विकासन्युज

१ करोड २६ लाख लागतमा स्तनपान कक्षसहितको अत्याधुनिक शौचालय सञ्चालनमा

ललितपुर । ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । आइतबार महानगरले एक कार्यक्रमको आयोजना गरी नवनिर्मित शौचालय सञ्चालनमा ल्याएको हो ।  शौचालय सञ्चालन गर्ने जानकारी दिन आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले विधि र प्रक्रिया पूरा गर्दा गर्दै शौचालय निर्माणका लागि केही समय लागे पनि शौचालय निर्माणको काम सम्पन्न भएको बताए ।  उनले भने, ‘हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौं, यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागि सहज हुन्छ ।’  यसअघि पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकहरूको लागि पर्याप्त र व्यवस्थित शौचालायको प्रयोग गर्न नपाएको गुनासो हुँदै आएकोमा अब भने पर्यटकलाई शौचालय खोज्न भौतारिनु नपर्ने उनले बताए ।  महानगर प्रमुख महर्जन चिरीबाबु महर्जनले यो शौचालय निर्माण महानगरको मात्रै नभई सम्पूर्ण पालिकाको लागि ‘सो केस प्रोजेक्ट’ भएको बताए । यस अघि पाटन दरबार क्षेत्रमा सार्वजनिक शौचालय भए पनि यहाँको आवश्यकतालाई पूर्ति गर्ने किसिमको थिएन ।  संस्कृति पर्यटन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले आन्तरिक र बाह्य पर्यटकलाई शौचालय निर्माणले सहज बनाएको बताउँदै पुरातात्विक मौलिकतालाई प्राथमिकतामा राख्नु महत्त्वपूर्ण भएको बताए । ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले ऐतिहासिक र पुरातात्विक महत्त्वलाई ध्यानमा राखेर शौचालयको भवन निर्माण गरेको जानकारी दिइन् ।   पर्यटकलाई सुविधा दिँदै पुरातात्विक महत्त्व पनि कायम राख्ने गरी महानगरले  अत्याधुनिक पर्यटकीय शौचालय निर्माण गरेको उनले बताइन् । महानगरको यो परियोजनासम्पदा र आधुनिकताको समिश्रण युक्त परियोजना भएको उनले भनाइ छ । महानगरका प्रवक्ता राजु महर्जन पूर्वाधार निर्माणका अन्य अवयवमध्ये सार्वजनिक शौचालय पनि एक भएको जानकारी दिए । ललितपुर महानगरको २९ वटा वडामध्ये धेरैवटा वडामा सार्वजनिक शौचालय निर्माण भइरहेको बताए । पाटन दरबार क्षेत्रमा अत्याधुनिक शौचालय अत्यावश्यक भएको बताए । उनले भने, ‘शौचालय अति आवश्यक कुरा हो, अब हामी आवश्यकता हेरेर बनाउँछौं ।’  पूर्वाधार निर्माण महाशाखा प्रमुख प्रदीप पौडेलले पब्लिक स्यानिटेसनलाई सुधार गर्नका लागि यो महत्वपूर्ण परियोजना भएको उल्लेख गरे ।  सम्पदा क्षेत्रको पुरातात्विक मौलिकतामा ध्यान दिई शौचालयको बाहिरी वनावट  काष्ठ कला र चुनासुर्की सहितको मा अप इँटाको प्रयोग भएको छ । शौचालयको छाना झिंगटी टायलसहित दुई पाखे गरी निर्माण गरिएको छ । यो शौचालयको निर्माणको जिम्मा पीपी एण्ड पी सिर्जनशील जेभीले पाएको थियो । शौचालय निर्माणको लागि महानगर र निर्माण कम्पनीबीच २०८० वैशाख १ गते भएको थियो । उक्त कम्पनीले सौचालय निर्माणको ठेक्का एक करोड १० लाख ७५ हजारमा पाएको थियो । महानगरका अनुसार कुल लागत एक करोड २६ लाखमा शौचालय निर्माण भएको हो । आधुनिक प्रविधिको अपाङ्गतामैत्री यो शौचालयमा पुरुषको लागि ६ वटा युरेनलसहितको तीन वटा शौचालय, महिलाको लागि ६ वटा शौचालय, १ वटा अपाङ्गतामैत्री शौचालय, १ वटा स्तनपान कक्ष राखिएको छ । अत्याधुनिक स्यानिटी सामग्रीसमेत रहेको छ ।  

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौं । एनएमबि बैंकले शनिबार बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि बैंकको गट्ठाघर शाखाबाट सुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरसम्म पुगी कार्यक्रम सम्पन्न गरेको हो ।   समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।  एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु तथा सर्वसाधारणहरू गरी लगभग ७०० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ उपस्तिथ थिए ।  उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ ५ लाख रुपैयाँको सहयोगका साथै मध्यपुर थिमि नगरपालिकाकालाई डस्टविनहरू समेत हस्तान्तरण गरिएको छ ।  सोही प्रकारको कार्यक्रम सातै प्रदेशमासमेत गरिएको छ ।  एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

कार्ल्सवर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न, लामाले जिते कार्ल्सवर्ग कोपनहेगन ट्रीप

काठमाडौं । कार्ल्सवर्गको आयोजनामा प्रतिष्ठित गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा 'कार्ल्सवर्ग गल्फ क्लासिक' प्रतियोगिता सम्पन्न भएको छ । एकदिवसीय गल्फ  प्रतियोगितामा कुल १०० गल्फरहरूले भाग लिएका छन् । प्रतियोगिताका विजेताहरुलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए । 'कार्ल्सवर्ग गल्फ क्लासिक’ प्रतियोगिता–२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक एन लामा रहेका छन् । लामाले डेनमार्कको कोपनहेगनस्थित काल्र्सबर्ग ब्रुअरीको ट्रीप पनि पुरस्कार स्वरूप पाए ।  त्यस्तै, ४१ अंकसहित बेस्ट ग्रसको उपाधि टाशी छिरिङले जितेका छन् भने ४० अंकसहित नामग्याल टि लामाले रनरअपको उपाधि जिते । त्यसैगरी महिला तर्फ गीता गुरुङले २५ अंकसहित विजेता बनेकी छन् भने सिनियर तर्फ ३३ अंकसहित अर्जुन कुमार कार्की विजयी भए । त्यस्तै, सुस्मिता खड्का महिला तर्फ उपविजेता बनेकी थिइन् । त्यसैगरी छेवाङ शेर्पाले ’ कोल्जेस्ट टु द पिन’ अवार्ड जिते भने प्रकाश गुरुङले 'लङगेस्ट ड्राइभ’ को उपाधि जितेका थिए ।  त्यसैगरी, मोस्ट बर्डिजको उपाधि ५ वर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जितेका थिए । सबै विजेताहरूलाई ट्रफी र कार्ल्सवर्गको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

'ऋण नलिएर ५ प्रतिशत बढीको आर्थिक वृद्धि सम्भव छैन, बजेट धेरै घटाउनु हुन्न'

काठमाडौं । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले आन्तरिक ऋण नलिइकन ६/७ प्रतिशत भन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित प्रि-बजेट छलफल कार्यक्रममा बोल्दै उनले ऋणको आकार बढे पनि त्यस्तो ऋण नलिइ ६/७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसकिने बताए ।  उनले भने, ‘आन्तरिक ऋण उठाउने कि नउठाउने धेरै भयो भन्ने कुरा छ । आगामी वर्ष तिर्नुपर्ने आन्तरिक ऋणमध्ये ३ खर्ब १७ अर्ब छ । हामी सामान्यता ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल भयो भने हुन्छ भन्थ्यौं । तर अहिले हामीले वृद्धिदर धेरै खोज्न थाल्यौं । म अर्थमन्त्री भएको बेला ६/७ प्रतिशतको वृद्धिदर भएको थियो, त्यति बेला ऋण पनि बढेको थियो ।’ 'हाम्रो राजस्वले चालु खर्च धान्न पनि सक्दैन, विकास गर्नका लागि ऋण लिनैपर्ने बाध्यता छ । ६/७ प्रतिशतको आर्थिक वृद्धिका लागि ऋण नलिइ हुँदैन । ५ प्रतिशत बढि वृद्धिदर हासिल गर्न हरेक अर्थमन्त्रीले ऋण लिनैपर्ने बाध्यता छ,’उनले थपे । पूर्वअर्थमन्त्री खतिवडाले अब क्षेत्र मात्रै तोकेर नहुने बताउँदै परियोजना तोकेर आन्तरिक ऋण लिनुपर्ने बताए । उनले वैकल्पिक वित्तसम्बन्धि सरकारले कोष स्थापना गर्न जारी गर्न लागेको विधेयक, वैदेशिक सहायता नीतिमा समेत यस्ता कुरा रहेको बताए ।  खतिवडाका अनुसार हालै सरकारले ल्याएको नीति तथा कार्यक्रमले सूचना प्रविधिलाई जोड दिएको बताए । उनले सार्वजनिक खरिदमा अहिले पनि समस्या हट्न नसकेको भन्दै त्यसलाई सम्बोधन गर्न सार्वजनिक खरिद ऐनलाई संशोधन गर्न आउँदो अधिवेशनमा पेश हुने जानकारी दिए ।  सरकारी आयोगहरूले दिने प्रतिवेदनहरू कार्यान्वयन हुन नसकेको भन्दै प्रश्न उठिरहेका बेला खतिवडाले हुवहु त्यस्ता प्रतिवेदन लागू हुन नसक्ने बताए । उनका अनुसार आर्थिक सुधार आयोग, खर्च पुनरावलोकन आयोगहरुको प्रतिवेदन चरणवद्ध रूपमा कार्यान्वयनमा लैजाने सरकारी तयारी छ ।   आगामी बजेट ठूलो आकारको बन्न लागेको भन्दै सरकारको आलोचना भइरहेका बेला खतिवडाले बजेटको आकारको कुनै अंक नहुने बताए ।  'स्रोतले भ्याउने बजेट राख्नुपर्छ । ढाई तीन खर्बले बजेट घटाउने प्रवृत्ति देखिँदै आएको छ, जुन विनियोजन ऐनको मर्मविपरीत हुन जान्छ । बढीमा १० प्रतिशत घटाउन सकिन्छ, त्यहाँभन्दा बढी गरियो भने त्यो ठिक होइन, त्यो कानुन सम्मत होइन,’ उनले भने । सरकारले सरकारी फाइलहरुको मोनिटरिङ थालिसकिएको बताउँदै खतिवडाले नागरिक एप जस्ता अन्य प्रविधिलाई अंगीकार गरेरै अब अघि बढ्ने ध्यानमा सरकार लागेको पनि बताए ।

पोपको रूपमा आफ्नो एआई फोटो सेयर गरेपछि ट्रम्पको आलोचना

काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालयको इन्स्टाग्राम खाताबाट डोनाल्ड ट्रम्पको पोपको रूपमा बनाइएको एआई तस्वीर सेयर गरिएको छ, जसप्रति क्याथोलिक समूहले कडा आपत्ति जनाएका छन् । यो तस्वीर त्यस्तो समयमा सार्वजनिक गरिएको हो जब क्याथोलिक समुदाय पोप फ्रान्सिसको निधनपछि शोकमा डुबेको छ । ट्रम्पले पोस्ट गरेको तस्वीरमा उनी पोपजस्तै सेतो पोशाक अनि टोपी लगाएर घाँटीमा ठूलो क्रस झुण्ड्याई गम्भीर मुद्रामा एक औंला माथि उठाएर उभिएका देखिन्छन् । न्यूयोर्क स्टेट क्याथोलिक कन्फरेन्सले ट्रम्पमाथि उनीहरूको आस्थाको अपमान गरेको आरोप लगाएको छ । केही दिनअघि मात्र ट्रम्पले पत्रकारहरूसँग मजाक गर्दै भनेका थिए, 'म पोप बन्न चाहन्छु ।’ ट्रम्प यस्ता पहिलो अमेरिकी राष्ट्रपति होइनन्, जसले यस्ता आरोप खेप्नुपरेको हो । एक वर्षअघि अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनले गर्भपतनको पक्षमा आयोजित र्‍यालीमा ‘साइन अफ द क्रस’ बनाएर क्याथोलिक समुदायलाई आक्रोशित बनाएका थिए । भ्याटिकनका प्रवक्ताले ट्रम्पको तस्वीरबारे कुनै टिप्पणी गरेका छैनन् । भ्याटिकनमा बुधबारदेखि पोपको उत्तराधिकारी चयनको प्रक्रिया सुरु हुन लागेको छ । न्युयोर्क स्टेट क्याथोलिक कन्फरेन्सले एक्स (पूर्वट्विटर) मा लेखेको छ, 'यस तस्वीरमा केही पनि रमाइलो छैन, मिस्टर प्रेसिडेन्ट ।’ 'हामीले भर्खरै आफ्ना प्रिय पोपलाई गाडेका छौं र अब एक गम्भीर चयन प्रक्रिया सुरु हुँदैछ । कृपया हाम्रो मजाक नउडाउनुहोस् ।’  

राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब बराबर तरलता खिच्न लागेको छ ।  राष्ट्र बैंकले सूचना जारी गरी निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम तान्न लागेको हो । बैंकका अनुसार आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट  पैसा खिच्न लागेको हो ।  निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ ।  निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाइएको छ ।  यो २१ दिने निक्षेप संकलन उपकरणको जेठ ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको छ ।

कक्षा १२ को परीक्षामा सहभागी भइन् ७३ वर्षीया सूर्यवती खनाल

काठमाडौं । माध्यमिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आइतबारदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।    आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा देशभर एक हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जानकारी दिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६२ र मनाङ–मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको छ ।  परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन् ।  त्यसैगरी, आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कूल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परीक्षका लागि फर्म भरेको अध्यक्ष शर्माले जानकारी दिए । यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ ।        यसैबीच, काठमाडौं तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले परीक्षा दिएकी छन् । उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुन् ।  प्रवेशपत्रमा उनको जन्म विसं २००९ साउन ९ गते उल्लेख छ । चार छोराछोरीका आमा तथा तीन जना नातिनातिनाका हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित पढाइ अगाडि बढाएकी हुन् ।  उनले एसइई परीक्षा भने गोगङ्बुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी थिइन् । उनका श्रीमान विद्यालयका शिक्षक हुन् ।

गैरआवासीय नेपालीलाई संविधानअनुसार नागरिकता दिन माग एनआरएनएको माग

काठमाडौं । संविधानसभाबाट जारी भएको संविधानमा उल्लेख भएअनुसार गैर आवासी नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिनुपर्ने माग गरिएको छ ।   गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशनका अवसरमा आइतबार आयोजित नागरिकतासम्बन्धी समूह छलफलका वक्ताले संविधान एवं कानुनमा भएको गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी व्यवस्था अझै कार्यान्वयन हुन नसकेकाले समस्या भइरहेको बताए ।    एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताले भ्रमण गर्न बाहेक अरु अधिकार प्राप्त हुन नसकेको बताए । भारतलगायत दक्षिण एशियाली देशले दोहोरो नागरिकताको अधिकारी दिइरहेको उनले सुनाए ।  अमेरिकामा अधिवक्ताका रूपमा काम गरिरहेका एनआरएनए खगेन्द्र जिसीले गैरआवासीय नेपालीको नागरिकता नभएकैले नेपालमा लगानीको वातावरण नसकेको जिकिर गरे । एनआरएनए नेता एसी शेर्पाले विश्वका ८४ देशमा बस्ने गैरआवासीय नेपालीको समस्याका रुपमा रहेको नागरिकताको विषयलाई समाधान गर्न माग गरे । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले विश्वका ७२ देशमा दोहोरो नागरिकताको व्यवस्था रहेको उल्लेख गरे । नागरिकता ऐन, २०६३ को दफा १० खारेज गरे नेपालमा लगानी वातावरण थप हुने वरिष्ठ अधिवक्ता न्यौपानेको दाबी थियो ।  एनआरएनए बेलायतका अध्यक्ष प्रेमगाहा मगरले नेपालबाट बाहिर गएर काम गर्ने धेरै नेपालीले अङ्गीकृत र जन्मसिद्ध नागरिकता पाएर दोस्रो दर्जाको नागरिक भएर बसेको उल्लेख गरे । ती देशमा अप्ठ्यारो अवस्था आए अङ्गीकृत र जन्मसिद्ध नागरिकता खारेज हुने भएकाले वंशजका आधारमा नेपालमा पाउने नागरिकताको अधिकारबाट बञ्चित गरिनु नहुने उनको तर्क थियो ।  अधिवक्ता कपिल ढकालले एनआरएनए ऐन बनाइ संविधानमा आर्थिक, सांस्कृतिक र सामाजिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरे पनि कार्यान्वयन नभएको बताए । क्याप्टेन हितमान गुरुङले एनआरएनएले देशका लागि केही गर्न आउँदा पनि सरकार संवेदशील हुनुपर्नेमा जोड दिए ।  बेलायतमा कार्यरत अधिवक्ता सुरेन्द्र श्रेष्ठले नागरिकता ऐन, २०२० को पृष्ठ १९ मा विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता लोप हुने व्यवस्था रहेको र त्यसपछिका नागरिकता ऐनले पनि यसलाई कायमै राख्दै आएको बताए । एनआरएनएका पूर्वअध्यक्ष रवीना थापाले नेपालमा आन्दोलन गरे मात्र केही हुन्छ, भन्ने सन्देश प्रवाह भइरहेको उल्लेख गर्दै कानुनसम्मत मागको सुनुवाइ हुर्नुे बताइन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गैरआवासीय नेपाली ऐन र संविधानमा भएको व्यवस्था पनि कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव पुष्कर नेपालले नयाँ कानुन मस्यौदा भइरहेकाले त्यसमा उठेका विषयलाई समावेश गर्ने प्रतिबद्धता जनाए ।  डा बलराम श्रेष्ठले विदेशमा ज्ञान, सीप, पुँजी भएकालाई नागरिकता लिन आउँ भनी स्वागत गर्ने बताए । एनआरएनए नेता योगेन्द्रबहादुर क्षत्रीले संविधान र कानुनअनुसार नै गैरआवासीय नेपालीले नागरिकता पाउनुपर्ने बताए ।