काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) स्थापना भएको दुई वर्षपछि सन् १९७७ मा नेपालमा एक वर्षमा जम्मा ८०१ वटा नयाँ सवारीसाधन दर्ता भएका थिए । आज देशभर करिब ५५ लाख सवारीसाधन दर्ता छन् । नयाँ सवारीसाधन दर्तामध्ये करिब ८४ प्रतिशत मोटरसाइकल छन् ।
यी दुई तथ्याङ्कबीच करिब पाँच दशकको अन्तर छ । यो परिवर्तन कुनै एकैपटकको योजनाबाट आएको होइन । दशकौँको विस्तारसँगै नेपालको अटोमोबाइल क्षेत्रले ठूलो आर्थिक तथा व्यावसायिक संरचना निर्माण गरेको छ ।
विगत पाँच आर्थिक वर्षमा नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात गरेको छ । त्यसबाट करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन भएको नाडाले जनाएको छ । पछिल्लो एक आर्थिक वर्षमा मात्रै यस क्षेत्रले राज्यलाई ७५ अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाएको छ ।
राजस्वबाहेक अटोमोबाइल क्षेत्रले देशभर ठूलो व्यावसायिक संरचना विस्तार गरेको छ । प्रत्येक प्रदेशसम्म फैलिएको डिलर सञ्जाल, पार्ट्स तथा आफ्टरमार्केट आपूर्ति शृंखला, तालिमप्राप्त मेकानिक र सर्भिस टेक्निसियन, सवारी खरिदलाई सहज बनाउने अटो फाइनान्स तथा आम उपभोक्तासम्म पुगेको सवारी बीमा यस क्षेत्रका महत्वपूर्ण पक्ष हुन् । त्यस्तै, उत्सर्जन, सुरक्षा तथा करसम्बन्धी नीतिमा सरकारसँगको निरन्तर संवाद पनि यस क्षेत्रको विकाससँग जोडिएको छ ।
यी संरचना एकैपटक बनेका होइनन् । यसका लागि दशकौँ लागेको छ । तर पछिल्ला केही वर्षमा नेपालको अटोमोबाइल क्षेत्रको कथा विस्तारै बदलिन थालेको छ । नाडाले मंगलबारदेखि नाडा अटो शो-२०२६ को आयोजना गर्दैछ । नाडाको ५०औं स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शोलाई स्वर्ण जयन्ती विशेष संस्करणका रूपमा आयोजना गरिँदैछ ।
नाडाको स्वर्ण जयन्ती संस्करणमा रहने ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियनमा नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिँदैछ । करिब ८ नेपाली उत्पादक सहभागी हुने उक्त प्याभिलियनमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट र हेल्मेटलगायतका उत्पादन प्रदर्शन गरिने जनाइएको छ । यसमा यात्री, एसियन ब्याट्रिज, कोहिनूर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायतका उत्पादक सहभागी छन् ।
स्वदेशी उत्पादनसँगै नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डको निरन्तर उपस्थिति रहने नाडाले जनाएको छ । ‘हामीले दिन खोजेको सन्देश यही हो, नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित छैन । हामी बिस्तारै आत्मनिर्भरता र स्वदेशी उद्योगतर्फ बढिरहेका छौँ,’ नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले भने ।