विकासन्युज

सालपा विकास बैंक र एससीटीबीच युपीआइ कार्ड जारी गर्न सम्झौता

काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सालपा विकास बैंक लिमिटेडबीच एससीटी युपीआइ कार्ड जारी गर्न सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अब सालपा विकास बैंकका ग्राहकहरूले एससीटी युपीआइ कार्ड सजिलै पाउने छन् । जसले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। स्मार्ट च्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित एक कार्यक्रममार्फत एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बैंकले ग्राहकका लागि कार्ड वितरण प्रक्रिया सुरु गरिसकेको छ । यसले ग्रामीणदेखि शहरी क्षेत्रसम्म डिजिटल भुक्तानी पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

बिदामा पनि पठनपाठन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ ।  मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा असर पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ ।  मन्त्रालयले महासङ्घको प्रतिबद्धता समेतका आधारमा आवश्यक व्ययस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख गरेको छ । 'पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो', विज्ञप्तिमा उल्लेख छ । यस्तै, शिक्षक र कर्मचारीहरू हाल विद्यालय फर्केर आफ्नो पेसागत दैनिकी सञ्चालन गरिरहेको सन्दर्भमा सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्यसम्पादन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउन शिक्षकको अठोटलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्बाह गरिदिन सबै स्थानीय तह, विद्यालय तथा सरोकार भएकालाई मन्त्रालयले विशेष अनुरोध समेत गरेको छ । 

सान्भि इनर्जीले जेठ ९ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेर बाँडफाँट पश्चात् सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गर्ने भएको हो ।  कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको ४३ प्रतिशत अर्थात् ३७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३७ लाख ९० हजार कित्ता आईपीओ जारी गर्नेछ । जसमध्ये १० अर्थात् ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र बासिन्द र १० प्रतिशत अर्थात् २ लाख ८१ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब बाँकी रहेको २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ ।  कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतममा २० हजार कित्ता सेयरका आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा जेठ १३ गतेभित्र आवेदन दिनु पर्नेछ । यदि उक्त अवधिमा पूर्ण आवेदन नपरेमा जेठ २३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।   

सतुङ्गलको कपडा पसलमा आगलागी

काठमाडौं । चन्द्रागिरि नगरपालिका-११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ ।  आज बिहान करिब ५ः३० देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी  स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिए ।  आगो निभाउन नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध वारूणयन्त्र चन्द्रागिरि नगरपालिका र  ललितपुर महानगरपालिकाको समेत दमकल प्रयोग गरिएका छन् ।

४५० मेगावाटको सेती नदी-६ परियोजनाको अध्ययन गर्ने समय एक वर्ष थपियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको लगानी बोर्डको बैठकले परियोजनाहरूको प्राथमिकीकरण गरी सूची अध्यावधिकसहित कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको ६२औँ बैठकले २०८१ वैशाखमा सम्पन्न लगानी सम्मेलनका क्रममा लगानी गर्न एवं परियोजनाको सूची तयार गरी बोर्ड समक्ष पेस गर्न उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सार्वजनिक-निजी साझेदारी परियोजना प्राथमिकीकरण समिति गठन गरेको छ । बैठकबाट सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह वा मातहतका सार्वजनिक निकायले सार्वजनिक-निजी साझेदारी तथा निजी लगानीका परियोजनाको कार्यान्वयन गर्न एकरूपता कायम हुने गरी आवश्यक कार्यविधि तर्जुमा गरी पेस गर्न बोर्डको कार्यालयलाई निर्देशन दिइएको छ । बैठकले चीन-नेपाल मैत्री औद्योगिक उद्यान, दमकको परियोजना विकास सम्झौता अन्तर्गत विकासकर्तासँग सहमति जुटेका विषयमा जानकारी लिँदै बाँकी विषयलाई सम्बन्धित निकायसँगको छलफल एवं समन्वयमा टुङ्गो लगाउन निर्देशन दिएको बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।  माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी कागजातका सम्बन्धमा बोर्डलाई जानकारी गराइएको छ । यस्तै सेती नदी-६ अर्ध जलाशययुक्त परियोजना (४५० मेगावाट) को विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय अध्ययनसमेतका लागि सर्वेक्षण अनुमतिपत्रको अवधि एक वर्षका लागि थप गर्ने निर्णय बैठकले गरेको छ । बैठकले नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमअनुसार बजेट वक्तव्यमा लगानी बोर्डसँग सम्बन्धित विभिन्न विषयहरू समावेश गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ ।

८ महिनामा ४३८ नयाँ उद्योग दर्ता, पौने २ खर्बको लगानी स्वीकृत

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहभागितालाई थप सुदृढ गर्ने गरी आगामी बजेट आउने बताएका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ग्लोबल कन्फरेन्स २०२५ लाई सम्बोधन गर्दै उनले एनआरएनका तर्फबाट पुँजी एकीकृत गरी लगानीमैत्री वातावरण बनाउन आएका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।  मन्त्री भण्डारीले भने, ‘नेपालको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहभागिता रहने गरी आगामी बजेट आउँछ । वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई महत्वपूर्ण साझेदारीको रूपमा हेरेको छ ।’  सरकार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानी गर्ने वातावरण बनाइरहेको बताउँदै नेपालको आर्थिक विकास र समृद्धिमा गैर आवासीय नेपालीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ छ ।  मन्त्री भण्डारीले लगानीका लागि आवश्यक सुधार गर्न मन्त्रालय र मातहतका विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, संस्थानहरूको समग्र सेवा प्रवाह, अनुमतिलगायतका प्रक्रिया सहजीकरण र सरलीकरणमा विशेष जोड दिई नीतिगत सुधारमा ठोस पहल भएको उनले बताए ।  आर्थिक वर्ष २०८१/८२ को प्रथम ८ महिनामा उद्योग विभागमा ४३८ नयाँ उद्योग दर्ता भई १ खर्ब ७१ अर्ब ३६ करोड रुपैयाँको लगानी स्वीकृत भएको, उद्योगको सञ्चालनबाट २३ हजार ६४ रोजगारी सिर्जना हुने अनुमान रहेको उनले जानकारी दिए ।  विसं २०८१ फागुनसम्म उद्योग विभागमा ३३३ वटा अटोमेटिक र ६ हजार ६४९ वटा अप्रुभल रुटबाट गरी कुल ६ हजार ९८२ परियोजनाहरूमा ५ खर्ब ६४ अर्ब ५९ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको तथा यस्ता उद्योगको सञ्चालनबाट ३ लाख ३९ हजार ६७५ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको मन्त्री भण्डारीले जिकिर गरे । उनले स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनको उपयोगमा सरकारले विशेष जोड दिएको जानकारी गराए । 

१० बैंक तथा वित्तीय संस्थाको लाखौं सेयर बिक्रीमा, छानि छानि किन्न मिल्ने

काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखेका छन् । विभिन्न १० बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् ।  लक्ष्मी सनराइज बैंकका केही संस्थापक सेयरधनीले ३१ लाख ८० हजार ३९४ कित्ता सेयर बिक्रीमा राखेको छन् । बैंकको सेयर खरिद गर्न इच्छुक विद्यमान सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस्तै, एनएमबि बैंकको संस्थापक सेयरधनी शान्ति रमण वाग्लेले आफ्नो नाममा रहेको १ लाख २२ हजार १२ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । कुमारी बैंकका विभिन्न संस्थापकले ८१३ कित्ता सेयर बिक्रीमा राखेका छन् । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । गरिमा विकास बैंकका केही संस्थापक सेयरधनीले ६५ हजार कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको सेयर खरिदका लागि जेठ २१ गतेभित्र विद्यमान संस्थापक सेयरधनीले आवेदन दिनुपर्नेछ । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनी दुर्गा बहादुर पुन मगरले १५ हजार २८५ कित्ता र माधव प्रसाद अर्यालले ७१ हजार १८९ कित्ता सेयर बिक्रीमा राखेका छन् । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनु्पर्नेछ ।  यस्तै, समृद्धि फाइनान्सका केही संस्थापक सेयरधनीहरूले ११ लाख ३५ हजार १६१ कित्ता सेयर बिक्रीमा राखेका छन् । फाइनान्सको उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।  फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरधनी ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड)ले ३ लाख ६२ हजार कित्ता, स्वाबलम्बन लघुवित्तका संस्थापक सेयरधनीले ८४ हजार ६५ कित्ता सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । स्वाबलम्बन लघुवित्तको सेयर मूल्य न्यूनतम प्रतिकित्ता ४२५ रुपैयाँ तोकेको छ ।  समता घरेलु लघुवित्तका संस्थापक सेयरधनीले ५ हजार ७९० कित्ता, जीवन विकास लघुवित्तका संस्थापक सेयरधनीले १ लाख ३३ हजार ३०२ कित्ता सेयर बिक्रीमा राखेका छन् । लघुवित्तको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । जीवन विकासको सेयर मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि ५३० रुपैयाँ तोकेको छ । 

नेशनल लाइफको १५ प्रतिशत लाभांश घोषणा, करका लागि नगदबाट समायोजन गरिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँको १० प्रतिशतका दरले ५२ करोड १२ लाख १३ हजार रुपैयाँ बोनस सेयर र ५ प्रतिशतका दरले २६ करोड ६ लाख ६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  साथै कम्पनीले बोनस सेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ४ करोड ११ लाख ४८ हजार रुपैयाँ नगद लाभांशबाट समायोजन गरिने कम्पनी सचिव शर्मिला श्रेष्ठले जानकारी दिइन् ।  कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिने श्रेष्ठले बताइन् ।