विकासन्युज

भारत-पाकिस्तान तनावपछि नेपालमा सुरक्षा सतर्कता, सीमा र विमानस्थलमा निगरानी बढाइने

काठमाडौं । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बुधबार गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ   भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको  विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ ।   मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल-भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए।   भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित   घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए ।   'आन्तरिक सुरक्षातर्फ गर्नुपर्ने थप तयारी, समन्वय र सूचना आदानप्रदानलगायतका विषयमा कुराकानी भएको छ,' प्रवक्ता तिवारीले भने, 'सीमानाकादेखि विमानस्थलसम्मको  सुरक्षा व्यवस्थामा विशेष निगरानीसहित चुस्तदुरुस्त बनाउने, राष्ट्रिय तथा आन्तरिक सुरक्षा व्यवस्था सुनिश्चित तुल्याउने, सम्भावित चुनौतीको सामना गर्नेलगायत समसामयिक विषयमा  बैठकमा छलफल भएको छ ।'

राष्ट्र बैंकले गर्‍यो पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।  नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन् ।  कायममुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराइन् । सो अवसरमा अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको प्रतिवेदनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताएको उनको सचिवालयले जनाएको छ ।

धेरै दिनपछि सेयर बजारमा उछाल, ६२ अंकले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव ३८ प्रतिशतको वृद्धि हो । आज नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाघेको छ । तीन सय आठ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार चार सय ५९ कित्ता सेयर ९९ हजार चीन सय पाँच पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ८४ लाख छ हजार तीन सय ५२ बराबरको कारोबार भएको हो । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूह पाँच दशमलव ४७ र जलविद्युत् समूह तीन दशमलव १३ प्रतिशतले बढेको छ । बैंकिङ दुई दशमलव ९७, विकास बैंक दुई दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव ५९, लगानी शून्य दशमलव ८१ र जीवन बिमा समूह दुई दशमलव ४४ प्रतिशतले बढेको छ ।  उत्पादन तथा प्रशोधन एक दशमलव १८, लघुवित्त दुई दशमलव २४, म्युचुअल फण्ड शून्य दशमलव ५७, निर्जीवन बिमा दुई दशमलव ६७, व्यापार शून्य दशमलव ५३ र अन्य समूह दुई दशमलव ५३ प्रतिशतले बढेको छ । नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य चार दशमलव ५० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको ५९ करोड २० लाख ९६ हजार आठ सय २६ बराबरको सेयर किनबेच भएको छ । कारोबार सङ्ख्याका आधारमा सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको १४ लाख २६ हजार तीन सय ७९ कित्ता सेयर खरिदबिक्री भएको छ ।  

भारत र पाकिस्तानको वर्तमान परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संकटको समाधान खोज्न कतारको अपिल

काठमाडौं । कतारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस संकटको कूटनीतिक समाधान खोज्न दुवै देशलाई अपिल गरेको छ । कतारको परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल 'एक्स' (पूर्व ट्विटर) मा एक विज्ञप्ति पोस्ट गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'भारत र पाकिस्तानबीच लगातार बढ्दै गएको तनावप्रति कतार चिन्तित छ र दुवै देशलाई आग्रह गर्छ कि उनीहरूले यो संकटको समाधान कूटनीतिक माध्यमबाट खोजून् ।' कतारले भारत र पाकिस्तानले तनाव कम गर्न संवादको ढोका खोल्न जोड दिनुपर्ने बताएको छ । उसले भनेको छ कि दुवै देशले सकारात्मक वार्तामार्फत बाँकी रहेका समस्याहरू समाधान गर्नुपर्नेछ । बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङको क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेकाे जानकारी दिएकी थिइन् । उनका अनुसार यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको हाे  । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् । पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ । यता भारतले नियन्त्रण रेखामा पाकिस्तानबाट गरिएको गोलाबारीमा १० जना भारतीय नागरिकको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ ।  

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै सुरु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताएका छन् । बुधवार गोरखापत्र दैनिकको १ सय २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नोटबाहेकका सबै छपाइका सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको बताएका हुन् । जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ । पासपोर्टलगायत सुरक्षाका कुनैपनि सामग्री छपाईका लागि अब विदेश जानु नपर्ने उनले स्पष्ट पारे । मन्त्री गुरुङले भने, ‘बैंक नोटबाहेक सबै चिज उत्पादन गर्न सक्ने प्रिन्ट गर्नसक्ने प्रिन्टिङ प्रेसको प्रवन्ध भइसकेको छ । म्यान पावरको हिसावले प्रवन्ध गरेर, वित्तीय व्यवस्थापन गरेर हामी त्यो काम गर्दैछौं । अबदेखि यस्ता चिजहरु छाप्नका लागि विदेश जानुपर्दैन । त्यो काम मन्त्रालयले सुरु गरिसकेको छ ।’ उनले चलचित्र विकास बोर्डको पुरानो ऐन विस्थापित गरेर नयाँ बनाउने प्रक्रिया सुरु गरेको बताए ।  उनले बोर्डको नयाँ ऐन दर्ता भइसकेकाले पास भएर छिट्टै सञ्चालनमा ल्याइने जिकिर गरे । उनले चलचित्र विकास बोर्डको आफ्नै स्वामित्वको भवन निर्माणको काम समेत भइरहेको बताए । सञ्चारमन्त्री गुरुङले जनताको हकहितलाई सुनिश्चित गर्ने राज्यको दायित्व भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता बचाउनका लागि गोरखापत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिए ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुला

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २१ देखि २५ गतेसम्म हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को बुकिङ खुलाएको छ ।  नाइमाले यही वैशाख २२ देखि औपचारिक रूपमा स्टल बुकिङ खुला गराएको हो । इच्छुक व्यक्ति र कम्पनीहरूले आफूले चाहेको स्टल लिनका लागि वैशाख २९ गतेसम्म आवेदन दिन सक्ने नाइमाले जनाएको छ  । नाइमाका अनुसार काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मोबिलिटी एक्स्पोका लागि स्टलको बाँडफाँट गोलप्रथाबाट गरिने छ । मोबिलिटी एक्स्पोमा दुईपाँग्रे, चारपाँग्रे तथा हलुका व्यावसायिक सवारी साधनहरु एउटै हलमा प्रदर्शन गरिने छ । उक्त प्रदर्शनीले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैमा ऊर्जा प्रदान गर्ने नाइमाको विश्वास छ । मोबिलिटी एक्स्पोमा विभिन्न ब्राण्डका दुईपाँग्रे, चारपाँग्रे, कमशिर्यल सवारीसाधन, अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । यस प्रदर्शनीको व्यवस्थापन र संयोजन प्रदर्शनी व्यवस्थापन र आयोजनाको क्षेत्रमा एक अग्रणी संस्था मिडिया स्पेस सोलुसन्स प्रा. लि. द्वारा गरिनेछ । विगतका अन्य प्रदर्शनीहरूको तुलनामा, नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न परिवर्तन तथा सुधारहरू हुनेछन् । 'नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ,' नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले भनिन् ।  'हामी हाम्रा सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न काम गरिरहेका छौं र प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई  एउटा अन्तराष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौं,' उनले थपिन् ।

भ्रष्टाचारीले विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको अख्तियार प्रमुखको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो आरोप लगाएका हुन् ।  भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पत्ति नेपाल फर्काउन दोस्रो पक्ष सहमत भएपनि सरकारले नचाहेको उनको भनाइ छ ।  उनले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पत्ति फिर्ता गर्न सांसदहरूलाई आग्रह समेत गरे ।  आयुक्त राईले भने, ‘मैले आफ्नो कार्यकाल सम्हालेपछि कुनै पनि राजनीतिक नेतृत्वबाट मुद्दा लैजानु र नलैजानु भनेर भनेको छैन । सुशासन कायम गर्नुपर्छ भनिरहकै अवस्था हो । ठूला माछाहरुलाई लगेन भन्ने कुरा ५÷१० वर्षदेखि चलिनै राखेको छ । तर कस्तालाई ठूला माछा र कस्तालाई साना माछा भन्ने ? हामीले अहिले पनि सिंगापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउनसक्ने अवस्था छैन । यसमा तपाईहरुले सहयोग गर्नुपर्यो । सिंगापुरले त भ्रष्टाचार भएको मनि पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन । कार्यदल बनाएपनि काम भइरहेको छैन ।’ उनले भ्रष्टाचार अब देशभित्र मात्र सिमित नभई अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख गरे । उनले भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरुको संख्या उल्लेख्य मात्रामा रहेको दाबी गरे ।

भारतको हवाई आक्रमणमा परी मसूद अजहर परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु

काठमाडौं । चरमपन्थी संगठन जैश-ए-मोहम्मदले जनाएको छ कि पाकिस्तानमाथि भारतले गरेको आक्रमणमा संगठनका प्रमुख मसूद अजहरका परिवारका १० सदस्य र उनका चार नजिकका सहयोगीको ज्यान गएको छ । यस सम्बन्धमा जैश-ए-मोहम्मद (जेईएम)ले बुधबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । मृतकमध्ये मसूद अजहरकी ठूलो बहिनी, भान्जा, भान्जाकी श्रीमती, भान्जी र परिवारका पाँच बच्चा पनि छन् । संगठनले यो पनि जनाएको छ कि आक्रमणमा मसूद अजहरका तीन नजिकका सहयोगी र तीमध्ये एक सहयोगीकी आमा पनि मारिएका छन् । विज्ञप्तिअनुसार पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमाथि भएको हमलामा मसूद अजहरका नातेदारहरूको मृत्यु भएको हो । फेब्रुअरी २०१९ मा जैश-ए-मोहम्मदले जम्मू-कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० जना सैनिकको मृत्यु भएको थियो । २२ अप्रिलमा पहलगाममा भएका वीभत्स आतङ्कवादी हमलाका निर्दोष पीडितहरू र तिनका परिवारलाई न्याय दिनका लागि भारतले ‘अपरेशन सिन्दुर’ सुरु गरेको जनाएको छ । यस कारबाहीमा ९ आतङ्कवादी शिविरहरूलाई लक्षित गरिएको थियो र ती पूर्ण रूपमा नष्ट भएका छन् । पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु र ४६ जना घाइते भएको जानकारी दिएको छ भने भारतले १० जना भारतीय नागरिकको मृत्यु भएको र ३२ जना घाइते भएको जनाएको छ । एक शीर्ष भारतीय सैन्य अधिकारीले बीबीसीसँग पुष्टि गरेका छन् कि सीमापारबाट भएको गोलीबारीमा मारिएका भारतीय नागरिकको संख्या १० पुगेको छ । साथै ३२ जना घाइते भएका छ न्। यी सबै घटनाहरू भारत र पाकिस्तानको पुन्छ जिल्लामा नियन्त्रण रेखाको नजिक भएका हुन् । यता चीनको विदेश मन्त्रालयले कश्मीरमा भारतले गरेको हवाई आक्रमणलाई 'दुर्भाग्यपूर्ण' भनेको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावबारे एक प्रश्नको जवाफमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् कि उनीहरू वर्तमान परिस्थितिबारे 'चिन्तित' छन् । चीनको विदेश मन्त्रालयले भनेको छ, 'भारत र पाकिस्तान एक अर्काका छिमेकी हुन् र सधैं रहन्छन्। ती दुबै चीनका पनि छिमेकी हुन् । चीन सबै प्रकारका आतङ्कवादको विरोध गर्दछ ।’ मन्त्रालयका प्रवक्ताले दुबै देशलाई शान्त रहन, संयम अपनाउन र त्यस्ता कार्यहरूबाट टाढा रहन आग्रह गरेका छन्, जसले परिस्थितिलाई अझ जटिल बनाउन सक्छ।