विकासन्युज

ट्रस्ट माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, आईपीओ प्रस्ताव पारित

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ निष्काशन प्रस्ताव पारित भएको छ । कम्पनीको रुपन्देहीको बुटवल-११ स्थित महाराजा रिसोर्टमा आज सम्पन्न दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।  आईपीओ जारी गर्नका लागि नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल एवं थपघट गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई सभाले अख्तियारी प्रदान गरेको छ ।  यस्तै, कम्पनीको सभाले सामाजिक उत्तरदायित्त्वअन्तर्गत भएको खर्च र सञ्चालकहरूको सेवा-सुविधासम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ भने चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।   

पर्यटन बोर्डको सदस्यमा कुमारमणि थपलिया र नरेन्द्र देव भट्ट नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको सदस्यमा नरेन्द्र भट्ट र कुमार थपलिया नियुक्त भएका छन् । बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले भट्ट र थपलियालाई बोर्ड सदस्यमा नियुक्त गरेका हुन् । उनीहरुलाई मन्त्रीस्तरीय निर्णयबाट आगामी तीन वर्षका लागि नियुक्त गरेको मन्त्रालयले जनाएको छ । बोर्डको कार्यसमिति ११ सदस्यीय हुने व्यवस्था छ । बोर्डका यसअघिका सदस्य मिलन देवकोटा र मदन आचार्यको पदावधि गत फागुन ६ गते सकिएको थियो । थपलिया नेपाल नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) अध्यक्ष हुन् भने भट्ट पर्यटन व्यवसायी हुन् ।   

ग्लोबल आइएमई बैंक पीसीआई-डीएसएसमा प्रमाणीकरण

काठमाडौं । ग्लोबल आइएमई बैक कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटी स्टाण्डर्ड प्रमाणीकरण भएको छ। नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई-डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको हो । नेटवर्क इन्टेलिजेन्स पीसीआई सेक्युरिटि स्टाण्डर्डस् काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटी असेसर (क्यूएसए) हो । यो निजी संस्थाले कार्डको सुरक्षासम्बन्धी विषयहरू मूल्याङ्कन गर्ने गर्दछ।  नेटवर्क इन्टेलिजेन्सबाट कार्डको सुरक्षासम्बन्धी मूल्याङ्कन र पीसीआई-डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित हुन्छ। बैंकले कार्ड प्रयोगकर्ताहरूको डाटाको सुरक्षा सुनिश्चितताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ। प्रयोगकर्ताको डाटा सुरक्षामा बैंकले निरन्तर प्रयास जारी राखिनुका साथै आफ्नो प्रतिवद्धतालाई स्वतन्त्र रुपमा प्रमाणित गरेको हो ।  ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ।  ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। 

१३ जना अमेरिकनले आरोहण गरे सोक्ला रक क्लाइम्बिङ्ग

चरिकोट । अमेरिकन पर्यटकहरूले सोक्ला भ्यालीमा रक क्लाइम्बिङ्ग गरेका छन् । सगरमाथा यात्रामा रहेका अमेरिकन नागरिकहरूको १३ जनाले ४२० मिटरको उचाइमा रहेको सोक्ला रक क्लाइम्बिङ्ग आरोहण गरेका हुन् । सोक्लाश्वरी पर्यटन विकास समाजको नेतृत्वमा सञ्चालन भइरहेको रक क्लाइम्बिङ्गमा पहिलो पटक विदेशी पर्यटकले आरोहण गरेका हुन् । अमेरिकाको साउथ स्टन युनिभर्सिटी फ्लोरिडाको प्रोफेसर सहितको टिमले रक क्लाइम्बिङ्ग गरिएको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए ।   युनिभर्सिटीका म्याथु वर्नेट, अलेक डन्डर जोसुवा, इजी विएल ,एन्ड्रयु, इएन, इजा बेला कोलेवान, डेबले लगायतको टिमले रक क्लाइम्बिङ्ग गरेका हुन् । दोलखाको सोक्ला भ्यालीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित विगत ५ वर्षदेखि रक क्लाइम्बिङ्गको प्रवर्द्धन गरिरहेको पर्यटन समाजका अध्यक्ष पाख्रिनको भनाई छ ।   इलाम माईपोखरीका गाइड अमरदीप वान्तवाले अमेरिकन नागरिकहरूलाई सोक्ला भ्यालीसम्म पुर्याएका हुन् । उनीहरुलाई सोक्ला भ्यालीको ताम्बा संस्कृतिद्वारा स्वागत गरिएको थियो । साउथ स्टन युनिभर्सिटी फ्लोरिडाको प्राफेसर म्याथु वर्नेटले रक क्लाइम्बिङ्गपछि यो जीवनकै उत्कृष्ट साहसिक अनुभव भएको बताए ।  ‘नेपालमा मेरो तेस्रो पटकको यात्रा हो । दोलखा पहिलो पटक । यही क्रममा सोक्ला रक क्लाइम्बिङ्ग गर्ने अवसर मिल्यो,’उनले भने,‘सगरमाथा आरोहणमा सहज हुनेछ । म अर्को वर्ष आरोहणका लागि बेसक्याम्पसम्म जाँदैछु ।’  उनीसँगै अर्का आरोही इजी विएलले भनिन्,‘यो यात्रा रोमाञ्चक हुने भयो । सायदै, यो मेरो जीवनको पहिलो अनुभव हो । डर थियो । तर, साहस भएकै कारण यो चट्टान चढ्न सजिलो भयो ।’  सोक्लाको भीर देखेर एन्ड्र यु डराएका थिए । ‘हामीले यो खालको एडभेन्चर अनुभव गरेका थिएनौं । रक क्लाइम्बिङ्गको टपमा पुगेपछि सिंगो सोक्ला भ्याली, तामाकोशी र गौरीशंकर हिमालको श्रृंखला देख्दा अचम्म लाग्यो,’ एन्ड्रले भने,‘पाखो पहाड धेरै देखे तर एकै ठाउँबाट फाँट, बस्ती, खोला, जंगल र हिमाल देख्ने ठाउँ भने देखेको थिएन ।’  अमेरिकाको युनिभर्सिटीमा रक क्लाइम्बिङ्गको लोगो अमेरिकाको साउथ स्टन युनिभर्सिटी फ्लोरिडामा सोक्ला रक क्लाइम्बिङ्गको लोगोसहितको मायाको चिनो राखिने प्रोफेसर म्याथु वर्नेट बताए । खुसी हुँदै उनले भने,‘सोक्ला भ्यालीको संस्कृति, मायाको चिनो युनिभर्सिटीमा राख्ने छु ।’ अमेरिकन नागरिकसहित हिमालयन क्राउन एकेडमीका ३९ जना विद्यार्थीहरूले रक क्लाइम्बिङ्ग गरेका छन् । उनीहरुको टिमबाट कविता तामाङ प्रथम, रीतिका माया मगर दोस्रो र निमा डेभिट शेर्पा तस्रो भएको पर्यटन विकास समाजले जनाएको छ ।  उनीहरुलाई पुरस्कृत समेत गरिएको थियो । सोक्ला रक क्लाइम्बिङ्ग फेस २०८२ नाम दिएर आयोजना गरिएको यस कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले समेत रक क्लाइम्बिङ्ग गरेका थिए । सोक्ला भ्यालीको विकास र दोलखाकै पर्यटक आर्थिक विकासको लागि रक क्लाइम्बिङ्ग कोशेढुंगा हुने बताए ।  साथै उनले रक क्लाइम्बिङ्गमा सहभागी अमेरिकी नागरिकहरू र हिमालयन क्राउन एकेडेमीका विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरेका थियो ।      

फिनएक्स सहकारी सफ्टवेयरद्धारा ‘क्लाइन्ट मिट’ कार्यक्रम सुरु, प्रयोगकर्ताबाट सुझाव संकलन

काठमाडौं । सहकारी संस्थाहरूबीच लोकप्रिय रहेको फिनएक्स सहकारी सफ्टवेयरले प्रयोगकर्ताको राय सुझाव संकलन तथा नयाँ सुविधाबारे जानकारी दिन ‘क्लाइन्ट मिट’ कार्यक्रम सुरु गरेको छ ।  सफ्टवेयर निर्माता कम्पनी जिनव इंक प्रालिको आयोजनामा ‘क्लाइन्ट मिट’ कार्यक्रम चितवनबाट सुरु भएको हो । चितवनको मिड टाउन होटलमा आयोजित कार्यक्रममा जिल्लाभित्र फिनेक्स सफ्टवेयर प्रयोगकर्ता सहकारी संस्थाका संचालक र उच्च व्यवस्थापकको सहभागिता रहेको थियो ।  ‘फिनएक्स सहकारी सफ्टवेयर’ मा हाल २० वटा मोड्युलहरू उपलब्ध छन् । कार्यक्रममा प्रयोगकर्ताबाट नयाँ मोड्युलहरूका लागि सुझावहरू संकलन गरिएको थियो । कम्पनीकी प्रमुख कार्यकारी अधिकृत रमिता चौधरीले गर्नु फिनएक्सले हाल प्रदान गर्दै आएका सेवा र थप गर्न लागिएका सुविधाबारे जानकारी गराइन् ।  यसैगरी प्रशिक्षकद्धय अतुल झा र किरण पौडेलले फिनएक्स सफ्टवेयरमा उपलब्ध लोन तथा डक्कुमेन्ट प्रोसेसिङ मोड्युल, लोन फलोअप मोड्युल, नो योर मेम्बर (केवाईएम) मोड्युल, कोपोमिस र गोएमएम रिपोटिङ मोड्युलबारे प्रशिक्षण प्रदान  गरे । जिनव इंन्कले फिनएक्स सहकारी सफ्टवेयरलाई ‘एक सम्पूर्ण सहकारी प्रविधि इकोसिस्टम’ का रुपमा विकास गर्दै आएको छ । सफ्टवेयर प्रयोगकर्तालाई अन्य तेस्रो पक्षको सेवा संचालन गर्नु नपर्ने गरी सहकारीका ऐन कानुन अनुसार सहकारी संस्थाको दैनिक कामका साथै नियामक निकायमा गर्ने रिपोर्टिङलाई सहज बनाउने उद्देश्यले सेवाहरु विकास गरिएको छ । कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले जारी गरेको ‘सहकारी संस्थामा एप्लीकेशन सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि-२०८१’ ले तोकेको मापदण्ड पुरा गरी सूचीकृत भएको सफ्टवेयरमा कोर बैंकिङका अतिरिक्त कर्जा लगानी प्रक्रिया सम्बन्धी विस्तृत मोडल, गो एएमएल, कोपोमिस, पल्स मनिटरिङलगायत नयाँ सुविधाहरु छन् । यस्तै सफ्टवेयरमा क्युआर कोड भुक्तानी तथा फर्छौट, मिस्डकलमार्फत मोवाईल रिचार्ज, बैंकबाट सहकारीमा र सहकारीबाट बैंक खातामा रकम ट्रान्सफर, इसेवा खल्तीलगायतका वालेटहरुमा रकम ट्रान्सफर र वालेटबाट सहकारीको खातामा रकम ट्रान्सफर, एटीएम, इ टेलरलगायतका आधुनिक सुविधा उपलब्ध छन् ।   संस्थाले चालु आर्थिक वर्षभित्र उर्लाबारी, इटहरी, सुर्खेत, दाङ, बुटवललगायतका स्थानहरूमा पनि यस्तो कार्यक्रम गर्ने जानकारी दिएको छ ।   

कांग्रेस-माओवादीबीच सत्ता समीकरण हल्ला मात्रै हो: अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार भएको धारणा राखेका छन् । प्रेस सेन्टर नेपाल, डडेल्धुराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टीले भने सुदूरपश्चिम क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको दाबी गरे । आफ्नो नेतृत्वमा सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको अध्यक्ष दाहालको भनाइ थियो ।  उनले भने, ‘विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ । हामीले त्यसमा सन्तुलन कायम गर्न खोजेका छौँ । डडेल्धुरा र यहाँका पहाडी जिल्लाबाट भइरहेको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक छ । यसका लागि पहल गर्छौं ।’ अध्यक्ष दाहालले देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षित गरेर आफ्नो पार्टीले जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिए । पहिलो चरणमा तराई केन्द्रित हुलाकी राजमार्ग क्षेत्रमा जागरण अभियान सम्पन्न गरी पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिएको उनले जानकारी दिए । अध्यक्ष दाहालले पहिलो चरणको जागरण अभियान झापाको कचनकवलबाट सुरु गरी महाकालीमा सम्पन्न भएको र दोस्रो चरणको अभियान बैतडीबाट सुरु भएर सोलुखुम्बुमा समापन गरिने जानकारी दिए।  पूर्वप्रधानमन्त्री दाहालले वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाउँदै सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको जिकिर गरे।  ‘सरकार ठीक बाटोमा हिँडिरहेको छैन, यसबाट चिन्तित छौँ । सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छ, यो राम्रो होइन,’ उनले भने ।  अध्यक्ष दाहालले कांग्रेस-माओवादीबीचको सत्ता समीकरण हल्ला मात्रै भएको स्पष्ट गर्दै वामपन्थी गठबन्धन पनि ८४ सम्म नहुने जिकिर गरे । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेललगायतको उपस्थिति रहेको थियो ।

हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रूपमा ‘सगरमाथा संवाद’को आयोजना गरिएको बताएका छन् । नेपाल सरकारद्वारा पहिलोपटक आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै उनले यही यथार्थभित्र इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा  सामूहिक कदम चाल्न विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको उल्लेख गरे । ‘आशा गर्छौ, यो संवाद उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘जलवायु परिवर्तनको कारक मानिएका हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ तर वातावरण संरक्षणमा हाम्रो योगदान महत्वपूर्ण छ । तथापि हामीले असर भने धेरै भोगिरहेका छौँ । हाम्रा घरबासहरू पहिरोले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात् आउँछ, समस्या गर्छ । यसविरुद्ध हामी डटिरहेका छौँ ।’

हिमाल मानव जातिका साझा स्रोत हुन्, करोडौंको ताजा पानीको स्रोत: परराष्ट्रमन्त्री

काठमाडौं।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हिमालहरू मानव जातिका साझा स्रोत भएका बताएकी छिन् । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा पहिलोपटक आज  आयोजित ‘सगरमाथा संवाद’को उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उनले हिमाल करोडौं मानिसको ताजा पानीको स्रोत बनेको बताइन् ।  हिमालयले आज जलवायु प्रेरित अवरोधको सबैभन्दा ठूलो भार बोकिरहेको बताउँदै उनले हिमनदी जलवायुको असरका कारण पग्लिने क्रम तीव्र रुपमा बढेको उल्लेख गरिन् । यसले गर्दा हिमाली समुदायको दैनिक जीवनमा  नकारात्मक प्रभाव परेको उनको भनाइ छ ।  ‘जलवायु प्रेरित प्रकोपहरूले मानव अस्तित्व र जीविकोपार्जनको जगलाई नै हल्लाइरहेको छ । जलवायु परिवर्तनका कारण बाढी र हिमताल विस्फोटले ठूलो विनाश भएको छ ।  खडेरी डढेलोले मानवलाई अथाह पीडा दिएको छ,’ उनले भनिन् ।  मन्त्री डा राणाले यो संवाद मनन र आत्म निरीक्षण गर्ने अवसर प्रदान गर्ने र हिमालदेखि समुद्रसम्म तथा उत्तरदेखि दक्षिणी गोलार्द्धसम्म जलवायुजन्य विपत्ति रोक्ने प्रयास  भएको बताइन् । उनले नाजुक हिमाली पारिस्थितिक प्रणाली भएको देश नेपालले जलवायु परिवर्तनको मार खेपिरहेको जानकारी गराइन् ।   ‘हाम्रा नदी, वन र हिमालहरूको सचेत संरक्षकको रूपमा, हामीले पृथ्वीको स्वास्थ्यमा आफ्नो क्षमताभन्दा बढी योगदान गरिरहेका छौं । तर, हामी जलवायु परिवर्तनका नकारात्मक असरहरूको भारी र असमान बोझ सामना गर्न बाध्य छौँ,’ मन्त्री डा राणाले भनिन् ।  स्थानीय समुदायहरूले जलवायु परिवर्तनको विरुद्धमा कडा सङ्घर्ष गरिरहेका अविश्वसनीय उदाहरणहरू रहेको बताउँदै उनले तिनीहरूको स्थानीय ज्ञान र जीवनको अनुभवलाई पहिचान र महत्त्व दिनु, अनुकुलनशील रहेकामा जोड दिइन् । अन्तर्राष्ट्रियस्तरमा सरकार, सरोकार निकाय र नागरिक समाजबीचको सहकार्य बिना हुन नसक्ने उनको भनाइ छ ।  नेपालले सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य हासिल गर्न प्रतिबद्धता जनाएको छ । जलविद्युत, ऊर्जाको स्वच्छ रूप, नेपालको बिजुलीको सबैभन्दा ठूलो स्रोत बनेको छ । नेपालद्वारा अग्रणी प्राकृतिक स्रोत व्यवस्थापन कार्यक्रम, सामुदायिक वनले नेपाललाई आफ्नो वन क्षेत्रलाई उल्लेखनीय रूपमा बढाउन मात्र मद्दत गरेको छैन, तर विश्वभर सहभागी संरक्षणको मोडेलको रूपमा पनि देखा परेको मन्त्री डा राणाले बताइन् ।  ‘जलवायु परिवर्तन राष्ट्रिय सीमाहरू पार गर्ने विश्वव्यापी सङ्कट हो । जलवायु परिवर्तनले आफ्नो मार्गमा ल्याउने अस्तित्वजन्य सङ्कटमा न्याय र ऐक्यबद्धतामा आधारित विश्वव्यापी गठबन्धनभन्दा कमले कुनै प्रभाव पार्ने आशा गर्न सकिँदैन,’ उनले भनिन्, ‘त्यसैले, हामी सङ्कटमा परेका देशहरूले सजिलै पहुँच गर्न सक्ने पर्याप्त र प्रभावकारी क्षति र नोक्सानी कोषको लागि आह्वान गर्दछौँ ।’  नेपालजस्ता देशहरूको जोखिमलाई विश्वले स्वीकार गर्नुपर्ने र जलवायु वित्त, अनुकूलन सहयोग र प्रविधि हस्तान्तरणको प्रावधानमार्फत लक्षित न्यूनीकरण र अनुकूलन रणनीतिहरूलाई समर्थन गर्नुपर्ने उनको भनाइ छ ।  मन्त्री डा राणाले यो मञ्चले जलवायु परिवर्तन र क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र स्थिरता बीचको सम्बन्ध, साथै बसाइँसराइ, खाद्य सुरक्षा, मानवीय संकट र प्रकोप जोखिमहरूमा जलवायु परिवर्तनको प्रभावहरूमा विचार गर्ने अवसर प्रदान गर्ने उल्लेख गरिन् ।  यो संवादले जलवायु परिवर्तनको खतरा र मानव जातिको भविष्यको अस्तित्वजन्य खतराको सामना गर्न नयाँ विचारहरूलाई उप्रेरित गर्न, सहयोगलाई बढावा दिन र ठूलो राजनीतिक इच्छाशक्तिलाई परिचालन गर्न मद्दत पुग्ने उनको भनाइ छ ।