विकासन्युज

१ खर्ब ८७ अर्ब ४४ करोडको वस्तु आयात, व्यापारघाटा १ खर्ब ४८ अर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा आयात र निर्यात दुवै वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८३ साउनमा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले वृद्धि भई २ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ बराबर पुगेको छ । गत आवको सोही महिनामा वैदेशिक व्यापारको आकार १ खर्ब ६६ अर्ब ९७ करोड रूपैयाँ बराबर  थियो । तथ्यांकअनुसार २०८३ साउनम १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको साउनको तुलनामा ३१.०४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको साउनमा १ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । त्यस्तै साउनमा ३८ अर्ब ७० करोडको वस्तु निर्यात भएको छ  छ । जुन अघिल्लो आवको तुलनामा ६१.७२ प्रतिशत धेरै हो । गत साउनमा २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको थियो ।  कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १७.११ प्रतिशत पुगेको छ । निर्यातको हिस्सा पोहोरको तुलनामा १९.४१ प्रतिशतले बढेको हो । आयातको हिस्सा ३.२५ प्रतिशतले घटेर ८२.८९ प्रतिशत कायम भएको छ । कुल व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड बराबर पुगेको छ ।  । जुन अघिल्लो साउनको तुलनामा २४.८८ प्रतिशत धेरै हो । गत वर्ष साउनमा १ खर्ब १९ अर्ब १० करोड बराबर व्यापार घाटा रहेको थियो । 

सँगै मजदुरी गर्ने साथीमाथि चक्कु प्रहार गरी हत्या, दुई जना पक्राउ

बागलुङ । बागलुङ काठेखोला गाउँपालिका–३, माझँकटेरामा लेबर काम गर्ने साथीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । उक्त घटनामा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । गत साउन २६ गते राति अन्दाजी ९ः४० बजेको समयमा काठेखोला गाउँपालिका–३, माझँकटेरास्थित श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा लेबर काम गरी बस्दै आएका ढोरपाटन नगरपालिका–७ स्थायी वतन भई हाल ढोरपाटन नगरपालिका–५ बस्ने ३६ वर्षीय अशोक खत्रीको हत्या भएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा सँगै लेबर काम गर्ने ढोरपाटन नगरपालिका–६ घर भएका २५ वर्षीय अर्जुन घर्ती मगरले खत्रीमाथि धारिलो हतियार प्रहार गरी ज्यान लिएको खुल्न आएको छ । घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय मानिसहरूसँग समन्वय गरी घटनापश्चात् भाग्न नपाउँदै अर्जुन घर्ती मगर र उनीहरूसँगै काम गरी बस्ने ढोरपाटन नगरपालिका–५ घर भएका ३६ वर्षीय रिखे दमाईलाई काठेखोला गाउँपालिका–३, धम्जा माझँकटेराबाट सोही दिन राति पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा अशोक खत्री, अर्जुन घर्ती मगर र रिखे दमाई काठेखोला गाउँपालिका–३, धम्जा माझँकटेरामा बस्ने देबेन्द्र खत्रीको ओखरको बिरुवा रोप्ने काम गर्न घरबाट हिँडेका थिए । बाटोमा अशोक खत्रीको घरमा काम परेपछि उनी बीचबाटोबाटै घर फर्किएका थिए भने अर्जुन घर्ती मगर र रिखे दमाई काम गर्ने स्थानमा पुगेका थिए । गत साउन २४ गते अशोक खत्री काम गर्नका लागि अन्य दुई जना काम गरिरहेको स्थानमा पुगेपछि तीनै जना सँगै बस्दै आएका थिए । साउन २५ गते राति तीनै जनाबीच फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर सामान्य झैझगडा भएको अनुसन्धानबाट खुलेको छ । त्यसको भोलिपल्ट दिनको काम सकेपछि तीनै जना सँगै बसी मादक पदार्थ सेवन गर्ने क्रममा अघिल्लो दिनको विषयलाई लिएर पुनः झैझगडा भएको थियो । सोही क्रममा अर्जुन घर्ती मगरले अशोक खत्रीमाथि धारिलो चक्कुले प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । मृतक अशोक खत्रीका १२ वर्ष, ९ वर्ष र ७ वर्षका गरी तीन जना छोरा रहेका छन् । उनकी श्रीमती पुनः गर्भवती रहेको र सम्पूर्ण परिवार अशोक खत्रीमै आश्रित रहेको जनाइएको छ । मृतककी श्रीमती दिलमाया भण्डारीले कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दरखास्त पेस गरेकी छन् । वारदातमा प्रयोग भएको चक्कु तथा रगत लागेका कपडासमेतका दशी प्रमाण बरामद गरिएको छ । पक्राउ परेका अर्जुन घर्ती मगर र रिखे दमाईलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको छ ।

बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी निर्मला मल्ललाई

काठमाडाै। बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी निर्मला मल्लले पाएकी छिन् । यसअघि सुदूरपश्चिम प्रदेश कार्यालयको प्रदेश प्रमुखको जिम्मेवारी केदारनाथ भट्टले पाएका थिए । भट्ट कर्णाली प्रदेश प्रमुख भएसँगै उक्त रिक्त पदमा मल्ल नियुक्त भएकी हुन्। निर्मला मल्ल नेपाल बीमा प्राधिकरणकी उपनिर्देशक हुन् ।  प्राधिकरणको केन्द्रिय कार्यालयमा उनले जोखिम व्यवस्थापनको सहित विभिन्न शाखामा काम गरिसकेको अनुभव रहेको छ । 

हिमालयन बैंकको १० प्रतिशत डिबेन्चर नेप्सेबाट सूचीकरण खारेज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन बैंक लिमिटेडको १० प्रतिशत डिबेन्चर २०८३ को सूचीकरण खारेज गरेको छ । नेप्सेका अनुसार बैंकले जारी गरेको ७ वर्ष अवधिको १० प्रतिशत ब्याजदर भएको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २५ लाख ६६ हजार ९०४ कित्ता डिबेन्चरको सूचीकरण खारेज गरिएको हो । ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड डिबेन्चर २०८३’को परिपक्व अवधि भदाै ८ गते समाप्त भएको नेप्सेले जनाएको छ । परिपक्व अवधि समाप्त भएसँगै भदाै ५ गतेको कारोबार समयपश्चात उक्त ऋणपत्रको सूचीकरण खारेज गरिएको नेप्सेको पत्रमा उल्लेख छ। नेप्सेले हिमालयन बैंकबाट प्राप्त सूचीकरण खारेजीसम्बन्धी पत्रका आधारमा ऋणपत्रको सूचीकरण खारेज गर्ने निर्णय गरेको जनाएको छ । उक्त डिबेन्चर ७ वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदरमा जारी गरिएको थियो ।

मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१, विश्वकर्मा चोकस्थित गौशाला–माइस्थान सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। गौशालाबाट माइस्थानतर्फ जाँदै गरेको ज. ७ प. ३७८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा गौशाला नगरपालिका–१ वानटोल बस्ने अन्दाजी ५ वर्षीय आदित्य कुमार महतोलाई ठक्कर दिँदा उनको टाउकोमा चोट लागेको थियो। गम्भीर घाइते भएका बालकलाई शुभ स्वस्तिक अस्पताल, बर्दिबासमा लगेर सामान्य उपचारपछि थप उपचारका लागि जनकपुरतर्फ पठाइएको थियो। इ.प्र.का. गौशालाबाट खटिएको टोलीले उक्त मोटरसाइकल र गौशाला नगरपालिका–८, बेलगाछी बस्ने अन्दाजी ४१ वर्षीय मोटरसाइकल चालक दिलीप कुमार खड्कालाई नियन्त्रणमा लिई इ.प्र.का. गौशालामा राखिएको छ। न्युरो अस्पताल, जनकपुरबाट थप उपचारका लागि बालकलाई मेडिसिटी अस्पताल, ललितपुर रिफर गरिएको थियो। मेडिसिटी अस्पताल, ललितपुरमा उपचारका क्रममा घाइते आदित्य कुमार महतोको मृत्यु भएको हो। घट्ना बारे थप अनुसन्धान भइरहेको छ ।

ब्रोड पिक दुर्घटनाका मृतक नेपालीका परिवारलाई नेको इन्सुरेन्सले दियो बीमा रकम

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा गएको हिमपहिरोमा परी मृत्यु भएका दुई नेपाली आरोहीका परिवारलाई नेको इन्सुरेन्स लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । हिमपहिरोमा विश्वप्रसिद्ध हिमाल आरोही निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको थियो। मृतकमध्ये पाँच जना नेपाली नागरिक रहेका थिए । सोही दुर्घटनामा मृत्यु भएका नेपाली नागरिक ग्यालु शेर्पा र ङाङ ठिन्डु शेर्पाका परिवारलाई ट्रेकिङ तथा एक्सपेडिसन बीमाअन्तर्गतको दाबी रकम भुक्तानी गरिएको नेको इन्सुरेन्सले जनाएको छ । उक्त बीमा सेवा सेवन समिट ट्रेक्स प्रालिमार्फत गरिएको कम्पनीले जनाएको छ । आवश्यक प्रक्रिया पूरा गरी दाबीको छानबिन तथा मूल्याङ्कनपछि कम्पनीले शीघ्र रूपमा बीमा रकम भुक्तानी गरेको हो । विपद्को कठिन समयमा बीमितका परिवारलाई आर्थिक राहत र सहयोग प्रदान गर्नु बीमाको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ । सेवन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले नेको इन्सुरेन्सले गरेको शीघ्र दाबी भुक्तानीप्रति खुसी व्यक्त गरे । ट्रेकिङ तथा एक्सपेडिसन व्यवसायमा शेर्पाहरू मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै उनले कठिन परिस्थितिमा गरिएको सहज र शीघ्र दाबी भुक्तानीले पीडित परिवारलाई ठूलो राहत पुगेको बताए । नेको इन्सुरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत पवन थापाले बीमा जोखिम हस्तान्तरणको माध्यम मात्र नभई दुर्घटना तथा विपद्का समयमा बीमित र उनका परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने महत्वपूर्ण आधार भएको बताए । उनले विशेषगरी ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा कार्यरत जनशक्तिका लागि उपयुक्त बीमा सुरक्षाको महत्वमा जोड दिए । नेको इन्सुरेन्सले आगामी दिनमा पनि बीमित तथा सेवाग्राहीलाई छिटो, सरल र प्रभावकारी दाबी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

भदौ ९ गते मात्रै बस्नेगरी राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं। राष्ट्रिय सभाको बैठक चार दिनपछि बस्नेगरी स्थगित भएको छ । शुक्रबारको राष्ट्रिय सभाको बैठक स्थगित गर्दै सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक यही भदौ ९ गते बस्ने जानकारी दिए ।

नाडा अटो शोमा नेपाल बैंकको अफर, ३ लाखसम्मको लाइफटाइम क्रेडिट कार्ड निःशुल्क

काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष तथा आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा नयाँ निजी तथा व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै बैंकले यस्तो योजना ल्याएको हो । योजनाअन्तर्गत नाडा अटो शोमा नेपाल बैंकबाट कर्जा लिएर जुनसुकै ब्रान्डका नयाँ सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत थप गरी कायम हुने ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकका अनुसार विद्युतीय तथा अन्य सबै प्रकारका नयाँ निजी र व्यावसायिक सवारीसाधन खरिदका लागि कर्जा सुविधा लिन सकिनेछ । यस योजनाअन्तर्गत कर्जा लिँदा कर्जा प्रशासनिक शुल्कबापत ०.५ प्रतिशत मात्र सेवा शुल्क लाग्नेछ । त्यसैगरी, कर्जा उपभोग गर्ने ग्राहकले कुनै अतिरिक्त शुल्कबिना ३ लाख रुपैयाँसम्मको आजीवन क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । नेपाल बैंकले नाडा अटो शोमा सहभागी ग्राहक तथा आम सर्वसाधारणलाई नजिकैको शाखामा सम्पर्क गरी बैंकका नवीनतम वित्तीय सेवा तथा सवारी कर्जासम्बन्धी सुविधाबारे जानकारी लिन आग्रह गरेको छ ।