विकासन्युज

६५०० एमएएच ब्याट्री र ५० एमपी क्यामेरासहितको भिभो भी ५० लाईट बजारमा सार्वजनिक गरिने

काठमाडौं । नेपाली स्मार्टफोन बजारमा नयाँ ऊर्जा थप्दै, भिभोले छिट्टै आफ्नो नयाँ स्मार्टफोन भिभो भी ५० लाईट सार्वजनिक गर्ने तयारी गरिरहेको छ । स्टाइल, शक्तिशाली प्रदर्शन र नविन प्रविधिले भरिएको यो फोनले बजारमा नयाँ ट्रेन्डको शुरुआत गर्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार यो स्मार्टफोनमा ६५०० एमएएचको ब्लु वल्ट ब्याट्री रहनेछ, जसले ९० वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्नेछ । लामो समय टिक्ने ब्याट्री हुँदा पनि, ७।७९ एमएमको अल्ट्रा–स्लिम प्रोफाइलले यो फोनलाई स्टाइलिश बनाउने छ । प्रदर्शन पक्षमा, भी ५० लाईटमा मीडियाटेक डाइमेन्सिटी ६३०० वा स्न्यापड्रागन ६८५ चिपसेट रहने अनुमान गरिएको छ । जसले गेमिङ र मल्टिटास्किङमा उत्कृष्ट अनुभव प्रदान गर्नेछ । साथै, यसमा कम्प्रेहेन्सिभ कुशनिङ डिजाइन, एसजीएस ५-स्टार ड्रप रेसिस्टेन्स र मिलिट्री–ग्रेड सर्टिफिकेसनजस्ता टिकाउपनका विशेषता पनि समावेश हुनेछन् । डिजाइन पक्षमा, फोनमा १२० हर्जको अल्ट्रा–भिजन डिस्प्ले, फ्ल्यागशिप फिनिश, १८०० निट्स पिक ब्राइटनेस, र लो ब्लू लाइट सर्टिफिकेसनजस्ता गुणहरू रहनेछन् । जसले आँखाको सुरक्षा सुनिश्चित गर्नुका साथै उज्यालोमा समेत स्पष्ट दृश्य दिन्छ । क्यामेरापक्षमा भिभो भी ५० लाईटमा ५० एम पी सोनी आई एम एस् ८८२ मुख्य क्यामेरा दिइने चर्चा छ । जसको औरा लाईट पोर्टेटसुविधाले कम उज्यालोमा पनि उत्कृष्ट तस्वीर खिच्न सकिनेछ ।  ३२ एम पी अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई ईमेज स्टुडियोमा रहेको एआई ईरेज र एआई फोटो ईनह्यान्स जस्ता स्मार्ट टुल्सले फोटो सम्पादनलाई अझ सहज बनाउने कम्पनीले जनाएको छ । भिभो भी ५० लाईटका यी विशेषताहरूले नेपाली स्मार्टफोन प्रयोगकर्तामा उच्च उत्साह र अपेक्षा जगाएको छ। यसले शैली, शक्ति र स्मार्ट प्रविधिको सन्तुलन मार्फत नेपाली बजारमा नयाँ मापदण्ड स्थापन गर्ने विश्वास गरिएको छ ।

विश्वव्यापी संकटसँग जुध्दै निसान : २० हजार रोजगारी कटौती र ७ कारखाना बन्द

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी निसान मोटर कम्पनीले आफ्नो व्यवसाय पुनर्संरचना गर्ने योजनाअन्तर्गत सन् २०२७ सम्म विश्वभरका सात उत्पादन प्लान्ट बन्द गर्ने घोषणा गरेको छ । यससँगै झन्डै २० हजार कर्मचारी कटौती गरिनेछ, जुन कम्पनीको कुल कार्यबलको करिब १५ प्रतिशत हो । कम्पनीले अमेरिकी ट्यारिफ नीति तथा विश्वव्यापी बजारमा बढ्दो अनिश्चितताका कारण सन् २०२६ मा समाप्त हुने आर्थिक वर्षको नाफा अनुमान स्थगित गरेको छ । निसानले मार्च २०२५ मा समाप्त हुने आर्थिक वर्षमा ६७०.८ अर्ब येन (झन्डै ४.५४ अर्ब अमेरिकी डलर) को शुद्ध घाटा व्यहोरेको छ । जुन चार वर्षमा पहिलोपटक वार्षिक घाटा हो । यो घाटा मुख्यतः अमेरिकी बजारमा बढेको विक्री खर्च र उत्पादन प्लान्टहरूको पुनर्मूल्याङ्कनबाट भएको क्षतिका कारण भएको कम्पनीको भनाइ छ । पुनरुत्थान योजना अन्तर्गत, निसानले प्रारम्भिक रूपमा ९ हजार कर्मचारी कटौतीको योजना अघि सारेको थियो । अब थप ११ हजार कटौती गरी कुल २० हजार रोजगारी घटाउने अन्तिम निर्णय गरिएको छ । कम्पनीले यसै योजनाबाट आफ्नो खर्च घटाउँदै लाभदायकता फर्काउने लक्ष्य लिएको छ ।

प्यान अपडेट नगरे ब्याजकर समायोजनमा समस्या, एनआईसी एशिया बैंकको ग्राहकलाई आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहकको खाताबाट गरिएको कर कट्टीको विवरणलाई 'आयकर ऐन २०५८' बमोजिम आन्तरिक राजस्व विभागको स्थायी लेखा नम्बर प्रणालीसँग अनिवार्य रूपमा जोड्नुपर्ने भएकाले यस्तो आग्रह गरिएको हो । ग्राहकहरूले बैंकको वेब पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याप गरेर प्यान सहजै अद्यावधिक गर्न सक्नेछन् । साथै, देशभरका जुनसुकै शाखामा गई आवश्यक कागजातसहित प्यान अपडेटको आवेदन दिन सकिने व्यवस्था पनि बैंकले गरेको छ । बैंकले जानकारी गराएअनुसार प्यान अद्यावधिक भएपछि ग्राहकको तर्फबाट भएको कर कट्टी विवरण आयकर विभागको प्रणालीमा स्वचालित रूपमा समावेश हुनेछ । यसले गर्दा ग्राहकले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न सक्नेछन्, र अब प्रमाणपत्र लिन बैंकमा उपस्थित हुनुपर्ने झन्झट हट्ने बैंकको विश्वास छ । यदि ग्राहकले प्यान अद्यावधिक नगरेमा र इटीडीएस प्रणालीमा ब्याजकर दाखिला नभएको पाइएमा त्यसबाट उत्पन्न हुने समस्याको जिम्मेवारी बैंकले नलिने स्पष्ट गरिएको छ । यसअघि नै प्यान बुझाइसकेका तर विवरण अद्यावधिक नभएको ग्राहकहरूले पनि बैंकको नजिकको शाखा वा ग्राहक सेवा केन्द्र (१६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ।

गृह मन्त्रीलाई तस्करी, चोरी पैठारी र अवैध कारोबारविरुद्ध कडा कदम चाल्न आग्रह

काठमाडौं । देशभर बढ्दो तस्करी, चोरी पैठारी र अवैध कारोबारले अर्थतन्त्रमा गहिरो असर पारिरहेको भन्दै मोरङ उद्योग व्यापार संघले संघीय सरकारका गृह मन्त्री रमेश लेखकलाई विशेष भेटघाट तथा छलफलमार्फत ध्यानाकर्षण गराएको छ । मंगलबार संघको कार्यालयमा आयोजित कार्यक्रममा संघ अध्यक्ष अनुपम राठी र नेपाल उद्योग परिसंघ, कोशी प्रदेश अध्यक्ष पवन कुमार सारडाले गृह मन्त्री लेखकलाई स्वागत गर्दै हालको व्यापारिक चुनौतीबारे छलफल गरेका थिए । अध्यक्ष राठीले खुला सीमाबाट भित्रिने अवैध सामग्री, सस्तो मूल्यका वस्तुले स्वदेशी उद्योगको प्रतिस्पर्धा क्षमतामा गम्भीर असर पारिरहेको भन्दै सीमामा प्रविधियुक्त निगरानी, सुरक्षाकर्मीको सक्रियता र नीतिगत सुधार आवश्यक रहेको बताए । उनले भारतीय बजारको जीएसटी दर कम भएको कारण नेपाली उपभोक्ता दैनिक भारतीय बजारतर्फ आकर्षित हुने, जसबाट दैनिक अबौँ रुपैयाँ बराबरको अवैध कारोबार हुने तथा राजस्वमा खर्बौँ घाटा हुने स्थिति सिर्जना भएको बताए । अवैध कारोबारले भ्रष्टाचार, लागूपदार्थ, हतियार र मानव तस्करी जस्ता जोखिम बढाएको उल्लेख गर्दै उनले स्थानीय तथा केन्द्रीय सरकारबीच समन्वयात्मक कार्ययोजना आवश्यक रहेको धारणा राखे । गृह मन्त्री लेखकले संघका गम्भीर चासोलाई स्वीकार गर्दै सरकारको प्राथमिकता तस्करी नियन्त्रणमै रहेको बताए । उनले प्रधानमन्त्री र अर्थमन्त्रीसँग समन्वय गरी मन्त्रिपरिषदमा विषय उठाउने र दुई महिनाभित्र नियन्त्रणको ठोस प्रत्याभूति दिने प्रतिवद्धता व्यक्त गरे ।

नेपालमा ५०० बढी सेरेस ईभी सडकमै, २०२६ सम्म तीन नयाँ मोडेल ल्याइने

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको प्रिमियम विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपालका सडकहरूमा आफ्ना ५०० भन्दा बढी ईभी सञ्चालनमा आइसकेको घोषणा गरेको छ । कम्पनीका अनुसार यो उपलब्धिले नेपालमा हरित तथा दिगो यातायात प्रणालीप्रतिको चासो र विश्वास झनै बलियो बनाएको छ । सेरेसले यो सफलता अवसरमा विशेष समारोहको आयोजना गरी केक काटेर उत्सव मनाएको थियो । कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्त लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक सिकरियाले भने, 'नेपालको चुनौतीपूर्ण भूगोललाई ध्यानमा राखेर डिजाइन गरिएका सेरेसका भरपर्दा, शक्तिशाली र आकर्षक गाडीप्रति नेपाली प्रयोगकर्ताको उत्साह हर्षलाग्दो छ ।' कम्पनीले आगामी २०२६ भित्र तीन नयाँ सेरेस ईभी मोडेल नेपाली बजारमा ल्याउने घोषणा पनि गरेको छ । यसले नेपाली बजारमा विद्युतीय सवारीको विविधता र प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ ।

सालपा विकास बैंक र एससीटीबीच युपीआइ कार्ड जारी गर्न सम्झौता

काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सालपा विकास बैंक लिमिटेडबीच एससीटी युपीआइ कार्ड जारी गर्न सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अब सालपा विकास बैंकका ग्राहकहरूले एससीटी युपीआइ कार्ड सजिलै पाउने छन् । जसले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। स्मार्ट च्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित एक कार्यक्रममार्फत एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बैंकले ग्राहकका लागि कार्ड वितरण प्रक्रिया सुरु गरिसकेको छ । यसले ग्रामीणदेखि शहरी क्षेत्रसम्म डिजिटल भुक्तानी पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

बिदामा पनि पठनपाठन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ ।  मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा असर पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ ।  मन्त्रालयले महासङ्घको प्रतिबद्धता समेतका आधारमा आवश्यक व्ययस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख गरेको छ । 'पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो', विज्ञप्तिमा उल्लेख छ । यस्तै, शिक्षक र कर्मचारीहरू हाल विद्यालय फर्केर आफ्नो पेसागत दैनिकी सञ्चालन गरिरहेको सन्दर्भमा सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्यसम्पादन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउन शिक्षकको अठोटलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्बाह गरिदिन सबै स्थानीय तह, विद्यालय तथा सरोकार भएकालाई मन्त्रालयले विशेष अनुरोध समेत गरेको छ । 

सान्भि इनर्जीले जेठ ९ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेर बाँडफाँट पश्चात् सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गर्ने भएको हो ।  कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको ४३ प्रतिशत अर्थात् ३७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३७ लाख ९० हजार कित्ता आईपीओ जारी गर्नेछ । जसमध्ये १० अर्थात् ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र बासिन्द र १० प्रतिशत अर्थात् २ लाख ८१ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब बाँकी रहेको २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ ।  कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतममा २० हजार कित्ता सेयरका आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा जेठ १३ गतेभित्र आवेदन दिनु पर्नेछ । यदि उक्त अवधिमा पूर्ण आवेदन नपरेमा जेठ २३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।