विकासन्युज

सहरी क्षेत्रमा नयाँ अस्पतालका लागि जग हाल्नु पर्दैन, स्वास्थ्य बीमा सङ्कटमा छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विशिष्टिकृत उपचार गर्ने नयाँ अस्पताल अब सहरी क्षेत्रमा थप गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १७औँ स्थापना दिवस तथा रक्त सञ्चार केन्द्रको उद्घाटन समारोहमा उनले देशका सहरी क्षेत्रमा अब नयाँ विशिष्टिकृत अस्पताल खोल्न आवश्यक नभएको बताए ।  उनले भने, ‘सहरी क्षेत्रमा अब नयाँ अस्पताल निर्माण गर्न जग हालिरहनु पर्दैन । भएकै अस्पतालको प्रभावकारी व्यवस्थापन गर्ने, गुणस्तरीय सेवा प्रदान गर्ने, पूर्ण प्रविधिमैत्री बनाउने र सबै उपचार गर्न सक्न गरी क्षमता वृद्धि गरे पुग्छ ।’  देशभरका ६ हजार ७४३ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पुर्याउनुपर्ने र स्वास्थ्य सेवा पुगेका केन्द्रमा पूर्वाधार र प्रविधि नहुँदा गुणस्तरीय सेवा दिन नसकिरहेको उनको भनाइ छ । सरकारले नागरिकको स्वास्थ्य बीमाका लागि १० अर्बभन्दा बढी बजेट विनियोजन नगर्ने तर स्वास्थ्य बीमा बोर्डले विभिन्न अस्पताललाई तिर्नुपर्ने ३७ अर्ब रुपैयाँ पुगिसकेको बताउँदै नागरिकमा आधारित बीमा व्यवस्था लागू गर्न नसके बीमा सङ्कटमा पर्ने उल्लेख गरे । स्वास्थ्य बीमा सङ्कटमा मन्त्री पौडेलले भने, ‘डुब्न लागेको बीमालाई उतार्नुछ भने राज्यको लगानी र नागरिकको योगदानमा आधारित बीमा प्रणाली लागू गर्नुपर्छ ।’  मध्यपुरथिमि नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अस्पतालको गुणस्तरीय सेवा विस्तारका लागि नगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिरहेको बताउँदै अस्पतालाई उत्कृष्ट बनाउने प्रतिबद्धता जनाए ।  अस्पतालका कार्यकारी निर्देशक डा डिके रोशनले देशकै अब्बल अस्पताल बनाउने लक्ष्यका साथ अघि बढिरहेको र हाल दैनिक १ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको जानकारी दिए । 

खुल्न थाले विद्यालय, अभिभावकले सुरु गरे भर्ना अभियान र पठनपाठन

काठमाडौं । शिक्षक महासङ्घले घोषणा गरेको आन्दोलन अनिश्चित बन्दै गएपछि पर्वतका सामुदायिक विद्यालय खुल्न थालेका छन् । सामुदायिक विद्यालय सञ्चालनमा नआउँदा निजी विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढेको र यही अवस्थामा सामुदायिक विद्यालय थप प्रभावित हुने भएपछि  विद्यालय व्यवस्थापन समिति र अभिभावकले भर्ना अभियान सञ्चालन र पठनपाठन सुरु गरेका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका अनुसार विभिन्न स्थानीय तहले विद्यालय खोलेर भर्ना अभियानका साथै पठनपाठन सुरु गरेका छन् । कुश्मा नगरपालिकाका केही विद्यालय, मोदी गाउँपालिका, फलेवास, महाशिला, जलजलाका विभिन्न विद्यालय खुलेर नियमित पठनपाठन हुन थालेको इकाई प्रमुख मतिलाल चपाईले जानकारी दिए ।  इकाईका अनुसार जिल्लामा २७५ सामुदायिक र २८ निजी विद्यालय छन् । आन्दोलनमा नगएका शिक्षकले अभिभावक र व्यवस्थापन समितिको दबाबमा विद्यालय सञ्चालन गर्न थालेका हुन् । यहाँका सामुदायिक विद्यालयमा करिब १९ हजार विद्यार्थी अध्ययनरत छन् । 

नारायणगढ-बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

काठमाडौं । नारायणगढ-बुटवल सडक अन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई  वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माण कार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ देखि भोलिपल्ट बिहान ५ बजेसम्म आवागमन बन्द गरिने भएको हो । ‘दाउन्ने खण्डमा आवश्यक सडक मर्मत सम्भार र निर्माणकार्य गर्ने गरी रातको समयमा सवारीसाधन सञ्चालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता दिइएको छ,’ उनले भने, ‘सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षा अगावै सम्पन्न गर्नका निम्ति थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ ।’ यसअघि दाउन्ने सडकखण्डमा चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ देखि ३ बजेसम्म र २०८२ वैशाख १ गतेदेखि रातिको ११ देखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको छ । अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए ।  नारायणगढ–बुटवल सडकको ११४ किलोमिटर अन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।  १७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।

लुम्बिनीका विद्युतीय सवारी प्रयोग विहीन, राज्यको सम्पत्तिमा असर

काठमाडौं । लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो । कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन् । जसले राज्यको सम्पत्तिमा असर पारेको छ । यही वैशाख १३ गते लु१झ ६९६ नं को विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा क्षति भएको छ । विसं २०८० चैत २३ गते सोही भ्यानलाई अनधिकृत व्यक्तिले प्रयोग गरिरहेको देखेर स्थानीयले प्रहरीलाई बुझाएका थिए ।  कोषको सूचना शाखाका कर्मचारी राजन बस्नेतले उक्त सवारी अनधिकृत रूपमा चलाउँदा २०८० साल साउन १९ गते दुर्घटना भएको थियो भने भ्यान मर्मतका लागि २८ लाख रुपैयाँ खर्च लाग्ने प्राविधिकले जनाएका छन् । बस्नेतले चलाएको उक्त सवारीको ठक्करबाट लुम्बिनी सांस्कृतिक नगरपालिका-७ पक्डीहवाका ४० वर्षीय रविन्द्र यादव घाइते भएका थिए । साथै लु३१प १८६ नं को मोटरसाइकलमा ठूलो क्षति भएको उनको भनाइ छ । उनका अनुसार यहाँ लु१झ ६९४ नंको भ्यान पछाडितर्फ ठोक्किएको छ । ‘ढोकामा ह्यान्डल गायब छ भने एउटा पाङ्ग्रा खोलिएको छ । लु१झ ६९५ नं भ्यानको चारवटा पाङ्ग्रा पञ्चर भएको छ । पाँचमध्ये चार बसको एसी बिग्रिएको छ । लु १झ ३८४ नम्बरको बसमा अगाडिको सिसा फुटेको छ,’ उनले भने ।  एसियाली विकास बैंकको दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गतको क्लिनइनर्जी योजनाबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ वटा विद्युतीय सवारी कोषका नाममा विसं २०७९ जेठ १२ गते नामसारी भई आएका हुन् । विभिन्न दुर्घटनामा क्षतिग्रस्त भएका सवारीसाधन, तिनैमध्येबाट हुन् । लुम्बिनीमा ल्याइएका १४ भ्यान र ५ वटा विद्युतीय बस वातानुकूलित, अपाङ्गता मैत्री र स्वचालित ढोका भएका छन् । प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ । एकपटक पूरा चार्ज गरेपछि चार सय किमी गुड्न सक्ने उक्त बस/भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा पनि छ । अदालतले सेतोलाई हरियो नं प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न एक महिनाको समय सीमा तोकेर परमादेश जारी गरेको, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए ।  उक्त समय सीमा नाघीसकेपनि अवस्था जस्ताको त्यस्तै रहेको उनको भनाइ छ ।  ‘कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारीसाधनलाई उद्देश्य अनुसारको प्रयोगमा ल्याउन सकेका थिएनौँ । अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ,’ लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, ‘अब हरियो प्लेट बनाएर उद्देश्य अनुसारको प्रयोगमा ल्याइनेछ ।’ 

सरकार र शिक्षकहरूको वार्ता सकारात्मक, आज सहमति हुन सक्ने

काठमाडौं । सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीच सोमबारको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सोमबार सहमति हुन नसकेको हो । सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितको टोलीले गरेको थियो । वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए ।  उनले भने, ‘केही विषय टुङ्गो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ ।’ शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे । उनले महासङ्घसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथा शीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको जानकारी दिए ।  महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने उल्लेख गरे । वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् । आज बस्ने बैठकले  सहमति गर्ने तयारी भइरहेको छ ।  मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासङ्घसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताए ।   विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (आव २०८२/८३) वैशाख १९ गते ल्याउने भएको छ।  सोमबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने निर्णय गरेको हो ।  सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिद्वारा वाचन गरेर सार्वजनिक गर्ने संवैधानिक व्यवस्था रहेको छ।

तनहुँमा मोनोरेलको सञ्चालन गर्ने, एक साताभित्र लागतसहितको प्रतिवेदन आउने

काठमाडौं । तनहुँ जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केस्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ । छिम्केस्वरी पर्यटन विकास समितिको नेतृत्वमा आबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केस्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । काठमाडौंस्थित केडी मेटल वर्कसपका इञ्जिनियरको सहभागितामा आजदेखि अध्ययन सुरु गरिएको समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए । समुद्री सतहबाट २ हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केस्वरीमा मोनोरेल सञ्चालन गर्न सकिए प्रदेशकै उत्कृष्ट गन्तव्यस्थल बनाउन सकिने उनको भनाइ छ । छिम्केस्वरी माई मन्दिरको दर्शनका लागि आउने अशक्त, अपाङ्गता, वृद्धवृद्धालाई लक्षित गरी ठूल्ढुङ्गाबाट मन्दिरसम्म छ सय मिटर दूरीको मोनोरेल सञ्चालन गर्ने लक्ष्य लिइएको तामाङले बताए ।  उनले भने, ‘पहिलो चरणमा नापजाँच सुरु गरिएको छ । लागतसहितको प्रतिवेदन एक हप्ताभित्र आइपुग्छ । त्यसपश्चात् थप प्रक्रिया अगाडि बढाउँछौँ ।’ छिम्केस्वरीमा हाल वार्षिक १ लाख पर्यटक आउने गरेको तथ्याङ्क छ । छिम्केस्वरीमा पर्यटकीय पूर्वाधार निर्माण गरेर धेरै पर्यटक भित्र्याउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।  उनले भने, ‘हामी छिम्केस्वरीको एकीकृत पर्यटकीय विकासमा जुटेका छौँ । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौँ ।’ गाउँपालिकाले छिम्केस्वरीमा पूर्वाधार निर्माण गरेर समग्र गाउँपालिकाको विकासको योजना अगाडि बढाएको चुमानको भनाइ छ । छिम्केस्वरीमा सडक असुविधा, खानेपानी अभाव, विद्युत् समस्या, मोबाइल नेटवर्क र टावर व्यवस्थापनलगायत समस्या रहेकाले त्यसको क्रमशः निराकरण हुँदै जाने उनले बताए । सडक सञ्जाल स्तरोन्नतिका क्रममा रहेको भन्दै चुमानले खानेपानीको बजेट स्रोत भएर विस्तृत परियोजना प्रतिवेदन गरेर ठेक्का लगाउन बाँकी रहेको जानकारी दिए ।  छिम्केस्वरीमा पानीको अभाव हुँदा विकास निर्माणमा बाधा पुग्दै आएको छ । खानेपानी सुविधाका लागि खानेपानी मन्त्रालयबाट बजेट विनियोजन भई विस्तृत परियोजना प्रतिवेदनको चरणमा रहेको चुमानको भनाइ छ ।  उनले भने, ‘वडा नं ४, ५ र ६ लाई समेटेर एकीकृत छिम्केस्वरी खानेपानी आयोजना अगाडि बढाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) भइरहेको छ । डिपिआर सकिएपछि मन्त्रालयबाट ठेक्का आह्वान हुनेछ ।’ उनका अनुसार खानेपानीका लागि करिब १० करोड रुपैयाँ लाग्ने अनुमान छ । विशेषगरी यहाँ फागु पूर्णिमा, वैशाख १ गतेको नयाँ वर्षलगायत बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ । त्यसका अलवा दैनिक रुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छिम्केस्वरी पर्यटन विकास समितिका अध्यक्ष तामाङले जानकारी दिए ।  उनका अनुसार आबुखैरेनी गाउँपालिकाले छिम्केस्वरीमा रहेको छिम्केस्वरी मन्दिर जीर्णोद्धार गरिसकेको छ । यसअघि रहेको पुरानो मन्दिरलाई जीर्णोद्धार गरी मन्दिरलाई आकर्षक बनाइएको छ । मन्दिरमा पित्तलको छानो राखिएको छ । गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केस्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केस्वरीमाई यहाँ अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोहीस्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केस्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रेलगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ । छिम्केस्वरी मन्दिर पुग्न गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण भइसकेको छ । आर्थिक वर्ष २०७५/७६ मा ४१ लाख ६३ हजार ७०६ रुपैयाँको लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आव २०७६/७७ मा ३५ लाख ९९ हजार १४१ रुपैयाँको लागतमा ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।

पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

काठमाडौं । पाथीभरा देवी दर्शन केवलकार कम्पनीद्वारा ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्माणाधिन केवलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।  सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले गत हप्ता काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्माणाधीन केबरकारसँग सबन्धित स्थानीयवासीहरूका सरोकारका केही विषयमा छलफल गर्ने आग्रह गरिएकोमा कम्पनीले त्यसलाई सकारात्मक रूपमा लिएको बताएको छ ।  कम्पनीले सधै स्थानीयको माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको व्यहोरा जानकारी गराउँदै त्यहाँका स्थानीय धर्म, संस्कृति, पहिचान र सभ्यताको जगेर्ना गर्दै त्यसको प्रवद्र्धन गर्न कम्पनीको तर्फबाट यथासक्य सहयोग रहने प्रतिवद्धता व्यक्त गरेको छ ।  कम्पनीले परियोजना निर्माणका लागि आवश्यक नेपाल सरकारको मापदण्ड अनुसार वातावणीय प्रभाव मूल्याङ्गनलगायत सम्पूर्ण सरकारी प्रक्रिया पुरा गरेर परियोजना निर्माणको क्रममा रहेको बताएको छ । साथै स्थानीय कला, संस्कृति, पहिचान र धार्मिक परम्परा बमोजिम परियोजना निर्माण गर्ने र आवश्यकताअनुसार स्थानीय जनप्रतिनिधि तथा सबै सरोकारवालाहरूसँग वार्ता, छलफल तथा समन्वय गरी अगाडि बढ्ने जानकारी समेत गराएको छ ।  “हामीलाई विश्वास छ वार्ता तथा सम्वादबाट जुनसुकै समस्याको पनि समाधान निस्कन सक्छ । हामी केबलकार निर्माणमा देखिएका विषयहरुलाई लिएर पहिचानका लागि स्थानीय युवाले वार्ता र सम्वादका लागि गरेको आग्रहलाई सकारात्मक रूपमा लिन्छौं र यस विषयमा वार्ता तथा सम्वादमा बस्न तयार छौं,” विज्ञप्तिमा भनिएको छ । प्रेस विज्ञप्ति पाथीभरा देवी दर्शन केवलकार प्रा. लि. मिति २०७२ साल असोज ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । पर्यटकीय स्थलमा आवश्यक पूर्वाधार निर्माण गरी पर्यटक आगमनको संख्यामा उल्लेखनीय वृद्वि गरी उक्त स्थानको धार्मिक, सास्कृतिक संरक्षण गर्दै सामाजिक र आर्थिक, अवस्थामा टेवा पु¥याउने कम्पनीको उदेश्य रहेको छ ।  यस कम्पनीले आफ्नो स्थापनाकाल देखि ताप्लेजुङ जिल्लास्थित पाथीभरा देवी दर्शन गर्ने तीर्थालू भक्तजन र पर्यटकहरुलाई मन्दिरसम्म सहजै पुग्नको लागि केवलकार निमार्णको सम्पूर्ण कानुनी प्रक्रियाहरु पूरा गरी निर्माण कार्य अगाडी बढाएको सर्वविदितै छ । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका वडा नं. ११ काफ्लेपाटीमा केवलकारको बटम स्टेशन रही पाथीभरा देवी मन्दिर परिसरभन्दा केही बाहिर माथिल्लो स्टेसनसम्मको दुरि जम्मा २.७५ किलोमिटर लम्बाई रहेको छ ।  यस केबलकार निर्माणको लागि आवश्यक पर्ने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भई नेपाल सरकार मन्त्रिपरिषद् निर्णयबाट भोगाधिकार प्राप्त गरी सो बापत १०६ रोपनी जग्गा खरिद गरी नेपाल सरकारलाई सट्टाभर्ना समेत दिइसकेको छ । आयोजना निर्माणको लागि आवश्यक रुख कटान गरी साइट क्लियर गर्ने काम समेत सम्पन्न भइसकेको छ । त्यसैगरी, कटान भएका एउटा रुखको सट्टा २५ रुखका दरले आयोजनाले वृक्षारोपण समेत गर्नेछ ।  आयोजनाले हालसम्म आयोजनास्थलसम्म पुग्ने पहुँचमार्ग निर्माण, विद्युत लाइन विस्तार, खानेपानी व्यवस्थापन, विस्तृत इन्जिनियरिङ् डिजाइन, माटो परीक्षण, तल्लो स्टेसनमा कामदार बस्ने क्याप निर्माणलगायतका काम सम्पन्न गरिसकेको छ । पाथीभरा देवी दर्शन केबलकार निर्माण भएमा पहिचानको नाम र आत्मसम्मान साथै स्थानीय धर्म, संस्कृति र परम्परा आदि महत्वपूर्ण विषयमा आघात पर्ने र मेटिने आशंका गरी आफ्नो मौलिक पहिचान र आत्मसम्मान एवम् गौरवका लागि भनी विकास निर्माण र रोजगारीका निम्ति निर्माणधिन केबलकारको विरोधमा विगत आन्दोलनरत विभिन्न शक्ति घटकहरुले गरेको आन्दोलनबाट हामी निर्माण कम्पनी मुख्य तीन विषयहरु आन्दोलनको माग एजेन्डा हुन सक्ने बुझेका छौँ । केबलकार निर्माण भइरहदा पहिचानको नाम र आत्मसम्मानको सुनिश्चितता हुनुपर्ने, आदिवासी जनजातीहरु विकास विरोधि होइनौ भन्ने आन्दोनलको माग र घटकहरुको बुझाई  निर्माणधिन केबलकारले आदिवासि जनजातिको मौलिक धर्म, संस्कृति र परम्पराको सुरक्षाका साथै स्थानियलाई रोजगारी आदिको ग्यारेन्टी गर्नुपर्ने यी महत्वपूर्ण पहिचानको नाम र आत्मसम्मानको विषयका एजेन्डा सरकार र निर्माणाधिन कम्पनीले नदिलाएमा केबलकार बन्न नदिने भन्ने मत उठेको पाएका छौ । यथार्थमा हामी व्यवसायिक कम्पनी हौँ । हामी पहिचान दिलाइदिने राजनीतिक शक्ति होइनाँै । तथापि, वर्तमान विश्व राजनीतिमा विकास निर्माण र पहिचानको मत पारस्परिक तथ्य बन्दै आएको हामी पनि स्वीर्कादछौं । यसर्थ, आन्दोलनरत सम्पूर्ण पक्षहरु अहिले आएर पहिचानको निम्ति जुनसुकै कदम र आन्दोलन उठाउन सक्ने तर पहिचानको नाम र आत्मसम्मानको बोध भएमा आफूहरु विकासको विरोधि नभएको साथै सम्पूर्ण समस्याहरुको समाधान वार्ता र संवादबाट समाधान निकाल्न सकिन्छ भन्ने यहाँहरुको बुझाइलाई कम्पनी पक्ष उच्च सम्मान र स्वागत गर्दछ । यहाँहरु विकास विरोधि हुनुहुन्न भन्ने हामीहरुमा रहेको बुझाइमा थप विश्वास थपिएको छ ।  केबलकार विश्वमै न्यून प्राकृतिक क्षतीबाट विकास गर्न सकिने एउटा वातावरण मैत्री यातायतको साधन मात्र हो । यसको निर्माण प्रकृति तथा वन जंगल र जैविक वातावरणमा असर नपर्ने गरी गर्न सकिन्छ, र नविकरणीय उर्जाको प्रयोगबाट समेत सञ्चालन गर्न सकिन्छ । यस कम्पनीले सधै प्राचीन सभ्यता, सबै धर्म, संस्कृति, परम्परा, स्थानीयको आत्मसम्मान र पहिचानलाई उच्च सम्मान गर्दै सम्बद्घ व्यक्ति, संस्था तथा वौद्विक व्यक्तित्वहरुसँगको परामर्श र सहकार्यबाट आफ्नो कार्य अगाडी बढाउन चाहन्छ ।   हामीले सरोकारवाला सबै पक्षका मागको सम्मान गर्दै आएको व्यहोरा जानकारी गराउँदै त्यहाँका स्थानीय धर्म, संस्कृति, पहिचान र सभ्यताको जगेर्ना गर्दै त्यसको देश तथा विदेशमा प्रवद्र्धन गर्दै रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकास तथा पहिचान र आत्मसम्मानको कम्पनीको तर्फबाट यथासक्य सहयोग रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँ । यस कम्पनीले परियोजना निर्माणका लागि आवश्यक नेपाल सरकारको सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर परियोजना निर्माण क्रममा रहेका छ । कम्पनीले स्थानीय कला, संस्कृति, पहिचान र धार्मिक परम्परा बमोजिम परियोजना निर्माण गर्ने र आवश्यकताअनुसार स्थानीय जनप्रतिनिधि तथा सबै सरोकारवालाहरुसँग वार्ता, छलफल तथा समन्वय गरी अगाडि बढ्ने जानकारी समेत गराउन चाहन्छौँ ।  हामीलाई विश्वास छ, वार्ता तथा सम्वादबाट जुनसुकै समस्याको पनि समाधान निस्कन सक्छ । हामीले केबलकार निर्माणमा देखिएका विषयहरु मध्ये केबलकार खारेजी बाहेक, पहिचान र आत्म सम्मानका लागि हालसम्म भए गरिएका सम्पूर्ण आन्दोलनरत पक्षहरुको मागलाई सकारात्मक रुपमा लिएका छाँै । यो केबलकार निर्माणसँग सम्बन्धित आन्दोलनरत घटकहरुले उठाएका सम्पूर्ण समस्याहरुको समाधान गर्न हाम्रो तर्फबाट हुन सक्ने सबै प्रक्रियामा सकारात्मक रहेको जानकारी गराउँदै आन्दोलनरत सबै पक्षहरुलाई वार्ता तथा संवादद्वारा समस्याहरु समाधान खोज्न वार्ता र संवादमा आउन हार्दिक आह्वान गर्दछौ ।  अन्त्यमा, यस परियोजनाले आन्तरिक तथा वाह्य पर्यटनको माध्यमद्वारा स्थानीय समुदायको सामाजिक, आर्थिक, तथा सांस्कृतिक विकास र निर्माणमा फाईदा पु¥याउने र समग्रमा मुलुककै आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्नेछ भन्ने विषयमा हामी आशावादी छौँ ।