बैंक स्टेटमेन्टको खुलेआम व्यापार, काठमाडौंमै यसरी फस्टाइरहेको थियो फर्जी फ्याक्ट्रीको धन्दा
काठमाडौं । राजधानी काठमाडौंको छेउमै सामान्य टोल । बाहिरबाट हेर्दा शान्त र सामान्य वातावरण । तर, त्यो शान्त वातावरणभित्र ठूलो कर्तुत भएको विषय प्रहरीको अनुसन्धानले देखाएको छ । यो घटनाले सिंगो राज्य संयन्त्र, प्रहरी र अनुसन्धान निकायमाथि पनि थप चुनौती थपेको छ । तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा रहेको को त्यो घरभित्र कुनै साधारण काम भइरहेको थिएन । ‘फर्जी कागजात’ निर्माण गर्ने एक एक कारखाना थियो त्यो घर । प्रहरीले बुधबार बिहान त्यही घरमा छापा मार्दा त्यो शान्त वातावरणभित्र भइरहेको ठूलो कर्तुतको खुलासा भयो । त्यो कर्तुत गर्ने तीन जना अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखाको भीमसेनथापा गाउँपालिका-१ का ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका- ७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका-२ की २३ वर्षीया अञ्जु खत्री रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले योजनाबद्ध रूपमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । त्यो तीन जनाको समूहले राजधानीमै आफ्नो फर्जी उद्योग सञ्चालन गर्दै आएको सूचना पाएपछि प्रहरीले छापा हानेको थियो । उनीहरुले फर्जी शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट, सरकारी कार्यालयको कागजातपत्र र मेडिकल रिपोर्ट बनाउँदै आएको अनुसन्धानबाट खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार उनीहरू जापान लगायतका देशहरूमा वर्किङ भिसामा जान चाहने युवाहरूलाई 'जरुरी' कागजात बनाइदिने गरेका थिए । विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि पीआर वा ग्रिनकार्डका लागि चाहिने मेडिकल रिपोर्टसमेत बनाइदिने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुले मनमोहन मेमोरियल अस्पताल र वीर अस्पताल लगायत नाम चलेका सरकारी अस्पतालको मेडिकल रिपोर्ट पनि बनाउने गरेका थिए भने वाणिज्य बैंकको नक्कली स्टेटमेन्ट बनाउने धन्दा पनि सो समूहले गर्दै आएको बुझिएको छ । बैंक स्टेटमेन्टको आधारमा भिजिट भिसा सजिलै पाउन सकिने विश्वासमा धेरैले उनीहरूबाट सेवा लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यी हुन् बरामद भएका सामान एकेडेमिक ट्रान्सक्रिप्ट - ११० थान क्यारेक्टर सर्टिफिकेट - ६० थान माइग्रेसन सर्टिफिकेट - ४२ थान प्रोभिजनल सर्टिफिकेट - ५० थान जग्गाधनी दर्ता पूर्जा - १० थान बैंक तथा सहकारी संस्थाका लेटरप्याड - १७ थान खाली स्ट्याम्प - १५० थान उनीहरूबाट प्रहरीले स्ट्याम्प मेसिन, प्रिन्टर, हेचिङ मेसिन, लेमिनेसन मेसिन, कम्प्युटर उपकरण र मोबाइल सेटहरूसमेत बरामद गरेको छ । ‘यस्ता कागजातले मात्र अपराधको ढोका खोल्दैनन्, देशकै अन्तर्राष्ट्रिय छवि र भिसा प्रणालीमाथि अविश्वासको बीउ रोप्छन्,’ सूचना अधिकारी आचार्यले भने । आचार्यका अनुसार प्रहरीले तीनै जनामाथि आवश्यक अनुसन्धान सुरु गरेको छ । यसका पछाडि अझै ठूलो नेटवर्क हुनसक्ने आशंका प्रहरीको छ ।
सेयर बजारमा ७ अर्बको कारोबार, १६४ कम्पनीको मूल्य घट्यो
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले घटेर २६१२ बिन्दुमा झरेको छ । आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३२० कम्पनीको १ करोड ७४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोल्टी होटलको भएको छ । सोल्टीको ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, राधी विद्युत कम्पनीको ४४ करोड, युनिभर्सल पावरको ३३ करोड, न्यादी ग्रपको ३२ करोड र सानीमा माइ हाइड्रोको २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ओम मेगाश्री फर्माको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको मूल्य बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । आज होटल समूहको परिसूचक सबैभन्दा बढी वृद्धि भएको छभने विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी घटेको छ ।
प्रधानमन्त्री ओलीको घोषणा - देउवालाई धुमधामसँग पद हस्तान्तरण गर्छु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देश विकासको योजना बनाउने काममा कतिपयले मौका नपाएको र कतिले बारम्बार मौका पाएको बताए । उनले कतिपयले बारम्बार योजना बनाउन मौका पाएझैँ काँग्रेस सभापति देउवालाई पनि अबको १४ महिनापछि आफूले लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर धुमधामसँग हस्तान्तरण गर्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘१४ महिनापछि एउटा थप मानार्थ फेला पर्छ । १४ महिनापछि त म पनि त्यही हो मानार्थ । तपाईंहरुकै सदस्य । अहिले यो सबै संयोग हो । कतिपय योग्य मान्छेहरू यसमा आउनै नपाएर बाहिरै बसेका छन् । मौका पाएका छैनन् । मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु ।’ प्रधानमन्त्री ओलीले आफू पनि १४ महिनापछि योजना आयोगको पूर्वअध्यक्ष हुने बताए ।
अर्थ संकटमा निजी क्षेत्रको चिन्ता: नीति स्थायित्व र लगानीमैत्री वातावरण माग
काठमाडौं । निजी क्षेत्रले आगामी १० वर्षलाई लगानी दशक घोषणा गर्नेदेखि नागरिकले भोग्दै आएका झन्झटहरु हटाउन माग गरेको छ । काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेट’ को सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधीहरु सो कुरा बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अबको १० वर्षलाई लगानी दशकको घोषणा गरेर अघि बढ्नुपर्ने बताए । उनले यसबारे अर्थमन्त्रीलाई पनि भनिसकेको बताउँदै लगानी दशकले लगानीगर्ने लगानीकर्तामा उत्साह छर्ने काम गर्ने बताए । उनले मुलुकमा नीतिगत स्थायीत्व कायम समेत हुन जरुरी रहेको बताउँदै अबका दिनमा सरकारले यसमा काम गर्न जरुरी रहेकोमा जोड दिए । अध्यक्ष ढकालले भने, ‘जति पनि हाम्रो साधारण खर्च बढिरहेको छ, त्यसको स्रोत के हो ? अहिले वैदेशिक सहायता आउन पनि छाडिसकेको छ । आन्तरीक पुँजी परिचालन गरेर यहीबाट राजस्व उठाउनुपर्छ । त्यसका लागि स्रोत भनेको लगानी बिस्तार नै गर्ने हो । निजी क्षेत्रलाई प्रोत्साहन गर्नैपर्ने हो । अहिले लगानी प्रवद्र्धनका लागि कानुन पनि परिवर्तन भइसकेको छ । लगानीको वातावरणलाई हामी पहिलो प्राथमिकता दिएर जान सकियो भने लगानी सिर्जना समेत हुनेछ । रोजगारी सिर्जनासँगै राजस्व वृद्धि समेत हुनेछ । धेरैभन्दा धेरै आम जनतालाई सेवा सुविधा समेत दिनेछ ।’ उनले त्यसो हुन सकेमात्रै हामीले चाहेको सुखी नेपाली समृद्ध नेपालको आकंक्षा समेत पूरा हुने दाबी गरे । कार्यक्रममा नेपाल चेम्बर अफ कर्मका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रले आर्थिक शिथिलताको अवस्था लामोसमयदेखि झेलिरहेको बताउँदै समाधानमा अब राज्य गम्भीर हुनैपर्ने बताए । उनले सरकारले हरेक पटक सुधार गर्ने बताएपनि अहिले पनि अवस्था जस्ताको तस्तै रहेको गुनासो गरे । नीतिगत रुपमा केही सुधार हुन नसकेको बताउँदै उनले आयातमा आधारित अर्थतन्त्र भएको देशमा चालु खाता बचतमा हुनु राम्रो नभएको बताए । उनले भने, ‘निजी क्षेत्रले आर्थिक सिथिलताको अवस्था विगतदेखि झेलिरहेको छ । सरकारले हरेक पटक सुधार गर्ने बताएपनि अहिले पनि अवस्था जस्ताको तस्तै । नीतिगत रूपमा केही सुधार हुन सकेको छैन । आयातमा आधारित अर्थतन्त्र भएको देशमा चालु खाता वचतमा हुनु राम्रो होइन । अहिले निजी क्षेत्रको अवस्था जुन शिथिलताबाट ग्रुजिरहेको छ । औद्योगिक उत्पादन निरन्तर घटिरहेको छ । निर्माण क्षेत्र संकुचित छ । साना तथा मझौला व्यवसायीहरुको व्यापार बन्द भएको छ । आम मानिसको हातमा पैसा छैन । यो अवस्थाले देशको उद्योग र लगानी प्रभावित भइहरको छ ।’ उद्योग व्यवसाय सञ्चालन गरेर पाइलैपाइलामा झमेला भोग्नुभन्दा विदेश जाने प्रवृत्ति बढेको अध्यक्ष अग्रवालले बताए । उनका अनुसार यसमा सुधार गर्न जरुरी छ । संकुचित नीतिहरुका कारण पछिल्लो तीन वर्षमा १ लाखभन्दा बढी उद्यमी व्यवसायी कालोसूचीमा पर्नु चिन्ताको विषय भएको उनले जानकारी दिए । अग्रवालका अनुसार सहकारी संस्था समस्याग्रस्त हुने अवस्थाले हजरौं परिवारको क्रय शक्ति खुम्चिएको, निजी क्षेत्रको मनोवल समेत खस्किएको छ । ऋण लिएर व्यवसाय बिस्तार गर्न आँट नै आएको छैन । नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले उद्योग, व्यवसाय दर्ता स्थानीय तह केन्द्रसम्म गरिने र नागरिकसँग राष्ट्रिय परिचय पत्र मागिदाँ जनता आजित भएको बताए । उनले भने, ‘पहिला सरकारले नागरिकलाई विश्वास गर्ने वातावरण बनाउनुपर्नेछ । नेपालमै गर्नसक्ने धेरै मान्छे छन्, तिनिहरुलाई राज्यले विश्वास नै गर्न सकेन । अहिले राज्यका धेरै निकायले नागरिकको बायोमेट्रिक राख्ने गरेका छन । ती डेटाको सुरक्षण कहाँ कसरी भइरहेको छ, कसले गर्छ जनताले केही बुझ्न सकिरहेका छैनन् ।’ नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले १३ खर्बको लगानी, करिव १७ लाख श्रमिक, ४० लाख घरपरिवारलाई सेवादिइरहेको यातायात क्षेत्रलाई व्यवस्थित गर्ने बेला आएको बताए । उनले सिन्डिकेटका नाममा यो क्षेत्रलाई विगतमा पछि पार्ने काम भएको बताए । यातायात क्षेत्रमा भएको दोहोरो कर प्रणाली हटाउनुपर्नेमा उनले जोड दिए ।
भ्रष्टाचार मुद्दा दायर भएसँगै मोहन बस्नेतको सांसद पद स्वत: निलम्बन
काठमाडौं । मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ । प्रतिनिधिसभा सदस्य बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएसँगै उनको पद स्वत: निलम्बन हुने भएको हो । निलम्बनको सूचना सभामुखले संसदमा सुनाएपछि मात्र औपचारिक मानिने प्रावधान रहेको छ । भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भनिएको छ, ‘थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री एवं कांग्रेस सांसद बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो । कांग्रेसका सांसद बस्नेतसहित १६ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर, सवा ३ अर्बको बिगो दाबी टेरामक्स भ्रष्टाचार प्रकरणमा गोकुल र ज्ञानेन्द्रलाई उन्मुक्ति, दुवै एमाले र कांग्रेसका प्रभावशाली नेता
सरकारलाई सांसद ढकालकाे सुझाव : गभर्नर दुई बनाउ, नोटमा चुनाव चिन्ह राख
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरी ढकालले सरकारले अहिलेसम्म गभर्नर नियुक्त गर्न नसक्नुलज्जाको विषय भएको धारणा राखेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै उनले लामो समय बितिसक्दा पनि सरकारले गभर्नर नियुक्त गर्न नसक्नुअन्तर्राष्ट्रिय रुपमै लज्जास्पद भएको धारणा राखेका हुन् । उनले व्यङ्गय गर्दै सरकारलाई भने, ‘दुई गभर्नर बनाउनुहोस्, एउटा बिचौलिया र र्ओ नोटमा हस्ताक्षर गर्ने । यो ३१ महिनामा नोटमा चुनाव चिन्ह राखे पनि हुन्छ । तर, ३१ महिनापछि आम नागरिकले यो सहन्नन् । यो देशको दलीयकरणविरुद् नागरिकक जागरुक भइसकेका छन् ।’ उनले गभर्नर सिफारिस समितिमा मान्छे पाइएन भनेर समय लम्ब्याउने र फेरि तीन महिनापछि आफ्नै मान्छे राखेर बेइज्जत गरेको सुनाए । ‘अब त लाजलाई पनि धेरै नै लाज लागि सकेको छ, नैतिकताको कुरा हराइसक्यो । ऐनको उपेक्षा गरियो । दलले आफ्नो स्वार्थका लागि विभिन्न संरचना प्रयोग गरेको देखियो, यो देख्दा सबै चकित छन्,’ उनले भने । गभर्नर नियुक्तिमा नेतृत्वको लागि लज्जास्पद र ऐतिहासिक भूल भएको सुनाए । यसले राष्ट्र बैंकको गरिमा क्षयिकरण हुने उनको भनाइ छ । ‘यसअघि पनि राष्ट्र बैंकमा अर्थमन्त्रीको हस्तक्षेप भएको थियो । त्यसले निजी क्षेत्रमा कस्तो प्रभाव पर्यो ? अर्थतन्त्रमा कस्तो प्रभाव पर्यो ? यो विषयमा हामी सबै जानकार छौं, फेरि हाकाहाकी चुनाव लडेर पराजित भएको मान्छेलाई गभर्नर बनाउने लागेको सुनिएको छ, यसमा हाम्रो आपत्ति छ,’ उनले भने ।
ओटावाका कन्डो किङ : यस्तो छ बिल मल्होत्राको सफलताको कथा
काठमाडौं । बिल मल्होत्रा क्यानडाका सबैभन्दा धनी भारतीय हुन् । भारतदेखि ओटावासम्मको उनको यात्रा प्रेरणादायी छ । उनले कडा मेहनत र दूरदृष्टिका साथ सफलता हासिल गरेका हुन् । उनी क्लेरिज होम्सका संस्थापक र सीईओ हुन् । उनले १९८६ मा यस कम्पनीको स्थापना गरेका थिए । बिल मल्होत्राले ओटावाको रियल स्टेट बजारलाई नै परिवर्तन गरिदिएका छन् । बिडला इन्स्टिट्युट अफ टेक्नोलोजी एन्ड साइन्सबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका मल्होत्रा २० वर्षको उमेरमा क्यानडा गएका थिए । सुरुमा उनले एक इन्जिनियरिङ कम्पनीमा काम गरे र पछि सिटी गभर्नमेन्टमा योगदान दिए । उनले त्यहाँबाट एक स्थायी विरासतको जग बसाले । उनको नेतृत्वमा क्लेरिज होम्सले १४ हजारभन्दा बढी घर निर्माण गरेको छ, जसमा घर, कन्डो र रिटायरमेन्ट होमहरू समावेश छन् । उनलाई ‘कन्डो किङ’ भनेर पनि चिनिन्छ । उनको नेटवर्थ २.३ अर्ब अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ । उनी क्यानडाका सर्वाधिक धनी व्यक्तिहरू मध्ये एक हुन्। प्रारम्भिक जीवन र शिक्षा बिल मल्होत्राको जन्म भारतको राजधानी दिल्लीमा भएको थियो । उनले आफ्नो प्रारम्भिक शिक्षा भारतमै पूरा गरे । त्यसपछि राजस्थानको बिट्स पिलानीबाट सिभिल इन्जिनियरिङको डिग्री लिए । राम्रो अवसरको खोजीमा उनी क्यानडा गए । त्यहाँ उनले इन्जिनियरिङ फर्ममा काम सुरु गरे र पछि सहरको सरकारी निकायमा पनि काम गरे । क्लेरिज होम्सको स्थापना १९८६ मा उनले क्लेरिज होम्स स्थापना गरे, जसले ओटावाको रियल स्टेट बजारमा ठूलो क्रान्ति ल्यायो । कम्पनीले सहरभर १४ हजार भन्दा बढी घर निर्माण गरिसकेको छ, जसमा अपार्टमेन्ट र वृद्धहरूको लागि विशेष घरहरू पनि छन् । क्लेरिज आइकन, कम्पनीको एक प्रसिद्ध प्रोजेक्ट, ओटावाको सबैभन्दा अग्लो भवनहरूमध्ये एक हो ( ४६९ फिट अग्लो यो भवन सहरको एक चिनारी बनिसकेको छ । बिल मल्होत्राले ओटावामा कन्डो निर्माणमा उल्लेखनीय भूमिका खेलेका छन् । कन्डो भन्नाले त्यस्ता अपार्टमेन्टहरूलाई जनाइन्छ, जुन व्यक्तिगत स्वामित्वमा हुन्छन् तर साझा संरचनाको हिस्सा हुन्छन् । समाजसेवी पनि बिल मल्होत्रा एक सफल व्यवसायी मात्र होइनन्, उनी समाजसेवी पनि हुन् । उनी ओटावा सीनाटर्स नामक आइस(हक्की टिमका मालिक समेत हुन् । सहरको विकासमा उनी सक्रिय रूपमा संलग्न छन् । प्रेरणादायी उदाहरण क्लेरिज नाम मल्होत्राको मनमा विशेष स्थान राख्छ- यो नाम नयाँ दिल्लीको एक होटेलबाट प्रेरित गरिएको हो, जहाँ उनले बाल्यकालमा आफ्ना पितासँग रमाइला क्षणहरू बिताएका थिए । बिल मल्होत्राको जीवन कथा एक प्रेरणादायी उदाहरण हो- जसले देखाउँछ कि कडा मेहनत, स्पष्ट दृष्टिकोण र लगनले असाधारण सफलता हासिल गर्न सकिन्छ । उनले ओटावा सहरमा गहिरो छाप छोडेका छन् ।
टेरामक्स भ्रष्टाचार प्रकरणमा गोकुल र ज्ञानेन्द्रलाई उन्मुक्ति, दुवै एमाले र कांग्रेसका प्रभावशाली नेता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा एमालेका नेता गोकुल बाँस्कोटा र कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीलाई उन्मुक्ति दिएको छ । यसअघि भ्रष्टाचारमा मुछिएका भनिएका सांसद समेत रहेका बाँस्कोटा र कार्कीलाई आयोगले मुद्दा लगाउन आवश्य नभएको बताएको छ । यसअघि बाँस्कोटाले ७० अर्बको घुसका लागि सेटिङ गरेको अडियो क्लिप पनि सार्वजनिक भएको थियो । बाँस्कोटा नेकपा एमालेका प्रभावशाली नेता हुन् भने उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट पनि छन् । यस्तै कांग्रेसका नेता कार्की पनि कांग्रेस सभापति शेरबहादुर देउवा निकट छन् । आयोगले पूर्व मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध पनि मुद्दा दर्ता गरेको छैन । तर, यस प्रकरणमा कांग्रेस सांसद मोहन बस्नेतसहित १६जनाविरुद्ध मुद्दा दर्ता भएको छ । कांग्रेसका सांसद बस्नेतसहित १६ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर, सवा ३ अर्बको बिगो दाबी