विकासन्युज

नेप्सेको पुनः संरचना गरिने, कम्पनी नवीकरण गर्न सामाजिक सुरक्षाको प्रमाणपत्र चाहिने

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनः संरचना गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई शुक्रवार संसदमा प्रस्तुत गर्दै नेप्सेको पुनर्संरचना गरी पुँजीबजारको क्षमता र पारदर्शिता बढाउने बताए ।  नेपाल धितोपत्र बोर्डलाई सुदृढीकरण गर्ने समेत उनले बताए । त्यस्तै, सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गर्ने भएको छ ।   सरकारले शिक्षक दरबन्दी पुनरावलोकन गर्ने घोषणा गरेको छ भने शिक्षक बैंक स्थापना गर्ने नीति समेत सरकारले लिने पौडेलले बताए । उनका अनुसार विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गरिनेछ ।  उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाइने, शैक्षिक गुणस्तर मानक बनाएर स्थानीय तहसम्मै लागू गर्ने, विश्वविद्यालय अनुदान विद्यार्थीका आधारमा वितरण गरिने पौडेलले बताए ।

योगध्यानमार्फत देशलाई आरोग्य बनाउने

काठमाडौं । नेपाललाई आरोग्य र ध्यान पर्यटनको आकर्षण स्थलको रुपमा प्रर्वद्धन गरिने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले योग ध्यान मार्फत सकारात्मक सोचको अभिवृद्धि गरी नेपाललाई आरोग्य र ध्यान पर्यटनको आकर्षण स्थलको रुपमा प्रर्वद्धन गरिने जनाएको छ । उनले पर्यटन क्षेत्रलाई आयआर्जन रोजगारी र सम्बृद्धिको आधारको रुपमा विकास गरिने बताए ।

नेपाललाई पर्यटनको हब बनाउने घोषणा, सम्भाव्यता अध्ययन गरेर मात्रै विमानस्थल निर्माण

काठमाडौं । सरकारले नेपाललाई योग तथा ध्यान पर्यटनको केन्द्र बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै यस्तो बताएका हुन् ।  उनले पर्यटनलाई रोजगारी र समृद्धिको आधारका रूपमा विकास गर्ने बताएका हुन् । उनले अब सम्भाव्यताको आधारमा मात्र विमानस्थल बनाउने घोषणा समेत राष्ट्रपतिले गरे । यस्तै, उनले रेल तथा जल यातायात विकास गरी ढुवानी लागत घटाउने घोषणा गरेका छन् । अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य निर्धारण र गुणस्तर नियन्त्रणमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।  

सडक, रेल र जल यातायात आवागमनको माध्यमका रूपमा विकास गरिने

काठमाडौं । सरकारले सडक, रेल र जल यातायातलाई आवागमनको प्रमुख माध्यमका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।   शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलमार्फत संघीय संसदमा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उक्त बुँदा उल्लेख छ। यस्तै, रेलमार्ग विस्तारको कामलाई निरन्तरता दिइने पनि सरकारले जनाएको छ।

स्टार्टअप कर्जा कार्यक्रम विस्तार गरिने

काठमाडौं । सरकारले आगमी आर्थिक वर्षमा नवप्रवर्द्धनमा आधारित स्टार्टअप उद्यमीलाई प्रोत्साहन गर्न स्टार्टअप कर्जा कार्यक्रम विस्तार गरिने भएको छ ।  शुक्रबार राष्ट्रपति पौडेलले संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्टार्टअप कर्जा कार्यक्रम विस्तार गरिने बताएका छन् । सरकारले आगमी आवमा प्रदेश तथा स्थानीय सरकार र निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा स्टार्टअप उद्यमीहरूलाई व्यवसाय प्रवर्द्धन, सम्वर्द्धन क्षमता अभिवृद्धि सेवा बजारीकरण र मूल्यशृंखला निर्माण गर्न सबै प्रदेशमा व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना र सञ्चालन गरिने भएको छ ।  त्यस्तै, इकमर्समार्फत व्यापारको विकास गरिनुका साथै बौद्धिक सम्पत्तिको संरक्षण तथा नवप्रवर्द्धन गरिने राष्ट्रपति पौडेलले बताए ।

एक स्थानीय तह एक स्मार्ट हुलाक सेवा सञ्चालन गर्ने

काठमाडौं । सरकारले सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी नियमन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  सञ्चार र निगरानी क्षमतामा वृद्धि गर्न नेपालको आफ्नै भू–उपग्रह सञ्चालनको आधार तयार गरिने बताए । अति संवेदनशील सूचना प्रविधि, पूर्वाधारको सुरक्षा र निरन्तरताको सुनिश्चितता गर्दै उहाँले सुरक्षित साइबर स्पेस निर्माण गर्ने उल्लेख गरे ।  ‘दूरसञ्चार क्षेत्रमा नवीनतम् प्रविधिको प्रयोग र पूर्वाधारको व्यवस्थापनमार्फत गुणस्तरीय दूरसञ्चार सेवाको देश व्यापी पहुँच विस्तार गरिनेछ । सार्वजनिक सेवा प्रसारण संस्थाको सरलीकरण गर्दै आमसञ्चार सामग्री उत्पादन, प्रकाशन र प्रसारणलाई प्रभावकारी बनाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ । सरकारले हुलाक सेवाका पूर्वाधारलाई व्यवस्थित गर्दै कार्यक्षेत्रको विविधीकरण, सेवा प्रवाहमा आधुनिकीकरण र व्यवसायीकरण गर्नुका साथै एक स्थानीय तहः एक स्मार्ट हुलाक’ को अवधारणाको कार्यान्वयन गर्ने भएको छ । सरकारले सुरक्षण मुद्रणलाई दिगो र भरपर्दो रूपमा सञ्चालनमा ल्याउनुका साथै  डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई थप प्रभावकारी बनाइने भएको छ । सूचना प्रविधिको क्षेत्रमा नवीनतम प्रविधिको विकास र विस्तारका लागि डिजिटल इकोसिस्टम निर्माण गर्ने र आर्टिफिसियल इन्टेलिजेन्सको विकास र नैतिक प्रयोगका लागि संस्थागत र कानुनी आधार तयार गर्ने सरकारको योजना छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’को रुपमा विकास गर्ने

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै यस्तो बताएका हुन् । उनले निर्णय प्रक्रियामा सरलीकरण तथा प्रविधिमैत्री बनाउने बताए ।  यस्तै, उनले हलो सरकारमार्फत् प्राप्त गुनासो सम्बोधनका ालगि र्यापिड रेस्पोन्स टिम निर्माण गरिने घोषणा गरे । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद तथा मातहतका कार्यालयको कामलाई सुधार गर्ने बताए । 

मुसहर समुदायका लागि नेपाल एसबिआई बैंकद्वारा शैक्षिक सामग्री वितरण

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सर्लाही जिल्लाको हरिपुर नगरपालिका–७ स्थित मुसहर समुदायलाई लक्षित गरी अत्यावश्यक तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख उदय पञ्जियार थारुले समुदायका ५० परिवार र बालबालिकालाई औपचारिक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरे । कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियारसहित बैंक र नगरपालिकाका उच्च पदाधिकारीको उपस्थिति रहेको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विपन्न तथा पिछडिएका वर्गका समुदायहरूलाई लक्षित गर्दै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल देशभर बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।