विद्यालय कर्मचारी परिषदले २१ गतेदेखि आन्दोलन गर्ने
काठमाडौं । शिक्षकहरूले सरकारसँग गरेको सहमतिमा असहमति जनाउँदै आएको विद्यालय कर्मचारी परिषदले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिषदले वैशाख २१ गतेदेखि विरोधका कार्यक्रम घोषणा गरेको हो । जसअनुसार वैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कार्यक्षेत्रमा हातमा कालोपट्टी बाँधेर काम गर्ने, जेठ चार गते ७ सय ५३ वटै स्थानीय तहमा ध्यानाकर्षणपत्र बुझाउने मिति तय गरेको छ । यस्तै जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने, ६ गते ७७ वटै जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइमा आन्दोलनको जानकारी सहित ध्यानाकर्षणपत्र बुझाउने, ७ गते ७ वटै प्रदेश सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाउने र १० गते काठमाडौंको माइतीघर मण्डालमा आन्दोलन गर्ने कार्यक्रम तय गरेको छ । पहिलो चरणको आन्दोलनको समीक्षा गरेर दोस्रो चरणको आन्दोलन तय गर्ने जनाइएको छ । विद्यालयका कर्मचारी अझै असन्तुष्ट, फेरि आन्दोलन गर्ने चेतावनी
केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
वीरगञ्ज । परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको छ । छात्रा साह बिहीबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन् । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको आइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाबाट आफू मर्माहत भएको बताउँदै 'परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य, तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको छ', उल्लेख गरेका छन् ।
नामी गाडी ५.९९ लाखमा, थाइल्याण्ड ट्रिप र आइफोन १६ प्रो म्याक्स जित्ने मौका
काठमाडौं । नेपालका प्रमुख विद्युतीय सवारी साधन ब्रान्डहरू डोङफेङ (नामी) र सेरेसले नयाँ अफरमार्फत देशभरका ग्राहकलाई चकित तुल्याउने ‘प्री बजेट ब्याश’ योजना सार्वजनिक गरेका छन् । वैशाख १८ गतेदेखि २२ गतेसम्म सीमित अवधिका लागि सञ्चालन हुने यो अफर अन्तर्गत, ग्राहकहरूले नामी ब्रान्डको स्टाइलिश गाडी मात्र ५.९९ लाख रुपैयाँमा तथा पावरफुल सेरेस ईभी ८.९९ लाख रुपैयाँमा आफ्नो घर लैजान सक्नेछन् । कम्पनीका अनुसार यो अफर देशभरका नामी र सेरेसका आधिकारिक शोरूमहरूमा लागू हुनेछ। अफर अन्तर्गत ग्राहकहरूले ईभी गाडीहरूको टेस्ट ड्राइभ गर्न, पुराना गाडी साटफेर गर्न मिल्ने एक्सचेन्ज क्याम्प मा सहभागी हुन र नयाँ प्रविधिको अनुभव लिन सक्नेछन् । यस अफरमा नामीको गाडीमा अधिकतम १ लाख रुपैयाँसम्म र सेरेसमा २ लाख रुपैयाँसम्मको विशेष लाभ प्रदान गरिनेछ । अझ रमाइलो कुरा त के भने, ग्राहकले गाडी बुक गरेपछि दुई दिनमै छिटो डेलिभरी प्राप्त गर्न सक्नेछन् । अफर अवधिभर गाडीको टेस्ट ड्राइभ गर्ने हरेक व्यक्तिलाई विशेष उपहार दिइनेछ । त्यस्तै, गाडी बुक गर्ने ग्राहकहरूले दुई जनाका लागि रोमान्टिक नाइट स्टे प्याकेज जित्ने पक्का अवसर पाउनेछन् । अभियानलाई थप रोमाञ्चक बनाउन दुई वटा लक्की ड्र पुरस्कार पनि राखिएको छ । एउटा भाग्यमानी जोडीले थाइल्याण्डको रोमाञ्चक ट्रिप जित्नेछन् भने, टेस्ट ड्राइभमा सहभागी हुनेमध्ये एकजना भाग्यमानीले आइफोन १६ प्रो म्याक्स प्राप्त गर्ने कम्पनीले जनाएको छ । ‘प्री बजेट ब्याश’ योजना ईभीमा रुचि राख्ने ग्राहकहरूका लागि हरियो भविष्य तर्फको सार्थक कदम हो । अफरको लाभ लिन इच्छुक सबै ग्राहकहरूलाई आफ्नो नजिकको नामी वा सेरेस शोरूममा बैशाख १८ देखि २२ गतेभित्र जान आमन्त्रित गरिएको छ ।
बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा पर्ने नवलपरासी पूर्वको दुम्कीबासमा बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ। आज बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ । कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन् । यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ। अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले बताए ।
हुलास हायर पर्चेजको नाफामा १९०.५० प्रतिशत उछाल, वितरणयोग्य नाफा ४० करोड बढी
काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १४ करोड ५९ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ५ करोड २ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १९०.५० प्रतिशत बढेको देखिन्छ । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले १४ करोड ८६ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको चैतमा कम्पनीले १० करोड ४६ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको ब्याज आमदानी ४२.११ प्रतिशत बढेको हो । चालु आजको चैतसम्म कम्पनीले नेट फि एण्ड कमिसन आम्दानी ३२ करोड २५ लाख ८६ हजार रुपैयाँ, सञ्चालन नाफा २३ करोड २२ लाख ८३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४७ करोड १२ लाख ४२ हजार रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८३ करोड रुपैयाँ र अन्य जगेडामा १९ करोड १ लाख २ हजार रुपैयाँ रहेको छ । कम्पनीको वितरणयोग्य नाफा ४० करोड ७ लाख ७३ हजार रुपैयाँ छ । गत वर्षको चैतमा वितरणयोग्य नाफा २५ करोड २९ लाख ४६ हजार रुपैयाँ थियो । चैतसम्म कम्पनीको प्रतिसेयर आम्दानी २३.४५ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा यस्तो आम्दानी ८.३७ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १७१.१९ रुपैयाँ छ । यसअवधिमा कम्पनीको रिटर्न अन इक्विटी (आरओई) १३.७० प्रतिशत रहेको छ ।
प्रभु महालक्ष्मी लाइफबाट ३ जना संस्थापक बाहिरिँदै
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तीन जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । तीन संस्थापकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिन लागेका हुन् । कम्पनीका अनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ५ लाख ५० हजार कित्ता, विनिता उपाध्यायले १ लाख १० हजार कित्ता र माधव प्रसाद पन्थीले ७८ हजार ५ सय कित्ता गरी कुल कुल ७ लाख ३८ हजार ५ सय कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र खरिद गर्नका लागि आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
भारतबाट विद्युत् आयातको समय थप ४ घण्टा बढाइयो, उद्योगलाई सहज
काठमाडौं । छिमेकी मुलुक भारतबाट नेपालमा आयात गरिएको विद्युतको समय ४ घण्टा बढाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पहलमा भारतको इण्डियन एक्सचेञ्ज मार्केट (आइएक्स) मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म आइरहेको विद्युतको समय चार घण्टा बढाइएको हो । समय बढाएसँगै अब बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति हुनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतको ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको ६०० मेगावाट विद्युतको समयावधि बढाइएको हो । उक्त निर्णयसँगै अब औद्योगिक क्षेत्रहरूमा साँझ ५ बजेसम्म निर्वाध विद्युत् आपूर्ति सुनिश्चित हुने भएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै देशभित्रै जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको भए पनि औद्योगिक मागलाई पूरा गर्न भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ । औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत् उपलब्धतालाई हालको व्यवस्थापनले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । प्राधिकरणले मागअनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुञ्जेल भारतबाट अधिकतम मूल्यमा समेत आयातको प्रयास गरिएको र यसले औद्योगिक ग्राहकमा देखिएको समस्या समाधान हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले नेपालको आन्तरिक उत्पादनले मात्र मागअनुसारको विद्युत् आपूर्ति गर्न पर्याप्त नभएको अप्ठ्यारो परिस्थितिमा भारत सरकारबाट ६०० मेगावाट विद्युत् आयातको समयावधि थप ४ घण्टा बढाइ गरिएको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिए ।
सकियो दोस्रो सिकार याम, ११ नाउर र ७ झारलको सिकार
काठमाडौं । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र सिकार भएको छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिएको थियो । सिकार खेल्नका लागि हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एन्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका थिए । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको फागुने, सुनदह, घुस्तुङ, दोगाडीलगायत ब्लकमा पुगेका थिए । ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार, चैत २६ गतेदेखि सिकारी ढोरपाटन आएका थिए । सिकारीले सुनदह ब्लकमा दुई नाउर र दुई झारल, घुस्तुङ ब्लकमा तीन नाउर र तीन झारल, दोगाडी ब्लकमा चार नाउर र एक झारल, फागुने ब्लकमा एक नाउर र एक झारल र बार्सेमा एक नाउरको सिकार थिए । १२ बँदेलको सिकार अनुमति दिए पनि एउटा पनि सिकार भएन । दोस्रो याम (फागुन-वैशाख)का लागि वैशाख १६ गतेसम्म सिकारीले सिकार खेलेका थिए । सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टस काठमाडौंले सिकारीमार्फत दुई नाउर, दुई र दुई बँदेल सिकार गर्न अनुमति पाएको थियो । यो कम्पनीले एउटा नाउर र एउटा झारल मात्र सिकार गरेको छ । ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकन सिकारीले दुई नाउर र दुई झारल सिकार गर्ने अनुमति पाएकामा सबै वन्यजन्तुको सिकार गरेको उनले बताए । त्यसैगरी हिमालयन सफारिज प्रालि काठमाडौंमार्फत तीन सिकारीले तीन नाउर, एक झारलका लागि अनमति पाएकामा तीन नाउर र एक झारल सिकार गरेका छन् । ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका थिए । त्यसमध्ये दुई नाउर र एक झारलको सिकार गरेका छन् । नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झरल र तीन बँदेल सिकार गर्ने अनुमति पाएकामा दुई नाउर मात्र सिकार गरेको सुवेदीले जानकारी दिए । ओपन नेपाल वाइल्डलाइफ सफारिज एन्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएकामा एक नाउर र दुई झारलको सिकार गरेको उनले बताए । दोस्रो सिकार आयममा अमेरिका, अर्जेन्टिना, स्पेनिस, फ्रान्सबाट सिकारी आएका थिए । ढोरपाटनमा हरेक वर्ष (असोज-मङ्सिर) पहिलो र (फागुन-वैशाख) दोस्रो याममा सिकार हुने गर्छ ।