विकासन्युज

भरतपुरमा हुन्डाईको ‘क्रेटा इभी’ सार्वजनिक, ५ गाडी कार्यक्रम स्थलबाटै हस्तान्तरण

चितवन । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले चितवनको भरतपुरमा नयाँ विद्युतीय गाडी ‘क्रेटा इभी’ सार्वजनिक गरेको छ । कम्पनीले वैशाख २९ गते भरतपुरस्थित आधिकारिक डिलर 'धनकल ट्रेडिङ' मा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममार्फत क्रेटा इभी सार्वजनिक गरेको हो । कार्यक्रमको प्रमुख आकर्षणस्वरूप कम्पनीले पाँचवटा क्रेटा इभी गाडी ग्राहकलाई कार्यक्रम स्थलबाटै हस्तान्तरण गरेको थियो । कार्यक्रममा हुन्डाईका प्रतिनिधिहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै गाडीसम्बन्धी विस्तृत जानकारी तथा सहयोग प्रदान गरेका थिए । कम्पनीका अनुसार पेट्रोल मोडलमा लोकप्रिय भइसकेको क्रेटा अहिले विद्युतीय संस्करण ‘क्रेटा इभी’मा समेत उपलब्ध भएसँगै ग्राहकहरूका विद्युतीय सवारीसाधनसम्बन्धी शंका समाधान गर्न थप सहज हुने विश्वास लिइएको छ । हुन्डाई नेपालले इभी सेवा सञ्जाल विस्तारको लागि हालसम्म देशभर ६६ स्थानमा री लेक्स नेटवर्कअन्तर्गत एसी र डीसी चार्जिङ स्टेसन स्थापना गरिसकेको  छ । यसबाट ग्राहकहरूलाई सेवा, पार्ट्स र ब्रान्ड सपोर्टमा कुनै कमी नहुने कम्पनीको दाबी छ । कार्यक्रममार्फत कम्पनीले ‘सफा र स्मार्ट भविष्य’ को यात्रालाई थप अघि बढाउने तथा ग्राहकहरूसँगको सम्बन्ध अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

जिल्लाकै नमूना खेलमैदान बनाउन गन्यापधुरा गाउँपालिकाले एक करोड लगानी गर्दै

अमरगढी । गन्यापधुरा गाउँपालिकाले करिव एक करोडको लगानीमा पालिकास्तरीय खेलमैदान निर्माण गरिरहेको छ । गन्यापधुरा –२ स्थित टाउरडाँडामा खेलमैदान निर्माण भइरहेको अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए ।  खेलमैदानको अभावमा विभिन्न खेलकुद गतिविधि प्रभावित हुँदै आएको जनाइएको छ ।  स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले खेलमैदानले सहयोग गर्ने उनले बताए।  अध्यक्ष कार्कीले भने, 'जिल्लामा एउटा पनि खेलमैदान नभएको अवस्थामा यो मैदानलाई जिल्लाकै नमूना बनाउने उद्देश्य रहेको छ  र  क्रिकेट खेल्न योग्य मैदान बन्ने छ ।'   

हिउँ नपग्लिँदा लमजुङका जलविद्युत् आयोजनाको उत्पादन बढ्न सकेन

लमजुङ । बर्खा सुरु हुन लाग्दा पनि लमजुङमा विद्युत् उत्पादन वृद्धि हुन सकेको छैन । हिउँ नपग्लिनु, मर्स्याङ्दी नदी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायत खोलामा पर्याप्त पानी नहुँदा गत मङ्सिरदेखि घटेको विद्युत् उत्पादन वृद्धि हुन नसकेको हो ।  जिल्लामा उत्पादन थालेको सबैभन्दा ठूलो लमजुङको बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनामा गत मङ्सिरको सुरुआतदेखि उत्पादन घटेर २४ मेगावाटमा सीमित भएको थियो ।  अहिले केहीमात्रामा बढेर ३२ मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन थालेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख पवन बस्नेतले बताए । उनका अनुसार गत वर्ष यो समयमा ४०-५० मेगावाट विजुली उत्पादन हुने गरेको थियो । उनले भने, 'विगतका वर्षमाभन्दा यस वर्ष ढिलो विद्युत् उत्पादन वृद्धि हुने अवस्था छ । हिउँ नपग्लिनु, नदीमा पानी नहुनुलगायत कारणले आयोजनालाई आवश्यक पानी नहुँदा विद्युत् उत्पदान पुरानो अवस्थामा फर्किन ढिलाइ भइरहेको छ । मध्यमर्स्याङ्दी आयोजना सन् २००८ मा निर्माण सम्पन्न भएको हो ।' उक्त आयोजना रु २७ अर्ब २० करोडको लागतमा निर्माण सम्पन्न भएको थियो । जिल्लामा पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत् उत्पादन बढ्न सकेको छैन । यस आयोजनाबाट हाल १४ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको आयोजना कार्यालयले जनाएको छ ।  त्यस्तै, मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत्बाट अहिले ३०-३२ मेगावाटको हाराहारीमा मात्र विद्युत् उत्पादन भइरहेको आयोजनाका इञ्जिनियर कर्ण अधिकारीले जानकारी दिए । उनले भने, 'यस वर्ष विद्युत् उत्पादन घट्दा २५ मेगावाटको एउटा टरर्वाइन मात्र चलाएका थियौँ, अहिले दुई वटा चलाएका छौँ, तर नदीमा पर्याप्त पानी नभएकाले पूरै क्षमतामा चल्न सकेको छैन ।'  त्यस्तै, ३० मेगावाटको ङादी जलविद्युत् आयोजना, दोर्दी करिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट बिजुली पूरै क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।  जिल्लामा १७ आयोजनाबाट करिब तीन सय मेगावाट बिजुली उत्पादन हुने गरेकामा नदीमा पर्याप्त पानी नहुँदा सो हाराहारीमा बिजुली उत्पादन हुन नसकेको हो । रासस

लालीगुराँस र हिमालको दृश्यले लोभ्यायो पर्यटक, डाग्बुङ पदमार्ग चर्चामा

भोजपुर । रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा परेको छ । प्राकृतिक रूपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिपछि यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो । लालीगुराँससँगै फाटिला पहाडका चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीय परिकारको स्वाद लिँदै, प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीयवासी जगदीश राईले बताए । पदमार्ग निर्माणले यहाँको व्यापार व्यवसायसँगै स्थानीय उत्पादनको बजारीकरणमा पनि टेवा पुगेको उनले बताए । 'डाग्बुङ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ, स्थानीय परिकारको स्वाद लिँदै प्राकृतिक मनोरञ्जन लिन मानिस यहाँ आउने गरेका छन्', उनले भने । किरात भाषामा डाग्बुङ अर्थात् गुराँस भनेर यो पदमार्गको नामकरण गरिएको हो । यहाँबाट सगरमाथा, मकालु कञ्चनजङ्गालगायत ठूला हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने भुजेलको भनाइ छ । पदमार्ग निर्माणले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेकाले व्यापार व्यवसाय बढ्दै गएको उनको भनाइ छ । यहाँबाट अग्ला हिमशृङ्लासँगै तराईका सुन्दर भू–भागको अवलोकन सकिन्छ । यो क्षेत्रमा रहेको राष्ट्रिय फूल लालीगुँरासको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ पदमार्ग निर्माण गरिएको रामप्रसादराई–१ का वडाध्यक्ष जोगेन्द्र राईले बताए । यसलाई मुख्य पर्यटन क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण भइरहेको उनको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाएर आर्थिक स्रोतका रूपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको वडाध्यक्ष राईको भनाइ छ । यो पदमार्ग निर्माणका लागि हालसम्म करिब रु ७० लाख बजेट खर्च गरिएको उनको भनाइ छ । 'गुँरासको संरक्षणसँगै यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउने उद्देश्यले पदमार्ग निर्माण गरिरहेका छौँ', उनले भने, 'यो प्राकृतिक रूपमा निकै सुन्दर क्षेत्र रहेकाले यसको विकासमा हामीले जोड दिएका छौँ । यसलाई गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।' पदमार्ग निर्माणमा नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । रामप्रसादराई गाउँपालिका–१ ओख्रेमा निर्माण भइरहेको यो स्थानलाई आधार बनाएर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। हाल ओख्रे बजारबाट करिब सात किलोमिटर पदमार्ग निर्माण भएको अध्यक्ष राईले बताए । पदमार्गलाई वडा नं ४ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुलीसम्म जोड्ने योजना छ । पर्यटकलाई लक्षित गरेर यहाँ करिब एक सय रोपनी क्षेत्रमा चियाखेती विस्तार थालिएको छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर घरबास (होमस्टे) निर्माण गरिने, यसलाई बृहत मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्य रहेको अध्यक्ष राईले बताए । 'लालीगुँरासको संरक्षणसँगै यो क्षेत्रको बृहत्तर पर्यटन विकासमा जुटेका छौँ', अध्यक्ष राईले भने, 'हाम्रो पालिकामा धेरै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । यी क्षेत्रलाई पर्यटनसँग जोडेर आर्थिक स्रोतका रूपमा विकास गर्ने योजना छ । यो डाग्बुङ पदमार्गलाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।' रासस

ब्याज र प्राकृतिक विपतको असर निर्जीवन बीमामा, नाफा ५४.४५ प्रतिशत घट्यो, २ कम्पनी घाटामा

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ५४.४५ प्रतिशत अर्थात् २ अर्ब ८८ करोड १७ लाख रुपैयाँ घटेर २ अर्ब ४१ करोड ३ लाख ४६ हजार रुपैयाँ मात्रै आर्जन गरेका हुन् । जबकी गत वर्षको चैतमा यी कम्पनीहरूले ५ अर्ब २९ करोड २० लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।  समीक्षा अवधिमा प्राकृतिक विपत्ति वाढी पहिरोको सामना देशले गर्नु परेको कारण बीमा कम्पनीमा आबद्ध वीमतिहरूलाई पनि असर परेका कारण बीमा कम्पनीहरूको नाफामा असर परेको उच्च व्यवस्थापकहरू बताउँछन् । वीमतिहरूको क्षतिलाई पूर्ति गर्नु नै कम्पनीको महत्वपूर्ण जिम्मेवारी भएकाले छिटो छरितो दाबी भुक्तानी गरिरहेको र कम्पनीहरूले अपेक्षाकृत मुनाफा हासिल गर्न नसकेको उनीहरूको भनाइ छ ।  समीक्षा अवधिमा सानिमा जिआईसी इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको मात्रै नाफा वृद्धि भएको छ । चैतसम्ममा सानिमा जिआईसीको नाफा १६.२१ प्रतिशत बढेर २३ करोड ३५ लाख ५७ हजार रुपैयाँ र शिखर इन्स्योरेन्सको १.७९ प्रतिशत बढेर ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत वर्षको चतैमा सानिमा जिआईसीले २० करोड ९ लाख ७७ हजार रुपैयाँ र शिखरले ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ नाफा गरेका थिए ।  यस अवधिमा अधिकांश कम्पनीको नाफा घटेको छ भने नेशनल इन्स्योरेन्स र ओरियण्टल इन्स्योरेन्स ऋणात्मक बनेका छन् । देशको विद्यमान अवस्थामा अपेक्षाकृत लगानीको वातावरण बन्न नसक्नु र आर्थिक विकास बिना बीमा बजारको पनि विकास हुन नसक्ने भएकाले त्यसको प्रत्यक्ष असर बीमा कम्पनीहरूमा परेको बीमा कम्पनीका उच्च व्यवस्थापकहरू बताउँछन् । उनीहरूका अनुसार बीमा बजारमा बढ्दो प्रतिस्पर्धा, बढ्दो मुद्रास्फितिको कारण संचालन खर्चमा वृद्धि, बीमा सम्बन्धी जनचेतनाको कमी र अस्थिर आर्थिक तथा राजनीतिक वातावरणका कारण व्यवसायमा असर परेको छ । साथै, बैंक तथा वित्तीय क्षेत्रको ब्याजदर घट्दा पनि कम्पनीहरूको नाफामा असर गरेको उनीहरूको तर्क छ ।  समीक्षा अवधिमा सबैभन्दा धेरै यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा घटेको छ । यूनाइटेड अजोडको ५७.६५ प्रतिशत घटेर ११ करोड ६१ लाख २२ हजार रुपैयाँ मात्रै नाफा गरेको छ । गत वर्षको चैतमा कम्पनीले २७ करोड ४२ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । प्रभु इन्स्योरेन्सको ४८.४३ प्रतिशत घटेर २० करोड २ लाख ८८ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४५.२० प्रतिशत घटेर ३३ करोड २३ लाख ७९ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)को ४७ प्रतिशत घटेर २५१९४९ हजार रुपैयाँ खुद नाफा गरेका छन् । यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ४३.३० प्रतिशत घटेर २६ करोड ५१ लाख १ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सको ३९.४३ प्रतिशत घटेर १७ करोड ८४ लाख ५० हजार रुपैयाँ, शिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २४.०३ प्रतिशत घटेर ४५ करोड ३६ लाख ४ हजार रुपैयाँ मात्रै नाफा गरेका छन् ।  सार्वजनिक वित्तीय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनीको २३.३७ प्रतिशत घटेर ३९ करोड ५६ लाख ६३ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ९.७७ प्रतिशत घटेर १२ करोड ३३ लाख ४२ हजार रुपैयाँ, नेको इन्स्योरेन्सको २.१६ प्रतिशत घटेर ३६ करोड ९३ लाख २८ हजार रुपैयाँ नाफा गरेका छन् ।  समीक्षा अवधिमा नेशनल इन्स्योरेन्स र ओरियण्टल इन्स्योरेन्सले नोक्सानी बेहोरेका छन् । नेशनल इन्स्योरेन्सको खुद नोक्सानी ७२ करोड ८१ लाख ५१ हजार रुपैयाँ छ । गत वर्षको चैतमा यस कम्पनीले १४ करोड १० लाख ३३ हजार रुपैयाँ नाफा गरेको थियो ।  यस्तै, ओरियण्टलले १३ करोड ८३ लाख ४० हजार रुपैयाँ नोक्सानी बेहोरेको छ । जबकी गत वर्षको चैतमा यस कम्पनीले ४६ करोड १७ लाख ३१ हजार रुपैयाँ नाफा गरेको थियो ।   

अमेरिकी बिरामीलाई राहत : औषधिको मूल्य घटाउन ट्रम्पको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रिस्क्रिप्शन औषधिको मूल्य घटाउने उद्देश्यले सोमवार कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उक्त आदेशअनुसार औषधि कम्पनीहरूले अब अन्य विकसित राष्ट्रहरूले तिर्ने औषधिको मूल्यको आधारमा अमेरिका भित्रका औषधिको मूल्य निर्धारण गर्नुपर्नेछ । आदेशले अमेरिकी प्रशासनलाई औषधि उत्पादकहरूलाई मूल्य लक्ष्यहरू स्पष्ट रूपमा सूचित गर्न निर्देशन दिएको छ । ताकि विश्वकै सबैभन्दा ठूलो औषधि खरिदकर्ता अमेरिकाले उचित मूल्यमा औषधि प्राप्त गर्न सकोस् । स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ। केनेडी जूनियरले यस्तो संयन्त्रको स्थापना गर्ने तयारीमा छन्, जसअनुसार अमेरिकी उपभोक्ताहरूले विचौलियाको भूमिका हटाएर मनपर्ने–राष्ट्र मूल्यमा सिधा औषधि उत्पादकहरूबाट औषधि खरीद गर्न सक्नेछन् । राष्ट्रपति ट्रम्पले औषधि कम्पनीहरूलाई चेतावनी दिँदै भनेका छन्, 'यदि अमेरिकी मूल्य अन्य विकसित देशहरूले तिर्ने स्तरसम्म घटाइएन भने, तिनीहरूले कडा अनुसन्धानको सामना गर्नुपर्नेछ ।' हालैको तथ्याङ्कअनुसार, अमेरिकामा ब्रान्ड–नाम औषधिका लागि तिर्ने मूल्य अन्य ओईसीडी देशहरूको तुलनामा तीन गुणासम्म बढी रहेको छ । संयुक्त राज्य अमेरिका विश्व जनसंख्याको पाँच प्रतिशतभन्दा कम जनसंख्या भएको देश भए पनि हालको आदेशमा उल्लेख भएअनुसार विश्वव्यापी औषधि नाफाको करिब ७५ प्रतिशत हिस्सा अमेरिकाबाट नै संकलित हुन्छ ।

नेप्टेचौर–पात्लेखेत सडक १५ वर्षपछि स्तरोन्नति, अप्ठ्यारो यात्रा सहज बन्दै

म्याग्दी । बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नं १० पात्लेखेत जोड्ने सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति भएको छ ।  बेनी–पाखापानी सडकको नेप्टेचौर–पात्लेखेत खण्डको वैकल्पिक छोटो दूरीको २०६७/६८ सालमा ट्रयाक खुलेको यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बेनी–पाखापानी म्याग्दीको प्राथमिकताप्राप्त र रणनीतिक महत्वको सडक योजना हो ।  चालु आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिकाले सञ्चालन गरेको बेनी–अर्थुङ्गे– तोरीपानी–पाखापानी सडक योजनामार्फत प्रवेशविन्दु, रातोपहिरो, नेप्टेचौर, काउरा, आरते, गिठीनी र आखेत क्षेत्रको अप्ठ्यारो गाउँमा सडक फराकिलो पार्ने, ग्यावियन पर्खाल, नाली र ढलान गरेर स्तरोन्नति भएको हो ।  सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको बेनी नगरपालिका–९ काउराका विनोद चोखालले बताए । 'नेप्टेचौरबाट तोरीपानी–ओखले–पात्लेखेत हुदै झिँ जोड्ने मूलसडक घुमाउँरो भएपछि १५ वर्षअघि छोटो दूरीको वैकल्पिक सडक निर्माण भए पनि प्राथमिकतामा परेको थिएन', उनले भने, 'स्तरोन्नति भएको ठाउँमा यसअघि साँघुरो सडक थियो । ग्रेड तथा घुम्ती मिलेको थिएन ।' ढलान गरेपछि सडकमा यात्रा गर्न सहज भएको चोखालले बताए । बेनी नगरपालिकाको प्राविधिक शाखाका प्राविधिक मिलन केसीका अनुसार विभिन्न ठाउँमा नौ सय आठ मिटर सडकलाई भित्ता काट्ने, पहिरो पन्छाएर फराकिलो पार्ने, टेवा पर्खाल, नाली निर्माण र ढलान भएको छ ।  तीन करोड रुपैयाँ बजेट विनियोजन भएको योजना कार्यान्वयन गर्न २०८१ पुस १९ गते दुई करोड नौ लाख रुपैयाँमा विकेश–दुप्चेश्वर–शुभम् जेभीले ठेक्का सम्झौता गरेको थियो । २०८२ असार २५ गतेसम्म ठेक्काको म्याद भएको योजना तीन महिनाअघि नै सम्पन्न भएको हो ।  निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना निर्माण गरेको बताए । बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्यवृद्धि, सामाजिकलगायत समस्या देखाएर धेरै आयोजनामा ढिलासुस्ती भइरहेको छ ।  पहिलो चरणको ठेक्काबाट बचेको २० लाख रुपैयाँ बजेट बराबरको थप काम गर्न अर्को ठेक्का लगाएर काम थालिएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए । आव २०८१र८२ मा बेनी नगरपालिकाले सबैभन्दा धेरै बजेट यही योजनामा विनियोजन गरेको थियो ।  बेनी–पाखापानी सडकको बेनीबाट अर्थुङ्गे हुँदै किराखोरसम्म नगरपालिकामार्फत करिब छ किलोमिटर ढलान र कालोपत्र भएको छ । किराखोरबाट नेप्टचौर हुँदै तोरीपानीको गलेश्वर माविसम्मको चार किलोमिटर सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको बजेटमा पूर्वाधार विकासका कार्यालयले गत वर्षदेखि आयोजना सञ्चालन गरेको छ । प्रदेश सरकारले मुख्य सडक स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेकाले नगरपालिकाले वैकल्पिक सडक स्तरोन्नतिको काम थालेको नगरप्रमुख सुरत केसीले बताए । रासस  

८ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । उनले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताए । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।   यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको आज पनि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् ।  मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो । कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो । मंगलबार बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको प्रनाउ घलेले बताए । सोामबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो । यस्तै आलु लगाइएको खेतमा खोलाको बाढी पस्दा क्षति भएको छ ।