गलत हल्लाका पछाडि नलागौँ, कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन्छः परीक्षा बोर्ड
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो । नेपाल शिक्षक महासङ्घ आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो । पछिल्लोपटक महासङ्घसँग सहमति भएकाले अब भने निर्धारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक सूचना वेबसाइटमार्फत सार्वजनिक हुने स्पष्ट पारेको छ । बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले सम्पन्न गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालालाई एक सूचनामार्फत आग्रह गरेको छ ।
आज राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, अर्थतन्त्र चलायनमान बनाउने नीति आउँदै
काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेका छन् । यसअघि नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ । यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ । सङ्घीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ । यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा चट्याङसहित वर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू- भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । यसैगरी, आज राति कोशी ,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
भारतको किटविश्वविद्यालयमा फेरि अर्की नेपाली छात्राको आत्महत्या, को हुन् उनी ?
काठमाडौं । भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा फेरि अर्की एक नेपाली विद्यार्थीले आत्महत्या गरेकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार विश्वविद्यालयको छात्रावासमा उनी आत्महत्या गरेको अवस्थामा फेला परेकी हुन् । बीरगञ्जकी एक छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल-४’ (क्यूसी-४) को चौथो तलामा रहेको आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् । उनको नाम प्रिशा साह रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । उनी केआईआईटीमा कम्प्युटर साइन्स विषयमा अध्ययनरत प्रथम वर्षकी छात्रा थिइन् । पन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन् । घटनाको विषयमा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।
गभर्नर नियुक्तिको सहमति गर्न ओली-देउवाको अन्तिम भेट, राष्ट्र बैंकले अब छिट्टै नयाँ गभर्नर पाउँदै
काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच नियमति भेटघाट तथा छलफल हुन थालेको छ । विगतमा कुनै सहमति तथा सम्झौता गर्नुपरेमा एक भेटमै काम फत्ते गर्ने देउवा यस पटक भने प्रधानमन्त्री ओलीसँग बाराम्बार छलफल गरे । उनले यस पटक ओलीसँग भेटघाटलाई बढावा दिनुकै एउटै कारण हो नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति । उनले प्रधानमन्त्री ओलीसँग जसरी भए पनि गभर्नर नेपाली काँग्रेसको भागमा पर्नुपर्ने अडान राखेका छन् । यसअघि नै ओली र देउवाबीच गभर्नर नियुक्तिको लागि सहमति भइसकेको विषय बाहिर आएको थियो । उनीहरुबीच गभर्नर नेपाली काँग्रेसले पाउने सहमति भएको विषयले पनि चर्चा पाएको थियो । नेपाली काँग्रेसको भागमा गभर्नर परेपछि डा. गुणाकर भट्ट नै गभभर्नर बन्ने चर्चा भएको थियो । देउवाले भट्टको नाम ओलीसँग राखेपछि ओली पनि त्यसमा सहमत भएका थिए । दुई नेताको सहमतिपछि डा. भट्टले पनि कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । त्यसपछि उनको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । तर, बुधबार न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले उक्त पूरक निवेदनलाई अस्वीकार गरेको थियो । त्यससँगै डा. भट्टको गभर्नर बन्न सक्ने बाटो पनि खुल्ला भएको छ । अदालतको उक्त निर्णयसँगै प्रधानमन्त्री ओली र सभापति देउवाबीच आज पनि भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई नेताबीच अहिले छलफल भइरहेको बुझिएको छ । उनीहरुको यो भेट भोलिको नीति तथा कार्यक्रम, गभर्नर नियुक्ति र समसामयिक राजनीतिक विषयमा केन्द्रित भएको नेपाली काँग्रेसनका एक नेताले जानकारी दिए । सम्भवतः गभर्नरको विषयमा दुई नेताबीच सहमति हुने यो अन्तिम भेटवार्ता हो । स्रोतका अनुसार शुक्रबार वा आइतबारभित्र गभर्नर सिफारिस समितिलाई तीन जनाको नाम सिफारिस गर्न लगाएर सोमबारको मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्त गर्न सक्ने सम्भावना छ । सरकारले रिक्त रहेको गभर्नर सिफारिस समितिमा बुधबार निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिसकेको छ । दुई नेताबीच अन्तिम सहमति भइसकेर नाम फिक्स भएपछि बैठक बसेर तीन जनाको नाम सिफारिस गर्ने तयारी अर्थमन्त्री तथा सिफारिस समितिका संयोजक विष्णु पौडेलले गरेको बुझिएको छ ।
लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
वैशाख १८ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गरी लगानीसम्बन्धी एकीकृत कानुन बनाइ लागू गर्न सरकारसँग आग्रह गरेका छन् । कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन- २०८२ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो आग्रह गरेका हुन् । उनले आगामी १० वर्षलाई लगानी दशकको रूपमा घोषणा गर्न, लगानीसँग सम्बन्धित कानुनहरू वन, वातावरण र भूमिसमेत एकीकृत गरी एकीकृत लगानी संहिता बनाउन तथा विभिन्न निकायले फरक व्याख्या गर्ने क्रमको अन्त्य गर्नु पर्ने धारणा राखे । यस्तै, अध्यक्ष ढकालले लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व आवश्यकता रहेकोमा जोड दिए, ’लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व अबको आवश्यकता हो । राजनीतिक अस्थिरताका बीचमा पनि नीतिगत स्थायित्व हुँदा धेरै देशले विकास गरेका प्रशस्तै उदाहरणहरू छन् । सबै दलहरूले कम्तीमा अबको दश वर्ष नीतिगत परिवर्तन नगर्ने गरी सहमति गर्नुपर्छ । कानूनको अपव्याख्या गर्ने र एक अर्को कानुन बाझिने अवस्था अन्त हुनुपर्छ भन्ने हाम्रो धारणा छ,’उनले भने । अबको बजेट र मौद्रिक नीतिले लगानी सहजीकरणका विषयलाई प्रमुखताका साथ अगाडि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले यसपटकको बजेट नयाँ चरणको आर्थिक सुधारको प्रस्थानविन्दु बन्नुपर्ने विचार व्यक्त गरे । व्यवसायको दर्ता नागरिक एपबाट हुने व्यवस्था गर्न, कर बुझाएको आधार स्वतः नवीकरण हुने व्यवस्था गर्न तथा विदेशी लगानीलाई अनलाइनबाट सबै प्रक्रिया पुरा गरेपछि फाइल बुझाए पुग्ने व्यवस्था गरी फाइल लगानीकर्ता आफैले डुलाउँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्न अध्यक्ष ढकालले सरकारसँग आग्रह गरे । देशमा पूर्वाधार विकासमा पूँजीको अभाव नहोस् भनेर महासंघकै पहलमा १० अर्ब पुँजी भएको पब्लिक लिमिटेड कम्पनी स्थापना गरि काम शुरु गरिसकेका जानकारी दिँदै उनले यसले पूर्वाधारमा लगानीको अभावलाई थोरै भएपनि हटाउन सघाउ पुग्ने बताए । यसैगरी, महासंघले आफ्नो साधारणसभाको अवसरमा लगानी विस्तार र सर्वसाधारणको सेवा सुरक्षा बढाउन सुशासनको बिषय उठाएको स्मरण गर्दै उनले सरकारले तत्काल सुशासन आयोग गठन गरेकोमा सरकार प्रति आभार व्यक्त गरे । साथै निजी क्षेत्र सुशासन र सुधारका क्षेत्र हरेक तरहबाट सुधारका लागि सहकार्य गर्न तयार रहेको समेत बताए ।
बकुला सिमीको नियमित सेवनले तौल घटाउँछ, रोगबाट पनि जोगाउँछ
काठमाडौं । चाँडो र दीर्घकालीन रूपमा तौल घटाउन चाहनुहुन्छ भने नियमित रूपमा बकुला सिमी आफ्नो आहारमा समावेश गर्नुहोस् । पोषण विज्ञहरूका अनुसार बकुलाको सेवनले न केवल बोसो घटाउँछ, शरीरको मेटाबोलिज्मलाई सक्रिय बनाउँछ, पाचन प्रणाली सुधार गर्छ र प्रतिरक्षा प्रणालीलाई समेत मजबुत बनाउँछ । प्रोटिन, फाइबर र आइरनको स्रोत विशेषज्ञका अनुसार बकुलामा प्रशस्त मात्रामा प्रोटिन, फाइबर र आइरन पाइन्छ । यसको सेवनले पेट भरिएको महसुस गराउँछ, जसले अत्यधिक खाने बानीलाई नियन्त्रण गर्छ । साथै, यसमा पाइने फाइबरले पाचन प्रणालीलाई सन्तुलनमा राख्छ र मेटाबोलिज्म सक्रिय बनाएर तौल घटाउन सहयोग पुर्याउँछ । सुपरफूडको रूपमा बकुल्ला विशेषज्ञहरू बकुलालाई ‘सुपरफूड’ भन्न पछि पर्दैनन् । यसमा हुने प्रोटिनले मांसपेशी बलियो बनाउँछ भने फाइबरले भोक नियन्त्रणमा राख्छ । बकुला खाँदा छिट्टै पेट भरिन्छ र लामो समयसम्म भोक लाग्दैन, जसले अनावश्यक खाजाबाट जोगाउँछ । यसलाई उमालेर, सलादमा वा हल्का तरकारीका रूपमा सजिलै सेवन गर्न सकिन्छ, विशेषगरी शाकाहारीहरूका लागि यो प्रोटिनको उत्तम विकल्प हो । मेटाबोलिज्म बढाएर तौल घटाउने सहयोगी बकुलामा हुने लेप्टिन नामक तत्वले भोक नियन्त्रणमा राख्नुका साथै बोसोलाई ऊर्जामा रूपान्तरण गर्न प्रेरित गर्छ । नियमित रूपमा एक हप्तासम्म यसको सेवन गरेपछि नै तौल घटिरहेको अनुभूति गर्न सकिन्छ । बिहानको नास्ता वा दिउँसोको भोजनमा यसको समावेश सबैभन्दा प्रभावकारी मानिन्छ । इम्युन सिस्टम पनि सुदृढ बनाउँछ बकुल्लामा पाइने जिंक, आइरन, फोलेट र भिटामिन बी कम्प्लेक्सले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछन् । यी पोषकतत्वहरूले संक्रमणबाट जोगाउँछन् र सर्दी, खोकी वा मौसमी भाइरल रोगहरूबाट शरीरलाई सुरक्षित राख्छन् । बारम्बार बिरामी पर्ने वा थकान महसुस गर्ने व्यक्तिहरूका लागि बकुलाको सेवन विशेष लाभदायी मानिन्छ । पाचन प्रणाली सुधार गर्ने प्रभावकारी उपाय फाइबरयुक्त बकुल्लाले पाचन प्रणाली सफा गर्न र कब्जियतजस्ता समस्याबाट मुक्ति दिलाउन सहयोग पुर्याउँछ । यसमा पाइने प्रीबायोटिक्सले आन्द्राभित्रका लाभदायक ब्याक्टेरियालाई बढाउँछ, जसले समग्र पाचन प्रणाली सुदृढ बनाउँछ । दैनिक एक सानो कचाैरा बकुला खाँदा पाचनसम्बन्धी सुधार देखिन सक्छ । सेवन विधि र आवश्यक सावधानी बकुलालाई रातभर भिजाएर बिहान हल्का उमालेर सलाद, सुप वा तरकारीको रूपमा खान सकिन्छ । हप्तामा दुईदेखि तीनपटक यसको सेवन पर्याप्त मानिन्छ । तर, जिटपीडी नामक इन्जाइमको कमी भएका व्यक्तिहरूले सेवन गर्नुअघि डाक्टरसँग परामर्श गर्नुपर्छ, किनभने यसले एलर्जी वा अन्य प्रतिक्रिया गराउन सक्छ । सदैव ताजा र गुणस्तरीय बीन्सको प्रयोग गर्नुपर्छ र लामो समयसम्म स्टोर गर्नबाट बच्नुपर्छ । एजेन्सी
अमेरिकी नीतिले यूरोपका कार कम्पनीहरूको मुनाफामा भारी धक्का
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल आयातमा २५ प्रतिशत महसुल लगाउने निर्णयपछि युरोपेली अटोमोबाइल कम्पनीहरूले पहिलो त्रैमासिक मुनाफामा तीव्र गिरावट भोगेका छन् । यससँगै धेरै कम्पनीहरूले आगामी वर्षको वित्तीय पूर्वानुमान फिर्ता लिएका छन् । ट्रम्पले अप्रिलको सुरुवातमा अमेरिकी बजारमा प्रवेश गर्ने अटोमोबाइलहरूमा उच्च महसुल लगाउने घोषणा गरेका थिए । त्यसको केही दिनमै उनले कार्यकारी आदेशमार्फत अन्य महसुलहरूसँग दोहोरो असर नपरोस् भनेर समायोजन गर्ने प्रयास गरे । उद्योग विश्लेषकहरू यस्तो अनिश्चित व्यापार नीति दीर्घकालीन लगानीका लागि बाधक बनिरहेको बताउँछन् । स्टेलान्टिसले फिर्ता गर्यो पूर्वानुमान जीप, डोज, फिएट, क्राइसलर र प्यूजोजस्ता ब्रान्ड सञ्चालन गर्ने स्टेलान्टिसले महसुलसँग सम्बन्धित अनिश्चितताका कारण आफ्नो २०२५ वर्षको वित्तीय मार्गनिर्देशन फिर्ता लिएको छ । कम्पनीले पहिलो त्रैमासिकमा ३५.८ अर्ब युरो आम्दानी गर्दै गत वर्षको तुलनामा १४ प्रतिशत गिरावट देखाएको छ । मर्सिडिजको मुनाफामा भारी गिरावट जर्मनीको मर्सिडिजले पनि २०२५ को आम्दानी अनुमान हटाएको छ । कम्पनीका अनुसार अहिलेको व्यापारिक अनिश्चितता, महसुल र क्षतिपूर्ति उपायहरूको कारण पूर्ण वर्षको नाफा अनुमान गर्न असम्भव छ । फक्सवागनले पनि दबाब महसुस गर्यो युरोपको सबैभन्दा ठूलो कार निर्माता फक्सवागनले पहिलो त्रैमासिकमा २.९ अर्ब युरो मुनाफा कमायो, जुन अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशत कम हो । कम्पनीले राजनीतिक अनिश्चितता र उत्सर्जन नीतिलाई मुनाफा घट्नुको कारण बताएको छ । भोल्भोले १८ अर्ब स्विडिश क्रोनर खर्च कटौती गर्ने स्विडेनस्थित भोल्भो कार्सले पनि २०२५ र २०२६ दुबै वर्षको वित्तीय मार्गनिर्देशन फिर्ता लिएको छ। चीनको जीली होल्डिङको स्वामित्वमा रहेको कम्पनीले लागत कटौती योजना अन्तर्गत १.८७ अर्ब डलर बराबरको खर्च कटौती गर्ने जनाएको छ । पोर्शेले पनि बिक्री अनुमान घटायो फक्सवागन समूहअन्तर्गतको पोर्शेले २०२५ का लागि बिक्री राजस्वको अनुमान घटाउँदै ३७–३८ अर्ब युरो रहने जनाएको छ । कम्पनीका अनुसार अमेरिकी आयात महसुलको असर आगामी महिनामा अझ देखिनेछ । विश्लेषकहरूको चेतावनी मर्निङस्टारकी विश्लेषक रेल्ला सुस्किनका अनुसार ट्रम्पको पछिल्लो समायोजनले युरोपेली अटो कम्पनीहरूलाई केही राहत दिएको भए पनि दीर्घकालीन निर्णय लिन अझै अन्योल छ । उनले भनिन्, 'जबसम्म महसुल स्थायी हुने वा कति लाग्ने भन्ने स्पष्ट हुँदैन, कम्पनीहरूले दीर्घकालीन लगानी गर्न सक्दैनन् ।' नयाँ सीईओको खोजीमा टेस्ला