विकासन्युज

जनतालाई अनावश्यक निराश बनाउनु एक प्रकारको अपराध हो: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यक रुपमा निराश बनाउनु एक प्रकारको अपराध हुने बताएका छन् । प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतिर धकेल्ने होइन आशावादितामा फर्काउनुपर्नेमा जोड दिए ।  मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे पनि मानिसहरूमा निराशा छाउनुको कारण के होला ? भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘केही फेसबुक र युट्युब र आँखामा कालो पट्टी बाँधेर हेर्ने दृष्टिकोण भएकाहरूका कारण निराशा छ भनेर मुलुकलाई बदनाम गर्न खोजिएको छ । त्यो यथार्थ होइन ।’ विगतमा आफू प्रधानमन्त्री हुँदा थालेका महत्वपूर्ण आयोजना र चालिएका कदमलाई तीव्रताका साथ पूरा गर्ने दृढता लिएर सरकार अघि बढि रहेकाले युवाहरूलाई निराश होइन, हामी आफैले आफ्नो देश बनाउन सक्छौँ भन्ने आशावादको साथ देशभित्रै केन्द्रित हुन आग्रह गरे । ‘मान्छेहरू काम पाइन्छ भनेर देश बाहिर गइरहेका छन् । यस देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित र पुरातन वादी तत्वहरु छटपटिएका छन् । उसले दुई सय पचास वर्ष शासक भएर खाएको सम्झिएको छ । उनीहरू यो लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दैछन्,’ प्रधानमन्त्री ओलीले भने ।  अधिनायकवाद र तानाशाहमा विश्वास गर्नेहरूले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेको उनको भनाइ छ । आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्ने गरेको उनले बताए ।  ‘यस्तो खालको असहिष्णुता  र संकीर्णता बोक्नेहरूले लोकतन्त्र पचाउन नसकेका हुन् । यथार्थमा लोकतन्त्र श्रेष्ठ विकल्प हो । यसको विकल्प छैन, त्यसैगरी आशावादिता ठिक बाटो हो, यसलाई छोड्न हुँदैन,’ उनले भने । 

३ महिनादेखि ४८० घरधुरी अन्धकारमा बस्न बाध्य

काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिका-१ का ४८० घरधुरी तीन महिनादेखि विद्युत् विहीन भएका छन् । यस वडामा रहेको अदालीखोला लघु जलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा समस्या भएको स्थानीय परेक ऐडीले जानकारी दिए ।  गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको छ तर मर्मतका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयबासीको गुनासो छ ।  बिजुली अभावले बालबालिकाको पठनपाठन, मोबाइल चार्ज, कुटानी-पिसानी मिल र स्थानीय फर्निचर उद्योगलगायतमा असर परेको स्थानीय गणेश ऐडीले बताए ।  आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत गर्न नसकिएको बताए । गुठीचौर गाउँपालिका-१ का वडाध्यक्ष अर्जुनकुमार महताराले मर्मतका लागि स्थानीय सरकारले ३ लाख रुपैयाँ विनियोजन गरिएको र आवश्यक परे थप बजेटको व्यवस्थापन गरिने बताए । अब चाँडै विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम हुने उनको भनाइ छ । 

हलगोरु पाल्ने १७८ किसानले पाए पोषण भत्ता, ८ लाख ९० हजार रुपैयाँ किसानको हातमा

काठमाडौं । बागलुङको काठे खोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषण भत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रम अन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई ५ हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गरेको हो । परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले ८ लाख ९० हजार रुपैयाँ पोषण भत्ता सोझै किसानको हातमा पुर्‍याइएको अध्यक्ष राजु थापाले बताए ।  गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गरेर १७८ जनालाई ५ हजार रुपैयाँका दरले पोषण भत्ता प्रदान गरिएको उनको भनाइ छ ।  ‘हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षणका लागि कार्यक्रम अघि बढाएका थियौँ, हाल १७८ किसानले लाभ उठाउनुभएको छ । पालिकाले गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउनुका लागि पहिलो पटक यो कार्यक्रम ल्याएको हो,’ अध्यक्ष थापाले भने, ‘गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिन्छ, दूध उत्पादन गर्ने किसानले प्रति लिटर साढे दुई रुपैयाँका दरले अनुदानसमेत पाएका छन् भने वडा स्तरमा माइनर ल्याब स्थापना गरी पशु सेवा दिइएको छ ।’ आधुनिकताको नाममा मिनी टिलर हलो वितरण हुन थालेपछि परम्परागत गोरुपालक किसानलाई समस्यामा परेको महसुसपछि यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । ‘विभिन्न स्थानीय तहमा कृषिमा आधुनिकीकरणका नाममा मिनी टिलर हलो वितरण गर्ने लहड चलेको  तर हामीले गाउँ-गाउँमा परम्परागत खेती गर्नका लागि हलगोरु नै उपयुक्त देखेका छौँ । कृषिमा मलमूत्रको प्रयोग अपरिहार्य रहेकाले किसानलाई प्रोत्साहन गर्न यो अभियान सुरु गरेका हौँ’, अध्यक्ष थापाले भने ।  गाउँपालिका पशु शाखा प्रमुख होमबहादुर थापा गोरु पाल्दा वातावरणमा सकारात्मक प्रभाव पर्ने भएकाले यसलाई जोगाई राख्नुपर्ने आवश्यकता रहेको बताउँछन् । त्यसकारण पालिका आफैंले यो अभियानको सुरुआत गरेको उनले बताए ।  गाउँपालिका-७ रेशका गोरुपालक किसान डम्मरबहादुर थापाले गोरु पाल्ने किसानले पहिलोपटक सहयोग पाउँदा सम्मानको महसुस गरेको बताए । उनले रेशमा आफूजस्ता हलगोरु पाल्ने पाँच जना किसानले अनुदान पाएको बताए । काठे खोला गाउँपालिकाले किसानलाई प्रोत्साहनका लागि दूधमा समेत अनुदान दिन थालेको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिए ।  यस्तै, किसानलाई निःशुल्क रूपमा पशुलाई औषधि वितरण र ९२ वटा गाई भैँसीको नस्ल सुधारका लागि कृत्रिम गर्भाधान गराइएको उनले बताए । पालिकाले नयाँ बाख्रा पकेट विकास कार्यक्रममार्फत अनुदान र पशुपक्षी फार्म यन्त्रिकीकरणमा सहयोग गरिरहेको छ ।  

स्थानीयले चन्दा सङ्कलनबाट बस किने, गाउँपालिकाका अध्यक्षले विद्यालयलाई हस्तान्तरण गरे

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा रहेको जामिया इस्लामिया मदर्शालाई बस हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमबीच विद्यालय प्रशासनलाई औपचारिक रूपमा बस हस्तान्तरण गरिएको गाउँपालिका-२ का वडाध्यक्ष आलम अन्सारीले जानकारी दिए।  स्थानीयवासीले चन्दा सङकलन गरी खरिद गरिएको बस विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए । गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले विद्यालयका प्रधानाध्यापक समिमअख्तर फलाहीलाई बसको साँचो हस्तान्तरण गरे ।  स्थानीयवासीले विद्यालयलाई चन्दा सङ्कलन गरेर बस हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै उनले शिक्षा यो प्रवर्द्धन तर्फको ऐतिहासिक कदम भएको धारणा राखे।  ‘हामीले गाउँपालिकालाई शिक्षामैत्री बनाउने प्रतिबद्धता गरेका छौँ । सोहीअनुसार सरकारी तथा निजी क्षेत्रबीचको सहकार्यमार्फत शैक्षिक गुणस्तर अभिवृद्धिमा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ,’ अध्यक्ष आजादले भने ।  विद्यालयमा सवारीसाधन नहुँदा टाढाबाट आउने बालबालिकालाई समस्या हुँदै आएकामा अब केही राहत हुने विद्यालयका प्रधानाध्यापक फलाहीले बताए ।  ‘विद्यालयको आफ्नै सवारीसाधन नहुँदा टाढाबाट आउने विद्यार्थीले निजी, साथीसँगी वा सार्वजनिक सवारीको प्रयोग गरेर अध्ययनका लागि आउने गरेका थिए । अब केही राहत हुनेछ । यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद छ,’ उनले खुसी हुँदै भने । 

आज देशभर मौसम सफा रहने, राति पहाडी र हिमाली भागमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने छ ।

प्रतिनिधि सभाका पूर्वसदस्य नेपालको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभाले पूर्वसदस्य प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।  बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा दिवंगत नेपालको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।  नेकपा एमालेको तर्फबाट २०५० सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित नेपाल २०६५ सालमा काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । दिवंगत नेपाल पूर्वमन्त्रीसमेत हुन् । नेपालको ७१ वर्षको उमेरमा वैशाख २३ गते काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । बैठकले उनको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।  साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । बैठकले दिवंगत नेपालको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेट उठेर मौन धारण समेत गरेको छ । 

पाकिस्तानमाथि भारतको आक्रमणले युद्धको खतरा बढ्यो : टर्की

काठमाडौं । टर्कीले पाकिस्तान प्रशासित कश्मीरमा भारतले गरेको हवाई आक्रमणका कारण युद्धको खतरा थप बढेको जनाएको छ । टर्कीको विदेश मन्त्रालयले सामाजिक सञ्जाल 'एक्स' (पूर्व ट्वीटर) मा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ कि उनीहरू भारत र पाकिस्तानबीच भइरहेका घटनाक्रमप्रति चिन्तित छन् र यसलाई नजिकबाट नियालिरहेका छन् । विज्ञप्तिमा भनिएको छ, 'हामी सर्वसाधारण र नागरिक भवनहरूलाई लक्षित गरी गरिने कुनै पनि प्रकारको उत्तेजनात्मक कार्य र आक्रमणको निन्दा गर्छौं । हामी आशा गर्छौं कि तनाव कम गर्न चाँडोभन्दा चाँडो कदमहरू चालिनेछन् । ' विज्ञप्तिमा दुबै पक्षलाई एकपक्षीय कदमबाट जोगिन पनि आग्रह गरिएको छ । यसै विज्ञप्तिमा टर्कीले पहलगाम आक्रमणको छानबिन गर्न पाकिस्तानले राखेको मागको समर्थन गर्ने उल्लेख गरिएको छ । बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङकाे क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेकाे जानकारी दिएकी थिइन्। यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको थियो । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् । पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ । यता भारतले नियन्त्रण रेखामा पाकिस्तानबाट गरिएको गोलाबारीमा १० जना भारतीय नागरिकको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ ।

आईएफसीले रत्निजा अरन्दारालाई नेपालका लागि आवासीय प्रतिनिधि नियुक्त गर्‍यो

काठमाडौं ।  विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले रत्निजा अरन्दारालाई नेपालका लागि आवासीय प्रतिनिधिको रूपमा नियुक्त गरेको छ ।  अब अरन्दाराले काठमाडौंमा रही आईएफसीको लगानी वृद्धि, नयाँ लगानी तथा सल्लाहकार अवसरहरूको विकास र संस्थाको देशभर प्रभाव विस्तार गर्ने प्रयासहरू नेतृत्व गर्नेछिन् । श्रीलंकाली नागरिक अरन्दारा २०११ देखि आईएफसीसँग आबद्ध छिन् र उनले विश्व बैंक समूहमा व्यापक अनुभव हासिल गरेकी छन् ।  यस नियुक्तिअघि उनले दक्षिण एसियामा आईएफसीको देशीय सल्लाहकार तथा आर्थिक टोलीमा महत्त्वपूर्ण भूमिका निभाएकी थिइन्, जहाँ उनले वित्तीय समावेशीकरण प्रवद्र्धन, कृषि व्यवसाय सुदृढीकरण र विभिन्न क्षेत्र तथा उद्योगहरूमा लगानी वातावरण सुधारमा ध्यान केन्द्रित गरेकी थिइन् । नेपालमा आफ्नो नयाँ भूमिकामा अरन्दाराले आईएफसीको व्यवसाय विकास पहलहरू अगाडि बढाउने, प्रारम्भिक चरणको संलग्नता विस्तार गर्ने र मुख्य सरोकारवालाहरूसँग साझेदारीलाई गहिरो बनाउँदै आईएफसीको लगानी तथा सल्लाहकार गतिविधिहरूलाई विकास प्रभाव वृद्धि गर्ने हेतुले व्यापक बनाउनेछिन् । विश्व बैंक समूहमा आबद्ध हुनुअघि अरन्दाराले इन्डोनेसियाको पीडब्ल्यूसी र स्विट्जरल्याण्डको ओराकल एजीमा काम गरेकी थिइन् । गत पाँच वर्षमा आईएफसीले करिब ७० करोड अमेरिकी डलर लगानी प्रतिबद्ध गरेको छ, जसमा स्वच्छ ऊर्जा, निजी इक्विटी, वित्तीय तथा आतिथ्य क्षेत्रहरूमा परिचालन प्रयासहरू समावेश छन् ।  यी लगानीहरूले साना तथा मझौला उद्यमलाई समर्थन, हरित ऊर्जा रूपान्तरण अगाडि बढाउन, र वित्तीय तथा लैङ्गिक समावेशीकरण प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । आईएफसी विश्व बैंक समूहको सदस्य हो । यो विकासशील बजारमा निजी क्षेत्र केन्द्रित विश्वकै सबैभन्दा ठूलो विकास संस्था हो ।