विकासन्युज

बकुला सिमीको नियमित सेवनले तौल घटाउँछ, रोगबाट पनि जोगाउँछ

काठमाडौं । चाँडो र दीर्घकालीन रूपमा तौल घटाउन चाहनुहुन्छ भने नियमित रूपमा  बकुला सिमी आफ्नो आहारमा समावेश गर्नुहोस् । पोषण विज्ञहरूका अनुसार बकुलाको सेवनले न केवल बोसो घटाउँछ, शरीरको मेटाबोलिज्मलाई सक्रिय बनाउँछ, पाचन प्रणाली सुधार गर्छ र प्रतिरक्षा प्रणालीलाई समेत मजबुत बनाउँछ । प्रोटिन, फाइबर र आइरनको स्रोत विशेषज्ञका अनुसार बकुलामा प्रशस्त मात्रामा प्रोटिन, फाइबर र आइरन पाइन्छ । यसको सेवनले पेट भरिएको महसुस गराउँछ, जसले अत्यधिक खाने बानीलाई नियन्त्रण गर्छ । साथै, यसमा पाइने फाइबरले पाचन प्रणालीलाई सन्तुलनमा राख्छ र मेटाबोलिज्म सक्रिय बनाएर तौल घटाउन सहयोग पुर्‍याउँछ । सुपरफूडको रूपमा बकुल्ला विशेषज्ञहरू बकुलालाई ‘सुपरफूड’ भन्न पछि पर्दैनन् । यसमा हुने प्रोटिनले मांसपेशी बलियो बनाउँछ भने फाइबरले भोक नियन्त्रणमा राख्छ । बकुला खाँदा छिट्टै पेट भरिन्छ र लामो समयसम्म भोक लाग्दैन, जसले अनावश्यक खाजाबाट जोगाउँछ । यसलाई उमालेर, सलादमा वा हल्का तरकारीका रूपमा सजिलै सेवन गर्न सकिन्छ, विशेषगरी शाकाहारीहरूका लागि यो प्रोटिनको उत्तम विकल्प हो । मेटाबोलिज्म बढाएर तौल घटाउने सहयोगी बकुलामा हुने लेप्टिन नामक तत्वले भोक नियन्त्रणमा राख्नुका साथै बोसोलाई ऊर्जामा रूपान्तरण गर्न प्रेरित गर्छ । नियमित रूपमा एक हप्तासम्म यसको सेवन गरेपछि नै तौल घटिरहेको अनुभूति गर्न सकिन्छ । बिहानको नास्ता वा दिउँसोको भोजनमा यसको समावेश सबैभन्दा प्रभावकारी मानिन्छ । इम्युन सिस्टम पनि सुदृढ बनाउँछ बकुल्लामा पाइने जिंक, आइरन, फोलेट र भिटामिन बी कम्प्लेक्सले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछन् । यी पोषकतत्वहरूले संक्रमणबाट जोगाउँछन् र सर्दी, खोकी वा मौसमी भाइरल रोगहरूबाट शरीरलाई सुरक्षित राख्छन् । बारम्बार बिरामी पर्ने वा थकान महसुस गर्ने व्यक्तिहरूका लागि बकुलाको सेवन विशेष लाभदायी मानिन्छ । पाचन प्रणाली सुधार गर्ने प्रभावकारी उपाय फाइबरयुक्त बकुल्लाले पाचन प्रणाली सफा गर्न र कब्जियतजस्ता समस्याबाट मुक्ति दिलाउन सहयोग पुर्‍याउँछ । यसमा पाइने प्रीबायोटिक्सले आन्द्राभित्रका लाभदायक ब्याक्टेरियालाई बढाउँछ, जसले समग्र पाचन प्रणाली सुदृढ बनाउँछ । दैनिक एक सानो कचाैरा ​​​​​​बकुला खाँदा पाचनसम्बन्धी सुधार देखिन सक्छ । सेवन विधि र आवश्यक सावधानी बकुलालाई रातभर भिजाएर बिहान हल्का उमालेर सलाद, सुप वा तरकारीको रूपमा खान सकिन्छ । हप्तामा दुईदेखि तीनपटक यसको सेवन पर्याप्त मानिन्छ । तर, जिटपीडी नामक इन्जाइमको कमी भएका व्यक्तिहरूले सेवन गर्नुअघि डाक्टरसँग परामर्श गर्नुपर्छ, किनभने यसले एलर्जी वा अन्य प्रतिक्रिया गराउन सक्छ । सदैव ताजा र गुणस्तरीय बीन्सको प्रयोग गर्नुपर्छ र लामो समयसम्म स्टोर गर्नबाट बच्नुपर्छ । एजेन्सी

अमेरिकी नीतिले यूरोपका कार कम्पनीहरूको मुनाफामा भारी धक्का

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल आयातमा २५ प्रतिशत महसुल लगाउने निर्णयपछि युरोपेली अटोमोबाइल कम्पनीहरूले पहिलो त्रैमासिक मुनाफामा तीव्र गिरावट भोगेका छन् । यससँगै धेरै कम्पनीहरूले आगामी वर्षको वित्तीय पूर्वानुमान फिर्ता लिएका छन् । ट्रम्पले अप्रिलको सुरुवातमा अमेरिकी बजारमा प्रवेश गर्ने अटोमोबाइलहरूमा उच्च महसुल लगाउने घोषणा गरेका थिए । त्यसको केही दिनमै उनले कार्यकारी आदेशमार्फत अन्य महसुलहरूसँग दोहोरो असर नपरोस् भनेर समायोजन गर्ने प्रयास गरे । उद्योग विश्लेषकहरू यस्तो अनिश्चित व्यापार नीति दीर्घकालीन लगानीका लागि बाधक बनिरहेको बताउँछन् । स्टेलान्टिसले फिर्ता गर्‍यो पूर्वानुमान जीप, डोज, फिएट, क्राइसलर र प्यूजोजस्ता ब्रान्ड सञ्चालन गर्ने स्टेलान्टिसले महसुलसँग सम्बन्धित अनिश्चितताका कारण आफ्नो २०२५ वर्षको वित्तीय मार्गनिर्देशन फिर्ता लिएको छ । कम्पनीले पहिलो त्रैमासिकमा ३५.८ अर्ब युरो आम्दानी गर्दै गत वर्षको तुलनामा १४ प्रतिशत गिरावट देखाएको छ । मर्सिडिजको मुनाफामा भारी गिरावट जर्मनीको मर्सिडिजले पनि २०२५ को आम्दानी अनुमान हटाएको छ । कम्पनीका अनुसार अहिलेको व्यापारिक अनिश्चितता, महसुल र क्षतिपूर्ति उपायहरूको कारण पूर्ण वर्षको नाफा अनुमान गर्न असम्भव छ । फक्सवागनले पनि दबाब महसुस गर्‍यो युरोपको सबैभन्दा ठूलो कार निर्माता फक्सवागनले पहिलो त्रैमासिकमा २.९ अर्ब युरो मुनाफा कमायो, जुन अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशत कम हो । कम्पनीले राजनीतिक अनिश्चितता र उत्सर्जन नीतिलाई मुनाफा घट्नुको कारण बताएको छ । भोल्भोले १८ अर्ब स्विडिश क्रोनर खर्च कटौती गर्ने स्विडेनस्थित भोल्भो कार्सले पनि २०२५ र २०२६ दुबै वर्षको वित्तीय मार्गनिर्देशन फिर्ता लिएको  छ। चीनको जीली होल्डिङको स्वामित्वमा रहेको कम्पनीले लागत कटौती योजना अन्तर्गत १.८७ अर्ब डलर बराबरको खर्च कटौती गर्ने जनाएको छ । पोर्शेले पनि बिक्री अनुमान घटायो फक्सवागन समूहअन्तर्गतको पोर्शेले २०२५ का लागि बिक्री राजस्वको अनुमान घटाउँदै ३७–३८ अर्ब युरो रहने जनाएको छ । कम्पनीका अनुसार अमेरिकी आयात महसुलको असर आगामी महिनामा अझ देखिनेछ । विश्लेषकहरूको चेतावनी मर्निङस्टारकी विश्लेषक रेल्ला सुस्किनका अनुसार ट्रम्पको पछिल्लो समायोजनले युरोपेली अटो कम्पनीहरूलाई केही राहत दिएको भए पनि दीर्घकालीन निर्णय लिन अझै अन्योल छ । उनले भनिन्, 'जबसम्म महसुल स्थायी हुने वा कति लाग्ने भन्ने स्पष्ट हुँदैन, कम्पनीहरूले दीर्घकालीन लगानी गर्न सक्दैनन् ।' नयाँ सीईओको खोजीमा टेस्ला  

विद्यालयका कर्मचारी अझै असन्तुष्ट, फेरि आन्दोलन गर्ने चेतावनी

काठमाडौं । एक महिनादेखि सडकमा आन्दोलित शिक्षकहरू घर फर्कन नपाउँदै विद्यालय कर्मचारी फेरि सडकमा जाने भएका छन् ।  बुधबार सरकार र शिक्षकबीच भएको सहमतिमा आपत्ति जनाउँदै आएका कर्मचारीहरू आफूहरूको लडाइँ सरकार र महासंघ विरुद्ध हुने बताएका छन् ।  विद्यालय शिक्षकको मात्र नभइ कर्मचारीको समेत मुद्दा बोकेर आन्दोलन गरेको महासंघलाई कर्मचारी परिषदले सरकारसँग उधारोमा बिकेको आरोप लगाएको छ । यसविरुद्ध विद्यालय कर्मचारी परिषदले आन्दोलन गर्ने भएको हो ।  बुधबार साँझ सरकारसँग गरेको सम्झौताका विषयमा समीक्षा गर्न आयोजित कार्यक्रममा कर्मचारीले आफ्ना माग समावेश नगरेको भन्दै प्रतिशोध व्यक्त गरेका थिए।  विद्यालय शिक्षक कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारीले आन्दोलन कस्तो खालको गर्ने भन्ने मोडालिटीबारे धारणा बनाइ गर्न आज साँझ ७ बजे घोषणा गर्ने योजना रहेको बताए ।  कर्मचारीहरूले शिक्षक महासंघले सरकारसँग गरेको ९ बुँदे सहमति नमान्ने बताएका छन् । उनीहरू त्यो सहमतिमा कर्मचारीका कुनै पनि माग सम्बोधन नभएको बताउँछन्। दुई बुँदामा असहमति विद्यालय कर्मचारी आन्दोलित हुनुको मुख्य कारण दुईवटा मात्र छन् । पहिलो कर्मचारीलाई बिरामीको बिदाको व्यवस्था हुनपर्ने, दोस्रो गएको वर्ष असोजमा शिक्षक संघसँग भएको सम्झौताअनुसार लेखापाल र कर्मचारी संघलाई तलब निश्चित गर्नुपर्ने । अध्यक्ष गंगाराम तिवारीका अनुसार २०८० सालको असोजमा विद्यालय कर्मचारी अन्तर्गत श्रेणीविहीन कार्यालय सहयोगीलाई २६ हजार ८२ र अर्को लेखापाललाई ३४ हजार  ९ सय हुनुपर्ने सम्झौता भएको थियो ।  तर, शिक्षकले सरकारसँग गरेको सम्झौतामा यी दुई बुँदा समावेश नहुँदा कर्मचारीहरू आक्रोशित बनेका हुन् । तिवारीले हिजो सहमति हुँदै गर्दा मन्त्रालयमा आपत्ति जनाएपनि शिक्षक महासंघका नेताहरूले नसुनेको बताए ।  उनले शिक्षकले गरेका हरेक आन्दोलनमा कर्मचारीको साथ रहेको बताउँदै आफूहरूलाई प्रयोग गरिएको बताए । ‘घाम पानी नभन्दै हामी निरन्तर सडकमा गयौं, तर हाम्रा मागलाई महासंघले उपेक्षा ग¥यो, एक महिनासम्म सडकमा उभिन सक्ने हामी हाम्रा दुई माग समावेश नहुँदासम्म एक वर्षसम्म सडकमा उभिन तयार छौं,’ उनले भने । कर्मचारी बेकारमा आक्रोशमा आए नेपाल शिक्षक महासंघले भने शिक्षकसँगै कर्मचारीका माग पनि ९ बुँदामा समावेश भएको दाबी गरेको छ । बुधबार साँझ शिक्षक कर्मचारी सबैका माग सम्बोधन गरी मन्त्रिपरिषदमा पठाइसकेको बताउँदै कर्मचारी त्यत्तिकै आक्रोशित भएको बताएको छ।  शिक्षक महासंघका महासचिव तुला थापाले कर्मचारी आक्रोशित हुनपर्ने, आन्दोलन नै गर्नुपर्ने कुनै कारण नभएको दाबी गर्छन् ।  'हामीले कर्मचारी, बालबिकास सहजकर्तादेखि राहात अस्थायी सबै शिक्षकको माग ९ बुँदामा राखेर सहमति गरेका छौं,’ उनी भन्छन्, 'अहिले कर्मचारीले भनेको यी दुई बुँदाका लागि भने नयाँ ऐन अनिवार्य भएकाले समावेश नगरिएको हो ।’  ‘हामीले शिक्षक र कर्मचारी दुवैका मागलाई नौं बुँदामा समेटेका छौं, तर उहाँहरूले कुरै नबुझिकन हामीमाथि एक्कासि आक्रमण गर्न खोज्नुभयो,’ उनले थपे ।   महासचिव थापाले अहिले ऐन पूरानै भएकाले यी माग पूरा हुन नयाँ ऐन पारित हुनुपर्ने बताउँछन् । उनले कर्मचारीका माग पूरा गर्न हदैसम्म प्रयास गरेको जिकिरसमेत गरे ।

सरकारमा जाने कुनै रुचि छैन, अब नयाँ आन्दोलनमा जाने हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने कुनै रुचि नरहेको स्पष्ट पार्दै अब नयाँ आन्दोलन र अभियानतर्फ पार्टी अग्रसर रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवस १३६औँ संस्करणको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले यथास्थितिवादी शक्तिहरूसँग मिलेर सरकारमा सहभागी हुने कुनै योजना नरहेको बताए । 'हामी जनतासँगै ठिक छौँ, हामी हाम्रो वर्गसँगै ठिक छौँ,' अध्यक्ष दाहालले भने, 'मिडियामा आउने हल्लाबाट कार्यकर्ताहरू भ्रममा नपर्नुहोस् । हामी फेरि नयाँ आन्दोलन, नयाँ आर्थिक क्रान्तिमा प्रवेश गर्दैछौँ ।' उनले संविधान संशोधनसहित मुलुकले भोगिरहेको समस्याहरू समाधान गर्ने मार्ग ‘नयाँ अभियान’ बाट मात्र सम्भव हुने दाबी गरे । दाहालले पछिल्लो समय माओवादी केन्द्रलाई ‘कसैको खुट्टामा नटेकी उभिन नसक्ने’ भन्दै आरोप लगाउने प्रवृत्तिको आलोचना गर्दै, 'हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्यौँ, देशकै पहिलो पार्टी भयौँ,' भने । उनी भन्छन्, 'काँग्रेस र एमालेका विद्यार्थी संगठनहरू मिल्दा पनि हामीले स्वतन्त्र विद्यार्थी युनियनमा ऐतिहासिक जित हासिल गरेका छौँ ।' उनले मुलुकमा राजनीतिक परिवर्तन उल्ट्याउने दुस्साहस देखिएको भन्दै त्यसलाई रोक्ने जिम्मेवारी माओवादी केन्द्रको काँधमा आएको बताए । 'अब नयाँ आन्दोलनको समय आएको छ,' दाहालले भने, 'तपाईंहरू पनि आन्दोलनका लागि तयार रहनुहोस् ।'

छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् । त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्या दुई हजार १८१ रहेको छ ।   सार्क मुलुकका २७ महिला र ६३ पुरुष गरी ९० जनाले निकुञ्जको भ्रमण गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए । उनका अनुसार निकुञ्जमा ४८ महिला र ६९ पुरुष गरी ११७ विदेशी पर्यटकले भ्रमण गरेका छन् । सबैभन्दा बढी चैतमा ५२० पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । कात्तिकमा ३१६, मङ्सिरमा ३८९, पुसमा ४३२, माघमा २७१, फागुनमा ४६० पर्यटक निकुञ्ज घुमेका छन् । उनका अनुसार साउन, भदौ र असोजमा वर्षातका कारण निकुञ्जमा पर्यटकीय गतिविधि शून्य रहेको छ । आव २०८०÷८१ मा निकुञ्जमा चार हजार ५७४ पर्यटक निकुञ्ज घुमेका थिए । त्यसमा एक हजार ७७० महिला र दुई हजार ८०४ पुरुष पर्यटक रहेका थिए ।   आन्तरिक पर्यटक चार हजार २९४, सार्क मुलुकका पर्यटक १३७ र विदेशी पर्यटक १४३ ले निकुञ्जमा घुमफिर गरेका थिए । विसं २०३१ मा स्थापना भएको निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको छ । थोरै क्षेत्रफलमा बाघको बाक्लो घनत्व भएको क्षेत्रका रुपमा निकुञ्ज परिचित छ ।  दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिका लागि प्रसिद्ध सो निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गा पाइन्छ । नेपालका संरक्षित क्षेत्रका सबैभन्दा ठूलो घाँसे मैदान शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ । निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, एक सिङ्गे गैंडा, चितुवा, घोडगधा, बाह्रसिङ्गा, कृष्णसार, बदेँल, जरायो, चित्तल, लगुना लगायतका ५३ बढी स्तनधारी वन्यजन्तु पाइने गरेका छन् ।  निकुञ्जभित्र रहेका रानी ताल लगायतका अन्य तालमा मगर गोही पाइन्छन् । रैथाने र बसाइ सरी आउने गरी ४४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा र ३५ प्रजातिका पुतली पाइन्छन् । 

जेठ ७ गतेदेखि सीप मेला सुरु गरेर २ हजार जनालाई तालिम दिने महानगरको तयारी छ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको छ। दोस्रो संस्करणमा प्रवेश गर्न लागेको मेलामार्फत २ हजार ८२ जनालाई सीपमूलक तालिममा सहभागी गराउने लक्ष्य रहेको प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन् । विश्व मजदुर दिवस २०८२ को सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहले सिपयुक्त जनशक्ति तयार पार्न सके मात्र सुरक्षित रोजगारी, उत्पादन वृद्धि र आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । महानगरले आर्थिक वर्ष २०८०/८१ बाट सञ्चालनमा ल्याएको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत यो मेला दोस्रो पटक हुन लागेको हो । पहिलो संस्करणमा २ हजार ५ सय ७५ जनाले तालिम लिएका थिए । श्रम बजारमा सिपयुक्त जनशक्तिको अभाव र युवाहरूको वैदेशिक रोजगारीतर्फको आकर्षणलाई ध्यानमा राखी देशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले मेलाको निरन्तरता दिइएको हो । यस वर्ष १० विधामा ३० विषयमा तालिम हुने र ती विषय उद्योग, श्रम बजार तथा समाजको मागलाई आधार मानेर छनोट गरिएको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । गत वर्ष तालिमका लागि फारम भरे पनि सहभागी हुन नपाएका, महानगरमा बसोबास गरिरहेका, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति तथा सडक व्यापारमा संलग्न रहेकाहरुलाई तालिममा प्राथमिकता दिइनेछ । ‘शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग’ जोड्ने रणनीति अनुसार, मेलाबाट प्राप्त सिपले युवालाई रोजगार र स्वरोजगारको अवसर दिने अपेक्षा गरिएको छ ।

कर्मचारी भन्छन्– शिक्षकका नेता बिके, अब हामी आन्दोलन गर्छौं

काठमाडौं । सरकार र शिक्षकबीच भएको ९ बुँदे सहमतिमा नेपाल विद्यालय कर्मचारी परिषदले विरोध जनाएको छ ।  बुधबार ७ घण्टा लगातार वार्ता गरेर ९ बुँदे सहमति गरेका शिक्षकले आफ्नो मागप्रति वेवास्ता गरेको भन्दै कर्मचारी परिषदले विरोध गरेको हो ।  शिक्षकसँगै लगातार सडकमा बस्दै आएका हुन् ।  शिक्षक महासंघले सरकारसँग गरेको वार्ताको बारेमा जानकारी गराउन बिहीबार दिउँसो मध्यबानेश्वरको रत्नराज्य लक्ष्मी माविमा आयोजना गरेको कार्यक्रममा विद्यालय परिषदका कर्मचारीले विरोध जनाउँदै हो हल्ला गरेका छन् ।  ९ बुँदे मागमा विद्यालय कर्मचारीका माग समावेश नगरेको भन्दै परिषदका अध्यक्ष गंगाराम तिवारीले आन्दोलन गर्ने चेतावनी दिए ।  सारा काम छोडेर शिक्षकसँगै होमिएको अवस्थामा आफूमाथि शिक्षकले नै विभेद गरेको भन्दै कर्मचारीले कार्यक्रममा हो-हल्ला गरेका छन् ।

ढुक्क भएर लगानी गर्नुस्, सरकारको साथ सहयोग हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गरे ।  प्रधानमन्त्री ओलीले भने, 'कोशी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग पूर्ण रूपमा जोडिएको प्रदेश हो । हामी एसियाली स्तरको छ लेनको पूर्व–पश्चिम राजमार्ग निर्माण गर्दैछौं । लगानी गरेर उत्पादन बजारमा लैजाने समयसम्म त्यो राजमार्ग तयार भइसकेको हुनेछ। कच्चा पदार्थ आयात गर्न र उत्पादन निर्यात गर्न कुनै रोकावट छैन ।' उनले थपे, 'कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकाहरूसम्म पहुँच हुने सडकहरू निर्माण भइसकेका छन् । विराटनगरसहितका विमानस्थलहरू पनि विस्तार हुँदैछन् । यस प्रदेशमा सांस्कृतिक, धार्मिक, पर्यटकीय स्थलहरू छन् । सगरमाथासहितका हिमाल र बहुमूल्य जडिबुटीहरू पाइन्छन् । यहाँका जनता शिक्षित र मेहनती छन्, त्यसैले कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ ।' प्रधानमन्त्री ओलीले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै भने, 'म युवाहरुलाई भन्न चाहान्छु, जागिरको खोजीमा नभौँतारिनुस्, उद्यमशीलतामा लाग्नुस् । त्यसका लागि सोच, तालिम र सहयोगमा सरकारले साथ दिन्छ ।’ प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ब्राण्डिङ गर्न आग्रह गर्दै ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यताअनुसार श्रमको सम्मान दिन तथा रोजगारादाता र श्रमिकबीच संवादका साथै युनियन अधिकारको रक्षाका लागि नेपाल सरकार स्पष्ट रहेको पनि लगानीकर्तालाई अवगत गराए ।  प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गरेका थिए ।