पर्यटन क्षेत्रमै सबैभन्दा बढी कर तिर्ने तारागाउँ रिजेन्सी होटल सम्मानित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघंले होटल तथा पर्यटन क्षेत्रतर्फ आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै कर तिर्ने तारागाउँ रिजेन्सी होटललाई सम्मान गरेको छ । महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलका क्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहाल र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा तारागाउँ रिजेन्सी होटललाई सम्मानपत्र प्रदान गरेका हुन् । महासंघले गत चैत २८ मा सम्पन्न ५९औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा विभिन्न संस्थालाई सम्मान गर्ने निर्णय थियो । सो सम्मान आज एक कार्यक्रम आयोजना गरी प्रदान गरिएको हो । महासघंले प्राविधिक समितिको सिफारिसका आधारमा महासंघको ५९ औं वार्षिकोत्सवको अवसर विभिन्न क्षेत्रमा बढी कर तिर्ने संस्थाहरुलाई सम्मान गरेको हो । पर्यटन क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने होटलका रूपमा यसअघि पनि होटलले विभिन्न सम्मान प्राप्त गरिसकेको छ । होटलले यसअघि आर्थिक वर्ष २०७१/७२, आव २०७३/७४, आव २०७४/७५, आव २०७५/७६ र आव २०७६/७७ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भइसकेको छ । होटललाई सरकारले पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गरेवापत २०७६ मा सम्मानित गरेको थियो । कूल ३०३ कोठाको नेपालकै सबैभन्दा ठूलो उक्त होटललाई आन्तरिक राजस्व विभागले उतकृष्ट करदाताको रुपमा सम्मान गरेको हो । नेपाली कला र शैली झल्काउने गरी तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको होटलले दुई दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा हाइ इन्ड पर्यटकमार्फत महत्वपूर्ण योगदान पुर्याइरहेको छ । होटलले हाल करिब ३२५ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको कर्पोरेट प्रेसिडेन्ट रानी ब्याङले बताइन् । १० वर्षे द्वन्द्व सुरु हुनुअघि परिकल्पना गरी निर्माण सुरु भएको होटल द्वन्द्व चरमोत्कर्षमा रहेको समय सन् २००० मा सफ्ट ओपनिङ गरी सञ्चालनमा आएको थियो ।
सव-इन्जिनियर पौड्यालविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा, पत्नी पनि प्रतिवादी
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरका सव-इन्जिनियर कुमार पौड्यालविरुद्ध साढे ३ करोड रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा दायर गरेको मुद्दामा पौड्यालविरुद्ध ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँको बिगो माग गरिएको हो । अनुसन्धानअनुसार पौड्यालले २०५१ साल वैशाख ९ देखि २०८० असार ३१ सम्मको सेवाअवधिमा तलब, भत्ता, जग्गा बिक्री, बीमा, र छोराछोरीको पारिश्रमिक मिलाएर २ करोड ५८ लाख ९७ हजार ३२४ रुपैयाँ वैध आय देखिएका छन् । तर, उनी र उनको परिवारले सो अवधिमा घर निर्माण, जग्गा खरिद, अध्ययन खर्च, रेष्टुरेन्टमा लगानी, सवारीसाधन, शेयर, ऋण सापटी र सुन खरिदजस्ता शीर्षकमा ६ करोड २२ लाख १८ हजार ५३२ रुपैयाँ खर्च गरेका थिए । यसरी करिब साढे तीन करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, पौड्यालले अवैध सम्पत्ति पत्नी विष्णुमाया पौड्यालको नाममा राखेकाले उनीलाई समेत प्रतिवादी बनाइएको छ । आयोगले गैरकानूनी सम्पत्ति जफत गर्न माग गर्दै अदालतमा दाबी दर्ता गरेको हो । यो मुद्दाले सरकारी सेवामा रहेका व्यक्तिहरुले कसरी पदको दुरुपयोग गरेर अवैध सम्पत्ति आर्जन गरिरहेका छन् भन्ने कुरामा गम्भीर प्रश्न उठाएको छ।
बिटकोइनभन्दा इथेरियम अगाडि, सात दिनमै ३५ प्रतिशत प्रतिफल
काठमाडौं । क्रिप्टोकरेन्सीको मूल्य फेरि आकाशिन थालेको छ । गएको एक हप्तामा लगभग सबै प्रमुख क्रिप्टोकरेन्सीहरूले शानदार प्रतिफल दिएका छन् । विशेषगरी विश्वकै दोस्रो सबैभन्दा महँगो क्रिप्टो इथेरियमले त साप्ताहिक प्रतिफलको हिसाबले विश्वकै सबैभन्दा महँगो क्रिप्टो बिटकोइनलाई समेत पछि पारेको छ । इथेरियमको मूल्य गत ७ दिनदेखि एकदमै तीव्र गतिमा उक्लिरहेको छ । यसले सात दिनमै लगानीकर्तालाई झण्डै ३५ प्रतिशत प्रतिफल दिएको छ। ७ दिनअगाडि अर्थात् अप्रिल ४ तारिखको दिउँसो १ बजे एउटा इथेरियमको मूल्य १ हजार ८४० डलर थियो । आज आइतबार दिउँसो १ बजे यसको मूल्य झण्डै २ हजार ४९५ डलर पुगिसकेको छ । यसले ७ दिनमै लगानीकर्तालाई ३५ प्रतिशतभन्दा बढी प्रतिफल दिएको देखिन्छ । त्यति नै अवधिमा बिटकोइनको रिटर्न ८ प्रतिशतभन्दा अलि बढी मात्र रहेको छ । दोस्रो सबैभन्दा महँगो क्रिप्टो हाल विश्वकै सबैभन्दा महँगो क्रिप्टो बिटकोइन हो, जसको मूल्य १ लाख डलरभन्दा माथि पुगेको छ । दोस्रो स्थानमा इथेरियम रहेको छ, जसको मूल्य २ हजार ४०० डलरभन्दा बढी छ । इथेरियम केवल दोस्रो सबैभन्दा महँगो क्रिप्टो मात्र होइन, व्यापारिक चलनको हिसाबले पनि यो दोस्रो स्थानमै रहँदै आएको छ । बिटकोइनको स्थिति कस्तो ? अघिल्ला केही समयको प्रतिफल हेर्दा बिटकोइन अझै पनि भरपर्दो क्रिप्टोकरेन्सी बनेको देखिन्छ । ७ दिनको अवधिमा यसको प्रतिफल ८ प्रतिशतभन्दा बढी रहेको छ । आइतबार दिउँसो १ बजे एउटा बिटकोइनको मूल्य झण्डै १ लाख ३ हजार ६४७ डलर थियो । विगत १ वर्षको अवधिमा बिटकोइनले ७० प्रतिशत जति रिटर्न दिएको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमुना बनाउँदै विदेश उपचार गर्न जानेको सङ्ख्या घटाउने लक्ष्यसहित बालचिकित्सा सघन एकाइ सुरुआत गरिएको बताएका छन् । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरपीडित बालबालिकाको विशेष उपचारका लागि बालचिकित्सा सघन एकाइको आज उद्घाटन गर्दै उनले भारतलगायत विदेशमा उपचारका लागि जानेको सङ्ख्या घटाउन अस्पतालका सुविधा विस्तार गर्दै लगिएको बताए । उनले स्वदेशमा सहज सेवा पाउने वातावरण तयार गरिने प्रतिबद्धता जनाए । मन्त्री पौडेलले यसअघि बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेपछि वैशाखभरि सघन एकाइ सञ्चालनको तयारी गरिएको थियो । सोही निर्णय कार्यान्वयन गर्दै बालबालिकाको उपचारका लागि बालचिकित्सा सघन एकाइको सुरुआत गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री पौडेलले बाल क्यान्सर उपचार निःशुल्क गराउँदा राज्यलाई थप भार नपर्ने गरी आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको जनाउँदै सकेसम्म थप दायित्व नपर्ने गरी विभिन्न किसिमका उपचार सेवा सुधार र विस्तार गर्दै जाने उल्लेख गरे । 'हामीसँग आर्थिक अभाव छ, यसलाई मध्यनजर गर्दै अधिकतम स्रोतको उपयोग गरेर नागरिकलाई सहज र सर्वसुलभ सेवा प्रदान गरिरहेका छौँ', उनले भने । आफूले गरेको पहिलो निर्णय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत रहेको जनाउँदै स्वास्थ्यमन्त्रीले क्यान्सर उपचारलाई सहज, पहुँचयोग्य र सुलभ बनाउन यथासम्भव काम गरिने बताए । आगामी आर्थिक वर्षमा क्यान्सर नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने उनले जानकारी दिए । एकाइमा बालबालिकाका लागि आइसीयुका चार, दिवा हेरचाह चार र साधारण शय्या सात रहेका अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले जानकारी दिए । अस्पतालमा सेवा विस्तार तथा स्तरोन्नतिका लागि मन्त्री पौडेलले प्राथमिकता दिएर योजना अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सम्पत्ति बीमालेखसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, १५० भन्दा बढीको सहभागिता
काठमाडौं । बीमा सर्भेयर संघ नेपाल, बुटवल च्याप्टरले सम्पत्ति बीमा लेखसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुटवल च्याप्टरले केन्द्रीय संघको सहकार्यमा शनिबार अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको च्याप्टर प्रमुख गोविन्द लामिछानेले जानकारी दिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरण कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले सर्भेयर संघले संघ मात्रै नभएर अबका दिनमा तालिम केन्द्र पनि सञ्चालन गरी आवश्यक तालिम सञ्चालन गर्न अनुरोध गरे । तालिम केन्द्र सञ्चालनमा संघलाई प्राधिकरणको साथ र सहयोग रहने उनले प्रतिवद्धता जनाए । एक दिने अन्तरक्रिया कार्यक्रममा चार वटा स्टेक होल्डरसँग छलफल भएको र कार्यक्रम निकै नै सकारात्मक भएको च्याप्टर प्रमुख लामिछानेले बताए । उनका अनुसार कार्यक्रमको पहिलो सेसनमा ‘प्री-रिस्क सर्भे’ विषयमा शिखर इन्स्योरेन्सका महाप्रबन्धक उदित काफ्लेले प्रिजेन्टेसन दिएका थिए । त्यस्तै बीमा विज्ञ डा. रविन्द्र घिमिरेले वर्तमान बीमाको सिनारियोबारेमा प्रिजेन्टेसन दिएका थिए । त्यस्तै, सर्भेयरका चुनौती विषयमा संघका महासचिव विकास महर्जनले प्रस्तति दिएका थिए भने प्राधिकरणका निर्देशक निर्मल अधिकारीले सम्पति बीमालेखसम्बन्धी प्रस्तुति दिएका थिए । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि सुवेदी, बीमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रदेश प्रमुख जमुना अर्याल, सर्भेयर, बैंक, बीमाका कर्मचारीलगायत १५० भन्दा बढीको सहभागिता रहेको थियो ।
प्रचण्डलाई प्रधानमन्त्रीको कटाक्ष- ऐनामा आफ्नै अनुहार देखी अरूलाई गाली गर्न छाडौं
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको जस्तै सोचेर अरुलाई गाली गलौज नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष्य पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो आग्रह गरेका हुन् । उनले आफै ऐना हेरेर आफ्नै अनुहार देखेर पनि गाली गर्ने काम नगर्न आग्रह गरे । उनले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका सांसदहरूले टिप्पणी भन्दा पनि गाली गलौजको भाषा बोलेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेताज्यू र विपक्षी दलका मान्यजीहरुले टिप्पणी भन्दा पनि गाली गलौजको भाषा बोल्नुभएको थियो । म त्यतापट्टि जान चाहिनँ । ऐना अगाडि राख्ने, ऐनामा हेर्ने अनि यस्तो रैछस्, उस्तो रैछस् भनेर गाली गर्ने । त्यसमा मैले केही भनिरहन आवश्यक छैन जस्तो देख्छु । आफै ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरुलाई गाली गर्ने । त्यसो नगरे हुन्थ्यो भन्ने मात्रै हो ।’ उनले संसदमा सामाजिक सञ्जालका टिप्पणीहरु व्यक्त गर्न नहुने पनि बताए ।
तरलता घटाउन राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार निक्षेप संकलन उपकरण मार्फत २१ दिन अवधिका लागि यो रकम संकलन गरिनेछ । बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म भाग लिने गरी आवेदन दिन सक्नेछन् । यस निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन् । बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण गरिनेछ भने उक्त उपकरणमा लगानी गरिएका निक्षेपलाई राष्ट्र बैंक बाहेकका अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । सङ्कलित निक्षेपको साँवा तथा ब्याज आगामी १८ जेठमा भुक्तानी गरिने जनाइएको छ । बैंकिङ प्रणालीमा तरलता सन्तुलन गर्न राष्ट्र बैंकले समय समयमा यस्ता मौद्रिक उपाय अवलम्बन गर्दै आएको छ ।
कुलिङ पिरियड र उमेरहदको मतान्तर छलफलबाट टुंग्याउँछौं : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सङ्घीय निजामती सेवा विधेयक अन्तर्गत कुलिङ पिरियडको अवधि र सेवा उमेर हदका विषयमा देखिएको मतान्तरलाई सहमतिमार्फत समाधान गरिने स्पष्ट पारेका छन् । आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले कुलिङ पिरियड र सेवा उमेर हद बाहेक अन्य सबै विषयमा सहमति भइसकेको जानकारी गराए । उनले विवादको विषय अवधि र कार्यान्वयनको मोडालिटी मात्र रहेको र अबको छलफलले ती विषय पनि टुंगोमा पुग्ने विश्वास व्यक्त गरे । 'कुलिङ पिरियड राख्नेमा विवाद छैन, तर कति वर्षको राख्ने भन्नेमा अलिक मतान्तर छ,' गृहमन्त्री लेखकले भने, 'सेवाको उमेर हद ५८ बाट ६० पुर्याउने विषयमा पनि साझा धारणा बनिसकेको छ, विवाद छैन । कसरी चरणबद्ध लागू गर्ने भन्नेमा मात्रै छलफल आवश्यक छ ।' गृहमन्त्री लेखकले विधेयक पारित गर्दा सहमति अनिवार्य हुने परम्परा रहेको भन्दै यसपटक पनि सोही अनुसार विधेयक टुंगो लगाइने बताए । 'सरकार र समितिबीच मतान्तर हुनुपर्ने कारण छैन,' उनले भने, 'सहमति नै स्थायित्व र कार्यान्वयनको आधार हो ।' उनले सेवानिवृत्त कर्मचारीले अन्य राष्ट्रसेवामा जाने प्रक्रियालाई पनि ‘कुलिङ पिरियड’ को रूपमा व्याख्या गर्दै यसको अवधिमाथि छलफल भइरहेको जानकारी गराए । विधेयक सरकारको प्रस्तुति भएकाले संसदको साझा धारणा निर्माण गर्नु आवश्यक रहेको र छलफलमार्फत सहमतिको टुंगो लगाउने मन्त्री लेखकको भनाइ थियो । कुलिङ पिरियड र उमेरहद जस्ता संवेदनशील विषयमा सहमति खोज्दै अघि बढ्न सरकारले सकारात्मक भूमिका खेलिरहेको सन्देश दिँदै गृहमन्त्री लेखकले समावेशी र व्यवहारिक कानून निर्माणको बाटो खुला भएको बताएका छन् ।