सडक बिग्रिएपछि चितवनको चौकीडाँडामा प्याराग्लाइडिङ बन्द, स्थानीय चिन्तित
चितवन । चितवनको चौकीडाडमामा सुरु गरिएको ‘प्याराग्लाइडिङ स्टेसन’सम्म पुग्ने सडकबाटो बिग्रिएपछि चालुअवस्थामा रहेको ‘प्याराग्लाइडिङ’ बन्द भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९, चौकीडाँडादेखि कविलासडाँडासम्म साहसिक खेलका रूपमा सञ्चालनमा आएको प्याराग्लाइडिङको उडान बन्द भएको हो । प्याराग्लाइडिङ बन्द भएसँगै त्यस क्षेत्रमा रमाउन जाने पर्यटक उल्लेख्य सङ्ख्यामा घट्नेक्रम सुरु भएपछि स्थानीयवासी चिन्तित देखिन्छिन । दुई वर्षअघिको वैशाखमा सुरु भएको प्लाराग्लाइडिङ करिब तीन महिना चलि बन्द भएको हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङका अध्यक्ष विजय घलेले जानकारी दिए । स्टेसनसम्म पुग्ने सडक सहज नभएपछि पर्यटकको अभवामा प्याराग्लाइडिङ बन्द गरिएको उनले स्प्ष्ट गरे । चौकीडाँडास्थित ‘स्टेसन’ स्थलसम्म जाने सडकको अवस्था सहज नभएकाले तत्कालका लागि उडान बन्द गरिएको बताउँदै अध्यक्ष घलेले अहिले सो सडक निर्माणाधीन अवस्थामा रहेको र स्टेसन क्षेत्र आसपासमा होटलहरु निर्माण गर्ने काम धमाधम भइरहेकाले केही समयका लागि उडान बन्द गरिएको जानकारी दिए । उनले भने, 'सडकबाटो बिग्रेका कारण स्टेसनसम्म जान समस्या भएपछि चौकीडाँडामा अन्य संरचना निर्माण गर्ने काम भइरहेको, बाटो बनेपछि सम्भवत आगामी देसैँदेखि प्याराग्लाइडिङ सञ्चालनमा ल्याउँछौँ ।' भरतपुर महानगरको भ्रमण वर्ष–२०२४ लाई लक्षित गरी मुलुकको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको सो प्याराग्लाइडिङ चौकीडाँडाको दुई स्थानबाट गर्न सकिने छ । रु ३० करोडको लगानीसहित १२ वटा प्याराग्लाइडिङको सो ठाउँमा व्यवस्था गरिएको । समुुद्री सतहबाट एक हजार ५० मिटर उचाइमा रहेको चौकीडाँडा र ५८० मिटर उचाइको कविलासबाट ‘टेकअफ’ गराउने र प्याराग्लाइडिङ अवतरण भने त्रिशूली नदी किनार गर्ने व्यवस्था मिलाइएको छ । उडान अवधि २० देखि ३० मिनेट रहेको सो प्याराग्लाइडिङका क्रममा नजिकैको देवघाट आसपासका रमणीयस्थलको दृश्यावलोकनसहित भरपुर आनन्द लिन सकिने बताइएको छ । भरतपुर महानगरापालिका वडा नं २९ का अध्यक्ष सूर्यबहादुर गुरुङले पर्यटकीय हिसावले सम्भावना बोकेको चौकीडाँडा र कविलासडाँडामा प्याराग्लाइडिङ सञ्चालनमा आउँदा स्थानीय जनता हर्षित भएको, व्यापार व्यवसायसहित चहलपहल बढेको, स्थानीयले रोजगारी पाएको, जग्गाको मूल्य वृद्धि भएको उल्लेख गर्दै छिटोभन्दा छिटो प्याराग्लाइडिङ सञ्चालन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे । उनले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले निजी क्षेत्रबाट सुरु भएको सो प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न स्थानीय सरकार तयार रहेको बताए । रासस
बंगलादेश, नेपाल, भूटान र भारतको सातवटा राज्यबीच आर्थिक योजना आवश्यक छ : युनुस
बंगलादेश । बंगलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युतका क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बंगलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग सोमबार ढाकामा भएको भेटमा उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताएका हुन् । प्राध्यापक युनुसले भने, 'बंगलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सातवटा राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौं,' उनले भने । उनले नेपाल र बंगलादेशबीच जलविद्युतको क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उल्लेख गरेका थिए । गत अक्टोबरमा बङ्गलादेश-नेपाल-भारतमाझ नेपालबाट बङ्गलादेशमा भारतीय ग्रीडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो । युनुसले बंगलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्धताका साथ काम गरिरहेको पनि उल्लेख गरे । 'हामीले रङ्गपुरमा सुरु गर्न लागेको एक हजार शय्याको अस्पतालको सेवा नेपाल र भुटानबाट आउने बिरामीका लागि पनि लक्षित छ, क्षेत्रीय सहकार्यबाट स्वास्थ्य क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ,’ उनले भने । त्यस अवसरमा उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि नेपालको इच्छुक रहेको उल्लेख गरेकी थिइन् । 'नेपालका सबै सांसदहरू बंगलादेशसँग नजिक रहेर काम गर्न चाहना राख्नुभएको छ, हामी दुई देशबीचमा आर्थिक सहकार्य र नागरिकस्थरमा सम्बन्ध विस्तारमा गम्भीर छौं,’ उनले भनिन् । उनले हाल बङ्गलादेशका मेडिकल कलेजमा दुई हजार सात सयभन्दा बढी नेपाली विद्यार्थी रहेको उल्लेख गर्दै यहाँको गुणस्तरीय शिक्षाको प्रशंसा गरिन् । साथै उनले यसमार्फत दुई देशबीचमा शैक्षिक सहकार्य पनि गर्न सकिने सम्भावना औंल्याइन् । त्यसअवसरमा दुवै पक्षबाट भौतिक अन्तरआबद्धताका विषयमा छलफल भएको उपसभामुख रानाको सचिवालयले जनाएको छ । प्रमुख सल्लाहकार युनुसले दुई देशबीच सडक सञ्जाल विस्तारबाट नेपालले उल्लेख्य मात्रामा व्यापारिक लाभ लिन सक्ने धारणा राखिन् । त्यस अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी, प्रमुख सल्लाहकार युनुसका दिगो विकास लक्ष्य कार्यक्रमका संयोजक लामिया मोरसेद र बङ्गलादेशका परराष्ट्र मन्त्रालयका महाप्रबन्धक इस्रात जहानलगायतको उपस्थिति थियो ।
निजी क्षेत्रको समस्या समाधान सरकारको पहिलो प्राथमिकता छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रले भोगिरहेका समस्या समाधान गर्नु सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्ससँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्र सुधारका ठोस कदम चालिने बताए । 'वर्तमान सरकार अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको महत्वलाई राम्रोसँग बुझ्दछ,' अर्थमन्त्री पौडेलले भने, 'त्यही भएर हामीले सरकार बनेपछि निजी क्षेत्रले लामो समयदेखि भोगिरहेका समस्याहरू समाधान गर्ने शृंखलामा ३०-३२ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेका छौं ।' उनका अनुसार ती कानुनी संशोधनहरूलाई कार्यान्वयन गर्न आवश्यक नियमावली र निर्देशिका निर्माणको काम अघि बढिरहेको छ । सरकारले चालिरहेका सुधारका प्रयासहरू पहिलो चरण मात्र भएको भन्दै उनले त्यसलाई निरन्तरता दिइने बताए । अर्थमन्त्री पौडेलले प्राप्त उपलब्धिमा चित्त बुझाउने अवस्था नरहेको उल्लेख गर्दै थप आर्थिक उपलब्धि हासिल गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले आगामी बजेट निर्माणमा निजी क्षेत्रबाट आएका सकारात्मक सुझावलाई समावेश गरिने आश्वासन पनि दिए ।
अर्थमन्त्रीलाई चेम्बर अफ कमर्सका १०१ सुझाव : कृषि, पर्यटन, उद्योग र रोजगारीलाई प्राथमिकता दिन माग
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारलाई १०१ बुँदे सुझाव पेश गरेको छ । सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुझाव पत्र बुझाउँदै समृद्धिका आधार क्षेत्र-कृषि, पर्यटन, ऊर्जा, रोजगारी सिर्जना तथा औद्योगिक लगानीलाई बजेटको पहिलो प्राथमिकतामा राख्न माग गरे । अध्यक्ष अग्रवालले समयमै पुँजीगत खर्चका लागि स्पष्ट कार्ययोजना र त्रैमासिक समीक्षा अनिवार्य गर्नुपर्ने बताए । चेम्बरले राजस्व वृद्धि, नीतिगत स्थायित्व, र प्रतिवद्ध वैदेशिक सहयोगको यथार्थ मूल्यांकनका आधारमा बजेट तयार पार्नुपर्नेमा जोड दिएको छ । त्यस्तै, चेम्बरले खनिजजन्य रत्न–पत्थर, जडीबुटी तथा वनजन्य उद्योग प्रवर्द्धन गरी निर्यातमुखी उत्पादन बढाउने वातावरण सिर्जना गर्न आग्रह गरेको छ । साथै, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालय अन्तर्गत ल्याई भन्सार तथा आन्तरिक राजस्व विभागसँग समन्वयमा काम गराउन सुझाव दिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका दक्ष जनशक्तिको सीप र अनुभव स्वदेशमै उपयोग हुने वातावरण बनाउँदै घरेलु लगानी प्रोत्साहन गर्नुपर्ने सुझाव पनि चेम्बरले अर्थमन्त्रीलाई दिएको छ ।
जडीबुटी-पेप्सीकोला सडकका दायाँबायाँका संरचना हटाउन सडक विभाग र काठमाडौं महानगरको ‘अल्टिमेटम’
काठमाडौं । सडक विभाग र काठमाडौं महानगरपालिकाले जडिबुटीदेखि पेप्सीकोला सडकको दायाँबायाँ १५/१५ मिटरभित्रका अनधिकृत संरचना हटाउन ३५ दिनको अल्टिमेटम जारी गरेका छन् । सोमबार प्रकाशित संयुक्त सूचनामा नक्सा पासबिना वा नक्सा पास विपरीत निर्माण गरिएका संरचनाहरू सम्बन्धित व्यक्तिले आफैं भत्काउन वा हटाउन निर्देशन दिइएको छ । सूचनाअनुसार भौतिक योजना तथा निर्माण मन्त्रालयद्वारा २०५८ मंसिर १८ गते राजपत्रमा प्रकाशित सूचनाले जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँबायाँ १५/१५ मिटर सडकको सीमा कायम गरेको छ । यही वैशाख १० गते नेपाल सरकार र स्थानीय सरकारका निकायले संयुक्त रूपमा सीमाङ्कन चिनो लगाएका थिए । तोकिएको ३५ दिनभित्र संरचना नहटाए सार्वजनिक सडक ऐन, २०३१ को दफा १९, स्थानीय सरकार सञ्चालन ऐन र भवन निर्माणसम्बन्धी मापदण्डअनुसार कारबाही गरिने सूचनामा उल्लेख छ ।
मीनबहादुर र उमेशसहित आधा दर्जन व्यवसायी र बैंकर मिलेर कोल्डस्टोर निर्माण, २ अर्ब लगानी
काठमाडौं । आधा दर्जन व्यवसायीहरूको सामूहिक प्रयासमा चितवनको टाँडीमा कोल्डस्टोर निर्माण हुने भएको छ । देशकै सबैभन्दा ठूलो सुपरमार्केट स्टोर भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको नेतृत्वमा कोल्डस्टोर निर्माण हुने भएको हो । कोल्डस्टोर निर्माणका काम सुरु भइसकेको सञ्चालक गुरुङले जानकारी दिए । उनका अनुसार ७२ हजार स्क्वायरफिट क्षेत्रफलमा कोल्डस्टोरको निर्माण भइरहेको छ । कोल्डस्टोर १० हजार म्याट्रिक टन क्षमताको हुने उनको भनाइ छ । उनका अनुसार कोल्डस्टोर निर्माण गर्न अनुमानित २ अर्ब रुपैयाँ लगानी लाग्नेछ । एक वर्षमै सेवा दिने योजना बनाइएको यो परियोजनाले कृषि उत्पादनमा 'गेम चेन्जर' हुने अपेक्षा उनको छ । कृषिमा सम्भावना र व्यावसायिकताले चुलिँदै गएको चितवन अब आधुनिक संरचनामा पनि अघि बढ्ने उनको धारणा छ । गुरुङका अनुसार किसानले आफ्नो उत्पादन २४ घण्टाभित्र स्टोरमा ल्याउन सके ६ महिनासम्म पनि जस्ताको त्यस्तै ताजा राख्न सकिनेछ । 'फलफूल, तरकारी, आलु, गाजरजस्ता वस्तुहरूलाई ६ महिनापछि पनि बिनासङ्कोच प्रयोग गर्न मिल्नेछ,’ गुरुङले भने । निर्माणमा खटिएका इन्जिनियर सुवर्ण ढुंगेलका अनुसार दुई बिगाहा जग्गामा बनिरहेको यो मल्टिटेम्प्रेचर कोल्डस्टोर सिभिल संरचनाको काम ४ महिनामै सकिनेछ भने प्री-इन्जिनियरिङका लागि ८ महिना लाग्नेछ । सबै काम समयमै सम्पन्न भएमा एक वर्षभित्रै कोल्डस्टोर सञ्चालनमा आउने उनले जानकारी दिए । उनका अनुसार यस्तो आधुनिक प्रविधिको कोल्डस्टोर छिमेकी देशहरूमा समेत दुर्लभ छ । यो कोल्डस्टोर चितवनका किसानका कोशेढुंगा सावित हुने उनको दाबी छ । इन्जिनियर ढुंगेलका अनुसार अहिले १२५ जना नेपाली कामदार निर्माण कार्यमा खटिएका छन् । भाटभटेनीको मुख्य नेतृत्वमा निर्माण भइरहेको यो परियोजनामा व्यवसायी उमेश श्रेष्ठ, किरण श्रेष्ठ, राजेश श्रेष्ठ, आशीष शर्मा र रामकृष्ण खतिवडाको पनि लगानी रहेको छ । उमेश श्रेष्ठ शिक्षा क्षेत्रमा परिचित व्यवसायी हुन् भने नेपाली कांग्रेसका कोषाध्यक्ष पनि हुन् । उनी पछिल्लो समय कृषिमा प्राथमिकता दिएर लगानी गरिरहेका छन् । यस्तै, किरण श्रेष्ठ पूर्वबैंकर हुन् । उनी राष्ट्रिय वाणिज्य बैंकका पूर्वसीईओ हुन् । यस्तै, खतिवडा नेपाल पूवार्धार बैंकका पूर्वसीईओ हुन् भने राजेश श्रेष्ठ पनि व्यवसायी नै हुन् । यसैगरी, आशीष शर्मा हिमालयन बैंकका सञ्चालक हुन् । कोल्डस्टोरमा एकपटकमा ५ सय ट्रक बराबरको सामान स्टोर गर्न सकिनेछ । भाटभटेनीकाे दाबीअनुसार यो कोल्डस्टोर देशको हालसम्मकै ठूलो हुनेछ, जुन इटहरीको कोल्डस्टोरभन्दा पनि उन्नत प्रविधिमा आधारित हुनेछ ।
सगरमाथा आरोहण रोकियो, मौसमले साथ नदिँदा सयौँ आरोही प्रतीक्षारत
काठमाडौं । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । विभागका निर्देशक हिमाल गौतमले भने, 'सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको छ ।' आरोहणको तयारीमा रहेका धेरै सङ्ख्याका आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किदैछन् । अक्सिजन पर्याप्त भएका आरोही भने दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् । सगरमाथाको आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेका अनुसार मौसममा आएको खराबीले सगरमाथा आरोहण प्रभावित भएको छ । मौसमका कारण मे १५ तारिखमा आरोहण गर्ने योजना रद्द भएको छ । सम्भवतः मे १४ तारिखको आरोहण योजना पनि रद्द हुनेछ । उक्त मितिमा सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका आरोही आधार शिविर झरिरहेको विभागका प्रतिनिधि भोटेले बताए । उनले भने, 'मौसमका कारण आज सगरमाथाको आरोहण हुनसकेको छैन । चौँथो शिविर पुगेका आरोही आज र भोलि मङ्गलबार सबैजना आधार शिविर आउनुहुन्छ होला ।' मौसम खराबीका कारण अबको तीन/चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ । मौसमले साथ दिए मे १८ तारिखदेखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ । सगरमाथा आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एकटके एक्सपिडिसन कम्पनीका अनुसार मे ११ देखि १४ तारिखसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना थियो । मे १२ देखि १५ सम्म ‘समिट बिन्डो’ रहेको थियो । मे १६ र १७ मा हिमपात हुने अनुमान गरिएको थियो । तर पाँच दिन अगाडि नै सगरमाथा क्षेत्रको मौसम बिग्रिएर आरोहण अवरुद्ध भएको हो । हालसम्म सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ्ङ)सहित चार समूहका आरोहीले मात्रै सगरमाथा चढेको विभागको फिल्ड कार्यालयले जनाएको छ । कञ्चनजङ्घा हिमालमा पनि प्रतिकूल मौसमले आरोहण प्रभावित भएको विभागले जनाएको छ । मे १० तारिखमा दावा फुञ्जो शेर्पा र फुर्साङ शेर्पाले सगरमाथा आरोहण गरेका छन् । यस्तै मे ११ मा बेलायतका आरोही मिचेल लियोनार्ड डाक्रेले आरोहण गरे । नेपालबाट ग्याल्जे शेर्पा, फुरी शेर्पा र आङ पेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका छन् । त्यस्तै इक्वेडरका पेट्रिसियो एरेभालोले पनि सोही दिन आरोहण गरेका छन् । मे ११ तारिखकै दिन दावा फुञ्जो शेर्पाले लोहोत्से हिमालको पनि आरोहण गरेका छन् । आरोहीहरु अहिले सगरमाथाको दोस्रो र तेस्रो शिविर आसपास प्रतिक्षारत छन् । त्यसैगरी यस याममा पाँच नेपाली, तीन चिनियाँ आरोही र एक किर्गिस्तानीले मकालु आरोहण गरेको विभागको फिल्ड कार्यालयले जनाएको छ । वसन्त ऋतुको सगरमाथा आरोहण यही वैशाख २६ गतेदेखि सुरु भएको हो । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेका थिए । यो याममा सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् । रासस
भारत-पाकिस्तानबीचको लडाइँ हामीले संयमको आग्रह गरेपछि रोकियो : प्रधानमन्त्री
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले संयम र शान्तिको कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाइँ रोकिन सफल भएको दाबी गरेका छन् । बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८२ को अवसरमा सोमबार लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही दिनअघि भारत र पाकिस्तानबीच युद्धको स्थितिसम्म पुगेको तनाव नेपाललगायत पक्षहरूको संयमता आग्रहपछि मत्थर भएको बताए । 'केही दिन अघि हाम्रै छिमेकमा झन्डै–झन्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो,' उनले भने, 'तर त्यो लडाइँमा परिणत हुन पाएन । हामीले प्रारम्भदेखि नै भन्यौं-विस्तार हुन नपाओस् । हामीले कामना गर्यौं, सम्वाद गर्यौं, र उहाँहरूले लडाइँमा नजाने प्रतिबद्धता जनाउनुभयो ।' प्रधानमन्त्री ओलीले दुवै मुलुकलाई संयम अपनाएकोमा धन्यवाद दिँदै वर्तमानमा पनि केही आरोप–प्रत्यारोप जारी रहे पनि शान्ति सन्देशको आवश्यकता अझ बढिरहेको बताए। 'बुद्धका सन्देशहरू आज पनि उतिकै सान्दर्भिक छन्,' प्रधानमन्त्री ओलीले भने, 'व्यक्तिगत, पारिवारिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भमा शान्तिको महत्व अझ बढी महसुस भइरहेको छ ।' उनले बुद्धले दिएका शिक्षाहरू विश्व शान्ति र सहअस्तित्वका लागि मार्गदर्शक रहेको पनि बताए ।