अण्डरपास तथा फ्लाईओभर संरचना निर्माण हुन नसक्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा कठिनाइ
काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन लामो समयदेखि अस्तव्यस्त बन्दै आएको छ । दैनिक लाखौं सर्वसाधारणले ट्राफिक व्यवस्थापनको अभावले हैरानी खेप्नु परिरहेको छ । अत्यधिक सवारी चाप, साँघुरा सडक र जनसंख्याको तीव्र वृद्धिले गर्दा उपत्यकामा ट्राफिक समस्या झन् जटिल बनेको हो । बुधबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उपत्यकाको ट्राफिक हुने मुख्य ठाउँहरुमा अण्डरपास तथा फ्लाईओभर जस्ता संरचना निर्माण हुन नसक्दा उपत्यकाको ट्राफिक व्यवस्थापन हुन सकेको छैन । ट्राफिक बत्तीको नियमित मर्मत सम्भार नगरिनु, जडान गरिएका स्मार्ट बत्ती थप व्यवस्थित नहुनु, सवारीसाधनहरूको आयु निर्माण नहुनु, वातावरणीय मापदण्ड र ट्राफिक व्यवस्थापनमा समयानुकूल सुधार गर्न नसकिनु, सडक अनुशासन तथा ट्राफिक नियम सम्बन्धी सचेतना अभिवृद्धि गर्ने कार्यक्रम प्रभावकारी हुन नसक्दा उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्न पुगेको हो । यसैगरी, महालेपरीक्षकको कार्यालयले ट्राफिक नियमका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन नगरिनु, सञ्चालनमा रहेका करिडोरहरूको अवरोध हटाई निर्वाध रूपमा आवागमन नगरिनु, विद्युतीय तार अन्डरग्राण्ड हुन नसकेको खानेपानी ढल व्यवस्थापनलगायतका निकायबिच समवन्य कायम हुन नसक्नुलगायत पार्किङस्थलको व्यवस्था नगरिँदा उपत्यकाको ट्राफिकलाई व्यवस्थापन गर्न नसकिएको जनाएको छ । यस्तै, सडक र अन्य सडक निर्माणको ढिलासुस्ती, सडक छेउमा मापदण्डविपरीत रहेका ग्यारेज, पेट्रोलपम्प, वर्कशप, उचित पार्किङस्थलको अभाव, सचेतनाको अभाव, प्रविधिको प्रयोग हुन नसक्नुलगायत कारणले पनि समस्या बल्झिन पुगेको छ । उपत्यकाको ट्राफिक जाम दैनिक जीवनको एक हिस्सा जस्तो बनेको छ । खासगरी तीनकुने, नयाँ बानेश्वर, माइतीघर, चाबहिल, कोटेश्वर, कलंकी, थापाथली र नयाँ बसपार्कजस्ता चोकहरू सधैंजसो अस्तव्यस्त अवस्थामा देखिन्छन् । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी महाशाखाले प्रयास गरिरहेको भए पनि समस्या समाधानमा अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन ।
मेरो मान्छे होइन, योग्य मान्छे गभर्नर बनाउँछु : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् । पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।' प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गरे । एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनको भनाइ थियो । उनले पूर्व योजनाकारहरूको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनाको कामना गरे ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी, मन्त्री पौडेलको अगुवाइमा समिति गठन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी गरेका छन् । हाल अस्तित्वमा रहेको स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई परिमार्जन गर्नका लागि उनले समिति गठन गरेका छन् । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका एघारौं तहका सहसचिव डा. अनुप बास्तोला, वीर अस्पतालका प्रमुख नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुईतुई, स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. समीरकुमार अधिकारी, कानून उप सचिव गोपीकृष्ण रेग्मीलगायत छन् । हालको मापदण्डले आँखा अस्पताल, नाक, कान र घाँटी अस्पताल तथा न्युक्लियर मेडिसिन लगायतका स्वास्थ्य संस्थाको मापदण्ड नसमेटेकाले त्यसलाई थप्ने तयारी मन्त्रालयको छ । स्वास्थ्य मन्त्री पौडेलले अस्पतालहरूको सेवा सुधारका लागि विभिन्न निर्णय गरेका छन् । मन्त्रालयले स्वास्थ्य संस्थाको सेवा सुधार तथा प्रभावकारिता ल्याउन तयार पारेका सबै विषयलाई समेटेर मापदण्ड परिमार्जन गर्ने गरी तयारी अघि बढेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । महामारीपछिको परिवर्तित अवस्थामा स्वास्थ्य सेवा प्रभावकारी बनाउन समेत अहिलेको मापदण्ड परिमार्जन जरुरी रहेकाले मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।
कांग्रेसका सांसद बस्नेतसहित १८ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर, सवा ३ अर्बको बिगो दाबी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेशअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो । आयोगले बस्नेतसहित पूर्व कानुन सचिव धनराज ज्ञवाली, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणकै तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सञ्जीव अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । परामर्शदाता भ्यानराइज सोलुसन्स् (एसएएल अफसोर) र उक्त कम्पनीका सीईओ जमाल अनौती, स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिंक प्राइभेट लिमिटेड र सोका अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध पनि राज्यको सम्पत्तिको दुरुपयोग गरी हानीनोक्सानी पुर्याएकोमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। उनीहरूसँग ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ । उक्त प्रकरणमा मुछिएका सांसदद्वय कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका गोकुल बाँस्कोटा तथा पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायतलाई भने अख्तियारले मुद्दा लगाउन आवश्यक नठानेको बताएको छ । आयोगले दूरसञ्चार प्राधिकरणमा विचाराधीन रही बजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय नभइसकेको अवस्थामा तत्कालीन मन्त्रीले पदीय अधिकारको दुरुपयोग गरी एकलौटी रूपमा प्राधिकरणले प्रस्ताव नगरेको थप कार्यक्रम समावेश गरी संस्थालाई हानीनोक्सानी पुर्याउने पृष्ठभूमि तयार गरेको, टेरामक्स खरिद कार्य पूर्वतयारी नगरेको, लागत अनुमान र खरिद गुरुयोजना तयार नगरेको लगायत आरोप लगाएको छ ।
गोन्द्राङमा साढे २ करोड बढी लागतमा राईनो पार्क बन्दै, मेयर दाहालद्धारा शिलान्यास
चितवन । भरतपुर–१२ को गोन्द्राङमा नगर स्तरीय पार्क निर्माण हुने भएको छ । साढे २ करोड बढी लागतमा निर्माण हुने राईनो पार्क तथा खुला चिडियाखानाको एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरिन् । उनले भरतपुर महानगरपालिकाको एक वडा, एक पार्कको नीति अनुसार राजमार्गसँग जोडिएको यस ठाँउमा पार्क निर्माण गर्न लागिएको बताइन् । उनका अनुसार यो पार्कमा विभिन्न पर्यटकीय पूर्वाधारहरु निर्माण र सौन्दर्यकरणको काम हुनेछ । राईनो पार्क भरतपुर आउने पर्यटकलाई नजिकै छोटो समय घुमघाम गर्न उपयुक्त स्थान बन्ने विश्वास व्यक्त गरिन् । बेलशहर सामुदायिक वन क्षेत्रमा पर्ने पार्क ८ विघा क्षेत्रफलमा निर्माण हुनेछ । गौतम मोर्डन जेभीले २०८२ कात्र्तिक ७ गतेभित्र निर्माण सम्पन्न हुने गरी मूल्य अभिवृद्धि करसहित रु २ करोड २३ लाख ८ हजार ६५४ रुपैयाँमा पार्कको निर्माण गर्नेछ । भरतपुर महागनरपालिकाका सिनियर डिभिजनल ईन्जिनियर सन्तोष आर्चायले यो रकमबाट वन्यजन्तु उद्धार भवन, गोही, सर्प, माछा, कछुवाको लागि पोखरी, म्युजियम, फुटपाथ, घेराबारसहितको खुला चिडियाखाना र विश्रामका लागि गोलघर निर्माण हुनेछ । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले पार्क निर्माणले पर्यापर्यटनलाई सहयोग पुराउने उल्लेख गरिन् । यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले पार्कमा ठेक्कामा उल्लेख भएका सबै संरचना बन्दा निकै आर्कषक पार्क निर्माण हुने विश्वास व्यक्त गरिन् । कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर–१२ का अध्यक्ष लेखराज पन्तको अध्यक्षतामा भएको थियो ।
खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु
काठमाडौं । ‘खल्ती’ले करोडौंको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’को चौंथो संस्करण बिहीबारबाट सुरु गरेको छ । यस संस्करणमा खल्तीले जात्रा ब्याटल ग्राउन्ड नामक नयाँ रोमाञ्चक प्रतिस्पर्धा पनि ल्याएको छ जहाँ हरेक हप्ता खल्ती प्रयोगकर्ताहरूले नयाँ इन्फ्लुन्सरसँग प्रतिस्पर्धा गर्नेछन् । यस जात्राअन्तर्गत ५ जनाले भेस्पा एलएक्स १२५ जित्न सक्नेछन् । यसैगरी, ९ जनाले अनर एक्स ८ सी स्मार्टफोन जित्नुका साथै प्रयोगकर्ताहरूले अल्टिमा साउन्ड बार, स्मार्ट घडी, एअर बड देखि सयौं उपहारहरू जित्न सक्नेछन् । पहिलेको संस्करणमा जस्तै हरेक खल्ती प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गर्न सक्नेछन् भने हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याचकार्ड मार्फत उपहारहरू जित्न सक्नेछन् । असार ३२ सम्म लागू रहने ६३ दिनको यस जात्रा अवधिमा १५-१५ दिन गरी ४ राउन्ड रहेको छ । प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू भेस्पा एलएक्स १२५ को लागि ‘लक्की ड्र’मा सहभागी हुनेछन् । हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ । चारवटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि स्वतः सहभागी हुनेछन् र बोनस राउन्डको पाँचौं भेस्पा एलएक्स १२५ जित्न सक्नेछन् । कुल मिलाएर एक प्रयोगकर्ताले । भेस्पा एलएक्स १२५ जित्ने ५ वटा मौका पाउनेछन् । गत वर्षजस्तै खल्तीले ‘सेयर अ कोड’ फिचरलाई निरन्तरता दिएको छ । खल्ती एप भित्र जात्रा पेजमा गएर प्रयोगकर्ताहरूले ‘क्रियट’ ट्याप गरी हरेक हप्ता आफ्नै प्रोमोकोड भएको कुपन बनाउन सक्नेछन् जुन सेयर गरी प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बन्न सक्नेछन् । साथीभाइले प्रोमोकोड प्रयोग गरे अफर र क्यासब्याकको लाभ लिन सक्नेछन् भने सेयर गर्नेलाई हरेक कोड प्रयोगमा १० खल्ती पोइन्ट्स प्राप्त हुनुका साथै हरेक हप्ता ५ मा ५ प्रयोग भएमा हनर एक्स ७बी स्मार्टफोन जित्ने मौका मिल्नेछ । ‘सेयर अ कोड’ को विस्तारित खेल स्वरूप हो ‘जात्रा ब्याटलग्राउन्ड’ जसमा हरेक हप्ता २ टोली बिच प्रतिस्पर्धा हुनेछ । एक टोलीमा हुनेछन् एक जना कन्टेन्ट क्रियटर र उनले बनाएको आफ्नो कोड । अर्को टोलीमा हुनेछन् सम्पूर्ण खल्ती फ्यानहरू र उनीहरूले बनाएका कोडहरू । जुन टोलीले लक्षित गरिएको कोड प्रयोग सङ्ख्या पूरा गर्नेछ, जित उसैको हुनेछ। पहिलो हप्ता २ बी गेमर ब्याटलग्राउन्डमा देखिन्छन् भने हरेक हप्ता नयाँ क्रियटर आउने खल्तीले जनाएको छ । दैनिक रूपमा 'खुत्रुके' फुटाएर विशेष कोड प्राप्त हुनेछ र हरेक दिन ‘लक्की ड्र’ मार्फत एक भाग्यशाली विजेताले साउन्ड बार, स्मार्ट घडी, एअर बड जस्ता अल्टिमा प्रडक्टहरू जित्नेछन् भने प्रयोगकर्ताहरूले १०० भन्दा माथिको हरेक भुक्तानीमा डिजिटल स्क्र्याच कार्ड मार्फत विभिन्न किसिमका अफर र क्यासब्याकहरू प्राप्त गर्न सक्नेछन् ।
राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस, डिजिटल कारोबारमा जोड
काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष प्रतिवेदन पेस गरेको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा समितिका संयोजकसमेत रहेका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् । समितिले सबै किसिमका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्नुपर्ने र कर आधार विस्तार गर्नुपर्ने सुझाव दिएको छ । साथै डिजिटल कारोबारलाई ध्यानमा राख्दै विद्युतीय सेवा करको दायरा बढाउन, अन्तरराष्ट्रिय सेवाप्रदायकहरूबाट प्राप्त तथ्याङ्कको व्यवस्थापन गर्न, घर–जग्गा कारोबारजस्ता क्रियाकलापलाई व्यावसायिक रूपमा वर्गीकृत गरी करयोग्य बनाउन सुझाव दिइएको छ । पुँजीगत लाभकरको अभिलेखलाई प्रविधिमैत्री र पारदर्शी बनाउन, करदातासम्बन्धी तथ्याङ्क तथा आर्थिक विवरणको अन्तर–आबद्धता कायम गर्ने प्रणाली विकास गर्नुपर्ने समितिको सुझाव छ । त्यस्तै भन्सार प्रणालीमा व्यापक सुधार आवश्यक रहेको उल्लेख गर्दै कर सङ्कलनको सुदृढीकरणसँगै व्यापार सहजीकरणलाई सुनिश्चित गर्न सिफारिस गरिएको छ । भन्सार दरहरूको पुनरावलोकन गरी आन्तरिक उत्पादनलाई संरक्षण गर्ने नीतिगत समायोजन गर्नुपर्ने, मूल्याङ्कन प्रणालीमा विश्वव्यापी मान्यता प्राप्त मापदण्ड अपनाउनुपर्ने, भन्सार प्रक्रियालाई अझ सरल, पारदर्शी र सूचना प्रविधिमैत्री बनाउँदै डिजिटल प्रणाली प्रयोगमा ल्याउनुपर्ने सुझाव दिइएको छ । समितिले सरकारको आयको विविधिकरण गर्न गैरकर स्रोतहरूको पहिचान, दर पुनरावलोकन तथा संस्थागत संरचना सुदृढ गर्नुपर्ने सुझाव दिएको छ । यी स्रोतहरूलाई अधिक प्रभावकारी रूपमा परिचालन गर्न दरहरू यथार्थपरक बनाउनुपर्ने, सङ्ग्रह प्रणाली पारदर्शी र डिजिटल बनाउनुपर्ने र राजस्व सङ्कलनको उत्तरदायित्व स्पष्ट गरिनुपर्ने समितिद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारबीच राजस्वसम्बन्धी अधिकार बाँडफाँट गर्दा देखिएको दोहोरोपन हटाउन स्पष्ट नीति र कानुनी आधार तयार गर्नुपर्ने उल्लेख छ । गैरकर स्रोतको प्रक्षेपण, लक्ष्य निर्धारण, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने संयन्त्र स्थापित गर्नुपर्ने र बजेटमा यथोचित प्रतिविम्ब हुनेगरी कार्यविधिहरू बनाउन पनि सुझाव दिइएको छ । अर्थमन्त्री पौडेलले समितिले दिएका सुझावहरू आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि महत्त्वपूर्ण हुने बताए ।
बुटवल-भैरहवामा हुन्डाईको क्रेटा इभी कार्यक्रम सम्पन्न, १० गाडी हस्तान्तरण
बुटवल । हुन्डाई नेपालले बुटवल–भैरहवामा आयोजना गरेको नयाँ क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा उल्लेख्य सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ३० भन्दा बढी युनिटको बुकिङ भएको र १० युनिट ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा ग्राहकहरूको उल्लेखनीय सहभागिताका साथै हुन्डाई ब्रान्डप्रतिको विश्वास झल्किएको थियो । कम्पनीले हालै क्रेटा इभि ल्याएर विद्युतीय सवारीबारे रहेको द्विविधालाई स्पष्ट पार्ने प्रयास गरेको बताएको छ । क्रेटा इभीर पेट्रोल संस्करण एउटै प्लेटफर्ममा आधारित भएकाले सेवापछि समस्या नहुने कम्पनीको दाबी छ । हुन्डाईले विद्युतीय सवारीको सञ्जाल विस्तार गर्ने उद्देश्यले देशभर ६६ स्थानमा डीसी र एसी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको जानकारी दिएको छ । सोही सन्देशलाई फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा प्रत्यक्ष अन्तरक्रियामा जुटेको छ । कार्यक्रममा हुन्डाईका अन्य नयाँ मोडेलहरू पनि प्रदर्शनमा राखिएका थिए । बुटवलको सिद्धिविनायक मोटोकर्प र भैरहवाको जगत मोटर्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।