केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा
काठमाडौं । केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई दिइएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थापालाई उक्त जिम्मेवारी दिएको हो । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि थापालाई प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ । यसैबीच, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गुल्मीको धुर्कोट गाउँपालिका- ३ का २८ वर्षीय दीपेन्द्र महतलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको नाममा छ जना पीडितबाट नौ लाख ५० हजार उठाएर महत बेपत्ता भएका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१५ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
ईभी संसारमा फरारीको उदय, २०२६ बाट ग्राहकको हातमा
काठमाडौं । विश्वप्रसिद्ध लक्जरी स्पोर्ट्स कार निर्माता फरारीले आफ्नो पहिलो पूर्ण रूपमा विद्युतीय मोडेलको डेलिभरी सन् २०२६ को अक्टोबरबाट सुरु गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बेनेडेट्टो विग्नाले मंगलबार यस्तो जानकारी दिएका हुन् । कम्पनीले यो घोषणा पहिलो त्रैमासिकमा १५ प्रतिशत मुनाफा वृद्धिसँगै गरेको हो । फेब्रुअरीमा विग्नाले घोषणा गरेका थिए कि पेट्रोल इञ्जिनका लागि प्रसिद्ध फरारीको पहिलो इलेक्ट्रिक कार “क्यापिटल मार्केट डे“ का अवसरमा अक्टोबर ९ मा सार्वजनिक गरिनेछ । यद्यपि मंगलबार उनले भनेअनुसार अक्टोबरमा केवल उक्त कारको टेक्नोलोजिकल कोर मात्र देखाइनेछ । तीन चरणमा कारको सार्वजनिक गरिने बताइएको छ । 'त्यसपछि केही महिनामै कारको डेलिभरी सुरु हुनेछ- अक्टोबर २०२६ बाट,' विग्नाले आम्दानी विवरण सार्वजनिक गरेपछि विश्लेषकहरूसँगको कुराकानीमा बताए । यो पहिलो पटक हो- जब फरारीले नयाँ कार ग्राहकहरूसम्म कहिले पुग्ने भन्ने समयावधि स्पष्ट गरेको हो । एक विश्लेषकले नाम नखुलाउने शर्तमा भने, 'यो भनेको फरारीको योजनामा केही ढिलाइ भएको संकेत हो, किनकि धेरैले कार यसै अक्टोबरमा पूर्ण रूपमा देखिने अपेक्षा गरेका थिए ।' तथापि फरारीले कार अनावरण गरेपछि लगभग तीन क्वार्टरपछि मात्र डेलिभरी गर्ने चलन छ । फरारीले भविष्यमा पनि पेट्रोल र हाइब्रिड कारहरू सँगै ईभी बेच्ने योजना बनाएको छ । कम्पनीले २०१९ देखि बेच्न सुरु गरेका हाइब्रिड मोडेलहरूले २०२४ मा कुल बिक्रीको ५१ प्रतिशत हिस्सा ओगटेका थिए । वार्षिक आर्थिक लक्ष्य कायमै फरारीले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको ट्यारिफले कम्पनीको सन् २०२५ को मुनाफा मार्जिनबाट ५० बेसिस पोइन्ट कटौती गर्न सक्ने चेतावनी दिएको छ । तर मर्सिडिज, फोर्ड र स्टेलान्टिसजस्ता अन्य कार निर्माता कम्पनीहरूले हालै आर्थिक पूर्वानुमान फिर्ता लिँदा पनि फरारीले आफ्नो वार्षिक आर्थिक लक्ष्य कायम राखेको छ । कम्पनीले सन् २०२५ सम्म कम्तीमा २.६८ अर्ब युरो (३.०४ अर्ब डलर) को ईबीआईटीडीए र कम्तीमा ३८.३ प्रतिशत मार्जिन कायम रहने विश्वास व्यक्त गरेको छ । 'फरारी आत्मविश्वासी देखिन्छ,' बर्नस्टीनका विश्लेषकहरूले भने । मिलानको स्टक एक्सचेञ्जमा फरारीको सेयर मूल्य १.६ प्रतिशतले बढेर बन्द भएको थियो । कम्पनीको पहिलो त्रैमासिकमा मूल आम्दानी ६९३ मिलियन युरो पुगेको छ, जुन रोयटर्सको सर्भेअनुसार अपेक्षित ६८९ मिलियन युरोसँग मिल्दोजुल्दो छ । फरारीले गत साता नयाँ २९६ स्पेसियल प्लग-इन हाइब्रिड मोडेल र त्यसको कन्भर्टिबल संस्करण सार्वजनिक गरेको थियो । कम्पनीले यस वर्षभित्र कुल ६ नयाँ मोडेल, जसमा पहिलो ईभी पनि समावेश छ सार्वजनिक गर्ने वाचा गरेको छ । बीवाईडीलगायत अन्यसँग प्रतिस्पर्धा फरारीलाई बीवाईडीसँग प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्नु पर्दैन किनकि दुवैका ग्राहक फरक छन् । तर ईभी प्रविधिमा प्रभुत्व राख्नका लागि ईभी बजारमा बीवाईडीजस्ता कम्पनीहरूको गति र नवप्रवर्तनको सामना गर्नुपर्ने देखिन्छ । यदि भविष्यमा फरारीले मिड-रेञ्ज ईभी उत्पादन गर्यो भने त्यसले बीवाईडीसँग केही हदसम्म प्रतिस्पर्धा गर्नसक्ने देखिन्छ ।
भारतको हमलापछि पाकिस्तानको सेयर बजार धराशायी
काठमाडौं । भारतले बुधबार कश्मीरमा गरेको सैन्य कारबाहीपछि पाकिस्तानको सेयर बजारमा ठूलो गिरावट आएको छ । कराची स्टक एक्सचेञ्ज (केएसई- १००) सूचकांक एकै दिनमा ६००० अंकभन्दा धेरैले घटेर बजार धराशायी बनेको हो । भारतीय सेनाले बुधबार 'अपरेशन सिन्दुर' अन्तर्गत पाकिस्तानमा लुकेका आतंककारीहरू विरुद्ध लक्षित कारबाही गरेको थियो । यस अपरेशनमा आतंककारीहरूको थुप्रै अड्डा ध्वस्त पारिएको भारतीय रक्षा स्रोतहरूले जनाएका छन् । भारतको यो जवाफी कारबाही गत महिनाको पहलगाम आतंकी हमलापछि गरिएको हो । बुधबार केएसई– १०० सूचकांक मंगलबारको ११३५६८.५१ अंकबाट घटेर १०७२९६.६४ अंकमा खुलेको थियो, जुन ५.५२ प्रतिशतको गिरावट हो । पहलगाम हमलापछि निरन्तर गिरावट २२ अप्रिलको पहलगाम आतंकी हमलापछि पाकिस्तानको सेयर बजारमा लगातार गिरावट देखिएको छ । उक्त दिन सूचकांक ११८४३०.३५ अंकमा बन्द भएको थियो । त्यसयता सूचकांकमा झन्डै ९.४० प्रतिशतको गिरावट आइसकेको छ, जसले पाकिस्तानको अर्थतन्त्रमा गम्भीर धक्का पुर्याएको छ । बुधबारको गिरावटअघि ३० अप्रिलमा पनि पाकिस्तानको सेयर बजारमा ३.०९ प्रतिशतको गिरावट आएको थियो, जुन पछिल्ला केही हप्ताको सबैभन्दा ठूलो गिरावट थियो । विशेषज्ञहरूको चेतावनी २ मेमा बजारले २.५ प्रतिशतले सुधार देखाएको भए पनि विज्ञहरूका अनुसार त्यो केवल 'डेड क्याट बाउन्स’ (मृत बिरालो उफ्रनुजस्तै क्षणिक सुधार) मात्र हो । उनीहरूको भनाइमा जबसम्म भारत–पाकिस्तानबीचको तनाव घट्दैन, तबसम्म बजारमा स्थायी सुधारको सम्भावना निकै कम छ । भारतको 'अप्रेशन सिन्दूर': पाकिस्तानमाथि सैन्य कारबाही, तनाव उच्च बिन्दुमा भारत-पाकिस्तानबीचको युद्ध उत्कर्षमा पुग्ने संकेत, यस्तो छ दुई देशको शैन्यशक्ति
रिलायन्स स्पिनिङ मिल्सको कुल नाफा १ अर्ब बढी, इपीएस २५.४९ रुपैयाँ
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रिलायन्स स्पिनिङ मिल्सले वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको आव २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि भएको देखिएको छ । कम्पनीले चालु आवको चैतसम्ममा १ अर्ब २ करोड ८५ लाख ७ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत आवको असारसम्ममा कम्पनीको कुल नाफा ८६ करोड ५० लाख ६० हजार रुपैयाँ थियो । गत असारको तुलनामा चैतसम्ममा कम्पनीको कुल नाफा १६ करोड ३४ लाख ४७ हजार रुपैयाँले बढी हो । चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २५ रुपैयाँ ४९ पैसा पुगेको छ । यसअघि चालु आवको दोस्रो त्रैमासमा कम्पनीको इपीएस २२ रुपैयाँ १९ पैसा र पहिलो त्रैमासमा १९ रुपैयाँ ९५ पैसा रहेको थियो । गत आवको असारमा कम्पनीको इपीएस २ रुपैयाँ ९५ पैसा थियो । त्यसपछि चालु आवमा क्रमशः बढेर तेस्रो त्रैमाससम्ममा २५ रुपैयाँ ४९ पैसा कायम भएको हो । चालु आवको तेस्रो त्रैमाससम्ममा रिलायन्सले ७ अर्ब ३९ करोड १७ लाख ३७ हजार रुपैयाँको व्यापार गरेको छ । गत आवको असारसम्मा कम्पनीको व्यापार ९ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो । कम्पनीको अन्य आम्दानी ४ करोड २७ हजार रुपैयाँ छ । चालु आवको चैतसम्ममा कम्पनीको करतिरेपछिको नाफा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ पुगेको छ । विसं। २०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले स्थापनाको २७ वर्षसम्ममा ४ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । साथै लगानी पनि बढेर १५ अर्बभन्दा बढी पुगिसकेको छ । यस उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्की लगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ । सुनसरीमा रिलायन्सको धागो कारखाना रहेको छ । यस उद्योगले ऊन (उल) धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ । कम्पनी बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रियामा समेत रहेको छ । कम्पनीले केही वर्षदेखि नै वैकल्पिक ऊर्जा व्यवस्थापन र प्रयोग समेत गर्दै आइरहेको छ । आफ्नै सोलार प्यानलमार्फत ऊर्जा व्यवस्थापन गर्दै आइरहेको हो । रुफटपमा राखिएको सोलार प्यानलले ९ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । विगतदेखि नै अघोषित लोडसेडिङ भइरहने गरेकाले उद्योगले वैकल्पिक ऊर्जा व्यवस्थापन गरेको छ ।
भारतको 'अप्रेशन सिन्दूर': पाकिस्तानमाथि सैन्य कारबाही, तनाव उच्च बिन्दुमा
काठमाडौं । भारतले बुधबार बिहान जम्मु–कश्मीरमा आतंकवादी पूर्वाधारहरू लक्षित गरी सैन्य कारबाही गरेको जनाएको छ । भारतको रक्षा मन्त्रालयले यो कारबाहीलाई 'अप्रेशन सिन्दुर' नाम दिएको छ र त्यस अन्तर्गत नौवटा स्थानमा आक्रमण गरेको बताएको छ । मन्त्रालयका अनुसार यी स्थानहरूबाट भारतमाथि आतंकवादी हमला योजना बनाइएका थिए । 'हाम्रो कारबाही लक्षित, सीमित र तनाव नबढाउने प्रकृतिको छ । कुनै पनि पाकिस्तानी सैन्य संरचना लक्षित गरिएको छैन,' विज्ञप्तिमा उल्लेख छ । यो कारबाही जम्मु-कश्मीरको पहलगाममा गत महिना भएको एक उग्रवादी हमलाको जवाफस्वरूप गरिएको हो, जसमा २६ जनाको ज्यान गएको थियो । पाकिस्तानले भने भारतले आफ्ना नागरिकहरूमाथि हमला गर्दै आफ्नो भू–सम्प्रभुतामा उल्लंघन गरेको आरोप लगाएको छ । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तारारले पाँच भारतीय लडाकु विमान खसालिएको दाबी गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले भने, 'यो भारतले जन्माएको युद्ध हो र हामी कडा जवाफ दिइरहेका छौं ।' पाकिस्तानी गोलाबारीका कारण तीनजना नागरिकको मृत्यु भएको बताइएको छ । यता भारतले भने कुनै पनि नागरिकलाई लक्षित नगरिएको स्पष्ट पारेको छ । उता अन्तर्राष्ट्रिय समुदायबाट संयमता अपनाउन आह्वान गरिएको छ। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेस, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, र यूएईका विदेशमन्त्री शेख अब्दुल्ला बिन जायेदले दुबै पक्षलाई तनाव घटाउन आग्रह गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग कुराकानी गरेको जानकारी भारतको वाशिङ्टनस्थित दूतावासले दिएको छ । सैनिक कारबाहीपछि क्षेत्रीय उडानहरू प्रभावित भएका छन् । कतार एयरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ भने भारतीय एयरलाइन्सहरू पनि उत्तरी भारतका विमानस्थलहरूबाट प्रभावित भएका छन् । रक्षा मन्त्रालयले दिनको उत्तरार्धमा थप विस्तृत जानकारी दिने बताएको छ ।
भारतमा रहेको नेपालीहरुको समस्याबारे सांसद अर्यालले गराए सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भारतस्थित नेपाली राजदुतावासले नेपालीहरूको दुःख र पीडामा बेवास्ता गरेको गुनासो भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले नेपालीहरू राजदूतावासमा कुनै सिफारिस लिन जाँदा चर्को शुल्क लिने गरेको गुनासो आएको बताए । उनले भारतमा सन्तान जन्माएका नेपालीहरूले नेपाल फर्किएपछि नेपाली नागरिक लिन खोज्दा सकस परेको समेत गुनासो आएको बताए । उनले भारतमा रहेका नेपाली उद्योगी तथा व्यवसायीहरूले नेपालमा लगानी गर्न खोज्दा सरकारले सहयोग नगरेको समेत जिकिर गरे । कार्यवाहक सभापति अर्यालले भारतमा रहेको नेपालीहरूको समस्या सम्बोधनमा सरकारले चासो देखाउनुपर्ने बताए । उनले भने, ‘भारतको विभिन्न राज्यमा थुप्रै नेपालीहरू बसोबास गर्दै आउनुभएको छ । भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूको दुःख र पीडामा मलहम लगाउनुको साटो कुनै सिफारिस लिन जाँदा थुप्रै पैसा खर्च हुने गरेको गुनासो आएकोले यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ अर्यालले भारतमा रहेका नेपालीहरूले नेपाल सरकारले तेस्रो दर्जाको व्यवहार गरेको गुनासो समेत आएको जिकिर गरे ।
तोलामा १ हजार ७ सयले बढ्यो सुन, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबार तोलामा १ हजार ७०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ । मङ्गलबार प्रतितोला सुन एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
४ व्यापारिक फर्मलाई ४ लाखभन्दा बढी जरिवाना
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चारवटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । ४ वटा व्यापारिक फर्मलाई ४ लाख २५ हजार रुपैयाँ जरिवाना गरेको विभागले जनाएको छ । अनुगमनमा खटिएको टोलीले वस्तुमा मूल्य र नापतौल हेरफेर गरेको पाइएपछि सो जरिवाना गरिएको विभागको भनाइ छ । विभागका अनुसार काठमाडौं महानगरपालिका १५ मा रहेको आर्दश बिजनेस प्रालिलाई २ लाख ६० हजार रुपैयाँ, ग्रिम्स इन्टरप्राइजेज प्रालीलाई ८० हजार, बुढानीलकण्ठ नगरपालिकामा रहेको दिग्वजय इन्टरनेसल प्रालीलाई ७५ हजार र काठमाडौं २४ मारहेको बस्त्र प्रालिलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। साथै कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन समेत निर्देशन दिइएको छ । यसैगरी स्टार मार्वल एण्ड सेनेटरी प्राली र भाटभटेनी सुपरमार्केट डिपाटमेन्टल स्टोर प्रालिलाई सामान्य निर्देशन दिई कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन भनेको छ ।