बजेटका सिद्धान्त र प्राथमिकता : कर सहुलियत र नाफा फिर्तालाई विशेष जोड {पूर्णपाठ}
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेस गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि आइतबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल गर्ने प्रस्ताव पेस गरेका हुन् । उनले जग्गाको हदबन्दी, वनक्षेत्रको प्रयोग, कर सहुलियत र नाफा फिर्ता प्रक्रियामा देखिएका कठिनाई र बेमेलको निराकरण गरिने उल्लेख गरेका छन् । यस्तै, वित्तीय क्षेत्रको नियमनलाई थप सुदृढ, विश्वासिलो र भरपर्दो बनाइने, नियामक निकायहरूको संस्थागत सुदृढीकरण र काम कारवाहीमा पारदर्शिता अभिवृद्धि गरिनेछ । वित्तीय साक्षरता र वित्तीय पहुँच विस्तार गरिनेछ उल्लेख छ । वित्तीय क्षेत्रमा सुशासन कायम गर्न नीतिगत तथा संरचनागत सुधार, गैर बैंकिङ्ग सम्पत्ति व्यवस्थापन र मौद्रिकीकरणका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने र डिजिटल बैंक स्थापना गरिने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । पुँजी बजारको संरचनागत सुधार गरी गतिशील तुल्याइने, सम्वत् २०८३ भित्र मुलुकलाई सम्पत्ति शुद्धीकरण निवारणको विस्तृत अनुगमन सूचीबाट बाहिर ल्याइने उल्लेख छ । यस्तो छ पूर्णपाठ :
आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ह्याम्स अस्पतालमा उपचारमा १० प्रतिशत छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स अस्पताल लिमिटेडबीचको समझदारी भएकाे छ । समझदारीअनुसार अब आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले ह्याम्स अस्पतालमा उपचार सेवामा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट पाउने भएका छन् । सम्झौताअनुसार बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाएर, र अभिकर्ता तथा कर्मचारीहरूले आधिकारिक परिचयपत्र पेस गरी छुट सुविधा लिन सक्नेछन् । कम्पनीले यो सहकार्यले व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउने विश्वास लिएको छ भने बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई स्वास्थ्य सेवामा निरन्तर लाभ पुर्याउने अपेक्षा गरिएको छ । भविष्यमा सेवा झन् प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले प्रिभिलेज कार्ड पनि ल्याउने योजना बनाएको छ ।
चिकित्सकको ड्युटी, बिदा र सुविधा निर्धारणका लागि कार्यदल बन्यो
काठमाडौं । आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गरेका छन् । गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितीमा आवासीय चिकित्सकको सेवा सुविधा तय गर्नका लागि भएको समझदारीअनुसार आवासीय चिकित्सकको ड्युटी आवर, बिदा तथा अतिरिक्त सुविधा लगायतका विषयमा सुझाव दिन कार्यदल गठान गर्ने सहमति भएको थियो । सोही अनुसार सुझाव दिनका लागि भन्दै मन्त्री पौडेलले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बारकोटीको संयोकजत्वमा कार्य दल गठन गरेका हुन् । गठित समितिका सदस्यमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्राडा सुजनबाबु मरहट्टा , यसैगरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा मोहन शर्मा, मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सदस्य छन् । यसैगरी, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव ऋषिराज आचार्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर प्राडा लोचन कार्की, काठमाडौं विश्वविद्यालयका डीन प्राडा मनोज हुमागाईं, निजी मेडिकल कलेजका तर्फबाट डा. सुमेश मिश्र सदस्य तथा मन्त्रालयकी अधिकृत डा. सुनिता लम्साल सदस्य सचिव छन् । कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर तथा अतिरिक्त सुविधा लगायतका विषयमा वर्तमान अवस्था मूल्यांकन गर्ने कार्यादेश दिइएको छ । यसैगरी, यससम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासहरूसँग तुलना गर्न र सुधारका लागि कार्यान्वयनयोग्य सिफारिसहरू तयार पार्न कार्य दललाई कार्यादेश दिइएको छ । कार्यदललाई दुई साताभित्र प्रतिवेदन मन्त्रालयलाई दिन भनिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘आवासीय चिकित्सकसँग मन्त्रालयले गरेको सम्झौता कार्यान्वयन गर्न कार्यदलको प्रतिवेदन महत्वपूर्ण हुने अपेक्षा गरेका छौं,’ प्रवक्ता बुढाथोकीले भने ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको आइतबार सम्पन्न २८औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई प्रस्ताव गरिएको लाभांश पारित गरिएको हो । सभाले गत वर्षको वित्तीय विवरण र सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गरेको छ । साथै चालु आवको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीका अध्यक्ष मनोहर दास मुलले कम्पनीले चालु आर्थिक वर्षमा ४.७९ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको बताए । जुन गत वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भएको हो । साथै कम्पनीले चालु आवमा २.८३ अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । जबकी गत वर्ष २.३८ अर्ब रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो ।
९ महिनामा निर्यात ६५ प्रतिशतले बढ्दा मूल्य सूचकाङ्कमा सामान्य गिरावट
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा देशको निर्यात ६५.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोही अवधिमा आयात पनि १२.२ प्रतिशतले वृद्धि भएको छ । तर, मूल्यको हिसाबले हेर्दा वार्षिक विन्दुगत आधारमा २०८१ सालको चैत महिनामा निर्यातको एकाइ मूल्य सूचकाङ्क २.० प्रतिशतले र आयातको मूल्य सूचकाङ्क ०.२ प्रतिशतले घटेको देखिएको छ । यस अवधिमा व्यापारको शर्तमा पनि १.७ प्रतिशतले गिरावट आएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । आयातको तुलनामा निर्यातको मूल्यमा केही कमजोरी देखिएको छ ।
लोककल्याणकारी विज्ञापन अनलाइनमा दिन र बजेट दोब्बर बनाउन माग
काठमाडौं । प्रेस सेन्टर नेपालले अनलाइन र एफएम रेडियोलाई वर्गीकरण प्रक्रियामा सहभागी गराउन र जनस्तरमा प्रभावकारी रहेका यस्ता सञ्चार माध्यममा लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारसँग माग गरेको छ । सरकारले दिँदै आएको लोक कल्याणकारी विज्ञापनलाई बजेटमार्फत शतप्रतिशत वृद्धि र विज्ञापन ऐनमा भएको व्यवस्थाअनुसार तत्काल सबै प्रकारका सञ्चारमाध्यमले पाउने गरी समानुपातिक विज्ञापन वितरण प्रणाली लागू पनि प्रेस सेन्टरले माग गरेको हो । स्थानीय विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन र केन्द्रबाट वितरण हुने सरकारी विज्ञापन स्थानीय तहका सञ्चारमाध्यमले समेत पाउनेगरी समानुपातिक वितरण प्रणाली लागू गर्न तथा अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारसमक्ष माग गरिएको छ । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनपछि जारी ‘काठमाडौं घोषणापत्र- २०८१’ सहित १५ बुँदे माग राखेर प्रेस सेन्टरले आइतबार सञ्चार मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो । एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्यामा संलग्न राजावादी समूहका नाइकेहरूलाई कानुनी कारबाही गर्दै सञ्चारगृह र सञ्चारकर्मीहरूको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ । ‘आम सञ्चार प्रशिक्षण प्रतिष्ठान’ तत्काल गठन गर्न पनि माग गरिएको छ । सङ्घीय सरकारको नीति तथा कार्यक्रममा समेटिएको ‘स्वरोजगारमूलक मिडिया प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन वितरण प्रणाली’ प्रदेश तथा स्थानीय तहबाट पनि लागू गर्न र स्थानीय विज्ञापन स्थानीय मिडियालाई अनिवार्य उपलब्ध गराउने व्यवस्था गर्न, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाललगायतका निकायबाट प्रदान गरिने पत्रकार वृत्तिविकास अनुदान, सञ्चार उपकरण अनुदान, पुरस्कार/सम्मान पारदर्शी, समावेशी बनाउन माग गरिएको छ । त्यस्तै, सञ्चारमाध्यम दर्ता प्रक्रियालाई सरल बनाउन, एकपटक दर्ता भइसकेपछि अन्य निकायमा पुनः दर्ता/नवीकरण गर्नुपर्ने झन्झटिलो व्यवस्था खारेज गरेर सहज रूपमा दर्ता गर्ने प्रबन्ध माग गरिएको छ । प्रेस सेन्टर नेपालले जनयुद्धको क्रममा सहिद भएका र बेपत्ता पारिएका पत्रकारहरूको स्मृतिमा विशेष कोष बनाउन सरकारसँग माग गरेको छ । आइतबार सञ्चार मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै सेन्टरले सहिद तथा बेपत्ता पत्रकारको नाममा पुरस्कार स्थापना गर्न माग समेत गरेको छ । ‘परिवर्तनका लागि कलम चलाएकै कारणले तत्कालीन राज्यबाट हत्या गरिएका पत्रकार सहिद र बेपत्ता पारिएका पत्रकारको स्मृतिमा सरकारबाट कोष स्थापना गरियोस्,’ प्रेस सेन्टरले सञ्चार मन्त्रालयमा बुझाएको १५ बुँदे ज्ञापन पत्रमा भनिएको छ, ‘सहिद र बेपत्ता पत्रकारको नाममा पुरस्कार स्थापना गरियोस् ।’ प्रेस सेन्टर नेपालले जनयुद्धको क्रममा सहिद भएका र बेपत्ता पारिएका पत्रकारहरूको स्मृतिमा विशेष कोष बनाउन सरकारसँग माग गरेको छ । आइतबार सञ्चार मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै सेन्टरले सहिद तथा बेपत्ता पत्रकारको नाममा पुरस्कार स्थापना गर्न माग समेत गरेको छ । ‘परिवर्तनका लागि कलम चलाएकै कारणले तत्कालीन राज्यबाट हत्या गरिएका पत्रकार सहिद र बेपत्ता पारिएका पत्रकारको स्मृतिमा सरकारबाट कोष स्थापना गरियोस्,’ प्रेस सेन्टरले सञ्चार मन्त्रालयमा बुझाएको १५ बुँदे ज्ञापन पत्रमा भनिएको छ, ‘सहिद र बेपत्ता पत्रकारको नाममा पुरस्कार स्थापना गरियोस् ।’
चालु खाता २१० अर्ब बचतमा, वैदेशिक लगानी र पुँजी प्रवाहमा वृद्धि
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा देशको चालु खाता २१० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १७९ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष १ अर्ब ३५ करोड डलरले बचतमा रहेको चालु खाता चालु वर्षको समीक्षावधिमा १ अर्ब ५५ करोड डलरले बचतमा पुगेको छ । त्यस्तै, समीक्षावधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ७८ करोड रुपैयाँ मात्र थियो । साथै, प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटी मात्र) पनि ८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २ अर्ब ४७ करोड रुपैयाँले बढी हो । शोधनान्तर स्थितिको हिसाबले यो अवधिमा ३४६ अर्ब २३ करोड रुपैयाँले बचत देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो बचत ३६५ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति २ अर्ब ५५ करोडको बचतमा देखिएको छ । जुन अघिल्लो वर्षको २ अर्ब ७५ करोडको तुलनामा केही घटेको हो ।
२४.२६ खर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति, १७.१ महिनाको आयात धान्ने
काठमाडौं । विदेशी मुद्रा सञ्चिति सवा २६ खर्ब रुपैयाँ पुगेको छ । । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को ९ महिनामा कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशत बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो । गत असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति चैत मसान्तसम्ममा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ । जबकी २०८१ असार मसान्तसम्ममा १५ अर्ब २७ करोड अमेरिकी डलर थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १५.६ प्रतिशत बढेर २१ खर्ब ३६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियाो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थासँग चैतसम्म ५०.८ प्रतिशतले वद्धि भई २ खर्ब ९० अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । २०८१ असार मसान्तसम्ममा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ थियो । २०८१ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । चालु आवको ९ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.७ प्रतिशत, ११८.७ प्रतिशत र ३२.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।