विकासन्युज

मर्स्याङ्दी नदीमा ९० मेगावाटको जलविद्युत् आयोजना : कुमारी बैंक नेतृत्वमा १५ अर्बको ऋण लगानी

काठमाडौं । गोरखा, लमजुङ र तनहुँ जिल्लाको सिमानामा पर्ने मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडको नेतृत्वमा १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँको ऋण लगानी सम्झौता सम्पन्न भएको छ । बुधबार सम्पन्न उक्त सम्झौतामा एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काले हस्ताक्षर गरे । कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले जलविद्युत् आयोजनामा संयुक्त रूपमा लगानी गर्ने सहमति जनाएका छन् । आयोजनाको कुल लागत २० अर्ब २५ करोड रुपैयाँ अनुमान गरिएको छ, जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी रहनेछ । स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको सहभागिता रहनेछ भने डोल्मा इम्प्याक्ट फण्डले कम्पनीमा ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्ने तयारी गरिरहेको छ । आयोजनाले २०८० साल कात्तिक १ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न गरिसकेको छ । व्यावसायिक उत्पादन सुरु गर्ने मिति २०८६ साल वैशाख २२ गते तोकिएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित निकायमा पेश गरिएको छ । उत्पादित विद्युत् ११.६ किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सबस्टेसनमा २२०/१३२ केभीमा जोडिनेछ । यस आयोजनाले नेपालको ऊर्जा क्षेत्रमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

मर्जर भएर लाभांशको छुट लिएकाबाट पनि कर असुल्न ताकेता, कर छली गर्न नयाँ चलाखी

काठमाडौं । महालेखापरीक्षाको कार्यालयले मर्जर तथा एक्विजिसन भएर पनि कर छुटको लाभ लिएका १० ठूला करदाताबाट कर असुल्न ताकेता गरेको छ । महालेखाले आन्तरिक राजस्व विभागलाई त्यस्तो कर असुल्न सुझाव दिएको हो ।  मर्जर तथा एक्विजिसनमा लाभांश कर आयकर ऐन, २०५८ को दफा ४७ क (५) मा उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायले गाभिएको मितिले दुई वर्ष भित्र गाभिएको अवस्थामा कायम रहेका सेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार गाभिई निःसर्ग भएको निकायका साविकका सेयरधनीहरूले मात्र वितरण गरेको लाभांशमा कर छुट हुने अवस्था छ ।  ठूला करदाता कार्यालयअन्तर्गतका ५ करदाताले १० आय वर्षमा २२ अर्ब ४३ करोड ७९ लाख रुपैयाँ लाभांश वितरण गरेको देखिएकोमा गाभ्ने निकायका सेयरधनी, नयाँ सेयरधनीलगायतलाई भुक्तानी भएको लाभांशको ५ प्रतिशतले हुने कर १ अर्ब १२ करोड १९ लाख रुपैयाँ दाखिला नगरेकोले यस सम्बन्धमा छानबिन गरी कर निर्धारण गर्नुपर्ने सुझाव महालेखाको छ ।  यस्तै, आयकर ऐन, २०५८ को दफा ५६ (३) मा उल्लेख भएको मुनाफा बाहेकको लाभांश रकममा तोकिएको अवस्थाभन्दा बाहेक निकायको आयमा आयकर लाग्ने व्यवस्था छ । ठूला करदाता कार्यालयअन्तर्गतको एक करदाताले २०७६÷७७ मा पुनर्मूल्याङ्कन कोषबाट ३ करोड ७६ लाख ९४ हजार रुपैयाँ, २०७८/७९ मा ३ करोड ७६ लाख ९४ हजार रुपैयाँ, २०७९/८० मा ३ करोड ७६ लाख ९५ हजार रुपैयाँ समेत ११ करोड ३० लाख ८३ हजार रुपैयाँ सञ्चित मुनाफा ( रिटेन्ड अर्निङ) मा सारेको देखिएको उल्लेख गरेको छ ।  मुनाफा बाँड्ने प्रयोजनार्थ उक्त रकम पुनर्मूल्याङ्कन कोषबाट जगेडा कोषमा सारी उक्त वर्ष लाभांश वितरण गरेकोले उक्त रकम आयमा समावेश गरी सोको २५ प्रतिशत आयकर २ करोड ८२ लाख ७१ हजार रुपैयाँ र सोमा लाग्ने ब्याज तथा शुल्कसमेत छानबिन गरी कर निर्धारण गर्नुपर्ने सुझाव दिएको छ ।  महालेखाले आयकर ऐन, २०५८ को दफा ११ (३छ) मा धितोपत्र बजारमा सूचीकृत भएका उत्पादनमूलक उद्योगलाई लाग्ने करमा १५ प्रतिशत छुट हुने व्यवस्था भएता पनि औद्योगिक व्यवसाय ऐन, २०७६, को दफा २४ मा फलफूलमा आधारित ब्राण्डी, साइडर एवं वाइन उद्योगबाहेक सुर्तीजन्य र मदिराजन्य उद्योगले कुनै पनि कर छुट तथा सुविधा नपाउने उल्लेख गरेको छ ।  ‘ठूला करदाता कार्यालयअन्तर्गतको एक करदाताले २०७९/८० समेत चार आय वर्षमा करयोग्य आय ५ अर्ब १३ करोड १० लाख ७४ हजार रुपैयाँमा २५.५ प्रतिशत दरले कर गणना गरेकोले धितोपत्र बजारमा सूचीकृत भएको निकायको आधारमा करछुटको सुविधा पाउने देखिँदैन । अतः ४.५ प्रतिशतले हुने रु.२३ करोड ८ लाख ९८ हजार कर छुट भएको सम्बन्धमा छानबिन गर्नुपर्दछ,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

स्याङ्जाको बिरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा कार्यालय सञ्चालन

काठमाडौं । गरिमा विकास बैंकले बुधबारका दिन स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।  विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर र यस विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रूपमा गरे । त्यसैगरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र यस विकास बैंकका अध्यक्ष दिलीप प्रताप खाँडले संयुक्त रूपमा गरे । समुद्घाटन कार्यक्रमहरुमा गाउँपालिका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।  सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरूबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायीक फर्म/कम्पनी तथा अन्य संघसंस्थाहरुलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ ।  हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटीएम मेसिनमार्फत करिब ९ लाख ग्राहकलाई बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ । 

गुगल, मेटा, लिंक्डइनसहित १८ कम्पनी दर्ता, उठायो ४१ करोड रुपैयाँ बढी कर

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल दर्ताको विषय चर्चामा रहेका बेला गुगल, मेटा, लिंक्डइन लगायत १८ कम्पनीबाट सरकारले ४१ करोड रुपैयाँ बढी कर संकलन गरेको छ । महालेखापरीक्षको ६२औँ प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न १५ करदाताबाट ४१ करोड ७ लाख २० हजार कर सङ्कलन भएको हो ।  साथै, आर्थिक वर्ष २०७९/८० मा मूल्य अभिवृद्धि करसमेत १० करोड ८४ लाख २९ हजार कर सङ्कलन भएको थियो । आर्थिक ऐन, २०७९ को दफा २० मा गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा २ प्रतिशतका दरले विद्युतीय सेवा कर लगाउने व्यवस्था गरेको छ । ठूला करदाता कार्यालयबाट प्राप्त विवरणअनुसार २०८०÷८१ सम्म गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट, अमेजन लगायतका १८ कम्पनी दर्ता भएका छन् । यस्तो कारोबार गर्ने सबै गैरबासिन्दा व्यक्तिलाई करको दायरामा ल्याउनुपर्ने महालेखाको सुझाव छ ।   

१३ विदेशी हवाइ कम्पनीले तिरेनन् २ अर्ब ३१ करोड कर, कुनको कति बक्यौता ?

काठमाडौं । नेपालबाट विभिन्न देशमा उडान भर्ने विदेशी हवाइ कम्पनीले नेपालदमा कर नतिरेको खुलेको छ । महालेखा परीक्षकको कार्यालयले १३ वटा अन्तर्राष्ट्रिय हवाइ कम्पनीले २ अर्ब ३१ करोड बढी कर नतिरेको उल्लेख गरेको हो ।  आयकर एने २०५८ को दफा ७० मा नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसार गर्दा ५ प्रतिशत र नोपालबाट अकार्के विदेशी मुलुककमा पुग्ने गरी प्रस्थान हुने हवाई यातायातमा २ प्रतिशता दरले कर लाग्ने व्यवस्था छ ।  नेपाल नागरिक उडड्यन प्राधिकरणबाट प्राप्त विवरणअनुसार १३ अन्तार्रष्ट्रिय हवाई कम्पानीले विभिन्न गन्तव्यमा नेपालबाट उडान भर्दा कर दाखिला नगरेकको महालेखाको प्रतिवेदनमा उल्लेख छ । ती कम्पनीहरुबाट २ अर्ब ३१ करोड ५५ लाख २८ हजार रुपैयाँ कर असुल गर्नुपर्ने सुझाव महालेखाको छ ।  कुन कम्पनीको कति ?  

सरकारको स्मार्टसिटी बनाउने योजना अलपत्र, ८ अर्बभन्दा बढी रुपैयाँ स्वाहा

काठमाडौं । सुरुमा घोषणा भएका नयाँ १० सहरहरू सम्पन्न नहुँदै नयाँ आयोजना थप भएका कारण वर्षौंसम्म आयोजनाहरूको काम अधुरो रहेको देखिएको छ ।  महालेखापरीक्षकको कार्यालयका अनुसार मध्यपहाडी लोकमार्गमा रहेका १० नयाँ सहर, हुलाकी लोकमार्गमा रहेका १० तथा तराई–मधेसमा ५ गरी १५ नयाँ सहरको एकीकृत विकास योजना, १३ स्मार्ट सिटीको गुरुयोजना अनुरूप हिमाली पदमार्गमा रहेका बस्तीहरूमध्ये १० बस्तीको स्वरूप संरक्षण तथा प्रवर्द्धन योजनासहित ५२ नयाँ सहर र बस्तीको लागि ११ खर्ब ७८ अर्ब ६८ करोड खर्छ लाग्ने अनुमान गरिएको थियो ।  हाल १० स्थानमा ४ हजार ७७७ रोपनी जग्गाको मात्रै विकास कार्यक्रम १८९ रोपनी क्षेत्रफल जग्गा खरिद ५८९ किलोमीटर सडक स्तरोन्नति ३४ किलोमीटर सडक कालोपत्रे ५१ किलोमीटर सडक ढलान भएकोमा यस वर्षसम्म १० कार्यालयबाट ८ अर्ब २९ करोड ९० लाख खर्च भएको जनाएको छ ।  मध्यपहाडी पुष्पलाल लोकमार्ग र उत्तर दक्षिण करिडोर मार्गको मिलन बिन्दुमा आसपासमा पर्ने प्रमुख १० स्थानमा २०८६/८७ सम्म अत्याधुनिक सेवा सुविधा र पूर्वाधारयुक्त सहर निर्माण र विकास गर्ने उद्देश्यले २०६७/६८ देखि रूपान्तरणकारी आयोजनाको रुपमा नयाँ सहर आयोजनाको कार्य सुरु गरिएको छ ।

विद्युतीय रेलमार्ग बनाउन ९ खर्बको लागत, उपलब्धी न्यून

काठमाडौं । रेलमार्ग बनाउन अहिलेसम्म साढे ३३ अर्ब रुपैयाँ खर्च भएको देखिएको भए पनि उपलब्धि भने न्यून रहेको छ ।  महालेखापरीक्षकको कार्यालयका अनुसार नेपालको पूर्व-पश्चिम विद्युतीय रेलमार्ग बनाउन ९ खर्बको लागत १५ अर्ब रुपैयाँ पुगिसकेको छ तर उपलब्धी भने न्यून रहेको देखिएको छ । झापाको काकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म ९२४.९४ किलोमिटर र लिङ्कमार्गहरू समेत १ हजार ३ किलोमिटर विद्युतीय रेलमार्ग बनाउन सरकारले २०६५/६६ मै आयोजनाको सुरुवात गरेको थियो । यो आयोजनाको सुरु लागत अनुमान ९ खर्ब ५५ अर्ब २२ करोड रहेकोमा संशोधित लागत अनुमान १५ खर्ब पुगेको छ। आयोजना २०८६/८७ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । यो वर्षसम्म ६५ किलोमिटरमा ट्र्याकबेड तथा १६ पुल निर्माण सम्पन्न भएको तथा ५५३ बिघा जग्गाको मुआब्जासमेतमा हालसम्म ३३ अर्ब ४५ करोड खर्च भएको महालेखापरीक्षकले जनाएको छ ।  यो आयोजना समयमै सम्पन्न गर्न नसक्दा लागत बढेको बढ्यै छ भने सरकारले गरेको खर्चको उपलब्धि देखिएको छैन ।

करोडौंका स्वास्थ्य उपकरण प्रयोगविहीन

काठमाडौं । सरकारले उच्च मूल्यमा खरिद गरेर वितरण गरेका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ ।  कतिपय स्वास्थ्य संस्थामा सामग्री बिग्रएकाले प्रयोगविहीन छन् भने कतिपय संस्थामा उपकरण प्रयोगमा नै नल्याएको पाइएको हो । महालेखापरीक्षकको कार्यालयका अनुसार कोशी अस्पतालले विगतमा खरिद गरेको भेन्टिलेटर लगायतका २ करोड ८ लाख ६५ हजार मूल्यका ५ प्रकारका उपकरण प्रयोगवहिनी अवस्थामा रहेका छन् ।  जसमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आफैले खरिद गरेको र स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको भेन्टिलेटर, पेसेन्ट मनिटर लगायत ४ करोड २९ लाख ६५ हजार मूल्यका ७ प्रकारका उपकरण छन् ।  यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको ५ करोड ५९ लाख ४९ हजार मूल्यको पोर्टेबल यूएसजी मेसिन र ११ थान भेन्टिलेटर पनि प्रयोग विहीन रहेको पाइएको छ भने सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा २ करोड २५ लाख मूल्यको प्लाज्मा स्ट्रलाइजर मेसिन १ थान लगायतका उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेका छन् ।  बिग्रिएका उपकरण करिब १३ करोड बढीका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा रहेकोमा कराेडौं मूल्य बराबरका उपकरण भने बिग्रेर थन्केका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड- १९ प्रयोजनको लागि स्थापना गरिएको एक सय बेडको अस्पतालमा रहेका २४ करोड ५१ लाख ५२ हजारको उपकरण बिग्रेको अवस्था छ ।  जसमा डेङ्गु उपचारको लागि प्रयोगमा ल्याएको भेण्टिलेटर सहितको २० बेड आईसीयू र सो अस्पतालमा प्रयोग भएका उपकरणहरू रहेका छन् ।  यस्तै ट्रमा सेन्टर अस्पतालमा मुटु रोगको उपचारमा उपयोग हुने अमेरिकी डलर ५० हजार ५सय को क्याथल्याब मेसिन पनि बिग्रेर थन्क्याइएको छ भने २ करोड ५१ लाख ३२ हजार मूल्यको १४ थान भेन्टिलेटर, ८६ लाख ११ हजारका ५ थान सीआर्म, मेसिन र ९९ लाख ६६ हजार मूल्यका ब्याकमान काउल्टर बिग्रिएको कारण सञ्चालनमा नरहेको पाइएको छ ।  महालेखा परिकक्षकको कार्यालयले विभिन्न स्वास्थ्य संस्थामा प्रयोग विहीन र बिग्रेर थन्क्याइएका सामग्री स्वास्थ्य मन्त्रालयले अनुगमन गरी लगत तयार गर्नुका साथै प्रभावकारी उपयोगको व्यवस्था मिलाउन आग्रह गरेको छ ।