त्रिवि क्रिकेट ग्राउण्डलाई आधुनिक बनाइने, खेलाडीलाई प्रोत्साहन
काठमाडौं । सकरारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट खेल मैदानलाई प्रविधियुक्त तथा आधुनिक बनाउने भएको छ । राष्ट्रपछि रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै यस्तो बताएका हुन् । उनले सरकारले खेलाडीलाई पनि प्रोत्साहन गर्ने बताएका छन् ।
सरकारले सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने
काठमाडौं । सरकारले सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्नेमा जोड दिएको छ । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् । उनले १६ औं योजनाको रणनीति अनुरूप सूचना प्रविधि, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरण रोजगारीमुखी आर्थिक वृद्धि, एवम् संरचनात्मक रूपान्तरण नयाँ आधारको रूपमा कार्यान्वयन गरिने बताए । उनले वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयकलाई संसदको यसै अधिवेशनबाट पारित गरिने समेत जिकिर गरे । सरकारले सन् २०२६ मा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्र रूपमा सहज तुल्याउने रणनीति लागु गरिने लक्ष्य लिएको छ । राष्ट्रपति पौडेलले व्यापार सम्झौता बिस्तार, वैकल्पिक वित्त र वस्तु विनिमयसम्बन्धी कानुन निर्माण गरिने बताए । राष्ट्रपति पौडेलले नवीन वित्तीय उपकरणमार्फत सम्भावना भएका सार्वजनिक पूर्वाधारमा निजी पुँजी आकर्षित गरिने बताए । उनले धितो पत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्ज पुनः संरचना गरी पुँजी बजारको क्षमता र पारदर्शितामा वृद्धि गरिने जानकारी गराए ।
विद्यालय शिक्षा सुधार्न नीति बनाइने
काठमाडौं । विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानुनी प्रबन्ध गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विश्वविद्यालय शिक्षालाई ज्ञान अनुसन्धान तथा विकास तर्फ केन्द्रित गर्ने र उद्यमशीलता मैत्री शिक्षाको नीति अपनाई श्रम क्षेत्रमा सीप भएको शक्ति उत्पादन गर्ने बताएका छन् । यसका लागि हालको पाठ्यक्रम सिकाइ र अध्यापन विधिमा सुधार गर्ने उनको भनाइ छ । उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका सम्भावना वृद्धि गरिने छ ।
इकमर्सको व्यापार व्यवसायमा सरकारको जोड
काठमाडौं । इकमर्सको व्यापार व्यवसायलाई प्रवर्द्धनमा सरकारले जोड दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । साथै, राष्ट्रपति पौडेलले रूग्ण उद्योगलाई आवश्यकता आधारमा पुनः सञ्चालनमा ल्याउने नीति लिएको उनको भनाइ छ । उनका अनुसार पेट्रोलमा बायो इथोनल मिश्रणको नीति कार्यान्वयन गरिने भएको छ । कालोबजारी, कार्टेलिङ नियन्त्रण गरी स्वस्थ बजारसहित उपभोक्तामैत्री गरिने पौडेलले बताए । योग ध्यानका माध्यमबाट पर्यटक भित्र्याउने उनको भनाइ छ ।
वैदेशिक लगानीलाई उच्च प्रतिफलयुक्त आयोजनामा केन्द्रित गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मार्फत वैदेशिक लगानीलाई उच्च प्रतिफलयुक्त आयोजनामा केन्द्रित गर्ने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति पौडेलले संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उच्च प्रतिफलयुक्त आयोजना औद्योगिक तथा भौतिक पूर्वाधार आयोजना केन्द्रित गरिने बताए ।
स्वास्थ्य बीमा पुनर्संरचना गरि दिगो बनाइने
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम पुनसंरचना गरी दिगो सुलभ बनाइने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आवद्ध गर्ने बताए । यस्तै स्वास्थ्य सेवालाई सुलभ पहुँच योग्य तुल्याउन पूर्वाधार बिस्तारसँगै सेवा प्रदायक अस्पताल, चिकित्सक, स्वास्थ्य जनशक्ति, र सेवाग्राही बीचको असन्तुलन हटाउने बताएका छन् ।
सरकारले कृषि उद्यम परियोजनालाई धितो राखेर कर्जा दिने
काठमाडौं । सरकारले कृषि उद्यम परियोजनालाई धितो राखेर कृषि कर्जा दिने घोषणा गरेको छ । संघीय संसद्को सयुंक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । सरकारले कृषि उद्यम गर्नेलाई इकोसिस्टम प्रणालीमा समेटी पाइलट परियोजना सुरु गर्ने पनि भएको छ ।
सरकारले धौवादी फलाम कम्पनीको सेयर निजी क्षेत्रलाई बिक्री गर्ने
काठमाडौं । सरकारले धौवादी फलाम कम्पनीमा निजी क्षेत्रलाई भित्र्याउने भएको छ । राष्ट्रपछि रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै सो फलाम कम्पनीमा निजी क्षेत्रलाई ल्याएर सार्वजनिक निजी साझेदारीमा सञ्चालन गरिने बताएका हुन् । उनले फलाम तथा खनिज पदार्थको उत्खनन्मा नयाँ प्रविधिको प्रयोग गरने बताएका छन् ।