नागरिक उड्डयनलाई प्रभावकारी बनाइ हवाई सेवा सुरक्षित, सुलभ र पहुँचयोग्य बनाइने
काठमाडौं । सरकारले नागरिक उड्डयनलाई प्रभावकारी बनाइ हवाई सेवा सुरक्षित, सुलभ र पहुँचयोग्य बनाउने घोषणा गरेको छ । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् । उनले हवाई पूर्वाधार र सेवा प्रवाहमा निजी क्षेत्रको सहभागिता बढाइने बताए । उनले आर्थिक व्यावसायिक वातावरणीय सम्भाव्यताका आधारमा मात्र विमानस्थल निर्माण तथा बिस्तार गरिने जिकिर गरे । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पौडेलले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक तथा नेपाल उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्को यसै अधिवेशनबाट पारित गरिने बताए । उनले नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिने घोषणासमेत गरे ।
पशुपन्छीजन्य रोग नियन्त्रण गर्न खोप कार्यक्रम
काठमाडौं । पशुपन्छीजन्य रोग नियन्त्रणको लागि खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरिने बताए । उनले यसका लागि नेपालका लागि आवश्यक पर्ने खोप उत्पादन गर्न प्रोत्साहन गर्ने बताए ।
पेट्रोलियम पदार्थमार्फत चल्ने सवारीसाधनमा युरो ६ मापदण्ड लागू गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पेट्रोलियम पदार्थमार्फत चल्ने सवारीसाधनमा युरो ६ मापदण्ड लागू गर्ने भएकाे छ । शुक्रबार राष्ट्रपति पौडेलले संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सो मापदण्ड लागू गर्नेबारे बताएका हुन् । यसैगरी, वातावरणीय अध्ययन तथा मूल्यांकन प्रक्रिया सहज बनाइने भएको छ । त्यस्तै, संरक्षण क्षेत्रमा मानव र प्रकृतिसँग अस्तित्व कायम गरिने भएको छ । वायु गुणस्तर कार्ययोजना लागू गरिने भएको छ । सरकारले आगामी नीति तथा कार्यक्रममार्फत राष्ट्रपति चुरे तराई मधेस संरक्षण परियोजनाको पुनःसंरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाइने पौडेलले बताए । त्यस्तै एकीकृत जलाधार व्यवस्थानमार्फत पानी सञ्चय, भूक्षय नियन्त्रण र क्षतिग्रस्त भूमिको पुनःस्थापनामा ध्यान दिइने उल्लेख गरेका छन् । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगित गरिने
काठमाडौं । सरकारले विगतमा विभिन्न सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने भएको छ । शुक्रवार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । सरकारले विकास निर्माणका क्रममा देखा परेका कमी, कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति, संस्कृति फर्ने जनाएको छ । साथै परियोजनालाई वर्गीकरण गरी आर्थिक वर्ष ०८२/०८३ मा सम्पन्न हुने र यस संसदको अवधिभित्र सम्पन्न हुनेगरी समय-तालिका निर्धारण गर्ने भएको छ । यसैगरी, सरकारले निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगित गर्ने भएको छ । त्रुटिपूर्ण परियोजना पनि खारेज गर्ने भएको छ ।
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्न राहत कोष स्थापना गरिने
काठमाडौं । सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने घोषणा गरेको छ । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्ताहरू वचत फिर्ता गर्न सहकारी नियमन प्राधिकरणमार्फत राहत कोष स्थापना गरिने बताए । सहकारी क्षेत्रका आधारभूत समस्याहरू समाधान गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत आवश्यक कदम चालिने बताए । उनले सहकारी ऋण सूचना, वचत सुरक्षा र ऋण असुलीका लागि न्यायाधीकरण थप स्थापना बताए । सहकारी तथ्यांक व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन विद्युतीय सूचना प्रणालीको मापदण्ड तय गरिने र सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति गरिने नीति पनि समावेश गरिएको उनको भनाइ छ ।
युवालाई आर्थिक र सामाजिक रुपान्तरणमा प्रमुख वहाकका रुपमा परिचालन गर्ने
काठमाडौं । सरकारले युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वहाकका रुपमा परिचालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वहाकका रुपमा परिचालन गरिने बताए । उनका अनुसार युवाहरूको शारीरिक र मानसिक विकासका लागि नियमित खेलकुद सञ्चालन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा स्तरोन्नति गर्ने उनको भनाइ छ ।
बालबालिकाका लागि अब निःशुल्क क्यान्सर उपचार
काठमाडौं । सरकारले क्यान्सल रोग लागेका बालबालिको नःशुल्क उपचार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै यस्तो बताएका हुन् ।
बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याइने
काठमाडौं । सरकारले भौतिक सम्पत्ति बीमा प्रवर्द्धन गर्दै बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने भएको छ । शुक्रबार राष्ट्रपति पौडेलले संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सो कुरा घोषणा गरेका हुन् । त्यस्तै, सार्वजनिक भएको नीत तथा कार्यक्रममार्फत राष्ट्रपति पौडेलले बीमा सेवालाई ग्रामीण तथा निम्न आय वर्गलाई बीमामा समेट्न बीमा साक्षरता कार्यक्रम सञ्चालन गरिने भएको बताएका छन् । आगामी नीत तथा कार्यक्रममार्फत बीमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाइने समेत राष्ट्रपति पौडेलले बताए ।