सार्वजनिक यातायात क्षेत्रलाई सर्वसुलभ, सुरक्षित र भरपर्दो बनाइने
काठमाडौं । सरकारले तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो वातावरणमैत्री बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सवारी दुर्घटना न्यूनीकरण गर्न सडकको अवस्था सुधार गर्ने उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले भने, ‘सवारी दुर्घटना न्यूनीकरण गर्न यात्रुलक्षित सचेतना कार्यक्रम गर्ने तथा सवारी चालकको क्षमता विकास गरी जिम्मेवारी बनाइनेछ ।’ रणनीतिक र व्यापारिक महत्त्वका सडकखण्डको क्रमशः निर्माण र स्तरोन्नति गर्दै रुग्ण पुल तथा आयोजनाको निर्माण द्रुतगतिमा अगाडि बढाउने सरकारको योजना छ । सरकारले वैदेशिक सहायतामा सञ्चालन हुने सबै परियोजनाहरूको शीघ्र कार्यान्वयन गर्ने समेत घोषणा गरेको छ । सरकारले राष्ट्रिय राजमार्गमा विशेष प्रकृतिका पुलहरू निर्माण गर्ने, सुरुङमार्ग, द्रुतमार्गजस्ता आधुनिक निर्माणमा जोड दिने भएको छ । सडक तथा पुलको निर्माण र परिचालनमा तीन तहका सरकारको बीचमा समन्वय र सहकार्य गरी अगाडि बढ्ने योजना सरकारको छ । सडक सुविधा नपुगेका दुर्गम क्षेत्रको यातायातलाई सहज तुल्याउन तुइन व्यवस्थापन गर्ने र झोलुङ्गे पुलको निर्माण गरिनेछ ।
सूचना प्रविधिमा ललितपुर महानगरको नेतृत्वदायी फड्को, ‘आईसीटी अवार्ड २०२५’ बाट सम्मानित
ललितपुर । मुलुकभरका स्थानीय तह र प्रदेश सरकारलाई उछिन्दै ललितपुर महानगर सूचना तथा संचार प्रविधि मन्त्रालयबाट सम्मानित भएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री के पी शर्मा ओलीले आइसिटी सूचना प्रविधि अवार्ड २०२५बाट महानगर प्रमुख चिरीबाबु महर्जनलाई सम्मान गरे । ललितपुर महानगरले सूचना प्रविधि प्रयोग गरी सेवा प्रवाह ,विकास निर्माण, सचेतना कार्यक्रमलाई प्रभावकारी बनाएको भन्दै सम्मान गरेको सूचना तथा संचार प्रविधि मन्त्रालयले जनाएको छ । अवार्ड ग्रहण गरेपछि महानगर प्रमुख चिरीबाबु महर्जनले टिम वर्कका कारण अवार्ड प्राप्त गर्न सफल भएको बताए । उनले भने, ‘हामीले महानगरभित्र सम्पादन हुने काम, कुरालाई प्रविधिसँग जोडेका छौं ।’ विपद्को जानकारी दिन एलएमसी एप, सुरक्षाका लागि सिटि टिभी क्यामेरा , इन्टिलिजेन्ट ट्राफिक लाईट लगायतका विषयलाई सूचना प्रविधिसँग जोडेको बताए । उनले भने , ‘प्रविधिकै कारण महानगरबासीले फाइल बोकेर कोठा कोठामा पुग्न नपर्ने बनाएका छौं ।’ एकद्धार प्रणालीद्वारा काम गर्दा समयको बचतदेखि काम चुस्त रुपमा भएको उनको भनाई थियो । महानगरको कामलाई प्रभावकारी बनाउन सूचना, प्रविधिको क्षेत्रमा योजनाबद्ध ढंगबाट काम गरिरहेको बताए । मन्त्रालयले सूचना, प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न निजी संघ संस्था र व्यक्तिलाई समेत उक्त अवार्डबाट सम्मान गरेको थियो ।
भूमिसम्बन्धी विधेयकलाई चालु अधिवेशनबाट पारित गरिने
काठमाडौं । सरकारले भूमिसम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गरिने घोषणा गरे। भूमिसम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गरिनेछ । यसअघि सरकारले संसद नभएको बेला भूमि सम्बन्धी अध्यादेश ल्याएको थियो । संसदबाट पास गर्न मुस्किल भएपछि त्यसलाई फिर्ता लिएको थियो । फेरि आगामी वर्षमा भूमि विधेयक अघि बढाउने गरी सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको हो ।
भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रका रूपमा विकास गरिने
काठमाडौं । सरकारले भृकुटीमण्डप क्षेत्रलाई अन्तराष्ट्रियस्तरको सम्मेलन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । काठमाडौंको केन्द्रमास्थित भृकुटी मण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र, मनोरञ्जन पार्कको रूपमा विकास गरिनेछ
रेल तथा जल यातायात विकास गरी ढुवानी लागत घटाइने
काठमाडौं । सरकारले रेल तथा जल यातायात विकास गरी ढुवानी लागत घटाउने घोषणा गरेको छ । सरकारको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ । अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य निर्धारण र गुणस्तर नियन्त्रणमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै अन्तरदेशीय पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता बढाउने घोषणा समेत सरकारले गरेको छ । यस वर्ष ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भिक तयारी गरिने भएको छ । पेट्रोलमा बायो इथानोल मिश्रणको नीति समेत कार्यान्वयन गरिने भएको छ ।
राष्ट्रपतिले सार्वजनिक गरे ५६ पेजको नीति तथा कार्यक्रम (पूर्णपाठ)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा ६० पेजको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । यस्तो छ नीति तथा कार्यक्रम :
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन
काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरि राष्ट्रिय शैक्षिक सुधारको कार्यक्रमका रुपमा विकास गरिने छ । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको शिक्षा पद्धतिलाई आधुनिक विज्ञान प्रविधिमैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाइने बताए उनले विद्यालय शिक्षा पुरा गर्नासाथ विद्यार्थीको ग्रेडिङ आधारमा आधुनिक तथा व्यवसायिक शिक्षामा विश्वविद्यालय शिक्षामा प्रवेश गराइने बताएका छन् ।
‘काईयी एक्सचेन्ज कर्निभल २०८२’ सुरु हुँदै, विद्युतीय गाडीमा छुट
काठमाडौं । विद्युतीय सवारी साधनलाई लोकप्रिय बनाउँदै वातावरणमैत्री यातायाततर्फ जनचासो बढाउने उद्देश्यले काईयी नेपालले ‘काईयी एक्सचेन्ज कर्निभल २०८२’ आयोजना गर्न लागेको छ। वैशाख २६ देखि २८ गतेसम्म थापाथलीस्थित काईयी शोरूम (हुन्डाई शोरूमको अगाडि) मा आयोजना हुने यो कर्निभलमा ग्राहकले पुराना गाडी साटफेर गर्न सक्ने, विद्युतीय गाडीमा आकर्षक छुट पाउने र विभिन्न उपहार जित्ने अवसर पाउनेछन् । कार्यक्रममा काईयी ई–क्युट ०२, ई–क्युट ०४ र एक्स३ प्रो ईभी जस्ता मोडेलमा विशेष नगद छुट, बीमा तथा सडक कर निःशुल्क प्रदान गरिनेछ । साथै, पुराना गाडीको अन–द–स्पट मूल्यांकन गरिनेछ र मूल्यांकन गराउने ग्राहकले सिनेमा हेर्ने दुई टिकट निःशुल्क पाउनेछन् । काईयी कर्निभलमा ग्राहकले नयाँ गाडीको अनुभव लिने, परीक्षण ड्राइभ गर्ने, एक्सचेन्ज अफरमा सहभागी हुने र मनोरञ्जनात्मक गतिविधि समेतमा सहभागी हुने वातावरण तयार गरिएको आयोजकले जनाएको छ । संगीत, खेलकुद र रमाइलो कार्यक्रमहरूले भरिपूर्ण यो कर्निभल सामान्य किनमेलभन्दा बढी एक उत्सव हुने बताइएको छ । काईयी नेपालले यस कर्निभलमार्फत नेपाली उपभोक्तालाई प्रविधिसँगै सुरक्षित, भरपर्दो र किफायती विद्युतीय सवारीतर्फ आकर्षित गराउने विश्वास व्यक्त गरेको छ ।