महालेखा परीक्षकको ६२ औं प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल बेरुजु ९१ अर्ब ५९ करोड कायम
काठमाडौं । महालेखा परीक्षक कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम रायाले बुधबार शितलनिवासमा वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझाउने क्रममा रायाले नेपालको संविधान धारा ४१ बमोजिम कार्यसम्पादन गरी संविधानको धारा २९४ बमोजिम राष्ट्रपति समक्ष महालेखा परीक्षकको ६२ औं प्रतिवेदन पेश गरिएको बताए । रायाले अन्तर्राष्ट्रिय असल अभ्यासको समेत ख्याल गरी लेखापरीक्षण गरिएको बताए । ५ हजार ७ सय ५९ वटा निकाय कार्यालयहरूको लेखापरीक्षण गरिएको छ । त्यसमध्ये ३ हजार ७ सय २ कार्यालयको विस्तृत लेखापरीक्षण गरिएको थियो । यस अवधिमा कार्यालयको जनशक्ति र कानून बमोजिम लेखापरीक्षक नियुक्त गरी ४३ वटा पूर्ण सरकारी स्वामित्व भएको, ४५ आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न भएको रायाले जानकारी दिए । नेपालको संविधान र लेखापरीक्षणको अधिकारभित्र रहेर ४२ वटा संगठित संस्थाहरूको ४७ आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गरिएको बताए । उनले यो वर्ष ११ विषयमा कार्यमूलक, १ विषयमा सूचना प्रविधि, १ विषय वातावरणीय, २ विषयको लेखापरीक्षण सम्पन्न गरिएको जानकारी दिए । रायाले प्रदेशको काम कारबाहीका सम्बन्धमा अलगअलग प्रतिवेदन तयार गरिएको र यस्ता प्रतिवेदनहरू प्रदेश प्रमुखहरूलाई पेश गरिएको जानकारी दिए । उनले भने, ‘लेखा परीक्षण सम्पन्न भएपछि सम्बन्धित स्थानीय तहलाई प्रतिवेदन जारी गर्ने चरणमा छ । वार्षिक प्रतिवेदनमा लेखा परीक्षण गरिएका निकायको विवरण, बेरुजुको स्थिति, लेखापरीक्षण गर्दा देखिएको विवरणको सारांश, लेखा परीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति, भविष्यमा गर्नुपर्ने सुधार र कार्यालयका गतिविधिलाई अलगअलग परिच्छेदमा राखिएको छ । सार्वजनिक निकायमा भएका काम कारबाहीका बारेमा सरोकारवालालाई सुसूचित गराउन वार्षिक प्रतिवेदनको सारांश तयार गर्नुका साथै सार्वजनिक गरिनेछ ।’ यो वर्ष ५ हजार ७५९ कार्यालयको लेखापरीक्षण गर्दा ९४ खर्ब ६२ अर्ब ३६ करोडको लेखापरीक्षण गरिएको छ । यसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ ३ हजार ९३ कार्यालयहरूको ३१ खर्ब ६ अर्ब १६ करोड, प्रदेश तथा निकायतर्फ १ हजार १ सय ६५ कार्यालयको ३ खर्ब ८ अर्ब ५६ करोड, स्थानीय तहतर्फ ७ सय ६१ को ११ खर्ब १८ अर्ब ४० करोड, समिति र अन्य संस्थातर्फ प्रदेशका समेत १ सय २५ गरी ६ सय ९५ संस्थाको ५ खर्ब २२ अर्ब १३ करोड, संगठित संस्थातर्फ ४३ संस्थाको ४४ खर्ब ७ अर्ब ४ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ को बेरुजुको अवस्था प्रस्तुत गर्दै रायले यो वर्ष लेखापरीक्षणबाट कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख कायम भएको छ । सोमध्ये संघीय सरकारका कार्यालयमध्ये ४७ अर्ब ७४ करोड ३० लाख, प्रदेश सरकारी कार्यालयको ४ अर्ब २० करोड, स्थानीय तहको २५ अर्ब ३२ करोड ४२ लाख, समिति र अन्य संस्थाको १४ अर्ब ३३ करोड ७ लाख बेरुजु रहेको छ । उनले संविधानको धारा २९४ को उपधारा ३ बमोजिम प्रदेशको काम कारबाहीका सम्बन्धमा अलगअलग प्रतिवेदन तयार गरिएको बताए । महालेखा परीक्षकको ६२ औं प्रतिवेदनमा अद्यावधि बेरुजुतर्फ संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तहतर्फ लेखापरीक्षणबाट औंल्याइएको अद्यावधि बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड देखिएको छ । यसमध्ये संघीय सरकारी कार्यालयहरुको ३ खर्ब ७५ अर्ब ४७ करोड, स्थानीय २ खर्ब ९ अर्ब २९ करोड, समिति र अन्य संस्थाहरुको १ खर्ब १७ अर्ब ९७ करोड रहेको छ । संघीय तथा प्रदेश सरकारी कार्यालय, स्थानीय तह, समिति र अन्य संस्थाहरूको बेरुजु अतिरिक्त कारबाही टुंगो लगाउनुपर्ने रकम अर्थात लेखापरीक्षण बक्यौता, राजश्व बक्यौता, लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण समयमै टुंगो लगाउनुपर्ने अद्यावधिक रकम ५ खर्ब ५१ अर्ब १ करोड देखिएको छ । बेरुजु संपरीक्षण यो वर्ष २८ अर्ब २९ करोड ४० लाख परीक्षण गरिएको छ । यो वर्षको लेखापरीक्षणबाट कुल १४ अर्ब ६८ करोड ४१ लाख असुल भएको जनाइएको छ ।
टेलिकमको ४जी सेवा लाङटाङ-क्यान्जिन पदमार्गमा विस्तार
काठमाडौं । नेपाल टेलिकमले रसुवा जिल्लाको उच्च हिमाली क्षेत्र लाङटाङ-क्यान्जिन पदमार्गमा ४जी मोबाइल सेवा विस्तार गरेको छ । क्यान्जिन उपत्यकामा नयाँ बिटिएस (बीटीएस) जडान गरी सञ्चालनमा ल्याइएको यो सेवा स्थानीय बासिन्दा, पर्यटक र पर्यटन व्यवसायीका लागि लाभदायक हुने अपेक्षा गरिएको छ । समुद्री सतहबाट करिब ३८०० मिटर उचाइमा रहेको क्यान्जिन उपत्यका गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्छ । स्याफ्रुबेशीबाट करिब दुई दिनको पदयात्रापछि पुगिने यो गन्तव्य लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ र स्वदेशी-विदेशी पर्यटकबीच लोकप्रिय मानिन्छ । टेलिकमका अनुसार ४जी सेवाबाट पदयात्राका क्रममा पर्यटकहरूले सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनसँग तुरुन्तै साटासाट गर्न सक्नेछन् । साथै, यस सेवा विस्तारले दुर्गम भेगमा सञ्चार पहुँच वृद्धि गरी आपतकालीन परिस्थितिमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ ।
सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय हो : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण भएको बताएका छन् । बुधवार महालेखा परीक्षकको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको बताए । उनले वर्तमान परिस्थितिमा सरकारी खर्च गर्दा प्रचलित कानुनको परिचालन र आर्थिक अनुशासनलाई अझ बढी ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरु अझ बढी जवाफदेही बन्नु आवश्यक रहेको बताए सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने संवद्ध सबै पदाधिकारीहरूलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । राष्ट्रपति पौडेलले भने, ‘विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको छ । वर्तमान परिस्थितिमा सरकारी खर्च गर्दा प्रचलित कानुनको परिचालन र आर्थिक अनुशासनलाई अझ बढी ध्यान दिनुपर्ने आवश्यकता देख्दछु । आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही बन्नु आवश्यक छ ।’ ‘सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था हो । सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने सम्बद्ध सबै पदाधिकारीहरूलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भुमिका महत्त्वपूर्ण हुन्छ । आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन महालेखा परीक्षकले आगामी दिनमा थप सशक्त भूमिका निर्वाह गर्नेछ,’ उनले थपे । राष्ट्रपति पौडेलले आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन महालेखा परीक्षकले आगामी दिनमा थप सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
भारत र पाकिस्तानबीचको संघर्षबारे साउदी अरबमा ट्रम्पले के भने ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको युद्धविराममा अमेरिकाको भूमिका पुनः दोहोर्‍याएका छन् । साउदी अरब पुगेका राष्ट्रपति ट्रम्पले रियाधमा आयोजित साउदी-अमेरिका लगानी फोरमलाई सम्बोधन गर्दै भारत-पाकिस्तानको उल्लेख गरी उक्त संघर्षमा लाखौं मानिस मारिन सक्ने बताए । ट्रम्पले भने, 'मेरो सबैभन्दा ठूलो आशा शान्ति स्थापना गर्ने र मानिसहरूलाई जोड्ने हो । मलाई युद्ध मन पर्दैन ।' 'केही दिनअघि मात्र मेरो प्रशासनले भारत र पाकिस्तानबीच बढ्दो हिंसा रोक्न ऐतिहासिक युद्धविराम गराउन सफलता पाएको हो,' उनले थपे । अमेरिकी राष्ट्रपतिले 'आणविक मिसाइलको व्यापार होइन, तपाईंहरूले जसरी सुन्दर तरिकाले बनाउनुहुन्छ, ती वस्तुहरूको व्यापार गरौं’ भनेको सुनाए । उनले भारत र पाकिस्तान दुवै देशका नेताहरूलाई शक्तिशाली र दृढ नेताको रूपमा वर्णन गरे । यस क्रममा ट्रम्पले युद्धविराममा सहमति गराउन अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र विदेशमन्त्री मार्को रुबियोको विशेष सराहना गरेका छन् ।
नेपाल-विश्व बैंकबीच आगामी साझेदारीबारे छलफल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको छ ।
सबैभन्दा गरिब राष्ट्रपति जोस मुजिकाको ८९ वर्षको उमेरमा निधन
काठमाडौं । लाटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति जोस मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । जोस मुजिकालाई 'पेपे' भनेर चिनिन्थ्यो । २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व गुरिल्ला नेता मुजिका आफ्नो साधारण जीवनशैलीका कारण दुनियाँभर 'सबैभन्दा गरिब राष्ट्रपति'को नामले प्रसिद्ध छन् । उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डु ओरसीले जोस मुजिकाको निधनको जानकारी एक्स (पूर्व ट्विटर) मा दिँदै लेखे, 'हामीलाई तपाईंले जे-जे दिनुभयो, त्यसका लागि र आफ्नो जनताप्रतिको गहिरो माया लागि धन्यवाद ।’ पूर्वराष्ट्रपति मुजिकाको मृत्यु कसरी भयो भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन, यद्यपि उनी इसोफेगियल (घाँटी) क्यान्सरबाट पीडित थिए ।
स्वास्थ्य मन्त्रीको पहलमा नेपाल औषधी लिमिटेडको औषधी खरिद प्रक्रिया अघि बढ्यो
काठमाडौं । नेपाल औषधी लिमिटेडद्वारा उत्पादित बिक्री नभएको गुनासोसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँगको छलफल गरेर समस्या समाधानका लागि पहल भएकै दिन स्वास्थ्य सेवा विभागले प्रक्रिया अघि बढाएको छ । विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग नियन्त्रण कार्यक्रमका लागि आवश्यक पारासिटामोल तथा जीवनजल खरिदका लागि प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ । महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले मन्त्रालयमा लिमिटेडसँगको छलफलमा मन्त्री पौडेलको प्रतिबद्धतापश्चात तत्काल प्रक्रिया अघि बढाएको बताए । नियमअनुसार खरिद सम्झौता प्रक्रिया अघि बढ्नेछ, डा. रायमाझीले भने । मंगलबार मन्त्रालयमा मन्त्री पौडेलको सक्रियतामा मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीहरुबीच छलफल भएको थियो । मन्त्री पौडेलले आवश्यक औषधी नियमअनुसार मन्त्रालयले खरिदका लागि सकारात्मक भएको भन्दै प्रक्रिया अघि बढाउने बताएका थिए । उनले स्वास्थ्य संस्थामा आवश्यक भनेर सरकारले तोकेका औषधी समेत तीनै तहमा पुग्ने गरी खरिदका लागि समेत सकारात्मक रहेको बताएका थिए । लिमिटेडको औषधी बिक्रीमा देखिएका समस्या समाधानका लागि मन्त्रालयमा भएको छलफलका क्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनधि तथा लिमिटेडका अधिकारी रहने गरी समस्या समाधान समिति बनाउने समझदारी भएको थियो ।
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
काठमाडौं । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका अनेकन् आयामहरूलाई समेटेर कला प्रबन्धक आर्ट क्युरेटर बुनु ढुङ्गानाले तयार गरेकी ‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली) मल्टिमिडिया प्रदर्शनी काठमाडौंमा भइरहेको छ । प्रदर्शनी काठमाडौं बबरमहलमा रहेको आर्ट काउन्सिलमा बैशाख २० गतेदेखि सुरु भएको प्रदर्शनी जेठ २ गतेसम्म आयोजना हुनेछ । हरेक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म प्रदर्शनी आयोजना भइरहेको छ । प्रदर्शनीले पिँढी, संस्कृति र अनुभवहरूको बीच एकअर्कालाई बुझ्ने क्षमता र विफलताको अन्वेषण गर्छ । प्रदर्शनीमा नेपालका अस्मिता बादी, श्रद्धा देवकोटा, इरिना गिरी, उज्ज्वला महर्जन, तृप्ती तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ, प्रतिभा तुलाधर र बेलायतकी रचेल लोवका सिर्जना राखिएका छन् । ‘यहाँ सामेल कलाकारले आमालाई बुझ्न र बुझिन आवश्यक भाषा भेट्टाउने प्रयत्नमा हामीले पाएका सफलता, विफलता तथा एकातिर आमा र आफूबीचको गाँठो अझै बेस्सरी कस्ने आशालाई बुझ्ने अवसर दिएका छन्’ विज्ञप्तिमा उल्लेख छ । अन्तर्राष्ट्रिय मदर्स डेको छेकोमा आयोजित यो कला प्रदर्शनी आमाहरूलाई समर्पित गरिएको छ । ‘आर्ट एक्सचेन्जस् मुभिङ इमेज साउथ एसिया’ कार्यक्रमको एक भागको रूपमा आयोजना गरिएको यो प्रदर्शनी ब्रिटिश काउन्सिलद्वारा समर्थित, लक्स र आर्ट साउथ एसिया प्रोजेक्टद्वारा आयोजित छ ।