विकासन्युज

जर्मनीको चान्सलर बने फ्रेडरिख मर्ज, आर्थिक नीति स्पष्ट र कर प्रणालीमा सुधार हुने अपेक्षा

काठमाडौं । फ्रेडरिख मर्ज जर्मनीको दसौँ संघीय प्रमुख (चान्सलर)को रूपमा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा उनले आवश्यक बहुमत प्राप्त गरी सफलता पूर्वक चयन भएका हुन् । यसअघि बिहान सम्पन्न पहिलो चरणको मतदानमा उनले अपेक्षित मत नपाई पराजय ब्यहोरेका थिए । पहिलो चरणमा उनले ३१६ मत आवश्यक पर्दा ३१० मत मात्र प्राप्त गरेका थिए । दोस्रो चरणमा भने उनले ३२५ मत प्राप्त गरी संघीय सभाबाट निर्वाचित भए । ६९ वर्षको उमेरमा यो पद सम्हालेका मर्जले यसअघि कहिल्यै उच्च कार्यकारी जिम्मेवारी वहन गरेका थिएनन् ।  उनी न संघीय मन्त्री थिए न राज्य प्रमुख, न त सानो नगरपालिकाको प्रमुख (मेयर) नै । कोनराड एडेनाउरपछि उनी सबैभन्दा ज्येष्ठ व्यक्ति हुन् । जसले युद्धपछिको जर्मनीमा संघीय प्रमुखको रूपमा पदभार सम्हालेका छन् ।  युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले नव निर्वाचित संघीय प्रमुखलाई बधाई ज्ञापन गर्दै युरोपसँगको साझेदारीमा जर्मनीको भूमिकामा अझ सशक्तता हुने विश्वास व्यक्त गरे । जर्मनी, संयुक्त राज्यपछि युक्रेनलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने राष्ट्र हो ।  नयाँ नेतृत्वबाट दीर्घकालीन राजनीतिक अन्योलको अन्त्य हुने, आर्थिक नीतिमा स्पष्टता आउने, कर प्रणालीमा सुधार तथा भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ ।  यसैबीच, संसदमा प्रमुख विपक्षी शक्तिका रूपमा रहेको ‘वैकल्पिक जर्मनीका लागि’ नामक दलले प्रारम्भिक नतिजालाई लिएर आलोचना गरे पनि निर्वाचन प्रक्रियाको मर्यादा र लोकतान्त्रिक परम्पराको सम्मान कायम गरिएको देखिएको छ।

देशका अधिकांश भागको मौसम सफा रहने, राति पहाडमा आंशिक बदली

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा  रहनेछ । कोशी  र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका  एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा  रहनेछ । कोशी प्रदेशलगायत मुलुकका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि  छ ।

भारतले गर्याे पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण, बलियो जवाफ दिने प्रधानमन्त्री शरिफको चेतावनी

काठमाडौं । भारतले 'अपरेसन सिन्दुर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण गरेको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंक आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो । यो कारबाही अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो । जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ । भारतको वासिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो । केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो ।’  पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् । साथै, बलियो जवाफ दिने चेतावनी दिएका छन् ।  संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। उसले भनेको छ, ‘दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ ।’

विद्युत प्राधिकरणबाट १७ जना कर्मचारी बाहिरिँदै

काठमाडौं । एक महिनामै नेपाल विद्युत प्राधिकरणबाट १७ जना कर्मचारी बाहिरिने भएका छन् । आगामी कात्तिकमा १७ जना कर्मचारी प्राधिकरणबाट बाहिरिने भएका हुन् । उनीहरु अनिवार्य अवकास सुविधा अन्तर्गत बाहिरिन लागेका हुन् । प्राधिकरणका अनुसार कात्तिक महिनामा तेस्रो तहका कर्मचारीदेखि ९औं तहका कर्मचारीहरुसम्मले अनिवार्य अवकास पाउँदैछन् ।  प्राधिकरणका अनुसार नवौं तहका उपप्रबन्धक हरिनारायण साह, छैटौं तहका सहायक निर्देशक हरि कृष्ण शाह र पाचौं तहका कर्मचारी यदुकुमार थापा, तिलकबहादुर कुवंर, गणेशबहादुर कार्की, चित्रबहादुर भट्टराई, इन्द्रकुमारी भण्डारी, केदारनाथ ढुंगेल र श्रीराम तमाङले अनिवार्य अवकास पाउँदैछन् ।  यस्तै, तीन जना चौथो र तृतिय तहका पाँच जना कर्मचारीले अनिवार्य अवकाशमा जादैँछन् । प्राधिकरणले उनीहरुलाई अवकाशका लागि आवेदन दिन पनि आग्रह गरेको छ ।   

बालमन्दिर जग्गा प्रकरण : रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय

काठमाडौं । महान्यायाधिवक्ता कार्यालय बालमन्दिर जग्गा प्रकरणमा रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ ।  सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरी महान्यायाधिवक्ता कार्यालयले जिल्‍ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पत्र पठाएको हो । उक्त पत्र आएसँगै सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने तयारी  जिल्‍ला सरकारी वकिलको कार्यालयले गरिरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)सहित दुई तहको सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निष्कर्ष निकालिसकेको फाइललाई महान्यायाधिवक्ताको कार्यालयले उल्ट्याउँदै प्रतिवादीहरूमाथि मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो ।  बालमन्दिरकी तत्कालीन अध्यक्ष रितासिंह उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् । गत वर्ष वैशाखमा पनि बाल संगठनका पूर्वपदाधिकारी लगायतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको भन्दै सीआईबीमा जग्गा विवादमा संलग्न व्यक्तिहरूविरुद्ध जाहेरी परेको थियो ।  संगठनको जग्गा व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको हो ।  जाहेरीमा २०८९ सालमा सकिने सम्झौता पनि बदनियत रूपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ । नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो ।

मुक्तिनाथ विकास बैंकको स्टार्टअप र नयाँ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्टार्टअप र नयाँ उद्यमी केन्द्रित विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्देश्य उद्यमीहरूलाई वित्तीय व्यवस्थापन, बैंकिङ सेवाको पहुँच, व्यावसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह, कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायतका विषयवस्तुमा साक्षर गराउनु थियो ।  यस कार्यक्रममा २६ जना स्टार्टअप तथा युवा उद्यमीहरूको सहभागिता रहेको थियो ।  यस कार्यक्रममार्फत उद्यमीहरूलाई वित्तीय ज्ञानको प्रयोग गरेर व्यापार, व्यवसायलाई अझ दिगो बनाउने मार्गदर्शन मिल्ने बैंकको विश्वास छ । नेपाली युवाहरुलाई सशक्त बनाई बैंकले सामाजिक उत्तरदायित्व आत्मसाथ गरेको बैंकको धारणा रहेको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । 

सम्पत्ति बीमालेखसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै बीमा सर्भेयर संघ

काठमाडौं । बीमा सर्भेयर संघ नेपाल, बुटवल च्याप्टरले सम्पत्ति बीमालेखसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । बुटवल च्याप्टरले केन्द्रीय संघको सहकार्यमा यही वैशाख २७ गते अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको च्याप्टर प्रमुख गोविन्द लामिछानेले जानकारी दिए । उनका अनुसार अन्तरक्रिया कार्यक्रममा सम्पत्ति बीमालेखसम्बन्धीसँगै, प्री–रिस्क सर्भे, सर्भेयरका चुनौतीसम्बन्धी विविधि प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ । संघले कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद् ओझालाई बोलाएको छ भने प्रस्तुतिकरणको लागि कार्यकारी निर्देशक सुशीलदेव सुवेदीलाई निम्तो गरेको छ । बीमा सर्भेयर संघ, बुटवल च्याप्टरका प्रमुख गोविन्द लामिछानेले भने, ‘हामीले नियामक निकायलाई ल्याएर प्रस्तुतिकरण गर्नुको मुख्य उद्देश्य उहाँहरूले बीमक, सर्भेयर, बैंकर्सलगायतबाट आएका सल्लाह सुझावलाई  मनन गर्नुहुन्छ र त्यही सुझावलाई लिएर नीति निर्माणमा ध्यान जाओस् भनेर नै हो ।’ उनले कार्यक्रममा सर्भेयर, बीमा  कम्पनीका सिईओ, कर्मचारी, बीमित, बैंकर्स एशोसिएसन, उद्योग वाणिज्य संघका अध्यक्षहरु, नेपाल इन्जिनियरिङ एसोसिएनका प्रतिनिधिहरूलाई बोलाएको जानकारी दिए । कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता रहने उनकाे दाबी छ । कार्यक्रममा नेपालमा सर्भेयरका चुनौती विषयमा संघका महासचिव विकास महर्जनले प्रस्तुतिकरण गर्ने कार्यक्रम छ । ‘प्री-रिस्क सर्भे’ विषयमा शिखर इन्स्याेरेन्सका महाप्रबन्धक उदित काफ्लेले प्रिजेन्टेसन दिनेछन् । कार्यक्रममा प्यानल डिस्कसन, प्रश्नोतर, छलफल कार्यक्रमसमेत राखिएको छ । 

गभर्नर कांग्रेसकै भागमा परेको देउवाको खुलासा, प्रक्रिया लम्बिनुको कारण खुलाए

काठमाडौं ।  प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नरको भागबण्डा मिलिसकेको बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गभर्नरको भागबण्डा मिलाइसकेकाे बताउँदै उनले गभर्नर कांग्रेसको भागमा परेको खुलाएका हुन् । ‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति ढिलाइको कारण ओलीजी र म होइन, ओलीजीले कांग्रेसलाई दिने भनिसक्नु भएको छ,’ उनले भने ।  यस्तै, सभापति देउवाले राष्ट्र बैंककै आन्तरिक कारणले गभर्नर नियुक्ति प्रक्रिया ढिलाइ भएको धारणा राखे । उनले कार्यवाहक गभर्नर नीलम ढुङ्गानाले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्दा समस्या भएको संकेत गरेका हुन् ।  यस्तै, उनले अहिले गठबन्धनमा कुनै समस्या नरहेको पनि बताएका छन् ।