अमेरिकी बिरामीलाई राहत : औषधिको मूल्य घटाउन ट्रम्पको आदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रिस्क्रिप्शन औषधिको मूल्य घटाउने उद्देश्यले सोमवार कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उक्त आदेशअनुसार औषधि कम्पनीहरूले अब अन्य विकसित राष्ट्रहरूले तिर्ने औषधिको मूल्यको आधारमा अमेरिका भित्रका औषधिको मूल्य निर्धारण गर्नुपर्नेछ । आदेशले अमेरिकी प्रशासनलाई औषधि उत्पादकहरूलाई मूल्य लक्ष्यहरू स्पष्ट रूपमा सूचित गर्न निर्देशन दिएको छ । ताकि विश्वकै सबैभन्दा ठूलो औषधि खरिदकर्ता अमेरिकाले उचित मूल्यमा औषधि प्राप्त गर्न सकोस् । स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ। केनेडी जूनियरले यस्तो संयन्त्रको स्थापना गर्ने तयारीमा छन्, जसअनुसार अमेरिकी उपभोक्ताहरूले विचौलियाको भूमिका हटाएर मनपर्ने–राष्ट्र मूल्यमा सिधा औषधि उत्पादकहरूबाट औषधि खरीद गर्न सक्नेछन् । राष्ट्रपति ट्रम्पले औषधि कम्पनीहरूलाई चेतावनी दिँदै भनेका छन्, 'यदि अमेरिकी मूल्य अन्य विकसित देशहरूले तिर्ने स्तरसम्म घटाइएन भने, तिनीहरूले कडा अनुसन्धानको सामना गर्नुपर्नेछ ।' हालैको तथ्याङ्कअनुसार, अमेरिकामा ब्रान्ड–नाम औषधिका लागि तिर्ने मूल्य अन्य ओईसीडी देशहरूको तुलनामा तीन गुणासम्म बढी रहेको छ । संयुक्त राज्य अमेरिका विश्व जनसंख्याको पाँच प्रतिशतभन्दा कम जनसंख्या भएको देश भए पनि हालको आदेशमा उल्लेख भएअनुसार विश्वव्यापी औषधि नाफाको करिब ७५ प्रतिशत हिस्सा अमेरिकाबाट नै संकलित हुन्छ ।
नेप्टेचौर–पात्लेखेत सडक १५ वर्षपछि स्तरोन्नति, अप्ठ्यारो यात्रा सहज बन्दै
म्याग्दी । बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नं १० पात्लेखेत जोड्ने सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति भएको छ । बेनी–पाखापानी सडकको नेप्टेचौर–पात्लेखेत खण्डको वैकल्पिक छोटो दूरीको २०६७/६८ सालमा ट्रयाक खुलेको यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बेनी–पाखापानी म्याग्दीको प्राथमिकताप्राप्त र रणनीतिक महत्वको सडक योजना हो । चालु आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिकाले सञ्चालन गरेको बेनी–अर्थुङ्गे– तोरीपानी–पाखापानी सडक योजनामार्फत प्रवेशविन्दु, रातोपहिरो, नेप्टेचौर, काउरा, आरते, गिठीनी र आखेत क्षेत्रको अप्ठ्यारो गाउँमा सडक फराकिलो पार्ने, ग्यावियन पर्खाल, नाली र ढलान गरेर स्तरोन्नति भएको हो । सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको बेनी नगरपालिका–९ काउराका विनोद चोखालले बताए । 'नेप्टेचौरबाट तोरीपानी–ओखले–पात्लेखेत हुदै झिँ जोड्ने मूलसडक घुमाउँरो भएपछि १५ वर्षअघि छोटो दूरीको वैकल्पिक सडक निर्माण भए पनि प्राथमिकतामा परेको थिएन', उनले भने, 'स्तरोन्नति भएको ठाउँमा यसअघि साँघुरो सडक थियो । ग्रेड तथा घुम्ती मिलेको थिएन ।' ढलान गरेपछि सडकमा यात्रा गर्न सहज भएको चोखालले बताए । बेनी नगरपालिकाको प्राविधिक शाखाका प्राविधिक मिलन केसीका अनुसार विभिन्न ठाउँमा नौ सय आठ मिटर सडकलाई भित्ता काट्ने, पहिरो पन्छाएर फराकिलो पार्ने, टेवा पर्खाल, नाली निर्माण र ढलान भएको छ । तीन करोड रुपैयाँ बजेट विनियोजन भएको योजना कार्यान्वयन गर्न २०८१ पुस १९ गते दुई करोड नौ लाख रुपैयाँमा विकेश–दुप्चेश्वर–शुभम् जेभीले ठेक्का सम्झौता गरेको थियो । २०८२ असार २५ गतेसम्म ठेक्काको म्याद भएको योजना तीन महिनाअघि नै सम्पन्न भएको हो । निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना निर्माण गरेको बताए । बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्यवृद्धि, सामाजिकलगायत समस्या देखाएर धेरै आयोजनामा ढिलासुस्ती भइरहेको छ । पहिलो चरणको ठेक्काबाट बचेको २० लाख रुपैयाँ बजेट बराबरको थप काम गर्न अर्को ठेक्का लगाएर काम थालिएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए । आव २०८१र८२ मा बेनी नगरपालिकाले सबैभन्दा धेरै बजेट यही योजनामा विनियोजन गरेको थियो । बेनी–पाखापानी सडकको बेनीबाट अर्थुङ्गे हुँदै किराखोरसम्म नगरपालिकामार्फत करिब छ किलोमिटर ढलान र कालोपत्र भएको छ । किराखोरबाट नेप्टचौर हुँदै तोरीपानीको गलेश्वर माविसम्मको चार किलोमिटर सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको बजेटमा पूर्वाधार विकासका कार्यालयले गत वर्षदेखि आयोजना सञ्चालन गरेको छ । प्रदेश सरकारले मुख्य सडक स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेकाले नगरपालिकाले वैकल्पिक सडक स्तरोन्नतिको काम थालेको नगरप्रमुख सुरत केसीले बताए । रासस
८ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । उनले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताए । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ । यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको आज पनि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् । मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो । कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो । मंगलबार बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको प्रनाउ घलेले बताए । सोामबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो । यस्तै आलु लगाइएको खेतमा खोलाको बाढी पस्दा क्षति भएको छ ।
११.९३ प्रतिशत बढ्यो जीवन बीमाको नाफा, एशियनको आक्रामक वृद्धि, २ कम्पनीको घट्यो
काठमाडौं । जीवन बीमा कम्पनीहरूले ९ महिनामा पौने ५ अर्ब रुपैयाँ नाफा गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १४ वटा जीवन बीमा कम्पनीले ४ अर्ब ८८ करोड ७२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ३६ करोड ६२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरूको नाफा ११.९३ प्रतिशत बढेको हो । समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । नेपाल लाइफले चैत मसान्तसममा ६५ करोड २२ लाख २३ हजार रुपैयाँ नाफा गरेको हो । जुन जीवन बीमा कम्पनीहरूमध्येकै सबैभन्दा धेरै हो । गत वर्षको चैतमा यस कम्पनीले ६० करोड ३ लाख ५७ हजार रुपैयाँ नाफा गरेको थियो । तर, यस अवधिमा सबैभन्दा धेरै नाफा वृद्धि भने एशियन लाइफले गरेको छ । एशियन लाइफको ५९.५० प्रतिशत बढेर ३३ करोड ४७ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैतमा यस कम्पनीले २० करोड ९८ लाख ४४ हजार रुपैयाँ नाफा गरेको थियो । रिलायबल नेपाल लाइफको ३६.८७ प्रतिशत बढेर ४६ करोड ५७ लाख ६९ हजार रुपैयाँ, सूर्यज्योति लाइफको ३१.८९ प्रतिशत बढेर २९ करोड ५७ लाख ५० हजार रुपैयाँ, अमेरिकन मेट लाइफको २७.६० प्रतिशत बढेर ३४ करोड ५१ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै, सिटिजन लाइफको २७.१३ प्रतिशत बढेर ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) को २२.६५ प्रतिशत बढेर २३ करोड ६० लाख २२ हजार रुपैयाँ, सानिमा रिलायन्सको १०.७६ प्रतिशत बढेर ३३ करोड ७६ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् । यस्तै, आइएमई लाइफको १०.४८ प्रतिशत बढेर ३६ करोड ६३ लाख ३३ हजार रुपैयाँ, हिमालयन लाइफको ८.४९ प्रतिशत बढेर ४७ करोड २४ लाख रुपैयाँ, नेशनल लाइफको ५.१८ प्रतिशत बढेर ४० करोड ८५ लाख २२ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ०.६७ प्रतिशत बढेर २७ करोड ७ लाख २३ हजार रुपैयाँ नाफा गरेका छन् । तर, समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफको नाफा भने घटेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको ३७.१० प्रतिशत घटेर १ करोड ५४ लाख १९ हजार रुपैयाँ र सन नेपाल लाइफको ३३.३५ प्रतिशत घटेर ३२ करोड ८९ लाख ९७ हजार रुपैयाँ मात्रै नाफा गरेका हुन् ।
सन नेपाल लाइफको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज बैशाख ३० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गरेको छ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो । त्यसैले बैशाख ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै कम्पनीको सेयरमा आवेदन दिन पाउनेछन् । इन्स्योरेन्स कम्पनीको सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ । इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । सेयरधनीहरूले बिक्री प्रबन्धकसँगै सन नेपाल लाइफको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपबाट पनि आवेदन दिन सक्नेछन् । केयर रेटिङ्गस नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषतस्तरको रहेको संकेत गर्दछ ।
आर्क्स ग्रुपले गर्यो स्वयम्भू हारती ट्राभल्सलाई १८ वटा जुबाओ इभी भ्यान हस्तान्तरण
काठमाडौं । आर्क्स ग्रुपले स्वयम्भू हारती टूर्स एण्ड ट्राभललाई चौध सिट क्षमताको १८ वटा जुबाओ भ्यान हस्तान्तरण गरेको छ । सोमवार आर्यन्या बुटिक होटल नागपोखरिमा एक कार्यक्रमको आयोजना गरी ट्राभल्सलाई उक्त भ्यान हस्तान्तरण गरेको हो । चीनमा निर्मित उक्त भ्यान अत्याधुनिक इलेक्ट्रोनिक गाडी भएको आर्क्स ग्रुपले जनाएको छ । विशेष गरी समूह यात्रा, सटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त हुने बताइएको छ । पर्यावरणमैत्री र सस्तो सञ्चालन खर्चका साथ आरामदायी यात्राका लागि उपयुक्त हुने आर्क्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । उनले आर्क्स ग्रुपको पूर्ण प्रतिवद्धताका साथ जुबाओ भ्यान नेपाली बजारमा प्रस्तुत गरिएको जानकारी दिए । स्वयम्भू हारती टुर्स एण्ड ट्राभलका सञ्चालक उज्जन महर्जनले जुआवो भ्यान आरामदायी र आकर्षक लागेकोले आपूmहरुले खरिद गरेको जानकारी दिए । उनले मुख्य कुरा यो १४ सिटमा उपलब्ध भएको र नेपालको सडक सुहाउँदो भएको बताए । भ्यानमा अन्य केही समस्या नदेखिएको र यसमा यात्रा गर्दा आरामदायी हुने विश्वास आफूले लिएको जानकारी दिए । अध्यक्ष श्रेष्ठले भ्यानले यातायातको गुणस्तर सुधार गर्दै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने र नेपाललाई दिगो हरित भविष्यतर्फ अघि बढाउन मद्दत गर्ने जानकारीसमेत दिए ।
आईएमई ग्रुपका पाँच होटल सञ्चालनमा, थप तीन होटल निर्माणको काम धमाधम
काठमाडौं । आईएमई ग्रुपको नेतृत्वमा पाँचवटा होटल तथा रिसोर्ट सञ्चालनमा आएका छन् । आईएमई हस्पिटालीले सोमबार नवलपुरको मौलाकालीमा नव निर्मित इला होटल सञ्चालनमा ल्याएसँग यस समूहको पाँच होटल सञ्चालनमा आएका हुन् । केही महिना अघिमात्र बागलुङमा इला होटलको औपचारिक उद्घाटन भएको थियो । आईएमई ग्रुपले काठमाडौंको चन्द्रागिरिमा चन्द्रागिरि रिसोर्ट, काठमाडौंकै लाजिम्पाटमा होटल ले हिमालय र पोखराको लेकसाइटमा लेक साइट रिट्रिट सञ्चालन गरिरहेको छ । मुलुकको विकास र सम्मृद्धिको प्रमुख आधार पर्यटन नै भएको र त्यसैअनुसार पर्यटन पूर्वाधारहरू निर्माण गर्ने क्रममा आईएमई ग्रुप जुटेको सो ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । आईएमई हस्पिटालिटीले मुलुकका सातवटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माण आयोजना अगाडि बढाइरहेको पनि उनले बताए। हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् । मौलाकालीमा होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको उनले बताए । त्यहाँ पनि अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा ल्याउने उनको योजना छ । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम अगाडि बढाइरहेको छ । मुलुकमा पर्यटन पूर्वाधारको कमी छ । नेपाल आउने विदेशी पर्यटकको औषत खर्च तथा बसाई अहिले निकै कम छ र यो प्रतिदिन झन घट्दो क्रममा देखिन्छ । विदेशी पर्यटकहरु औषत १२ दिन नेपाल बस्ने र दैनिक औषत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्याङ्क छ । ‘हामीले पर्यटकलाई आकर्षित गर्ने, उनीहरुको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ । नेपालको संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक विशेषतायुक्त भूगोल र अवस्थितिको अवलोकनका लागि नेपालमा पर्यटकलाई आकर्षित गर्न सक्नुपर्छ’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले बताए । पर्यटकको बसाई लम्बाउन सक्दा थप विदेशी मुद्रा आर्जन हुने, थप रोजगारी सिर्जना हुने, सरकारले थप राजश्व उठाउन सक्ने र व्यवसायीले पनि लाभ लिन सक्ने उनले बताए । चितवन, तनहूँ र नवलपुरको यो संगम नेपालको एक धार्मिक तथा सांस्कृतिक महत्वको पवित्र भूमिमा रहेका मौलाकालिका मन्दिरको करिब साढे चार सय वर्ष पुरानो इतिहास छ । सँगै रहेको देवघाट वैदिक सनातन धर्मावलम्बीहरुको पवित्र धाम हो । ‘हाम्रै वरिपरिका नारायणी, देवघाट, त्रिवेणीजस्ता देवभूमि र तपोभूमिको महत्वको बयान गर्न म असमर्थ छु, मेरो क्षमताले पुग्दैन,’ होटल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने । ‘आध्यात्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व रहेको यस्तो पुण्यभूमिमा जति धेरै पर्यटकीय संरचनाहरु निर्माण गरे पनि पुग्दैन । यसकारण पनि हामीले यो क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगम स्थलसहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न गरेका हौँ र आजको यो संरचना सम्भव भएको हो,’ उनले भने । चन्द्रगिरी छोटो समय अवधिमा नै नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनेको चर्चा गर्दै उनले हरेक डाँडा डाँडामा पर्यटनको सम्भावना आफूले देखेको उनले बताए ।
माइक्रोसफ्टले ४४ वर्षमा हासिल गरेको प्रगति फेसबुकलाई लाग्यो मात्र १७ वर्ष
काठमाडौं । माइक्रोसफ्ट विश्वकै सबैभन्दा मूल्यवान कम्पनी हो । यसको बजार पूँजीकरण (मार्केट क्याप) ३.२६० ट्रिलियन डलर छ, जुन धेरै देशहरूको कुल जीडीपीभन्दा पनि धेरै हो । यो कम्पनीको स्थापना बिल गेट्सले आफ्ना साथीहरूसँग मिलेर गरेका थिए, तर यसलाई १ ट्रिलियन डलरको मूल्यमा पुग्न ४४ वर्ष लाग्यो । आइफोन बनाउने कम्पनी एप्पलले यो प्रगति ४२ वर्षमा प्राप्त गरेको थियो । यसैगरी, जेफ बेजोसको कम्पनी अमेजनले २४ वर्षमा यो उपलब्धि हासिल गर्यो भने गुगललाई २१ वर्ष, एलन मस्कको टेस्लालाई १८ वर्ष लाग्यो । तर फेसबुकले भने यो प्रगति १७ वर्षमै प्राप्त गर्यो । कम्पनीको स्थापना सन् २००४ मा भएको थियो र सन् २०२१ मा यो ट्रिलियन डलर कम्पनी बनेको थियो । विश्वका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक मार्क जुकरबर्गको कम्पनी फेसबुकको बजार पूँजीकरण १.४८९ ट्रिलियन डलर छ । यो विश्वकै सातौं सबैभन्दा मूल्यवान कम्पनी हो । फेसबुक विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी पनि हो । यसको मातृ कम्पनी मेटा प्लेटफसँग ह्वाट्सएप र इन्स्टाग्रामको पनि स्वामित्व छ । मेटा प्लेटफम्र्सभन्दा अघि माइक्रोसफ्ट, एपल, एनभीडीया, अमेजन, गुगलको मातृ कम्पनी अल्फाबेट र साउदी अरेमको छन् । जुकरबर्गले सन् २००४ मा हार्वर्ड विश्वविद्यालयको होस्टेल कोठामा आफ्ना तीन साथीहरूसँग मिलेर फेसबुकको स्थापना गरेका थिए । फेसबुकको यात्रा ? सन् २००४ मा जुकरबर्गले भेञ्चर क्यापिटलिस्ट पीटर थिएलबाट ५ लाख डलरको एन्जल लगानी प्राप्त गरे । सन् २००५ मा उनले आधिकारिक रूपमा आफ्नो कम्पनीको नाम “फेसबुक“ राखे । त्यसै वर्ष याहूले कम्पनीलाई १ अर्ब डलरमा किन्ने प्रस्ताव राखेको थियो, तर जुकरबर्गले अस्वीकार गरे । सन् २०१२ कम्पनीका लागि विशेष वर्ष रह्यो । त्यही वर्ष फेसबुकले डिजिटल फोटो कम्पनी इन्स्टाग्रामलाई १ अर्ब डलरमा खरिद गर्यो । सोही वर्ष कम्पनीले आफ्नो आईपीओ ल्यायो र प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्यो । जुकरबर्ग सन् २००७ मा २३ वर्षको उमेरमै विश्वकै सबैभन्दा कम उमेरका अर्बपति बनेका थिए । सन् २०१४ मा फेसबुकले सबैभन्दा ठूलो खरिद ग¥यो । उसले मेसेजिङ एप ह्वाट्सएपलाई १९ अर्ब डलरमा खरिद गर्यो । यो फेसबुकको अहिलेसम्मकै सबैभन्दा ठूलो अधिग्रहण थियो । यो गुगल, माइक्रोसफ्ट वा एपलको कुनै पनि सम्झौताभन्दा ठूलो थियो । दुवै कम्पनीबीच दुई वर्षदेखि यसका लागि वार्ता चलिरहेको थियो। अक्टोबर २०२१ मा फेसबुकको नाम परिवर्तन भएर मेटा प्लेटफर्म बन्यो । यस अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप तीनवटै कम्पनीहरू समावेश छन् । जुकरबर्गको मेटा प्लेटफर्ममा झन्डै १३ प्रतिशत सेयर स्वामित्व छ । उनी एलन मस्क र जेफ बेजोसपछि सबैभन्दा धनी व्यक्ति हुन् ।