विकासन्युज

‘पीडितलाई न्याय देऊ, बलात्कारीलाई फाँसी देऊ’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन गरेको छ । संस्थाले शनिबार दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध कडा कानुन बनाउन सरकारसँग माग गरेका छन् । उनीहरूले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने मागसमेत गरेका छन् । प्रदर्शनकारीले ‘बलात्कारी र हत्यारालाई कडा कानुनी कारबाही गर’, ‘पीडितलाई न्याय देऊ’, ‘बलात्कारीलाई फाँसी देऊ’, ‘चाहिँदैन ठूला र चिल्ला सडक, छोरीलाई सुरक्षित हिँड्न सक्ने गल्ली बनाइदेऊ सरकार’ र ‘न्याय पाउन के हामीले सरकारको दैलोबाट लास निस्किने दिन कुर्नुपर्ने हो ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको थियो । साउन ३१ गते घरबाट हराएकी उनी भदौ २ गते एक घरभित्र मृत फेला परेकी थिइन् । प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

७० करोडमा मदिरा उद्योग खोल्दै ओली, बैंकबाट ५६ करोड ऋण लिँदै

काठमाडौं । हिमालयन लिक्विर्स प्राइभेट लिमिटेडले बर्दियाको राजापुरमा मदिरा उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले राजापुरमा वार्षिक १ करोड लिटर मिश्रित मदिरा तथा १० हजार किलोलिटर स्पिरिट उत्पादन क्षमताको उद्योग स्थापना गर्न लागेको हो । कुल ७० करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजीबाट लगानी गर्ने प्रस्ताव गरिएको छ । सन् २०२६ को जुलाईसम्म प्रवद्र्धकले प्रतिबद्ध स्वपुँजीको करिब २५ प्रतिशत रकम लगानी गरिसकेको छ । परियोजनाका लागि कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५६ करोड रुपैयाँ ऋण लिने तयारी गरेको छ । कम्पनीका अनुसार परियोजना निर्माणको प्रारम्भिक चरणमा रहेको छ । जुलाई २०२६ सम्म जग्गा प्राप्तिको काम मात्र अघि बढेको छ भने परियोजनाको वित्तीय प्रगति करिब ६ प्रतिशत रहेको छ । हिमालयन लिक्विर्सका प्रवर्द्धक तथा अध्यक्ष यज्ञबहादुर ओली हुन् । उत्पादन तथा बजार व्यवस्थापन क्षेत्रमा लामो समयदेखि आवद्ध ओली ओलीसँग सम्बन्धित प्रमुख व्यवसायमध्ये देउती गुट्खा उद्योग पनि एक हो । करिब दुई दशकदेखि नेपालको पश्चिमी क्षेत्रमा गुट्खा तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्दै आएको उक्त उद्योगले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ४९ करोड ६० लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब २८ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो । ओलीसँग सम्बन्धित अन्य व्यवसायमा देउती प्याकेजिङ, देउती सोप एन्ड केमिकल्स प्राइभेट लिमिटेड, राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्राइभेट लिमिटेड तथा देउती रियल इस्टेट प्राइभेट लिमिटेड रहेका छन् । कम्पनीको व्यवस्थापनमा समेत उत्पादन तथा व्यवसायिक क्षेत्रमा अनुभवी व्यक्तिहरू रहेको जनाइएको छ । हिमालयन लिक्विर्स उद्योग सञ्चालनमा आएपछि मिश्रित मदिरा तथा स्पिरिट उत्पादन गरिनेछ । बर्दियामा स्थापना हुने उद्योगले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै जिल्लाको औद्योगिक विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । उद्योगको स्थानलाई कच्चा पदार्थको उपलब्धता तथा ढुवानीका दृष्टिले रणनीतिक मानिएको छ । बर्दिया र कैलाली जिल्लाको नजिक रहेकाले आवश्यक कच्चा पदार्थको आपूर्ति तथा खरिद प्रक्रिया सहज हुने कम्पनीले अपेक्षा गरेको छ । साथै, नजिकै रहेका भारतीय बजारसम्मको पहुँचले कच्चा पदार्थको आपूर्ति व्यवस्थापनमा समेत सहयोग पुग्ने कम्पनीको भनाइ छ । प्रवद्र्धक समूहअन्तर्गतका अन्य कम्पनीसँगको सहकार्यबाट समेत हिमालयन लिक्विर्सले लाभ लिन सक्ने अपेक्षा गरिएको छ । विशेषगरी, समूहसँग सम्बन्धित राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्राइभेट लिमिटेडले मदिरा तथा रेक्टिफाइड स्पिरिट उत्पादनका लागि आवश्यक मोलासेसको प्रमुख आपूर्तिकर्ताका रूपमा सहयोग गर्ने अपेक्षा गरिएको छ । सम्बन्धित कम्पनीबाट मोलासेस उपलब्ध हुने भएकाले कच्चा पदार्थको आपूर्ति शृङ्खलालाई भरपर्दो बनाउन तथा बाह्य आपूर्तिमा निर्भरता र खरिदसम्बन्धी अनिश्चितता घटाउन सहयोग पुग्ने देखिन्छ । यसले उद्योगको सञ्चालनमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ । त्यसैगरी, प्रवद्र्धक समूहअन्तर्गतका अन्य व्यवसायको स्थापित बजार उपस्थिति तथा वितरण सञ्जालले हिमालयन लिक्विर्सलाई व्यावसायिक उत्पादन सुरु गरेपछि बजार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । समूहको विद्यमान बजार पहुँच र वितरण संरचनाको उपयोगबाट कम्पनीले प्रारम्भिक चरणमै उत्पादन बिक्री तथा बजार प्रवेशलाई गति दिन सक्ने देखिन्छ । तर, परियोजनाको प्रस्तावित लगानी संरचनामा ऋणको हिस्सा उच्च रहेकाले उद्योग सञ्चालनमा आएपछि कम्पनीको पुँजी संरचना ऋणमुखी हुने देखिन्छ । यसले विशेषगरी सञ्चालनको प्रारम्भिक वर्षमा ऋणको साँवा तथा ब्याज भुक्तानीको दायित्व बढाउनेछ । उद्योग सञ्चालनमा आएपछि अनुमानित उत्पादन तथा कारोबारको स्तर हासिल गर्दै पर्याप्त नगद प्रवाह सिर्जना गर्न सक्नु कम्पनीका लागि महत्वपूर्ण हुनेछ । अपेक्षित उत्पादन तथा नगद प्रवाह हासिल गर्न नसकेमा ऋण भुक्तानी क्षमतामा दबाब पर्न सक्ने जोखिम रहेको छ । कम्पनीले उत्पादन प्रक्रियामा मुख्य रूपमा उखुको मोलासेस, स्पिरिट तथा चामल, मकै र गहुँजस्ता अन्नलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्नेछ । यी कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले उत्पादन लागतमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले कच्चा पदार्थको मूल्यवृद्धिले कम्पनीको नाफा तथा सञ्चालन आम्दानीमा दबाब पार्न सक्नेछ । यसैगरी, मदिरा उद्योग उच्च नियामकीय जोखिममा रहने भएकाले कम्पनीले उत्पादन, वितरण तथा बिक्रीसँग सम्बन्धित कडा कानुनी तथा नियामकीय व्यवस्था पालना गर्नुपर्नेछ । सरकारले अवैध मदिराको कारोबार नियन्त्रण तथा उपभोक्ताको हित संरक्षणका लागि मदिरा उद्योगमा कडा निगरानी र नियन्त्रण गर्दै आएको छ । मदिरा उद्योग सञ्चालनका लागि इजाजतपत्रसम्बन्धी कडा व्यवस्था, अन्तःशुल्कमा हुने परिवर्तन तथा उत्पादनको गुणस्तर र कानुनी अनुपालनसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने हुन्छ । यस्ता व्यवस्थामा हुने परिवर्तनले कम्पनीको उत्पादन लागत, मूल्य निर्धारण तथा समग्र सञ्चालनमा प्रभाव पार्न सक्छ । कम्पनीले नियामकीय तथा कानुनी मापदण्ड पालना गर्न नसके आर्थिक जरिवाना, कानुनी कारबाही वा सञ्चालन अनुमति रद्द हुन सक्ने जोखिम रहन्छ । त्यसैले नियामकीय अनुपालन, परियोजना समयमै सम्पन्न गर्नु तथा उद्योग सञ्चालनपछि अपेक्षित उत्पादन र नगद प्रवाह हासिल गर्नु हिमालयन लिक्विर्सका लागि महत्वपूर्ण विषय हुने देखिन्छ ।

१२ घण्टा खाना नखाँदा तौल घट्छ ? जान्नुहोस् ओभरनाइट फास्टिङको फाइदा

काठमाडौं । तौल घटाउने कुरा आउनेबित्तिकै धेरै मानिसले उपवास बस्ने उपाय अपनाउने गर्छन् । कोही सातामा एक दिन उपवास बस्छन् भने कोही दैनिक १२ वा १६ घण्टासम्म खाना नखाई बस्छन् । पछिल्लो समय रातभर खाना नखाने अर्थात् ‘ओभरनाइट फास्टिङ’ गर्ने चलन पनि बढ्दै गएको छ । तर १२ घण्टा खाना नखाँदैमा तौल घट्छ त ? यसको जवाफ घट्न सक्छ, तर १२ घण्टाको उपवास मात्रै तौल घटाउने ग्यारेन्टी भने होइन । तौल घटाउन शरीरले खर्च गर्ने ऊर्जा र खानाबाट प्राप्त हुने ऊर्जाबीच सन्तुलन हुनु महत्वपूर्ण हुन्छ । १२ घण्टा उपवास गर्दा रातिको बिस्कुट, मिठाई, चिप्स, गुलियो पेय पदार्थ र अन्य खाजा खाने बानी घटाउन सकिन्छ । यसले कुल क्यालोरी कम गर्न मद्दत गर्छ । तर १२ घण्टा उपवास बसेपछि बाँकी समयमा आवश्यकताभन्दा धेरै खाना खाइयो भने तौल घट्न आवश्यक छैन ।  मेटाबोलिज्म अर्थात् शरीरले ऊर्जा प्रयोग गर्ने प्रक्रिया खाना नखाएको समयसँग मात्र सम्बन्धित हुँदैन । निद्रा, शारीरिक गतिविधि, उमेर, मांसपेशीको मात्रा, हर्मोन, कुल क्यालोरी र खानाको गुणस्तरले पनि मेटाबोलिज्ममा प्रभाव पार्छ । केही अध्ययनमा निश्चित समयभित्र मात्र खाना खाने विधिले शरीरको तौल, बडी मास इन्डेक्स (बीएमआई), शरीरमा रहेको बोसो, खाली पेटको रक्त ग्लुकोज र ट्राइग्लिसराइडमा सुधार देखिएको छ। तर सबै व्यक्तिमा यसको परिणाम समान हुन्छ भन्ने छैन ।    विभिन्न अध्ययनअनुसार अन्तरालमा उपवास बस्ने विधिले रक्तमा चिनीको मात्रा र तौल नियन्त्रणमा केही सहयोग गर्न सक्छ । विशेषगरी १६ घण्टा उपवास बसेर ८ घण्टाको समयमा खाना खाने विधिबारे पनि अध्ययन भएका छन् । तर यस्तो उपवास सबैका लागि उपयुक्त हुन्छ भन्ने छैन । व्यक्तिको स्वास्थ्य अवस्था र खानपानअनुसार यसको प्रभाव फरक हुन सक्छ ।   रातभरको उपवासमा साँझ छिटो खाना खाने र त्यसपछि बिहानसम्म खाना नखाने गरिन्छ । उदाहरणका लागि साँझ ७ बजे खाना खाएपछि बिहान ७ बजेसम्म खाना नखानुलाई १२ घण्टाको ओभरनाइट फास्टिङ भन्न सकिन्छ । यसको मुख्य फाइदा राति अनावश्यक खाने बानी कम गर्नु हो । राति ढिला खाना खानुभन्दा साँझ छिटो खाना खाँदा शरीरको प्राकृतिक जैविक घडीसँग पनि राम्रो तालमेल हुन सक्छ ।  यसले कसरी मद्दत गर्छ ? रातिको अतिरिक्त खाजा र क्यालोरी कम गर्न मद्दत गर्छ। खाना खाने समय व्यवस्थित बनाउन सक्छ। राति धेरै खाने बानी नियन्त्रण गर्न सहयोग गर्छ। स्वस्थ खानपान र सक्रिय जीवनशैलीसँग जोडिएमा तौल नियन्त्रणमा सहयोग पुग्न सक्छ। त्यसैले १२ घण्टाको ओभरनाइट फास्टिङलाई तौल घटाउने कुनै जादुमयी उपायका रूपमा लिनु हुँदैन । यसको मुख्य फाइदा रातिको अनावश्यक खाना कम गर्नु र खाना खाने समय व्यवस्थित गर्नु हो । तौल नियन्त्रणका लागि सन्तुलित खाना, नियमित शारीरिक गतिविधि र पर्याप्त निद्रासँगै उपवासलाई अपनाउनु बढी प्रभावकारी हुन सक्छ ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीका बारेमा प्रशासनलाई छैन जानकारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणका लागि मुस्ताङ जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।  शुक्रबार काठमाडौंबाट मुस्ताङतर्फ गएका प्रधानमन्त्री शाह पोखरामा एक रात बसेर मुस्ताङ यात्रामा निस्केका हुन् । पोखराको अन्नपूर्ण रिसोर्टमा बसेर उनी मुस्ताङतर्फ निस्केका छन् । प्रधानमन्त्री शाह मुस्ताङ आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीले बताए ।  'प्रधानमन्त्री निजी भ्रमणका लागि मुस्ताङसम्म आउने खबर जानकारीमा आएको छ,' उनले भने,'चुस्त, दुरुस्त र जिल्लाबाट हुने पर्याप्त सुरक्षाको व्यवस्था गरिएको छ ।' प्रधानमन्त्री शाह कार्यक्रमको लागि नभइ निजी भ्रमणका लागि आएको भण्डारीले उल्लेख गरे । 'हामीलाई कहाँ बस्ने र के गर्ने भन्ने कुरा केही जानकारी आएको छैन,’ उनले अगाडि थपे,’ हामीलाई प्रारम्भिक जानकारीमा जोमसोमसम्म मात्र भन्ने छ ।' पारिवारिक र व्यक्तिगत भ्रमण भएकाले हामीलाई सबै जानकारी नआएको उनको भनाइ छ । 'जोमसोमसम्म आइसकेपछि मुक्तिनाथसम्म जानुहोला हाम्रो अनुमान छ,’ उनले भने,' कहाँ-कहाँ जाने भनेर औपचारिक रुपमा जानकारी आएको छैन ।' प्रधानमन्त्री शाहको निजी भ्रमणमा कति जनाको टिम रहेको त्यसको बारेमा जिल्ला प्रशासनमा केही खबर नगरिएको भण्डारीले विकासन्युजलाई प्रस्ट पारे । 'को-को छन र कति संख्यामा भ्रमण टोलीमा छन् त्यस बारेमा हामीलाई केही थाहा छैन,’ उनले अगाडि भने । प्रहरीको उच्च स्रोतका अनुसार जोमसोम र आसपासका सुरक्षा व्यवस्था कडा पारिएको छ। सबै सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरीका एक उच्च अधिकारीले बताए ।

अदालतबाट होइन, पार्टी कार्यालयमा संवादमार्फत कांग्रेसलाई एकताबद्ध बनाऔँ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अदालतको बाटोभन्दा नभई पार्टी कार्यालयमै बसेर संवाद गरेर दलको विवाद समाधान गर्नुपर्ने बताएका छन् । शनिबार (भदौ ६) कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’का क्रममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । उनले कांग्रेसभित्रका विवाद समाधान पार्टी कार्यलयमा बसेर गर्न आह्वान गरे । कांग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको भन्दै उनले संस्थापनइतर समूहका नेताहरूलाई संवादमार्फत पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरे । मुद्दामामिलाको बाटो कानुनले दिएको भए पनि त्यसले मात्र समाधान नदिने उनको भनाइ थियो । 'मुद्दामामिलाको बाटो संविधानले, कानुनले दिन्छ, त्यसमा जाँदै गर्दाखेरि हामीले त्यसमा नकारात्मक टिप्पणी गर्दैनौँ,' उनले भने, 'तर, अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठाबाट हामी सँगसँगै बसेर संवाद गरेर पार्टीलाई एकताबद्ध बनाएर लिएर जानु छ ।' उनले आउँदो असोजमा पार्टीको महाधिवेशन हुने भएकाले नेतृत्वमा प्रतिस्पर्धा गर्न सबैलाई खुला रहेको बताए । विशेष महाधिवेशनबाट आएको नेतृत्व पाँच वर्ष निरन्तर नरहने उनले उल्लेख गरे । 'विशेष महाधिवेशनपछि पाँच वर्षलाई आएको नेतृत्व होइन, असोजको महिनामा महाधिवेशन हुँदै छ,' उनले भने, 'कसले आएर सभापति बन्न चाहनुहुन्छ, को आएर उपसभापति, महामन्त्री बन्न चाहनुहुन्छ, सबैलाई ढोका खुला छ । हामी त्यही कुराको लागि अपिल पनि गर्न चाहन्छौँ ।' उनले कांग्रेसभित्र देखिएको विवादलाई संवाद र सहमतिबाट समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिए । विशेष महाधिवेशनको वैधानिक प्रक्रियाका विषयमा कांग्रेसभित्र आन्तरिक विवाद छ । उक्त विवाद अदालतसम्म पुगेको छ । यस्तै, कांग्रेस संस्थापन पक्षले असोजमा गर्ने गरी घोषणा गरेको महाधिवेशन रोक्न इतर समूह कानुनी प्रक्रिया थालेको छ ।

सौगात थापाको उद्योग उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । युवा व्यवसायी सौगात थापाले पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशनमा उद्योग उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।  उद्योग तथा व्यवसाय क्षेत्रमा युवाको सक्रिय सहभागिता बढाउँदै नयाँ पुस्तालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको थापाले उम्मेदवारी दिएका हुन् । थापाले नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने, उद्यमीका समस्या समाधानका लागि पहल गर्ने तथा पोखराको उद्योग–व्यवसाय क्षेत्रलाई थप गतिशील र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।  थापाले युवालाई रोजगारी खोज्ने भन्दा रोजगारी सिर्जना गर्ने उद्यमीसँग जोड्न आवश्यक रहेको बताएका छन् ।नवउद्यम र नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा आफ्नो प्राथमिकता रहने बताएका छन्।  'युवालाई उद्यमसँग जोड्दै, नयाँ व्यवसायलाई प्रोत्साहन गर्दै र पोखराको उद्योग व्यवसायलाई अझ गतिशील बनाउने मेरो प्रतिबद्धता छ,' थापाले भने।  उनले संघलाई उद्योगी–व्यवसायीको साझा आवाजका रूपमा थप प्रभावकारी बनाउँदै व्यवसाय सञ्चालनका क्रममा देखिएका नीतिगत तथा व्यावहारिक समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने समेत बताएका छन्। गत निर्वाचनमा व्यवसायी थापा पोखरा उद्योग वाणिज्य संघको खुला कार्यसमिति सदस्यमा १ हजार ४९४ मत ल्याएर विजयी भएका थिए । उनले २०८१ भदौमा भएको निर्वाचनमा पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा अत्यधिक मत ल्याएर निर्वाचित भएका थिए । विगत दुई कार्यकालमा सदस्य भएका थिए । उनी पोखराको प्रतिष्ठित व्यवसायीक संस्था (अंशुभरा ग्रुप) का प्रबन्ध निर्देशक हुन् ।

कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसासम्बन्धी घटनामा महिलाको कन्याजालीको अवस्थालाई मात्रै बलात्कार वा सहमतिको यौनसम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ । २०८३ असार १८ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले गरेको फैसलाको आज सार्वजनिक पूर्णपाठमा यौन अपराधका मुद्दामा पीडितको ‘कौमार्य परीक्षण’ गर्ने परम्परागत र अवैज्ञानिक दृष्टिकोणलाई खारेज गर्दै कन्याजाली परीक्षणलाई फरेन्सिक प्रमाणको एउटा सीमित आशंकाका रूपमा मात्र ग्रहण गर्नुपर्ने महत्वपूर्ण सिद्धान्त प्रतिपादन गरिएको हो ।  बलात्कार पीडित १२ वर्षीया बालिकाको स्वास्थ्य परीक्षण गर्दा कन्याजालीमा देखिएको घाउ लुकाएर ‘सामान्य’ प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका तत्कालीन दुई चिकित्सकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सर्वोच्चले यो दूरगामी फैसला सुनाएको हो । सार्वजनिक पूर्णपाठअनुसार अदालतले तत्कालीन मेडिकल अधिकृतद्वय डा. रम्भा गोइत र डा. विजयकुमार सिंहलाई पदको दुरुपयोग गरी गलत प्रतिवेदन तयार गरेको अभियोगमा जनही तीन महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको छ ।  सर्वोच्चको फैसलामा कन्याजाली च्यातिएको वा त्यसमा पुरानो घाउ देखिँदैमा त्यसको निश्चित कारण, समय वा संलग्न व्यक्तिको पहिचान स्वतः स्थापित हुन नसक्ने उल्लेख छ । त्यस्तै, कन्याजाली अक्षत रहँदैमा बलात्कार नभएको वा च्यातिएको देखिँदैमा सहमतिमै यौनसम्पर्क भएको निष्कर्ष निकाल्न नमिल्ने अदालतको ठहर छ । अदालतले यस्तो चिकित्सकीय निष्कर्षलाई पीडितको बयान, घटनाको प्रकृति, स्वास्थ्य परीक्षण गरिएको समयावधि, शरीरमा देखिएका अन्य चोटपटक तथा घटनासँग सम्बन्धित प्रत्यक्ष र परिस्थितिजन्य प्रमाणहरूसँग जोडेर समग्रतामा मूल्यांकन गर्नुपर्ने स्पष्ट पारेको छ ।  फैसलाको पूर्णपाठमा चिकित्सा विज्ञान र न्यायिक प्रक्रियामा लामो समयदेखि चल्दै आएको ‘कौमार्य परीक्षण’ को अवधारणामाथि गम्भीर प्रश्न उठाइएको छ । फरेन्सिक परीक्षणको उद्देश्य कुनै महिला वा बालिका ‘कुमारी’ हो वा होइन भनी जाँच्नु नभई घटनासँग सम्बन्धित शारीरिक चोट, जैविक संकेत र चिकित्सकीय तथ्यको वैज्ञानिक अभिलेखीकरण गर्नु मात्र भएको सर्वोच्चको निष्कर्ष छ । कन्याजालीको अवस्थालाई नै जबरजस्ती करणीको एक मात्र मानक बनाउँदा पीडितको व्यक्तिगत मर्यादा, गोपनीयता र चरित्रमाथि अनुचित आघात पुग्ने अदालतले औँल्याएको छ ।  यद्यपि, कन्याजाली बलात्कारको निर्णायक प्रमाण होइन भन्दैमा परीक्षणका क्रममा देखिएका वस्तुगत तथ्यलाई प्रतिवेदनमा उल्लेख नगर्ने छुट चिकित्सकलाई नहुने फैसलामा प्रस्ट पारिएको छ । चिकित्सकलाई आफ्नो विशेषज्ञता र अनुभवका आधारमा चिकित्सकीय राय दिने स्वतन्त्रता भएपनि परीक्षणमा देखिएको वास्तविक तथ्यलाई नै लुकाउने, गलत विवरण लेख्ने वा प्रतिवेदनलाई विकृत बनाउने अधिकार नहुने सर्वोच्चको ठहर छ । बालिकाको परीक्षण गर्दा कन्याजालीमा स्पष्ट रूपमा घाउ देखिएको अवस्थामा पनि त्यसलाई अनदेखा गरी ‘सामान्य’ भनी प्रतिवेदन दिनु पेशागत मतभिन्नता नभई अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभावित पार्ने बदनियतपूर्ण कार्य भएको अदालतले स्पष्ट पारेको छ ।  यो फैसला २०७५ भदौ ८ गते धनुषामा भएको १२ वर्षीया बालिका बलात्कारको घटनासँग सम्बन्धित छ । घटनाको भोलिपल्ट जनकपुर अञ्चल अस्पतालमा डा. गोइत र डा. सिंहले स्वास्थ्य परीक्षण गरी बलात्कारका महत्वपूर्ण प्रमाण लुकाएर ११ दिनपछि मात्र प्रहरीलाई सामान्य अवस्थाको प्रतिवेदन दिएका थिए । पछि सिराहा जिल्ला अस्पतालमा गरिएको पुनः परीक्षण र नेपाल मेडिकल काउन्सिलको छानबिन समितिले बालिकाको कन्याजालीको दुई स्थानमा पुरानो च्यातिएको घाउ रहेको तथा चिकित्सकहरूले न्युनतम आचरणविपरीत विवरण लुकाएको पुष्टि गरेको थियो । सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।  यसअघि विशेष अदालतले २०७६ पुस १ गते दुवै चिकित्सकलाई जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना गरेकोमा सर्वोच्चले कसुर सदर गर्दै सजायको मात्रा भने घटाएको थियो । दुवै चिकित्सक नियमित सेवाका मेडिकल अधिकृत रहेको, विशेषज्ञ नरहेको, नेपाल मेडिकल काउन्सिलबाट व्यावसायिक कारबाही भोगिसकेको र अन्य आपराधिक पृष्ठभूमि नदेखिएको आधारमा सजाय घटाइएको फैसलामा जनाइएको छ । आर्थिक लाभ वा घुस लिएको प्रत्यक्ष प्रमाण नभए पनि सार्वजनिक पदमा बसेर बदनियतपूर्वक गलत प्रतिवेदन तयार गर्नु भ्रष्टाचारको दायरामा आउने सर्वोच्चको व्याख्या छ ।  यौन हिंसाका घटनामा स्वास्थ्य परीक्षणलाई वैज्ञानिक, तथ्यपरक र मर्यादित बनाउन सर्वोच्च अदालतले सरकारका नाममा महत्वपूर्ण निर्देशनात्मक आदेशसमेत जारी गरेको छ । अदालतले यौनजन्य अपराधका पीडितको परीक्षण गर्दा उनीहरूको गरिमा र गोपनीयताको पूर्ण सम्मान गर्दै सूचित सहमतिका आधारमा आवश्यक परीक्षण मात्र गर्न निर्देशन दिएको छ । साथै, चिकित्सा कानूनी परीक्षण, नमूना संरक्षण, अभिलेखीकरण र प्रतिवेदन लेखनका लागि तत्काल स्पष्ट मानक कार्यविधि र निर्देशिका निर्माण गरी कार्यान्वयन गर्न आदेश दिइएको छ । चिकित्सा शिक्षाको पाठ्यक्रममा फरेन्सिक मेडिसिनलाई प्रभावकारी बनाउन र सरकारी अस्पतालहरूमा आवश्यक पूर्वाधार, बजेट तथा विशेषज्ञ जनशक्ति व्यवस्थापन गर्न पनि सर्वोच्चले सरकारलाई भनेको छ ।  सार्वजनिक भएको यो फैसलाको पूर्णपाठले महिलाको शारीरिक मर्यादा र आत्मसम्मानको संरक्षण गर्दै फरेन्सिक परीक्षणलाई ‘कौमार्यको परीक्षा’ बनाउने गलत अभ्यासको अन्त्य गरिदिएको छ । यसले न्यायिक प्रक्रियामा संवेदनशील प्रमाण मानिने स्वास्थ्य परीक्षण प्रतिवेदन तयार गर्दा चिकित्सकको जवाफदेहिता, वैज्ञानिक निष्पक्षता र कानूनी उत्तरदायित्वलाई अनिवार्य बनाएको छ । 

व्यवसायी त्रसित छन्, वातावरण सुधार्न सरकारसँग महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । महासंघको वस्तुगत परिषद्को आयोजनामा भएको कार्यक्रममा विभिन्न वस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीहरूलाई बधाई ज्ञापन स्वागत गरिएको हो ।  कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका समस्या समाधान, नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि वस्तुगत संघहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।  उनले आ–आफ्नो क्षेत्रका समस्या र सम्भावनालाई महासंघमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा उठाउन वस्तुगत संघहरूलाई आग्रह गरे । 'सबै वस्तुगत समितिका समस्याहरु महासंघका साझा समस्याहरु हुन् । महासंघ यी समसयाहरु सरकार संग राख्न र समाधानको लागि पहल गर्न सदैव तयार छ,' उनले भने ।  अध्यक्षा श्रेष्ठले अहिले व्यवसायीहरु त्रसित अवस्थामा रहेको, व्यवसायिक वातावरण बिग्रिरहेको, बजारमा माग नभएको उल्लेख गर्दै अर्थतन्त्र चलायमान बनाउन व्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको मनोबल बढाउन सरकासंग आग्रह गरे ।  कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले निजी क्षेत्रको आवाजलाई अझ प्रभावकारी बनाउन वस्तुगत संघहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले संघहरूले आफ्ना क्षेत्रका समस्या तथ्यसहित प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।  त्यसैगरी महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले वस्तुगत संघहरूका समस्या समाधानमा महासंघले सहजीकरणको भूमिका निर्वाह गर्ने बताए । उनले निजी क्षेत्रका साझा मुद्दामा एकीकृत आवाज बनाउनुपर्नेमा जोड दिए ।  वस्तुगत परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले वस्तुगत संघहरू महासंघका महत्वपूर्ण आधारस्तम्भ भएको बताउँदै संघहरूबीचको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले उद्योग व्यवसायका साझा समस्या पहिचान गरी समाधानका लागि महासंघमार्फत पहल गरिने बताए ।  महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले उद्योग व्यवसायको विकासका लागि नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र प्रतिस्पर्धी बजार आवश्यक रहेको बताए । उनले वस्तुगत संघहरूले आफ्ना क्षेत्रका समस्या र सुधारका विषय महासंघसँग निरन्तर समन्वय गर्नुपर्ने धारणा राखे ।  वस्तुगत परिषद्का उपसभापति भक्तबहादुर हमालले धन्यवाद ज्ञापन गर्दै वस्तुगत संघहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै निजी क्षेत्रका साझा मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।  कार्यक्रममा नेपाल औषधी उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिल राजभण्डारी, नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवर, नेपाल ईटा उद्योग महासंघका अध्यक्ष कृष्णप्रसाद, नेपाल होस्टल एशोसिएसनका अध्यक्ष नरेन्द्रबहादुर बोहोरा, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष भीमबहादुर गोले तामाङ तथा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोजकुमार चापागाईंले आ–आफ्नो क्षेत्रका समस्या, चुनौती तथा सम्भावनाबारे धारणा राखेका थिए ।  उनीहरूले औषधी उद्योग, गलैंचा तथा निर्यात, कुरियर सेवा, डेरी, घरजग्गा तथा आवास, इँटा उद्योग, होस्टल व्यवसाय, पर्यटक यातायात र रुद्राक्ष व्यवसायमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि सरकार र महासंघबाट आवश्यक पहल हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघका अध्यक्ष, वस्तुगत परिषद्का सभापति तथा पदाधिकारीहरूले खादा लगाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।