालले जानकारी दिए। 

बैंकहरुले कर तिर्न छुट्याए साढे ३७ अर्ब रुपैयाँ, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका वाणिज्य बैंकहरुले ३७ अर्ब ६२ करोड २ लाख ३३ हजार रुपैयाँ आय करका छुट्याएका छन् । सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूले छुट्याएको आय कर अघिल्लो वर्षको तुलनामा ९.१३ प्रतिशत अर्थात् ३ अर्ब १४ करोड रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूले ३४ अर्ब ४७ करोड रुपैयाँ आय कर छुट्याएका थिए ।  आयकरका लागि सबैभन्दा धेरै रकम छुट्याउनेमा नबिल बैंक रहेको छ । बैंकले गत आर्थिक वर्ष ३ अर्ब ६० करोड ३१ लाख रुपैयाँ आयकर छुट्याएको छ । नबिल बैंकले नै गत वर्ष बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९७ करोड रुपैयाँ आयकर छुट्याएको थियो । गत वर्ष अघिल्लो वर्षको तुलनामा २१.११ प्रतिशत अर्थात् ६२ करोड ८२ लाख रुपैयाँ बढी रकम करका लागि छुट्याइएको हो । त्यस्तै, सबैभन्दा धेरै आयकर छुट्याउने बैंकको दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले गत आर्थिक वर्ष ३ अर्ब ४५ करोड ५५ लाख रुपैयाँ आयकर छुट्याएको छ । यो अघिल्लो वर्षको २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँको तुलनामा ३१.४५ प्रतिशत अर्थात् ८२ करोड ६९ लाख रुपैयाँ बढी हो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ८३ हजार ३६७ प्रतिशत बढेर १ अर्ब १५ करोड ३५ लाख २७ हजार रुपैयाँ, सिटिजन्स बैंकको ८१.३७ प्रतिशत बढेर १ अर्ब ३९ करोड ५७ लाख ३ हजार रुपैयाँ, सानिमा बैंकको ५३.८२ प्रतिशत बढेर १ अर्ब ५३ करोड ३८ लाख २३ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ४९.६९ प्रतिशत बढेर १ अर्ब ३० करोड ३३ लाख ५२ हजार रुपैयाँ, प्रभु बैंकको ४६.३७ प्रतिशत बढेर २ अर्ब ३१ करोड ८ लाख ७१ हजार रुपैयाँ आय करका लागि छुट्याएका छन् ।  यस्तै, एनएमबि बैंकको ४१.१८ प्रतिशत बढेर १ अर्ब ७९ करोड ५५ लाख २९ हजार रुपैयाँ, प्राइम बैंकको १४.३९ प्रतिशत बढेर २ अर्ब २८ करोड ४१ लाख ३१ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ६.८१ प्रतिशत बढेर ३ अर्ब २ करोड ४६ लाख ६६ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकको २.०९ प्रतिशत बढेर ९२ करोड ८५ हजार रुपैयाँ आय करका लागि छुट्याएका छन् ।  गत आर्थिक वर्षमा ९ वटा वाणिज्य बैंकको आयकर रकम भने घटेको छ । कुमारी बैंकले ३५.९६ प्रतिशतले घटाएर २ अर्ब ९२ करोड ४५ लाख ९५ हजार रुपैयाँ आयकरका लागि छुट्याएको छ । त्यस्तै, कृषि विकास बैंकले १२.०२ प्रतिशत घटाएर १ अर्ब २ करोड ८१ लाख ५४ हजार रुपैयाँ तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले १२.२० प्रतिशत घटाएर १ अर्ब ३१ करोड ८५ लाख ८१ हजार रुपैयाँ छुट्याएका छन् । एभरेस्ट बैंकले १०.०९ प्रतिशत घटाएर २ अर्ब ३१ करोड ७१ लाख १५ हजार रुपैयाँ, हिमालयन बैंकले ६.८० प्रतिशत घटाएर १ अर्ब ५९ करोड ३१ लाख ६५ हजार रुपैयाँ र लक्ष्मी सनराइज बैंकले ५.९७ प्रतिशत घटाएर १ अर्ब ६४ करोड ६१ लाख ८२ हजार रुपैयाँ आयकरका लागि छुट्याएका छन् । नेपाल एसबीआई बैंकले ४.६२ प्रतिशत घटाएर ८८ करोड ७७ लाख १० हजार रुपैयाँ, सिद्धार्थ बैंकले २.९८ प्रतिशत घटाएर १ अर्ब ५९ करोड ३१ लाख १९ हजार रुपैयाँ र नेपाल बैंकले ०.३९ प्रतिशत घटाएर १ अर्ब ५३ करोड ११ लाख ४१ हजार रुपैयाँ आयकरका लागि छुट्याएका छन् ।

कृषि विकास बैंकको मोबाइल एपबाट १० लाखसम्म पुरस्कार जित्ने अवसर

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘एडीबीएल स्मार्ट प्लस’मा आन्तरिक राजस्व विभाग (आईआरडी)को करदाता प्रोत्साहन कार्यक्रम समावेश गरेको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने तथा कर अनुपालन बढाउने उद्देश्यले बैंकले एपमा यस्तो सुविधा थपेको जनाएको छ । नेपाल सरकार तथा आन्तरिक राजस्व विभागद्वारा सञ्चालित यस कार्यक्रमअन्तर्गत १०० रुपैयाँभन्दा बढीको क्यूआर भुक्तानी गर्ने ग्राहकले दैनिक १ लाख रुपैयाँसम्म र प्रत्येक १५ दिनमा १० लाख रुपैयाँसम्मको बम्पर नगद पुरस्कार जित्ने अवसर पाउनेछन् ।  कसरी सहभागी हुने ? कार्यक्रममा सहभागी हुन ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी कृषि विकास बैंकको मोबाइल बैंकिङ एपमार्फत मर्चेन्ट क्यूआर प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ । त्यसरी भुक्तानी गर्दा सम्बन्धित प्यान वा भ्याट बिल लिएर प्रमाणीकरणका लागि सुरक्षित राख्नुपर्नेछ ।  दैनिक १ लाखदेखि बम्पर १० लाखसम्म पुरस्कार आन्तरिक राजस्व विभागले तोकेको व्यवस्थाअनुसार योग्य डिजिटल कारोबार स्वतः भाग्यशाली छनोट प्रक्रियामा सहभागी हुनेछन् । एक जना भाग्यशाली ग्राहकले दैनिक पुरस्कारका रूपमा कर कट्टीपछि १ लाख रुपैयाँ नगद पाउनेछन् । त्यस्तै, प्रत्येक १५ दिनमा एक जना ग्राहकले १० लाख रुपैयाँको बम्पर नगद पुरस्कार जित्नेछन् ।  एपबाटै कारोबार र पुरस्कारको अवस्था हेर्न सकिने कृषि विकास बैंकले ‘एडीबीएल स्मार्ट प्लस’मा छुट्टै ‘आईआरडी इन्सेन्टिभ प्रोग्राम’ मेनु थपेको छ । यसमार्फत ग्राहकले आफूले गरेका योग्य कारोबारको संख्या, विस्तृत विवरण तथा कारोबारको इतिहास हेर्न सक्नेछन् । त्यसैगरी, ग्राहकले आफ्नो पुरस्कारको अवस्था र भाग्यशाली छनोटको नतिजासमेत एपबाटै हेर्न सक्ने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई मर्चेन्ट क्यूआरमार्फत डिजिटल भुक्तानी गर्न, प्यान वा भ्याट बिल लिन तथा एपमार्फत आफ्नो योग्यता नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ । यस कार्यक्रमले डिजिटल कारोबार विस्तार गर्दै नगदरहित अर्थतन्त्र निर्माण र वित्तीय पारदर्शिता बढाउन योगदान पुर्‍याउने बैंकको विश्वास छ ।

रास्वपाले विस्तार गर्‍यो सचिवालय, १० जना थपिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सचिवालय विस्तार गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गर्ने निर्णय गरेको हो । बैठकले सचिवालयमा १० जना सदस्य थप गरेको छ । विस्तारित सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा रहेका छन् । पार्टीका संगठनात्मक तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउन सचिवालय विस्तार गरिएको रास्वपाले जनाएको छ । विस्तारित सचिवालयले पार्टीका दैनिक राजनीतिक, सांगठनिक तथा संसदीय गतिविधिमा समन्वय गर्नेछ ।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक कार्कीले गरे पदबहाली

काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन् । पदबहालीपछि बोल्दै कार्कीले कोषको सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै यसअघि हुँदै आएका कामलाई अझ चुस्त र पारदर्शी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले कोषमा रहेको ठूलो रकम सरकारका प्राथमिकतामा रहेका परियोजना तथा उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउनुपर्ने बताए । त्यसका लागि कोषले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने उनको भनाइ छ । कार्कीले यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेकाले कोषका गतिविधि र कार्यप्रणालीबारे आफू जानकार रहेको बताए । आगामी दिनमा कोषलाई थप प्रभावकारी र सुदृढ बनाउँदै अघि बढाउन आफू प्रतिबद्ध रहेको उनले बताए । नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले कार्कीलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

सम्बन्धविच्छेद प्रमाणपत्रका लागि १० हजार घुस लिएको आरोपमा वडा सचिवविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार शाहविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने नाममा सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको आरोपमा शाहविरुद्ध आरोपपत्र दायर गरिएको हो । अख्तियारको कार्यालय इटहरीमा परेको उजुरीका आधारमा खटिएको टोलीले वडा सचिव शाहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र कानुनबमोजिम उपलब्ध गराउनुपर्ने जिम्मेवारी हुँदाहुँदै शाहले आफ्नो पद र अधिकारको दुरुपयोग गर्दै नियतवश ढिलासुस्ती गरेको आयोगको निष्कर्ष छ । दर्ता प्रक्रिया सहजीकरण गरी प्रमाणपत्र उपलब्ध गराइदिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस मागेर लिएको आयोगले जनाएको छ । आयोगका अनुसार शाहको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर ठहर भएको भन्दै बिगो १० हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

लघुवित्त क्षेत्रका चुनौती र सुधारबारे डेपुटी गभर्नर रावलसँग छलफल

काठमाडौं । नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन (एनएमबीए) ले नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावललाई भेटेर बधाई तथा शुभकामना दिएको छ । एसोसिएसनका अध्यक्ष रामबहादुर यादवको नेतृत्वमा पूर्वउपाध्यक्ष रामहरी दाहाल, सल्लाहकार तथा पदाधिकारीहरूको टोलीले रावललाई भेटेर नियुक्तिको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो । भेटका क्रममा एसोसिएसनका पदाधिकारीहरूले लघुवित्त क्षेत्रको स्थिरता, प्रभावकारी नियमन र संस्थागत सुदृढीकरणमा डेपुटी गभर्नर रावलको नेतृत्वबाट थप सहयोग र समन्वयको अपेक्षा रहेको बताएका छन् । सो अवसरमा डेपुटी गभर्नर रावल र एसोसिएसनका प्रतिनिधिबीच लघुवित्त क्षेत्रका समसामयिक विषय, नियामकीय व्यवस्था तथा क्षेत्रको सुधार र विकासका विविध पक्षमा छलफल भएको एसोसिएसनले जनाएको छ ।