विकासन्युज

नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी, नबिलका ग्राहकले १० प्रतिशत छुट पाउने

काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको छ । बैंकका तर्फबाट प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक (कानुन) सुशीलकुमार चापागाईंले समझदारीपत्रमा हस्ताक्षर गरे ।  समझदारीअनुसार अब नबिल बैंकका सेवाग्राहीहरूले अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्मको विशेष छुट र व्यक्तिगत परामर्श सेवा प्राप्त गर्न सक्नेछन् । नबिल बैंकका प्रमुख बजार अधिकृत सुवेदीले यो समझदारीले बैंकका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज हुने बताए ।  समझदारीपछि नबिल बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरूले भारतस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्दा विशेष छुट र भारतमा उपचार गर्नका लागि आवश्यक परामर्श तथा सुविधाहरू पाउने बैंकले जनाएको छ ।  यस सहकार्यबाट भारतमा विशेष स्वास्थ्य सेवा लिन चाहने नेपाली बिरामीले अस्पतालमा डाक्टर छनोट गर्न र यात्राको व्यवस्थापनमा भोगिरहेको समस्या समाधानमा सहयोग पुग्नेमा बैंकले विश्वास गरेको छ ।  ग्राहकले बैंकका डेबिट तथा क्रेडिट कार्ड, नबिल क्यूआर, नबिल स्मार्ट मोबाइल एप वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा सो छुट तथा सेवा प्राप्त गर्नेछन् । उक्त समझदारी दुई वर्षसम्म लागू हुने जनाइएको छ । अपोलो इन्फर्मेसन सेन्टर अपोलो अस्पताल इन्टरप्राइजेज लिमिटेड भारतको आधिकारिक प्रतिनिधि संस्था हो । जसले दक्ष स्वास्थ्यकर्मी र अनुभवी उद्यमीहरुसहित काठमाडौँको नक्सालमार्फत सेवा प्रवाह गर्दै आएको छ ।    नबिल बैंक र बैंकले उपलब्ध गराउँदै आएका विशेष छुटबारे जानकारी लिन बैंकको वेबसाइटमा हेर्न सकिन्छ । नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।   

डा. अर्जुन कार्की बने नेपाल विश्वविद्यालयको उपकुलपति

काठमाडौं । नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त भएका छन् । वरिष्ठ चिकित्सक कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति पनि हुन् ।  नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उनलाई उपकुलपति नियुक्त गरेको हो । त्यस्तै, विश्वविद्यालयको रजिष्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्य नियुक्त भएका छन् । ऐनअनुसार विश्वविद्यालयको उच्च शासकीय निकाय संरक्षक परिषद् रहने व्यवस्था छ। नेपाल विश्वविद्यालयका संरक्षक परिषदका पदेनबाहेकका अन्य सदस्यमा डा. राम मनोहर श्रेष्ठ, डा. शिवा थापा, डा. जगदीश चन्द्र पोखरेल, डा. विपिन अधिकारी, डा. विमला राई पौड्याल, लक्ष्मीदेवी पाण्डे, लालकृष्ण केसी, माधवप्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशी रहेका छन् ।

ट्रक ढुवानी क्षेत्रमा डिजिटलाइजेशनलाई तीव्रता दिन महासंघको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ट्रक ढुवानी क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले एक दिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  सर्लाहीदेखि पूर्वसम्मका विभिन्न ट्रक व्यवसायी संघसंस्थाका पदाधिकारीसहित १०० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा ढुवानी क्षेत्रमा डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे जानकारी दिइएको थियो । महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार कार्यक्रममार्फत सहभागीहरूलाई क्युआर कोडमार्फत ट्रक ट्र्याकिङ, जीपीएस, अनलाइन भुक्तानी प्रणाली, कागजात व्यवस्थापन, ट्रक सञ्चालन, मर्मतसम्भार, ग्राहक सेवा, लोड–अनलोड व्यवस्थापन तथा वास्तविक समय निगरानीका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। उनले हाल देशभर २१ वटा धर्मकाटा सञ्चालनमा रहेको उल्लेख गर्दै सबै धर्मकाटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए। डिजिटलाइजेशनपछि ट्रकहरूको ओभरलोड नियन्त्रण, डेटा सुरक्षित राख्ने तथा ढुवानी प्रक्रिया पारदर्शी बनाउने लक्ष्य रहेको उनले बताए । कार्यक्रममा महासंघका अध्यक्ष हीरालाल श्रेष्ठले ओभरलोडका कारण सडक तथा राष्ट्रिय संरचनामा भइरहेको क्षतिको उल्लेख गर्दै यस्ता समस्या समाधान गर्न नियमनकारी निकायको संयोजनमा आगामी दिनमा थप कार्यक्रमहरू आयोजना गरिने जानकारी दिए । महासंघले ट्रक ढुवानीमा देखिँदै आएको सिन्डिकेट अन्त्य गर्न डिजिटल प्रणालीलाई विकल्पका रूपमा अघि सार्दै लोड बोर्ड एप तयार भइसकेको जनाएको छ । साथै ढुवानी सेवा पारदर्शी बनाउन एक ठाउँबाट अर्को ठाउँमा ट्रक सञ्चालनको सम्पूर्ण प्रक्रिया डिजिटल ट्रयाकिङमार्फत व्यवस्थित गरिने बताइएको छ । महासंघले ट्रक व्यवसायको आधुनिकिकरणका लागि डिजिटल डाटाबेस, स्मार्ट कार्ड प्रणाली, ट्रक रूट नियमन, सवारी पास तथा बीमा प्रणालीलाई पनि अनलाइन प्रणालीमा रुपान्तरण गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । कार्यक्रमको निष्कर्षमा महासंघले सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै ट्रक यातायातको डिजिटल रूपान्तरणलाई संस्थागत ढंगले अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

नेपाल माइक्रोले १९२ प्रतिशतले व्यवसाय बढाउँदा अन्य कम्पनीको कस्तो ?

काठमाडौं । पछिल्लो समय लघु निर्जीवन बीमक कम्पनीले आक्रामक ढंगले आफ्नो व्यवसाय बढाइरहेका छन् । हाल सञ्चालनमा रहेका चार निर्जीवन लघु बीमकले आफ्नो व्यापारलाई आक्रामक ढंगले विस्तार गरिरहेका हुन् । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा लघु निर्जीवन बीमक कम्पनीको व्यवसाय गत आवको यही अवधिको तुलनामा ३४२ प्रतिशतले बढेको छ ।  नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार निर्जीवन लघु बीमकले चालु आवको चैत्र मसान्तसम्ममा २ लाख ७७ हजार ९८ वटा बीमा लेख जारी गर्दा ६८ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत आवको यही अवधिमा कम्पनीहरूले १५ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । कम्पनीहरूले चैत्र महिनामा मात्रै ४७ हजार ९१ बीमा लेख जारी गरी १० करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चार निर्जीवन लघु बीमकमध्ये नेपाल माइक्रो इन्स्यारेन्सले चैत्र मसान्तसम्ममा ७७ हजार ३५१ बीमालेख जारी गरी १९ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले आर्जन गरेको व्यवसाय गत आवको यही अवधिको तुलनामा १९२.३३ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीहरूले ६ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।  धेरै बीमा शुल्क संकलन गर्ने दोस्रो नम्बरमा प्रोटेक्टिभ माइक्रो इन्स्याेरेन्सको रहेको छ । उक्त कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा १७ करोड ५७ लाख रुपैयाँ व्यवसाय गरेको छ । जुन गत आवको तुलनामा २५२.५९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरूले ४ करोड ९८ लाख रुपैयाँको व्यवसाय गरेका थिए। त्यस्तै, चालु आवको ९ महिनामा स्टार माइक्रोले १६ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको यही अवधिमा स्टार माइक्रोले ३ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । चार नीर्जीवन बीमक लघु बीमक कम्पनीमध्ये सबैभन्दा कम व्यवसाय गर्ने कम्पनी ट्रस्ट माइक्रो रहेको छ । व्यापार वृद्धिको हिसाबले भने ट्रस्ट माइक्रो पहिलो सबैभन्दा अगाडि रहेको छ । उक्त कम्पनीले चालु आवको चैत्रसम्ममा ६८ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको यही अवधिको तुलनामा २३२४ प्रतिशतले वृद्धि हो । गत आवमा कम्पनीको कुल बीमा शुल्क संकलन ६३ लाख रुपैयाँ थियो । 

वार्षिक ११ लाख रासायनिक टन मल चाहिन्छ, सरकारसँग चार लाखमात्रै छः कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देशभर रासायनिक मलको अभाव रहेको स्वीकार गर्दै सरकार प्राङ्गारिक मल र जैविक मलको नीतिमा अगाडि बढिरहेको बताएका छन् ।  आईतवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले देशको वार्षिक ११ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता भएपनि चार लाख टन मल मात्रै उपलब्ध रहेको उल्लेख गरे ।  उनले भने, ‘रासायनिक मलका सन्दर्भमा हाम्रो आवश्यकता ११ लाख टन हो । हामीसँग चार लाख टन छ । अहिले पनि बजारमा हाहाकार छ । मन्त्रीले मल दिँदैन भन्ने आलोचना हामीले दैनिकजसो सुनिराखेका छौं ।’ मन्त्री अधिकारीले खाद्य सुरक्षा कायम गर्नको लागि समेत सरकार प्राङ्गारिक मल र जैविक मलको प्रयोगलाई बढावा दिने नीतिका साथ अगाडि बढ्ने स्पष्ट पारे । उनले सिँचाइ, प्रशोधन र स्टोरेज कृषि सेवामा विद्युत अत्यावश्यक भए पनि विद्युत शुल्क उच्च भएकोले किसान मारमा परेको बताए । विद्युतमा सहुलियत दिन नसकेसम्म कृषिले फड्को मार्नसक्ने परिस्थिति नभएको मन्त्री अधिकारीको भनाइ छ ।  उनले विद्युत आपूर्ति सहज र सर्वसुलभ बनाउनको लागि अर्थ मन्त्रालयअन्तर्गत समस्याहरू रहेको बताए । मन्त्री अधिकारीले कुखुराको मासु, अण्डा र मकै उत्पादनमा आत्मनिर्भरता हासिल गर्न थालिएको दाबी गरिए पनि कच्चा पदार्थ अझै बाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहेको सुनाए ।  उनले स्थानीय तह, प्रदेश र संघ सरकारबीच प्रभावकारी समन्वय नभएसम्म कृषि सुधार सम्भव नहुने स्पष्ट पारे ।  किसानले जंगली बँदेलले कारण हैरानी खेप्नुपरेको उल्लेख गर्दै यसको समाधानतर्फ सरकार गम्भीर भएर लागिरहेको बताए ।

पोखरा विमानस्थलको विषयले लेखा समितिमा हलचल, समितिको प्रभावकारितामा प्रश्न

काठमाडौं । पोखरा विमानस्थलमा अनियमितता प्रकरणबारे समितिमा सभापतिले छलफल चलाउन आलटाल गरेको भन्दै सांसदहरूले सार्वजनिक लेखा समितिको प्रभावकारीतामाथि नै प्रश्न उठाएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे उपसमितिले बनाएको प्रतिवेदनमा छलफल गर्न बोलाइएको बैठकमा सांसद्हरूले समितिले समयमै निर्णय लिन नसेकको, भएका निर्देशनहरुलाई समेत कार्यान्वयन गराउन नसकेको, प्रधानमन्त्री-मुख्यसचिवलाई समितिमा डाकेर जवाफदेही बनाउन नसकेको भन्दै सांसदहरूले सभापति ऋषिकेश पोखरेलको आलोचना गरे । समितिको बैठकमा सांसद डा.अमरेशकुमार सिंहले संसदीय समितिको प्रभवकारीता घट्दै गएको बताए । लेखा समितिले प्रधानमन्त्री, मुख्यसचिव बोलाउन नसकेको भन्दै उनले सभापतिको आलोचना गरे ।  संसदको बैठक देखाएर समिति बैठक रोक्न नहुने उनको भनाइ छ । बेरुजु फर्छ्याैटका बेला जसरी रात दिन नभनी समिति बैठक बस्यो पोखरा विमानस्थलमा भएको अनियमितताका बारेमा त्यसरी नै छलफल हुनुपर्ने बताए । उनले भने, ‘डेडिकेट र ट्रंकलाइनको बक्यौतामा निर्देशन दियौं केही भएन, सिमेन्ट, डण्डीको मूल्य बढेको बढ्यै छ, एनसेल प्रतिवेदनमा लेखा समितिले दिएको निर्देशनमा केही भएन । लेखा समितिको प्रभावकारिता यही हो ? समिति सरकारको छायाँ भयो ।’ सांसद एवं पोखरा विमानस्थल अध्ययन उपसमितिका संयोजक राजेन्द्र लिङदेनले आयोजना स्थलमा पुगेर अध्ययन अनुसन्धान गरेको बताउँदै प्रतिवेदनमाथि शंका नगर्न आग्रह गरे । उनले भने, ‘सम्बन्धित आयोजनामा पुगेर अध्ययन गरिएको छ, पदाधिकारीसहित विज्ञहरूसँग छलफल गरिएको हो । यसमा प्रश्न उठाउनुको औचित्य छैन ।’ नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले पोखरा विमानस्थलमा भएको अनियमिततामा उपसमितिले तयार गरेको प्रतिवेदनमाथि प्रश्न उठाउनुभन्दा पनि छिटो कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले भने, ‘धन्यवाद दिनुपर्ने ठाउँमा प्रश्न उठाइएको छ । भ्रष्टाचारीको पक्षपोषण गर्नेहरूले प्रश्न उठाएका छन् । १४ अर्बको ठेक्कालाई २२ अर्ब पुर्‍याएको छ । यसमा भ्रष्टाचार भएको छ । यसबारे समितिले छिटो निर्णय लिनुपर्छ ।’ नेकपा (माओवादी केन्द्र) का सांसद अमललाल मोदीले उपसमितिले प्रतिवेदन दिइसकेपछि छलफल गरेर समितिले छिटो निर्देशन दिनुपर्ने बताए । उनले समिति न्यायिक नभएपनि निर्देशन लागू गराउन दबाब दिने तहमा रहेको बताए । उनले भने, ‘हामी न्यायिक होइन, हामीले दिएका निर्देशन कार्यान्वयन गर्न भन्न सक्छौं । कार्यान्वयन हुनुपर्छ । सरकारको छायाँका रूपमा लेखा समितिले काम गर्न हुँदैन ।’  समिति सभापति ऋषिकेश पोखरेलले सांसदहरूकै व्यवहारबाट समितिको ओज घटाउने काम भएको बताए । समिति न्यायधीश नभएको जनाउँदै उनले लेखा समितिलाई सांसदहरूको प्रस्तुति हेर्दा न्यायिक निकाय जस्तै हुनुपर्ने जस्तो देखिएको बताए । पोखराको सन्दर्भमा समितिमा चाँडो छलफल गरेर टुंग्याइने उनको भनाइ छ ।  उनले भने, ‘लेखा समिति न्यायिक निकाय होइन । हामी न्यायिक निकाय हो त ? सरकारलाई दिएको निर्देशन, सुझाव हो । हामी न्यायाधीश होइनौं ।’ भैरहवा विमानस्थल अध्ययन गर्न गठित समितिको प्रश्न उठेपछि एमाले सांसद योगेश भट्टराईले नबस्ने घोषणा गरेका छन् । उनको ठाउँमा अच्युत मैनालीलाई संयोजक तोकिएको समिति सभापति पोखरेलले बैठकलाई जानकारी दिए ।  तर अरू सांसदले मान्न तयार भएनन् । छिट्टै संयोजक तोकेर एक साताभित्रै प्रतिवेदन पेश गर्न निर्देशन दिए ।बैठकमा भट्टराईले भैरहवा विमानस्थलको सन्दर्भमा टीओआरका आधारमा प्रतिवेदन बनाइएको बताए । उनले भने, ‘टिओआरका आधारमा प्रतिवेदन बनाइएको छ । स्वार्थको द्वन्द्व भएको रिपोर्ट बरु पोखराका हकमा देखियो । ती प्रतिवेदनहरू शंकाको घेरामा छन । पोखराको प्रतिवेदन कसरी स्वार्थ रहित छ ?’ बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रश्न उठेका नेताहरूलाई समितिको संयोजक राख्न नहुने बताएका थिए । पोखरा विमानस्थलबारे अध्ययन गरिएको प्रतिवेदन समितिलाई नबुझाउँदै बाहिर ल्याइएको भन्दै उनले आलोचना गरे ।

निर्जीवन बीमकको व्यवसाय ३२ अर्ब १३ करोड, शिखर सबैभन्दा अगाडि

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३२ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । आइतबार नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमकहरूले ९ महिनामा २१ लाख ३५ हजार २३३ बीमा लेख जारी गर्दा ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । नीर्जीवन बीमा कम्पनीहरूले चालु आवको ९ महिनाको अवधिमा आर्जन गरेको बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा ७.११ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीहरुले २१ लाख ९३ हजार ५४७ वटा बीमालेख जारी गरी २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । निर्जीवन बीमकहरूले चैत्र महिनामा मात्रै २ लाख ९१ हजार ७७६ बीमा लेख जारी गर्दै ४ अर्ब १० करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । धेरै व्यवसाय गर्नेमा शिखर अगाडि बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ महिनाको अवधिमा सर्वाधिक व्यवसाय आर्जन गर्नेमा शिखर इन्स्योरेन्स अगाडि देखिएको छ । शिखरले चैत्रसम्ममा४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा २.८५ प्रतिशतले बढेको हो ।  अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको थियो । दोस्रो धेरै व्यापार गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको) रहेको छ । सलिकोले ९ महिनाको अवधिमा ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ व्यवसाय गरेको छ । सलिकोले गरेको व्यवसाय गत आवको तुलनामा ५.८४ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीले ३ अर्ब ५३ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  धेरै कुल बीमा शुल्क आर्जन गर्ने तेस्रो कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले चैत्र मसान्तसम्ममा ३ अर्ब १० करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ४९ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ७.४५ प्रतिशतले वृद्धि भएको देखिन्छ। चालु आवको चैत्रसम्ममा हिमालयन एभरेस्ट इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा ९.२८ प्रतिशतले व्यवसाय बढाएको छ । उक्त कम्पनीले गत आवको चैत्रसम्ममा २  अर्ब ५४ करोड ८९ लाख रुपैयाँ व्यवसाय गरेकोमा चालु आवको यही अवधिमा २ अर्ब ७८१ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । अन्य नीर्जीवन बीमा कम्पनीहरूमा चालु आवको ९ महिनाको अवधिमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ७३ करोड ४९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड १८ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १५ करोड ४६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब १३ करोड ४५ लाख रुपैयाँ, सानिमा जिआइसीले १ अर्ब ९२ करोड १९ लाख, नेपाल इन्स्यारेन्सले १ अर्ब ५५ करोड ८८ लाख र नेशनल इन्स्यारेन्सले ८७ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।  ३ कम्पनीको व्यवसाय घट्यो  चालु आवको ९ महिनामा तीन निर्जीवन बीमा कम्पनीको व्यवसाय घटेको छ । राष्ट्रिय बीमा, युनाइटेड अजोड र प्रभु इन्स्याेरेन्सको व्यवसाय गत गत आवको तुलनामा चालु आवमा घटेको हो ।  राष्ट्रिय बीमा कम्पनीको व्यवसाय चालु आवको चैत्र मसान्तसम्ममा गत आवको तुलनामा १३.३१ प्रतिशतले कमी आएको छ । कम्पनीले गत आवमा १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ कुल व्यवसाय गरेकोमा चालु आवमा १ अर्ब १३ करोड २६ लाख रुपैयाँ मात्रै व्यवसाय गरेको हो ।  युनाइटेड अजोडको व्यवसाय गत आवको तुलनामा ६.२४ प्रतिशले घटेर १ अर्ब ८५ करोड ४९ लाख रुपैयाँ आर्जन भएको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो ।  त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीको व्यवसाय गत आवको तुलनामा चालु आवमा १.३१ प्रतिशतले कमी आएको छ । गत आवमा कम्पनीले १ अर्ब ३२ करोड ६८ लाख रुपैयाँ व्यवसाय गरेकोमा चालु आवको ९ महिनामा १ अर्ब ३० करोड ९४ लाख रुपैयाँ व्यवसाय गरेको छ ।   

ल्यान्ड रोभरको अमेरिका गाडी निर्यात पुनः सुरु

काठमाडौं । ज्यागुआर ल्यान्ड रोभरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको २५ प्रतिशत ट्यारिफका कारण रोकिएको गाडी निर्यात पुनः सुरु गरेको छ । लन्डनस्थित टाइम्स पत्रिकाले यो जानकारी दिएको हो । प्रायः एक महिनापछि अमेरिकी बजारका लागि जेएलआरका गाडीहरू बुधबार बेलायतबाट पठाइएको रिपोर्टमा उल्लेख गरिएको छ । जेएलआरका प्रवक्ताले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा अमेरिका कम्पनीका लागि एक प्रमुख लक्जरी बजार रहेको जनाएको छ । 'हामी हाम्रा व्यवसायिक साझेदारहरूसँग नयाँ अमेरिकी व्यापार सर्तहरूलाई सम्बोधन गर्दैछौं । छोटो अवधिका योजनाहरू कार्यान्वयन भइरहेका छन् र मध्यमदेखि दीर्घकालीन रणनीतिहरू निर्माण गर्दैछौं । मे महिनामा वार्षिक नतिजासँगै थप विवरण दिनेछौं,’ विज्ञप्तिमा भनिएको छ । भारतको टाटा मोटर्स स्वामित्वमा रहेको जेएलआरले अप्रिलमा बेलायतमा उत्पादित गाडीहरूको अमेरिका निर्यात एक महिनाका लागि रोक्ने निर्णय गरेको थियो । यो निर्णय ट्रम्प प्रशासनद्वारा लागू गरिएको २५ प्रतिशत ट्यारिफको आर्थिक असरलाई मूल्याङ्कन गर्न गरिएको थियो । उक्त ट्यारिफ अप्रिल ३ देखि लागू भएको हो । अमेरिकी ट्यारिफका असरलाई कम गर्न राष्ट्रपति ट्रम्पले बिहीबार एक कार्यकारी आदेशमार्फत नयाँ योजना ल्याउने घोषणा गरेका छन् । उक्त आदेशमा आयातित गाडी तथा पार्टपूर्जामा लगाइने अन्य करहरूमा छुट दिइने र केही क्रेडिटहरू उपलब्ध गराइनेछ । यसैबीच, बेलायती लक्जरी कार निर्माता एस्टन मार्टिनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एड्रियन हेलमार्कले अमेरिकामा ट्यारिफका कारण उत्पन्न खर्च कम्पनी र ग्राहकबीच बाँड्ने योजना बनाइएको बताएका छन् । साथै अमेरिकी स्टक कम गर्दै नयाँ गाडीको निर्यात सीमित बनाइने उनको भनाइ छ । बेलायतको गाडी उद्योगमा करिब २ लाख मानिस प्रत्यक्ष रूपमा संलग्न छन् । युरोपेली आयोगपछि अमेरिका बेलायतमा निर्मित गाडीहरूको दोस्रो ठूलो आयातकर्ता हो, जसको हिस्सा झन्डै २० प्रतिशत रहेको बेलायती अटो उद्योग निकाय एसएमएमटीका तथ्यांकले देखाउँछन् । मस्क बिनाको टेस्ला, निल्नु न ओकल्नुको अवस्थामा बोर्ड संकटमा पोर्शेः अमेरिकी कर र चीनको बजार खुम्चिएपछि राजस्व लक्ष्य घटायो लिगेसी बोकेको पोर्शेलाई पनि चीनमा सकस, विदेशी अटोमेकरका बिक्री धमाधम घट्दै मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्‍यो कमाल भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा