विकासन्युज

वर्षाका कारण यी सडक अवरुद्ध, राति सवारी सञ्चालनमा रोक

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् भने केही सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ बजेसम्म जारी गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् । काभ्रेपलाञ्चोकको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ । मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नुवाकोटको टोखा-छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको छ । इलाम नगरपालिका-९, राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खसेपछि तथा सोही गाउँपालिकाको लिपिङमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका-५, खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका-२, स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६, रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। लमजुङको बेँसीशहर-मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका-४, रामबजारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । त्यसैगरी, रोल्पा र पाल्पाका प्रमुख सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। रोल्पाको माडी गाउँपालिका-६, झकलीमा रुखसहितको पहिरो खस्दा घोराही-थवाङ-रुकुम सहिदमार्ग अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दुबाट करिब एक सय मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा आज बिहान भूक्षय भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले अवस्था हेरेर सावधानीपूर्वक यात्रा गर्न र आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।  

आज देशभर बदली, ४ प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भू-भाग र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सावधानी अपनाउन अनुरोध गरिएको छ । महाशाखाले मौसमसम्बन्धी थप सूचना तथा पूर्वानुमानका लागि नियमित रूपमा जारी हुने सूचनामा अद्यावधिक रहनसमेत आग्रह गरेको छ ।

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई, सम्बन्ध थप सुदृढ बनाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा निर्वाचित मिर्जा फखरुल इस्लाम आलमगीरलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना दिँदै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्‍याएका छन् । शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बङ्गलादेशका जनतालाई जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित दुई देशबीच विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ढाकास्थित नेपाली राजदूतावासका अनुसार राष्ट्रपति पौडेलले आपसी हित र सहकार्यका आधारमा दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरेका छन् ।

सरकारी निकायमा स्वदेशी उत्पादन प्रयोग गर्न प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा हालै स्वदेशी उद्यमी र व्यवसायीसँग गरिएको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगलाई प्राथमिकता दिन अनुरोध गरेको छ । सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले यस्तो पहल गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र जारी गर्दै संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह तथा विदेशस्थित नेपाली नियोगसहित सबै सार्वजनिक निकायलाई खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको छ । आन्तरिक उत्पादनको योगदान बढाउने, बढ्दो आयातलाई प्रतिस्थापन गर्ने, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने, स्थानीय सीप तथा उद्यमको संरक्षण गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । निर्देशनअनुसार सरकारी कार्यालयका बैठक, समारोह, कोसेली, उपहार तथा सजावटमा सम्भव भएसम्म नेपाली हस्तकलाका सामग्री प्रयोग गर्नुपर्नेछ । त्यसैगरी स्टेशनरी, छपाइ सामग्री, फर्निचर, साजसज्जाका सामान, निर्माण सामग्री, मेसिनरी तथा उपकरण, कृषि तथा पशुजन्य उत्पादन, खाद्य तथा पेय पदार्थलगायत सामग्री खरिद गर्दा स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्नेछ । सार्वजनिक खरिद ऐन, २०६३ तथा अन्य प्रचलित कानुनी व्यवस्थाको अधीनमा रही सामानको उपलब्धता, गुणस्तर, मूल्य र सुरक्षाको मापदण्ड सुनिश्चित गर्दै स्वदेशी उत्पादन खरिद गर्नुपर्ने स्पष्ट गरिएको छ । सार्वजनिक निकायले बोलपत्रसम्बन्धी कागजात तयार पार्दादेखि नै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने विषय अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ । व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायका प्रमुखले नियमित रूपमा स्वदेशी वस्तुको खरिदको अनुगमन गर्नुपर्नेछ । साथै, सम्बन्धित मन्त्रालयले त्रैमासिक रूपमा निरीक्षण गरी स्वदेशी वस्तुको प्रयोग सुनिश्चित गर्नुपर्नेछ ।

३४ दिनमा संकलन भयो १ खर्ब राजस्व

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले १ खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन (बुधबार) सरकारको ढुकुटीमा १ खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कुल १ खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ । यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत र अन्य तर्फ १३.७८ प्रतिशत राजस्व संकलन भएको छ । सरकारले आर्थिक वर्ष २०८३/८४ मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ, जसलाई अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘मिसन १६ खर्ब’ नाम दिएका छन् ।  राजस्व चुहावट रोकेर ‘मिसन मोड’ मा राजस्वको उच्च लक्ष्य हासिल गर्ने उद्देश्यसहित अर्थ मन्त्रालय मातहतका निकायहरूलाई काम गर्न उनले निर्देशन दिँदै आएका छन् ।  गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४९ अर्ब राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको लक्ष्य गत वर्षको कुल संकलनभन्दा ३३१ अर्बले बढी हो ।

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ: शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा ऐन चाँडै टुंगोमा पुग्ने र त्यसबाट शिक्षा क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।  शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक संघ, नेपालको संयोजनमा धनगढीमा आयोजित ‘शिक्षा संवाद’ कार्यक्रममा मन्त्री पोखरेलले ऐनमा समेट्नुपर्ने विषयबारे देशभरबाट सुझाव संकलन भइरहेको बताए । उनले सातै प्रदेशमा भएका शिक्षा संवादबाट प्राप्त सुझाव र निष्कर्षलाई ऐनमा समेट्ने प्रयास भइरहेको जानकारी दिए । मन्त्री पोखरेलले अघिल्लो सरकारले शिक्षा ऐनको मस्यौदा तयार गरे पनि विद्यार्थी, अभिभावक तथा अन्य प्रमुख सरोकारवालासँग पर्याप्त छलफल नभएकाले थप सुझाव लिन समय दिइएको बताए । कार्यक्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले शिक्षा ऐन, नियम र नीति निर्माण गर्दा दीर्घकालीन प्रभाव र सुधारलाई केन्द्रमा राख्नुपर्ने बताए । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले सूचना प्रविधिको विकाससँगै विद्यार्थीको सिकाइ शैली परिवर्तन भइरहेकाले शिक्षक र पाठ्यक्रमलाई पनि समयअनुकूल ‘अपडेट’ गर्नुपर्नेमा जोड दिए । छलफलमा शिक्षक तथा कर्मचारीको वृत्तिविकास, सेवा सुविधा, अनुमानयोग्य बढुवा प्रणाली, प्रारम्भिक बालविकास केन्द्र, विद्यालय सहयोगी तथा सहायक कर्मचारीको पारिश्रमिक, विद्यार्थीको शैक्षिक गुणस्तर, अपाङ्गता भएका विद्यार्थीका लागि समावेशी शिक्षा तथा निजी, धार्मिक र सार्वजनिक शिक्षासम्बन्धी विषयमा सुझाव दिइएको थिया ।  सरोकारवालाले शिक्षक तथा कर्मचारीका समस्या समाधान नगरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नसकिने भन्दै सरकारले छलफल मात्र नभई समाधानका उपायसहित कार्यान्वयनमा जानुपर्ने बताएका थिए । कार्यक्रममा सार्वजनिक तथा निजी विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, विद्यार्थी र अभिभावकलगायत १२ समूहले छुट्टाछुट्टै सुझाव दिएका थिए । प्रधानाध्यापक संघ, नेपालका केन्द्रीय अध्यक्ष सुदामप्रसाद गौतमले शिक्षा ऐन, २०२८ समयानुकूल संशोधन हुन नसक्दा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान हुन नसकेको बताए। गत साउन ३१ गते विराटनगरबाट सुरु भएको ‘शिक्षा संवाद’ अभियान धनगढीमा पुगेर सम्पन्न भएको हो । अभियानअन्तर्गत विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल र सुर्खेतमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो ।

बीमा सेवा व्यवस्थित र बीमितमैत्री बनाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले बीमा सेवा थप व्यवस्थित, पारदर्शी र बीमित मैत्री बनाउन जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिलाई निर्देशन दिएको छ । कोशी प्रदेश कार्यालयमा शुक्रबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा नवनियुक्त प्रदेश प्रमुख राजेन्द्र महर्जनलाई स्वागत तथा बधाई दिँदै आगामी आर्थिक वर्षका कार्ययोजना, बीमा व्यवसायका चुनौती र सेवा सुधारका विषयमा छलफल गरिएको हो ।  कार्यक्रममा कोशी प्रदेशमा कार्यरत जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।  कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले बीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि अभिकर्तालाई थप जिम्मेवार, व्यावसायिक र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए ।  बीमितसँग प्रत्यक्ष सम्पर्कमा रहेर बीमा योजना बिक्री गर्ने अभिकर्ताले बीमालेखका सर्त, जोखिम, कभरेज, दाबी प्रक्रिया, ल्याप्स तथा सरेन्डरसम्बन्धी व्यवस्थाबारे स्पष्ट जानकारी दिनुपर्ने उनले बताए । मिससेलिङ (गलत वा अपूर्ण जानकारी दिएर बीमा बिक्री गर्ने प्रवृत्ति) न्यूनीकरणका लागि अभिकर्तालाई जिम्मेवार बनाउने गरी ‘डिक्लेरेसन फर्म’ विकास गरी कार्यान्वयनमा ल्याउनुपर्ने महर्जनको भनाइ थियो। बीमितलाई आवश्यक जानकारी दिएको सुनिश्चित भएपछि मात्रै बीमालेख जारी गर्ने प्रणाली विकास गर्नुपर्ने उनले बताए । मिससेलिङका कारण दाबी भुक्तानीका क्रममा समस्या उत्पन्न हुने गरेको उल्लेख गर्दै उनले अभिकर्तालाई बीमा योजनाको बिक्रीमा मात्र नभई व्यावसायिक आचरण, जोखिम पहिचान, बीमित परामर्श र बीमालेखका सर्तबारे नियमित प्रशिक्षण दिन कम्पनीलाई निर्देशन दिए । त्यस्तै, निर्जीवन बीमा व्यवसायमा बैंकमार्फत जारी हुने बीमालेखको विवरण र उपयुक्तता समेत प्रभावकारी रूपमा समीक्षा गर्न उनले आग्रह गरे ।  विशेषगरी सम्पत्ति तथा स्टक बीमामा कच्चा पदार्थ, अर्धतयारी तथा तयारी वस्तुको विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेमा उनले जोड दिए ।  बीमालेखमा उल्लेखित विवरण र वास्तविक जोखिमबीच असमानता हुँदा भविष्यमा दाबीका क्रममा विवाद हुनसक्ने भएकाले कम्पनीका प्रदेश प्रमुख तथा कर्मचारीले बीमालेख जारी गर्नुअघि आवश्यक विवरण र घोषणाको पूर्णता जाँच गर्नुपर्ने उनको भनाई थियो । बीमा व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी र विश्वासयोग्य बनाउन बीमितलाई पर्याप्त सूचना दिने, अभिकर्तालाई उत्तरदायी बनाउने तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने महर्जनले बताए ।  साथै, प्रदेश कार्यालय, शाखा, अभिकर्ता र सम्बन्धित निकायबीच समन्वय थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।

बागमतीका मुख्यमन्त्री थापामगरले विश्वासको मत लिने मिति सर्‍यो

काठमाडाै । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभामा विश्वासको मत लिने मिति संशोधन भएको छ । यसअघि भदौ ७ गते आइतबार विश्वासको मत लिने गरी तय गरिएको प्रदेशसभा बैठकसहितको कार्यक्रम अब भदौ ८ गते हुने भएको हो । प्रदेशसभा सचिवालयले शुक्रबार जारी गरेको संशोधित सूचनाअनुसार प्रदेशसभाको आठौं अधिवेशनको १८औं बैठक भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्नेछ । सोही बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।