विकासन्युज

बुटवल-भैरहवामा हुन्डाईको क्रेटा इभी कार्यक्रम सम्पन्न, १० गाडी हस्तान्तरण

बुटवल । हुन्डाई नेपालले बुटवल–भैरहवामा आयोजना गरेको नयाँ क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा उल्लेख्य सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ३० भन्दा बढी युनिटको बुकिङ भएको र १० युनिट ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा ग्राहकहरूको उल्लेखनीय सहभागिताका साथै हुन्डाई ब्रान्डप्रतिको विश्वास झल्किएको थियो । कम्पनीले हालै क्रेटा इभि ल्याएर विद्युतीय सवारीबारे रहेको द्विविधालाई स्पष्ट पार्ने प्रयास गरेको बताएको छ । क्रेटा इभीर पेट्रोल संस्करण एउटै प्लेटफर्ममा आधारित भएकाले सेवापछि समस्या नहुने कम्पनीको दाबी छ । हुन्डाईले विद्युतीय सवारीको सञ्जाल विस्तार गर्ने उद्देश्यले देशभर ६६ स्थानमा डीसी र एसी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको जानकारी दिएको छ । सोही सन्देशलाई फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा प्रत्यक्ष अन्तरक्रियामा जुटेको छ । कार्यक्रममा हुन्डाईका अन्य नयाँ मोडेलहरू पनि प्रदर्शनमा राखिएका थिए । बुटवलको सिद्धिविनायक मोटोकर्प र भैरहवाको जगत मोटर्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।

निसानको पतन या पुनर्जागरण ? चुनौतीपूर्ण मोडमा जापानी अटो कम्पनी

काठमाडौं । निसानका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) इभान एस्पिनोसा जापानी अटो निर्माता कम्पनीलाई सुधार्ने कठिन कामको सामना गर्दैछन् । एस्पिनोसाले लागत घटाउने योजना अघि सारेका छन् । किनभने घट्दो विक्री अवस्था फर्किने कुनै ग्यारेन्टी छैन ।  नयाँ मोडलहरूको कमी, सबैभन्दा ठूलो बजारमा नयाँ ट्यारिफ र चिनियाँ तथा स्थानीय प्रतिस्पर्धीहरूको तीव्र प्रतिस्पर्धाले गर्दा निसानलाई बिक्री टिकाइराख्न निकै कठिन हुनेछ । कम्पनीको बिक्री सन् २०१७ को व्यापार वर्षदेखि अहिलेसम्म ४२ प्रतिशतले घटिसकेको छ । एस्पिनोसाले मंगलबार ११ हजार थप कर्मचारी कटौती गर्ने, सातवटा कारखाना बन्द गर्ने योजना सार्वजनिक गरे । साथै उनले चालू आर्थिक वर्षमा बिक्री ३ प्रतिशतले घट्ने अपेक्षा गरिएको जानकारी दिए, किनकि प्रमुख बजारहरूमा प्रदर्शन दबाबमा रहेको छ । कम्पनीले चीनमा बिक्री १८ प्रतिशतले घट्ने आशा राखेको छ भने उत्तर अमेरिका र जापानमा बिक्री झन्डै स्थिर रहने अनुमान छ । 'तिनीहरूसँग हाइब्रिड कारहरूको लाइनअप छैन । तिनीहरूको ब्याट्री(चालित विद्युतीय सवारी ९बीईभी० सफल छैनन्,' अनुसन्धान संस्था पेलहम स्मिथर्स एसोसिएट्सकी विश्लेषक जुली बुटेले भनिन् । 'तिनीहरूले नयाँ मोडल ल्याउनमा काम गर्नुपर्नेछ, तर त्यसमा समय लाग्छ र ती पहिलेभन्दा सफल हुने ग्यारेन्टी पनि छैन,' उनले थपिन् । एस्पिनोसाले सवारी विकास समयलाई उल्लेखनीय रूपमा छोट्याउने र कम्पनीको रणनीतिलाई सबैभन्दा महत्त्वपूर्ण अमेरिकी बजारमा क्रसओभर र स्पोर्ट युटिलिटी सवारीहरू (एसयूभी) मा केन्द्रित गर्ने वाचा गरेका छन् । 'हामी बुझ्दछौं कि दीर्घकालीन सुधार केवल लागत कटौतीमा भर पर्न सक्दैन । यसलाई सशक्त उत्पादन प्रस्तावले पनि साथ दिनुपर्छ,' उनले भने । रणनीतिअनुसार निसानले यो आर्थिक वर्षदेखि आफ्ना अमेरिका बिक्रीमा सर्वाधिक बिक्री हुने ‘रग’ एसयूभीको प्लग-इन हाइब्रिड संस्करण संयुक्त रूपमा आफ्नो साझेदार मित्सुबिशी मोटर्ससँग विकास गरेर ल्याउनेछ । अर्को हाइब्रिड संस्करण अर्को आर्थिक वर्षमा ल्याइनेछ, जसमा निसानको ई-पावर हाइब्रिड प्रविधि प्रयोग गरिनेछ । बुटेका अनुसार यो रणनीति सफल हुनेमा निसान विश्वस्त छैन, किनभने प्लग-इन हाइब्रिडहरूको माग शुद्ध हाइब्रिड जति छैन । 'उनीहरूले आकर्षक उत्पादन ल्याउनुपर्नेछ यो लक्ष्य हासिल गर्न,' बर्नस्टीनका वरिष्ठ विश्लेषक मासाहिरो अकिताले भने । ट्यारिफ र नाफा समस्या अमेरिकाले लागू गरेका नयाँ ट्यारिफहरूले निसानको चालू आर्थिक वर्षमा बिक्री घटाउने योजनालाई थप जटिल बनाएको छ । कम्पनीले ३ प्रतिशत घटाएर ३० लाख २५ हजार सवारी बिक्री गर्ने लक्ष्य राखेको छ । ट्यारिफले गर्दा कम्पनीले अमेरिका बजारमा मूल्य बढाउनुपर्ने सम्भावना छ भने उत्पादन लागत पनि बढ्नेछ । अघिल्लो आर्थिक वर्षमा अमेरिका बिक्री ९ लाख ३८ हजार सवारीमा पुगेको थियो, तर यो वृद्धि कम मूल्यका साना सवारीहरू- जस्तै मेक्सिकोबाट आयात गरिएका सेन्ट्रा र भर्साका कारण थियो । तर, उत्तर अमेरिकी बजारमा निसानको सञ्चालन नाफा माइनस ०.५ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ४.६ प्रतिशत थियो, यद्यपि कार बिक्री बढेको थियो । निसानले आफ्ना अमेरिकी बजारका कुल बिक्रीमध्ये मेक्सिको र जापानबाट ४५ प्रतिशतभन्दा कम मात्रै आयात गर्छ, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफले चालु आर्थिक वर्षमा कम्पनीलाई ४५० अर्ब येन (३.१ अर्ब डलर) खर्च गराउनेछ भन्ने अनुमान छ । नाफा अझै दबाबमा रहन्छ, किनभने कम्पनीले पुराना मोडलहरूको स्टक घटाउन भारी छुटहरू प्रदान गरिरहेको छ । एकै समयमा निसान चिनियाँ ईभी निर्माता जस्तै बीवाईडी र घरेलु प्रतिस्पर्धीहरूबाट पनि चुनौतीको सामना गरिरहेको छ । सस्तो मूल्यका सवारी बनाउने निसानको सानो प्रतिस्पर्धी सुजुकीले सन् २०२५ को पहिलो तीन महिनामा निसानको बिक्रीलाई पार गर्दै टोयोटा र होन्डा पछाडि जापानको तेस्रो ठूलो अटो निर्माता बन्ने बाटोमा छ । खस्किँदै कम्पनी निसान जापानका ठूला अटो निर्माता कम्पनीहरूमा यस वर्ष अहिलेसम्म २९ प्रतिशत गिरावटसहित सबैभन्दा खराब प्रदर्शन गर्ने कम्पनी बनेको छ, जुन व्यापक बजारको ५.५ प्रतिशत गिरावटभन्दा निकै खराब हो । यस वर्ष सुरुमा ठूला प्रतिस्पर्धी होन्डासँगको एकीकरण प्रयास असफल भएपछि एस्पिनोसाले कम्पनीको नेतृत्व सम्हालेका हुन् । उनी अघि मकोटो उचिडा पदमा थिए । उक्त एकीकरण भएमा विश्वकै चौथो ठूलो अटो कम्पनी बन्ने थियो । विश्लेषकहरूका अनुसार निसानले विगतमा पूर्वअध्यक्ष कार्लोस गोसनको नेतृत्वमा बिक्री बढाउने लक्ष्यमा अत्यधिक ध्यान केन्द्रित गरेको र भारी छुटमार्फत बिक्री बढाउने रणनीतिले अहिले कम्पनीलाई घाटा भएको हो । यसले कम्पनीको ब्रान्ड छविमा क्षति पुर्‍याएको छ र कम्पनी अहिले पुराना मोडलहरूलाई अद्यावधिक गर्न संघर्ष गरिरहेको छ । बुटेले चिन्ता व्यक्त गर्दै भनिन्, 'यदि ट्रम्पको ट्यारिफ लामो समयसम्म रह्यो भने निसानले थाम्न सक्ला कि सक्दैन भन्ने प्रश्न उठ्छ ।' टेस्लाभित्रको तलब संघर्षः मस्कका लागि नयाँ प्रस्तावको तयारी गर्दै बोर्ड टेस्लामाथि वैश्विक दबाबः चिनियाँ प्रतिस्पर्धी र युरोपको असन्तुष्टि मस्क बिनाको टेस्ला, निल्नु न ओकल्नुको अवस्थामा बोर्ड  

इन्टरनेटबाट सिकेर सफल उद्यमी बनेकी बसन्ती, ऋण लिएर सुरु गरिन् केक पसल

कञ्चनपुर । पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार बनेकी छन् । उनले महिनामै ६० हजार रुपैयाँ बढीको कारोबार गर्छन् । खर्च कटाएर ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । विगतमा गाउँकै विद्यालयमा पढाउने कार्य गर्ने चन्दले कोरोना महामारीका कारण जागिर छाड्नु पर्यो । बेरोजगार भइन् तर खाली बस्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच त थियो र लगानीका लागि पैसा थिएन । भर्खरै बजार क्षेत्रमा सृजनशील बचत तथा ऋण सहकारीको शाखा खुलेको थियो । त्यसमा आबद्ध भएर ऋण लिने निधो गरिन् । फेरि ऋण त लिने तर कुन प्रयोजनका लागि लिने भन्नेबारे द्वविधा उत्पन्न भयो । त्यही बेला हो प्रविधिले गरिखाने बाटो देखाउन सघाएको । 'इन्टरनेट चलाउँथे, विभिन्न व्यवसाय गरिरहेका व्यक्तिका बारेमा र तिनले गरेका व्यावसायिक कार्यबारे निकै अभिरुचिपूर्वक हेर्थें । केक, पेष्टी र बदाम सेक बनाउने कार्य सहज लाग्यो, त्यही कार्य गर्ने निर्क्यौल गरी व्यवसाय सुरु गरेँ', चन्दले सुनाइन् ।  एक लाख रुपैयाँबाट सुरु गरिएको व्यवसायबाट उनले हाल पाँच लाख रुपैयाँको सामान थपेकी छन् । युट्युबाटै सिकेर हाल केक, पेष्टी र बदाम सेक बनाउने व्यवसाय गरिरहेको चन्दले जानकारी दिइन् । ग्राहकलाई सन्तुष्ट हुने गरी सामान दिन थालेपछि जन्मदिन, सङ्घसंस्थाका स्थापना दिवसलगायत अवसरमा धेरैजसोले माग गर्दा सहज भएको उनले उल्लेख गरिन् । बकसरी सामानबाहेक उनले गिफ्टका सामग्रीको समेत कारोबार गरिरहेकी छन् । भविष्यका लागि भनेर उनले मासिक आठ हजार रुपैयाँ जति सहकारीमै बचत गर्दै आएकी छन् । 'घरको खर्च पसलकै कमाईले धानिएको छ । छोरीलाई पसलकै कमाईबाटै पढाउन थालेकी छु', चन्दले भनिन् । रासस

गभर्नरसहित राष्ट्र बैंकका सञ्चालकको सुविधामा अंकुश, १४ शीर्षकमा २ अर्बको रकम बुझियो

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको विभिन्न सुविधामा अंकुश लगाएको छ । महालेखाले आफ्नो ६२ औं प्रतिवेदनमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १९ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको पारिश्रमिक तथा अन्य सुविधा सञ्चालक समितिले तोकेबमोजिम हुने उल्लेख भए तापनि अन्य सुविधाबारे ऐनमा उल्लेख नगरेको उल्लेख छ ।  सोही ऐनको दफा ३२ (२) मा समितिमै रहने गभर्नर, डेपुटी गभर्नर र सञ्चालकले आफ्नै सुविधाको लागि निर्णय गर्दा स्वार्थ बाझिने कारण सम्बन्धित पदाधिकारीले भाग लिन नपाउने उल्लेख छ । सञ्चालकले पाउने सुविधा समितिले तोक्ने व्यवस्थामा पुनरावलोकन हुनुपर्ने महालेखाको राय छ ।  नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ मा बैङ्क तथा वित्तीय संस्थाहरू सम्बन्धी नीति, सेवा सुविधा र आर्थिक दायित्व सम्बन्धी विषय अर्थ मन्त्रालयको कार्यक्षेत्रमा रहेको देखिन्छ । राष्ट्र बैंकका गभर्नर/डेपुटी गभर्नरबाट आफूले प्रयोग गर्ने सवारी साधन खरिद गर्ने कार्यविधि स्वीकृत गरेको विषय पनि प्रतिवेदनमा उल्लेख छ । उक्त कार्यविधिमा सेवा निवृत्त समयमा सवारी साधनको किताबी मूल्य वा खरिद मूल्यको २० प्रतिशतमध्ये जुन बढी हुन्छ सो मूल्य तिरी व्यक्तिगत नाममा नामसारी गरी लैजान पाउने व्यवस्था छ । यसरी खरिद गर्ने सवारी साधन विद्युतीय वा हाइब्रिड भएमा ४ वर्षमा र डिजेल, पेट्रोल भए ५ वर्षमा सवारीसाधनको मूल्य शून्य हुने गरी ह्रासकट्टीको व्यवस्था रहेको छ । आफू समेतले पाउने सुविधा जोडिएको कार्यविधि आफैले स्वीकृत गरेको विषय औचित्यपूर्ण नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सेवामा रहँदा पाउने सुविधाको हद र निवृत्त भएपछि पाउने सुविधा सम्बन्धमा कानुनद्वारा स्पष्ट गर्नुपर्ने राय महालेखाको छ । कानुनअनुसार सुविधा पाउने गभर्नर १ डेपुटी गभर्नर २ कार्यकारी निर्देशक १८ र निर्देशक ५९ समेत ८० जना रहेकोमा बैंकमा १२७ थान सवारी साधन रहेको देखिन्छ जसअनुसार बैंकमा ४७ सवारीसाधन जगडामा रहेको देखिन्छ । उक्त सवारीसाधनको प्रयोग मितव्ययी र प्रभावकारी तवरले गर्नुपर्ने सुझाव महालेखाको छ ।  यस्तै, नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ (संशोधन समेत) अनुसार बैंक तथा वित्तीय संस्थाहरू सम्बन्धी तलब, भत्ता, उपदान, निवृत्तिभरण लगायत सेवा सुविधा र आर्थिक दायित्व सम्बन्धी विषय नीति, कानुन, अर्थ मन्त्रालयको कार्यक्षेत्रमा रहेको छ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ११०(२ मा सञ्चालक समितिले कर्मचारीको पारिश्रमिक, सेवा सुविधा सम्बन्धी विनियम बनाउन सक्ने व्यवस्था छ ।  सञ्चालक समितिको निर्णय तथा नेपाल राष्ट्र बैंक कर्मचारी विनियमावली, २०६८ मा उल्लेख गरी बैंकका कर्मचारीहरूलाई केन्द्रीय बैंक भत्ता, कर्मचारी कल्याणकारी सञ्चय कोष, वार्षिकोत्सव भत्ता, खाजा भत्तालगायत १४ किसिमका भत्ता तथा सुविधाबापत यो वर्ष १ अर्ब ९५ करोड १ लाख रुपैयाँ उपलब्ध गराएको विषय पनि प्रतिवेदनमा उल्लेख छ । उक्त भत्ता तथा सुविधामा सेवा निवृत्त भएपछि कर्मचारीले पाउने गरी कर्मचारी कल्याणकारी सञ्चय कोषमा दाखिला गरेको ९ करोड ८९ लाख ८६ हजार रुपैयाँ केन्द्रीय भत्तासमेत थप गरी बढी भुक्तानी भएको दशैं खर्च ५ करोड ६८ लाख ७१ हजार रुपैयाँ, कर्मचारी कल्याणकोष मार्फत कर्मचारीलाई भुक्तानी दिएको ६९ करोड ५१ लाख रुपैयाँ समावेश रहेको उल्लेख छ ।

एलआईसी नेपालको १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । उक्त लाभांश बीमा समितिको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

तोलामा ३ हजार पाँच सयले घट्यो सुन

काठमाडौं ।  अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला ३५ ले गिरावट भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८१ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९२५ मा बेचबिखन भइरहेको छ ।  बुधबार प्रतितोला सुन रु एक लाख ८५ हजार ३०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।  अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उद्योगीबाट साढे २३ अर्ब बक्यौता उठाउन ताकेता, हितेन्द्रले देखाएको नोक्सानी महालेखाले देखाएन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल बक्यौता प्रत्येक वर्ष बढ्दै गएको छ । महालेखापरीक्षक कार्यालयको प्रतिवेदनअनुसार प्राधिकरणको बक्यौता ८.८८ प्रतिशतले बढेको हो ।  विद्युत महसुल बक्यौता गत वर्षको तुलनामा यो वर्ष ८.८८ प्रतिशतले वृद्धि भई ४८ अर्ब २६ करोड रुपैयाँ पुगेको महालेखा कार्यालयकको प्रतिवेदनमा उल्लेख छ ।  उक्त रककमध्ये ट्रंकलाइन तथा डेडिकेटेड लाइनमार्फतको ५९ ग्राहकबाट विगत वर्षको असुल हुनुपर्ने २३ अर्ब ४४ करोड रुपैयाँ रहेको उल्लेख छ भने  सो रकम कुल बक्यौताको ४८.५७ प्रतिशत देखिन्छ । यस अतिरिक्त सडकबत्तीको ६ अर्ब ८९ करोड असुल गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।  यस्तै, प्राधिकरणका कार्यकारी हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको देखाए पनि महालेखाको प्रतिवेदनले प्राधिकरण नाफामा नै रहेको उल्लेख गरेको छ ।  महालेखाको प्रतिवेदनमा प्राधिकरणको कुल नाफा २६ अर्ब ७२ करोड ६७ लाख ७७ हजार, सञ्चालन नाफा २१ अर्ब ८० करोड २५ लाख ९४ हजार, करअघिको नाफा १४ अर्ब ४६ करोड ५३ लाख ३५ हजार, करपछिको खुद नाफा १० अर्ब ५२ करोड ७१ लाख ५ हजार र कुल विस्तृत आम्दानी २ अर्ब १२ करोड २४ लाख २ हजार रुपैयाँ देखाएको छ । 

पाँच करोडको अस्पताल भवन दुई वर्षदेखि प्रयोगविहीन

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१, दोबामा पाँच करोड रूपैयाँ बढी खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन छ ।  सङ्घीय सरकारको सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने कार्यक्रमअनुसार अन्नपूर्ण गाउँपालिकाले दोबामा पाँच श्यया क्षमताको अस्पताल भवन निर्माण गरेको दुई वर्ष बितिसक्दा पनि प्रयोगविहीन भएको  हो ।  आठ वटा वडा रहेको अन्नपूर्णका सबै वडाका बासिन्दालाई पायक नहुनु, जनशक्ति र उपकरणको अभाव तथा भवन रहेको ठाउँसम्म पुग्ने सडकको जीर्ण अवस्थाका कारण भवन प्रयोग र अस्पताल सञ्चालन हुन नसकेको अन्नपूर्ण–१ का वडाध्यक्ष दिलीप गर्बुजाले बताए ।  'सरकारी मापदण्डअनुसार अस्पतालका लागि आवश्यक पर्ने जग्गा अन्य वडामा नपाएपछि दोबामा अस्पताल बनाउने निर्णय भएको हो', उनले भने, 'भवन प्रयोगमा ल्याउन सबैभन्दा पहिले बेनी–जोमसोम सडकको भिरकाटेदेखि दोबासम्मको सडक स्तरोन्नतिका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल गरेका छौँ ।'   भवनमा आकस्मिक सेवा कक्ष, अन्तरङ्ग, बहिरङ्ग सेवा, प्रयोगशाला, औषधी भण्डार, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा रहेको छ । भवन निर्माणका लागि पाँच करोड १२ लाख ६० हजार रुपैयाँमा सम्झौता भएको थियो ।  अस्पतालका लागि आवश्यक पर्ने उपकरण, फर्निचर र भवन घेराबार गर्न धेरै रकम गर्नुपर्ने भएको छ । दोबाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम जग्गा निःशुल्क उपलब्ध गराएका थिए । रासस