ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र
म्याग्दी । म्याग्दी जिल्लाको माझफाँट-लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका- ८ नागी-राम्चे जोड्ने सडक योजनाको माझफाँट-लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्र भएको छ । सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका- ३ माझफाँटको भुरतुलादेखि वडा नं ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो । दुई लेनको यो सडकको एक किलोमिटर ४०० मिटर ढलान भएको छ । ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र र ढलान गरिएको हो । जलजला गाउँपालिकाले पनि बेनीदेखि भुरतुलासम्मको दुई किलोमिटर सडक स्तरोन्नति गरेको छ ।
मधेस प्रदेशमा जीवनबीमाबाट ११ अर्ब १६ करोड रुपैयाँ सङ्कलन
वीरगञ्ज । बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको नौ महिनामा जीवनबीमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ सङ्कलन गरेको छ । उक्त कार्यालयले गत वर्ष जीवनबीमा शुल्कतर्फ भने १४ अर्ब एक करोड २८ लाख सङ्कलन गरेको थियो । उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवनबीमा गरेका बताइन् । कार्यालयले सोही अवधिमा दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ । अझै ३९ करोड ६४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिइन् । जीवनबीमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म एक खर्ब २७ अर्ब तीन करोड शुल्क सङ्कलन भएको छ ।
नेको इन्स्योरेन्सको २९औं वार्षिक साधारणसभा जेठ ९ गते, ७ प्रतिशत लाभांश अनुमोदन गर्ने
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आगामी जेठ ९ गते आफ्नो २९औं वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंमै आयोजना गरिनेछ । सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सिफारिस गरिएको कुल ७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । प्रस्तावित लाभांशमध्ये ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश समावेश छ । साधारणसभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश गरिनेछ । त्यसका लागि आवश्यक पर्ने नियामक निकायको निर्देशन तथा सुझाव कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि गर्नेसम्बन्धी अर्को विशेष प्रस्ताव पनि सभाबाट अनुमोदन गरिनेछ । सभामार्फत अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन स्वीकृति, र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पनि पारित गरिनेछन् । कम्पनीले साधारणसभा र लाभांश प्रयोजनका लागि वैशाख ३० गते बुक क्लोज गरेको छ । वैशाख २९ गते सार्वजनिक बिदा परेकाले, वैशाख २८ गते ९आइतबार० सम्म सेयरधनी सूचीमा नाम रहेकाहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।
साढे १९ लाख कित्ता सेयर लिलामीमा, बोलकबोलमार्फत दोर्दी खोलाको हकप्रद बाँडफाँट
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले करिब साढे १९ लाख कित्ता अवितरित हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले यही जेठ ११ गतेदेखि लिलामी प्रक्रिया सुरु गर्ने जनाएको छ । कम्पनीले १ः१ अनुपातमा प्रति सेयर १०० रुपैयाँ दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको थियो। सो क्रममा बाँकी रहेका १९ लाख ४६ हजार ६७६ कित्ता सेयर अब लिलामीमार्फत बिक्रीमा ल्याउन लागिएको हो । उक्त सेयरमध्ये संस्थापक समूहका १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहका १ लाख ६५ हजार ९५६ कित्ता सेयर छन् । यिनको ‘लक-इन’ अवधि असार ७ गतेपछि समाप्त हुनेछ । साथै सर्वसाधारण समूहका लक-इनमा नरहेका थप ४ लाख ९५ हजार ६७९ कित्ता सेयर पनि यस लिलामीमा समावेश गरिने कम्पनीले जनाएको छ । सेयर खरिदका लागि इच्छुक व्यक्ति वा संस्थाले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण सेयरसम्मको लागि बोलकबोल पेस गर्न सक्नेछन् ।
४.७४ प्रतिशत लाभांश पारित गर्न हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारण सभा
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले जेठ २५ गते काठमाडौंमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो । सभाले कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँको ४.५० प्रतिशतका दरले ४६ करोड ८० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशतका दरले २ करोड ४६ लाख ३१ हजार रुपैयाँ नगद गरी कुल ४.७४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले गत वर्ष सामाजिक उत्तरदायित्त्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियामकबाट कुनै फेरबदलको लागि निर्देशन प्राप्त भए सोही बमोजिम गर्न सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्नेछ । साथै, सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
हंगेरी-चीन व्यापारिक सम्बन्ध नयाँ उचाइमा, बीवाईडीको युरोप केन्द्र घोषणा
काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन कम्पनी बीवाईडीले हंगेरीमा युरोपेली केन्द्र स्थापना गर्ने योजना बनाएको छ । कम्पनीका सीईओ तथा अध्यक्ष वाङ छुआनफुले बिहीबार बुडापेस्टमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराएका हुन् । वाङका अनुसार उक्त नयाँ केन्द्रले २ हजार रोजगारी सिर्जना गर्नेछ र यसले तीनवटा प्रमुख कार्य गर्नेछ( बिक्री तथा बिक्रीपछिको सेवा, परीक्षण र कम्पनीका मोडेलहरूको स्थानीयकरणका लागि विकास । बीवाईडीले युरोपमा पहिलो कारखाना २०१६ को अप्रिलमा हंगेरीको उत्तरपश्चिमी शहर कोमारोममा स्थापना गरेको थियो, जहाँ विद्युतीय बसहरू निर्माण गरिन्छ । कम्पनीको दोस्रो कारखाना, जहाँ विद्युतीय गाडी उत्पादन गरिनेछ, अहिले निर्माणाधीन अवस्थामा छ । दक्षिणपन्थी नेता ओर्बानको नेतृत्वमा हंगेरी चीनका लागि एउटा महत्त्वपूर्ण व्यापारिक तथा लगानी साझेदार बनेको छ, जुन केही अन्य युरोपेली मुलुकहरूको चीनमाथिको निर्भरता घटाउने सोचसँग विपरीत देखिन्छ । ओर्बान सन् २०१० मा सत्तामा आएपछि आफ्नो देशलाई बेइजिङ नजिक ल्याउन थालेका थिए । झण्डै एक दशकपछि दुई देशबीचको मैत्रीपूर्ण राजनीतिक सम्बन्ध व्यावसायिक लगानीमा परिणत भएको हो । निसानको पतन या पुनर्जागरण ? चुनौतीपूर्ण मोडमा जापानी अटो कम्पनी टेस्लाभित्रको तलब संघर्षः मस्कका लागि नयाँ प्रस्तावको तयारी गर्दै बोर्ड
कालीमाटी तरकारी बजार : आलु ३८ रुपैयाँ किलाे, गाजर ३०
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ४५, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ७०, मकै बोडी मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १२०, तितो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो रु १००, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २१०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, भारतीय सुन्तला रु १५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ५८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ३०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।
आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई इजरायलले सधैँ सहयोग गर्ने
काठमाडौं । नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इजरायलको ७७औँ स्वतन्त्रता दिवस तथा नेपाल-इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले पीडितका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । आतङ्कवादी समूह हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत त्यहाँ अध्ययनरत १० जना नेपाली मारिएका थिए । उक्त हमलामा मारिएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजदूत बासले उनीहरुका परिवारलाई निरन्तर सहयोग हुने बताए । ‘इजरायलले आतङ्कवादबाट प्रभावित नेपाली विद्यार्थीका परिवारलाई आर्थिक र नैतिक सहयोग प्रदान गर्दै आएको छ, त्यो निरन्तर रहने छ । नेपालीसहित हमासको आक्रमणबाट पीडित भएका सबैसँग ऐक्यबद्धताका साथ इजरायल उभिएको छ,’ उनले भने । बहुआयामिकमा नेपाल-इजरायल सम्बन्धबारे चर्चा गर्दै उनले नेपालको शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार, जलस्रोत, ग्रामीण विकास र सुरक्षालगायत क्षेत्रमा पारस्परिक सहकार्य हुँदै आएको बताए । इजरायली राजदूतले चार हजारभन्दा बढी नेपालीले इजरायलका कृषि तथा शैक्षिक केन्द्रबाट तालिम लिएका, नेपालको कृषि आधुनिकीकरण र आर्थिक विकासलाई इजरायल सरकारबाट विशेष सहयोग रहेको तथा आगामी दिनमा सूचना तथा सञ्चार र साइबर प्रविधिका क्षेत्रमा बहुपक्षीय सहयोग विस्तार गर्न तत्पर आफ्नो देशको सरकार तत्पर रहेको बताए । इजरायल सधैँ शान्ति, विकास र मैत्रीको पक्षमा रहेको दोहोर्याउँदै राजदूत बासले मध्यपूर्वमा दिगो शान्ति कायम गर्नु आफ्नो मुलुकको एक मात्र लक्ष्य रहेको उनको भनाइ छ ।