विकासन्युज

काठमाडौं महानगर दोस्रोपटक मेयर कपमा विजेता, पेनाल्टीमा गोदावरी पराजित

काठमाडौं । काठमाडौं महानगरपालिका ‘दोस्रो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को विजेता भएको छ । फाइनल खेलमा आयोजक गोदावरी नगरपालिकालाई पेनाल्टीमा ८–७ गोलले पराजित गर्दै महानगरपालिका दोस्रो शृङ्खलाको विजेता भएको हो । जितसँगै महानगरपालिकाको टीमले नगद ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता आयोजक गोदावरीलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ ।   गएको वर्ष सम्पन्न पहिलो खेलमा पनि महानगरपालिका विजेता भएको थियो । यस वर्षको फाइनल खेलको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि दुवै टीमलाई ५/५ पेनाल्टी गोलको अवसर दिइएको थियो । यसमा दुवै टीमले सबै गोल प्रहार गरे । त्यसपछि दिइएको ३/३ पेनाल्टी गोलको अवसरमा महानगरपालिकाले ३ र गोदावरी नगरपालिकाले २ गोल गरेको थियो ।  यस्तै मध्यपुर थिमीलाई फेयर प्ले टिमको उपाधि दिइयो । महानगरपालिकाका कोच सन्तोष न्यौपानेलाई वेस्ट कोच उपाधि प्राप्त भयो । सरोज तामाङ्लाई वेस्ट डिफेन्डर, सुदीप गिरीलाई प्लेयर अफ द फाइनल, गोदावरी नगरपालिकाका समीर तामाङ्लाई इनर्जिङ् प्लेयर, अरुण लामालाई हाइएस्ट गोल स्कोरर, पासाङ् लामालाई प्लेयर अफ द टुर्नामेन्ट र विवेक सिलवाललाई वेस्ट गोल किपर उपाधि प्रदान गरिएको थियो ।  गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेल मैदानमा हिजो (शुक्रबार) फाइनल खेल भएको थियो । खेलमा महानगरपालिका ‘समूह बी’बाट र गोदावरी ‘समूह सी’बाट फाइनलमा पुगेका थिए । महानगरपालिकाले पहिलो खेल चाँगुनारायण नगरपालिकासँग खेलेको थियो । यस खेलमा चाँगुनारायणलाई महानगरपालिकाले ५–० गोलले पराजित गरेको थियो । खेलमा राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ् र मनिष सेढाईँले महानगरपालिकाका लागि १÷१ गोल दिलाउनुभएको थियो । दोस्रो खेल मध्यपुर थिमीसँग खेलेको थियो । यस खेलमा सरोज तामाङ्ले गर्नुभएको १ गोलले महनगरपालिकालाई जिताएको थियो ।  महानगरपालिकाबाट प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीहरु  प्रतिस्पर्धामा उत्रिएका छन् । खेलाडीहरुको व्यवस्थापन खेलकुद विज्ञ नविन चित्रकारले गरेका थिए । प्रतियोगितामा काठमाडौं जिल्लाबाट काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपािलका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन् । यस्तै ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकासहित ५ वटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिकाले भाग लिएका छन् ।  

५२ वर्षको उमेरमा विद्यालय भर्ना भएकी वडासदस्य डल्लीदेवी भन्छिन् : पढेर साक्षर बन्ने सपना अब पुरा गर्छु

कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ । यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका-४ पर्सीयाकी डल्लीदेवी चौधरीले । बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन् । गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन् । चौधरी गाउँपालिका–४ को वडासदस्य हुन् । उनी पढ्नका लागि भर्ना भएको विद्यालय व्यवस्थापन समितिको सदस्य पनि हुन् । ‘सानैदेखिको विद्यालय गएर पढ्ने चाहना थियो’, उनले भनिन्, ‘पढ्नै पाइएन, सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्नुहुन्छ, मैले औँठा लगाउनुपर्ने हुन्छ, यस्तो अवस्थामा मनभित्र हीनताबोध हुन्छ ।’ पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेकाले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि विद्यालय भर्ना भएको उनले बताइन् । ‘विद्यालय व्यवस्थापन समितिको बैठकमा सहभागी सदस्यहरूले आफूले यति उति पढेको कुरा सुनाउन थाले आफू नपढेकाले हीनता महसुस गरेँ’, उनले भनिन्, ‘मैले पनि पढेको भए अहिले फुइ लगाउथे भनेर सोच्न थाले, बैठकमै सहभागी शिक्षकले उमेर जति भए पनि पढ्नका लागि उमेर तगारो हुँदैन भनेर हौसला बढाएपछि मनभित्रैबाट पढ्ने पुनः इच्छा पलायो, त्यसपछि भर्ना भए, विद्यालयबाट किताब लगेर अध्ययन गर्न थालेको छु ।’ वडाको कामले गाउँमा खटिनुपर्ने हुँदा नियमित विद्यालय जान नपाए पनि घरमा रहेका नातिनीहरूबाट बाह्राखरी, दुनालगायत पढ्न र सिक्न थालेको उनले बताइन् । समय मिलेको बेला कक्षामै अरू विद्यार्थीसँगै बसेर पढ्न पनि जाने गरेको उनले बताइन् । धेरै वर्ष पहिले गाउँमा सञ्चालन भएको अनौपचारिक (प्रौढ) कक्षामा क, ख र १, २ सिकेको भए पनि बाह्राखरी र दुना नसिक्दा पढन लेख्नबाट वञ्चित भएको उनी बताउँछिन् । अनौपचारिक कक्षामा पूरै समय दिन नसक्दा लेख्न र पढ्न जान्ने हुन नसकेको उनको भनाइ रहेको छ । ‘बुबा किसान (जमिदार)को घरमा कमैया भएर काम गर्नु हुन्थ्यो’, उनले भनिन्, ‘सानै छदा विद्यालय पढ्छु भनेर बुबालाई नभनेको होइन, उहाँले पढ्ने कुराप्रति फिट्टिकै ध्यान दिनुभएन, सानै भएकाले आफूले विद्यालय जाने हिम्मत गरिन्, १०/१२ वर्षको उमेर भएपछि गोठाला जान थाले त्यसपछि विद्यालय जाने कुरा बिर्सिए ।’ तेह्र वर्ष पुग्नै लाग्दा विवाह भयो । घरधन्दा गर्नमै उनका दिन बित्न थाले । ‘विवाह भएर आएपछि ससुरालमा भान्साको काम सुम्पियो’, उनले भनिन्, ‘पूरै परिवारका लागि साँझ बिहानको खाना पकाउनुपर्दथ्यो, खाना पकाउन, खुवाउन र भाँँडाकुँडा सफा गर्नमै दिन बित्थ्यो, बचेको समयमा खेतबारीमा काम गर्नमै ठिक्क हुन्थ्यो ।’ चुलोचौकाबाट फुर्सदनै नहुने भएपछि पढ्ने कुरा सोच्न पनि नपाइएको उनी बताउँछन् । ‘विवाह भएको तीन चार वर्षमै बच्चाबच्ची जन्मिए, बच्चाबच्चीलाई हुर्काउनमै समय बित्दै गयो’, उनले भनिन् । आफूले नपढे पनि छोराछोरीलाई पढाउनुपर्छ भनेर त्यसतर्फ लागेको उनले सुनाइन् । छोरीछोराले एसइई परीक्षा उत्तीर्ण गर्न नसके पनि छोरीलाई सीपमूलक कार्यमा संलग्न गराउनुपर्छ भनेर सिलाइकटाइको कार्य सिकाएर आत्मनिर्भर बनाएपछि विवाह गरेको उनी बताउँछिन् । छोरालाई इन्टरनेट जडानको कार्यको सीप सिकाएर आत्मनिर्भर बनाएको उनको भनाइ रहेको छ । उनले छोरीको विवाह भने गरी सकेकी छन् । ‘वडासदस्यमा पहिलोपटक निर्वाचित भएर आएपछि समाजका अगाडि बोल्न निकै गाह्रो हुन्थ्यो’, उनले भनिन्, ‘वडासदस्यमै दोस्रो कार्यकाल बित्न लागेको छ, अब सबैका अगाडि विकासका कार्य, सामाजिक कार्य, रीतितिथी बसाल्ने कार्यसँगैै गाउँमा हुने सामाजिक कार्यमा नियमित भाग लिने भएकाले बोल्न सिकेको छु ।’ उनी अगाडि भन्छिन्, ‘जनताको आवाज गाउँसभामा लगेर राख्न सक्ने भएको छु, केबल खाँचो छ पढ्न लेख्नको, त्यो पनि पूरा गरेरै छाड्छु ।’ उनका अनुसार पढ्नका लागि विद्यालय भर्ना भएपछि विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, गाउँपालिकाका जनप्रतिनिधि, गाउँका भद्रभलादमीले हौसला बढाउने कार्य गरिरहेका छन् । आउँदो स्थानीय तहको चुनावमा वडाध्यक्षको चुनाव लड्नुपर्छ, वडाध्यक्ष बन्नुपर्छ भनेर अहिलेदेखिने दबाब आउन थालेको उल्लेख गर्नुहुँदैन उनले चुनाव आउनअगावै पढ्ने लेख्ने कुरामा पोख्त बन्नका लागि निकै मेहनत गर्नुछ, त्यसैका लागि बढी समय दिन थालेको बताए । विद्यालयका प्रध्यानाध्यापक जगन्नाथ भट्टले वडासदस्य चौधरीलाई विद्यालयमा कक्षा १ मा भर्ना गरी पढ्नका लागि किताब उपलब्ध गराइएको बताए । ‘उहाँको पढ्ने प्रवल इच्छा रहेछ’, उनले भने, ‘उहाँकै इच्छाअनुसार भर्ना गरी कक्षामा सहभागी हुनका लागि आग्रह गरेका छौँ, उहाँलाई बाह्राखरीसँगै वर्णविन्यास, दुनालगायत लेख्न पढ्न सिकाउने कार्य गर्छौँ।’ खरर किताब पढ्ने र चुस्त दुरूस्त रूपमा हिसाब गर्न सक्ने गरी पढाएर निपूर्ण बनाउने उनले बताए । ‘वडासदस्यलाई पनि मेहनत गराउँछौँ’, उनले भने, ‘कक्षा शिक्षकहरूलाई सिकाउने कार्यमा बढी जोड दिन भनेका छौँ, भर्खरै कक्षा सञ्चालन भएकाले उहाँले कक्षामा सहभागी भएर पढ्ने इच्छा जाहेर गर्नुभएको छ पढ्नका लागि आउनुहुन्छ ।’ राजेन्द्रप्रसाद पनेरू/रासस

काठमाडौंमा सीप तालिमका लागि आवेदन खुला, ३४ विधामा निःशुल्क तालिम दिइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ ।  यही जेठ ७ गतेदेखि सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ क्षेत्रसँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको पनि झाले जानकारी दिए ।  यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य कामपाको छ ।   कामपाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडकपेटिमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरूलाई तालिमको प्राथमिकतामा राखिएको पनि कामपाले जानकारी दिएको छ । अठार वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ ।  तालिमका क्षेत्र र विधा दश वटा क्षेत्रका ३४ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ । दैनिक छ वटा कक्षा सञ्चालन गरेर १०० घण्टा तालिम दिइनेछ । आइसिटी क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अव्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी पाँच विधाका तालिम हुनेछन् । स्पेशल एविलिटी सपोर्ट स्किल (साउन सिन्ड्रोम, अटिजम) मा हाउस किपिङ् (पिडब्लुडी) र केयर सर्भिस गरी दुई वटा विधाका तालिम चल्नेछन् । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी चार विधाका तालिम हुनेछन् ।  गार्मेन्टमा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुई विधामा तालिम हुनेछन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच विधामा तालिम हुनेछ । हस्पिटालिीटमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी चार विधामा तालिम हुनेछ । अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारीसाधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी तीन विधामा तालिम सञ्चालन हुनेछ । आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ विधामा तालिम हुनेछ । ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ ।  कुषिमा फूलको सजावटसम्बन्धी तालिम हुनेछ ।  सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने र स्टक मार्केट तालिम हुनेछ ।   

इन्डोनेसियामा सेरेस थ्रीले जित्यो ३ वटा उत्कृष्ट ईभी अवार्ड

काठमाडौं । सेरेस ब्रान्ड होल्ड गर्ने पीटी सोकोनइन्डो अटोमोबाइलले सन् २०२५ को पेरिकलिन्डो इलेक्ट्रिक भेहिकल शो पेभ्समा आफूले हासिल गरेका गौरवपूर्ण उपलब्धिहरू सार्वजनिक गरेको छ । अप्रिल २९ देखि सुरु भएर मे ४ मा सम्पन्न भएको इन्डोनेसियाको सबैभन्दा ठूलो ईभी प्रदर्शनी ‘ईभी ल्याण्ड एक्जिबिसन’ मा सोकोनइन्डोले ‘सेरेस थ्री’का लागि फेवरेट कार लन्च, ‘सेरेस ईवान’का लागि मोस्ट अफोर्डेबल ईभी कार र ‘डीएफएसके गेलोरा ई’का लागि फेवरेट कमर्सियल भेहिकल गरी एकै पटकमा तीनवटा अवार्ड जित्न सफल भएको हो । यस सफलताले कम्पनीको इन्डोनेसियामा ईभी इकोसिस्टम बलियो बनाउने प्रतिबद्धता प्रमाणित गरेको छ । प्रदर्शनीमा विभिन्न ईभी मोडेलहरू प्रदर्शित गरिए पनि नयाँ जमानाका प्रोफेसनलको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको ब्याट्रीमा आधारित एसयुभी सेरेस थ्रीले ध्यान खिचेको कम्पनीले जनाएको छ ।

धेरैतिर फर्किएकाहरूलाई गलत विचारका आधारमा वाम एकतामा ल्याउन सकिँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारविना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन् । एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा शनिबार मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभई सही विचारमा अरूलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिए । 'सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा इतिहासदेखि नै देखा पर्दै आए । खास वैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका आधारमा दुई लाइनको कुस्ती चलाइयो । पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ,' अध्यक्ष ओलीले भने, 'पार्टी प्रवृत्ति भने सही धारमै जान खोज्दै आयो । मदन भण्डारीको अगुवाइमा ल्याइएको जनताको बहुदलीय जनवादको विचारले कम्युनिष्टहरू निरङ्कुश हुन्छन् भन्ने हामीमाथिको आरोपलाई खण्डन गर्यो । यो विचार राजनीतिक लोकतन्त्रका लागि मात्र होइन आर्थिक र सामाजिक तथा मानव अधिकारका प्रश्नमा समेत राष्ट्रिय नीतिका रुपमा स्थापित भइसकेको छ । यसै जगमा हामीले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी लाग्नुपर्नेछ ।' प्रधानमन्त्री ओलीले आफूहरूले शक्तिका स्रोत जनता नै हुन् भन्ने मान्यताका साथ जनताको शासन कायम गर्न खोजिएको उल्लेख गर्दै देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई आफूहरुले कहिल्यै नछोडेको स्पष्ट गरे ।  आफूहरूको नेतृत्वमा सरकार रहेकाले राजतन्त्र फर्काउने प्रतिगमनको प्रयास असम्भव र अस्वीकार्य भएको पनि उनको भनाइ थियो । उनले एमालेको नेतृत्वलाई बदनाम गरेर ढाल्न सकिने पार्टी ढाल्न सकिन्छ भन्ने तत्वहरुले अनेक षड्यन्त्र गरे पनि एमाले हरेक परिस्थितिको सामना गर्न तयार रहेकाले कार्यकर्ताहरूलाई एकताबद्ध भएर ढुक्कका साथ अघि बढ्न आग्रह गरे । एमालेले अग्रगतिका लागि निस्क्रिम कामना होइन, सक्रिय हस्तक्षेपको नीति लिँदै बताउँदै उनले विश्वमा दक्षिणपन्थ, जातीयता र अराजकतावादका कारण आन्दोलनमा क्षति भएको उल्लेख गर्दै आफूहरूले त्यस्ता कमीकमजोरी नगरी विविधतालाई सांस्कृति समृद्धि मानेर एकता र शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो लिएको बताए । विगतमा आफूले सरकारको नेतृत्व गर्दा पार्टीभित्रकै विग्रहवादी तत्वका कारण सरकार ढाल्ने र अदालतको आदेशबाट सरकार गठन गराउने गलत अभ्यास भएको पनि उनले टिप्पणी गरे । उनले जननेता भण्डारी कम्युनिष्ट आन्दोलनलाई समयानुकूल रुपमा हाँक्ने नीतिकार  रणनीतिकार भएको स्मरण गर्दै विश्वमा कम्युनिष्ट आन्दोलन धराशयी हुँदै गएका बेला जबजको वैचारिक अगुवाइमा पार्टीलाई लोकप्रिय र दुई तिहाइको अवस्थासम्म पुर्याएको बताए । कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, आश्रित पत्नी माया ज्ञवालीलगायत सहभागी भएका थिए । कार्यक्रममा अध्यक्ष ओलीसहित नेता कार्यकर्ताले दिवंगत नेताप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

नक्कली सुनको मूर्ति देखाएर २१ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने  प्रलोभनमा पारी २१ लाख ८५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभा धर्मदेवी नगरपालिका–३ बाइसजोरे बस्ने ४९ वर्षीय काशीनाथ पौडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी अपिलराज बोहराले जानकारी दिए । निजले गत मङ्सिर ८ गते जिल्ला धनकुटा नगरपालिका–४ घर भई हाल भक्तपुर मध्यपुरथिमी–६ बस्ने ३९ वर्षीय प्रेमकुमार विकलाई नगद १० लाख रुपैयाँ र गत चैत ११ गते सुनसरी बराहक्षेत्र नगरपालिका–१ घर भई हाल जिल्ला काठमाडौं न्युरोड बस्ने २४ वर्षीय राजकुमार विकलाई ११ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको सूचना अधिकारी बोहोराले बताए ।  

बुल्दीखोलामा ६ करोडमा समयअघि नै पक्की पुल निर्माण सम्पन्न, अब आवागमन सहज

दमौली । तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामा ६ करोड रुपैयाँ भन्दा बढी लागतमा पक्की पुल निर्माण गरिएको छ । सम्झौताभन्दा चार महिनाअगावै यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो । ६ करोड ५६ लाख ४३ हजार २७२ रुपैयाँ लागत अनुमान गरिएको पुलको ठेक्का ६ करोड एक लाख १७ हजार ३२४ रुपैयाँमा लागेको थियो । पुल निर्माणका लागि सङ्घ सरकारबाट एक करोड ३५ लाख रुपैयाँ सहयोग भएको थियो भने बाँकी रकम नगरपालिकाको स्रोत रहेको नगरपालिकाका सहायक प्रशासकीय अधिकृत भेषराज तिवारीले जानकारी दिए । विसं २०८० फागुन २३ गते सम्झौता पुलको काम वैशाख २२ गते सम्पन्न भएको थियो । विसं २०८२ भदौ ३० गतेसम्म पुल सम्पन्न गर्ने म्याद रहेको छ । पच्चीस मिटर लामो पुल सिङ्गल स्पान प्रविधिको हो । ज्वालामुखी कन्स्ट्रक्सन प्रालिले पुल निर्माण गरेको हो । पुल निर्माणपश्चात् दुई वडाका सर्वसाधारण लाभान्वित हुनेछन् । पक्की पुल निर्माण भएको स्थानमा यसअघि ह्युमपाइप कल्र्भट राखेर यातायात सञ्चालन भइरहेको थियो । बर्सातको समयमा बुल्दीखोलामा बाढी आउँदा उक्त कल्भर्टले पानीको बहावलाई रोक्दा वरपरको स्थानमा डुबान हुने गरेको थियो । जसका कारण आसपासका घर जोखिममा परेको र बसपार्क जान समेत समस्या हुँदै आएकामा अब भने सहज हुने भएको छ । यसैबीच निर्माण सम्पन्न भएको पुलको शुक्रबार सार्वजनिक परीक्षण गरिएको छ । व्यास नगरपालिकाको आयोजनामा तेस्रो पक्ष मूल्याङ्कन, स्थलगत अनुगमन तथा सार्वजनिक परीक्षण गरिएको हो । उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, विभिन्न वडाका अध्यक्ष, टोल विकास संस्थाका प्रतिनिधिको सहभागिता थियो । सो अवसरमा नगरपालिका अनुगमन तथा मूल्याङ्कन समितिबाट पुलको अनुगमन हुनुका साथै पूर्वाधार विकास कार्यालय तनहुँका इञ्जिनियर विजय थापाको पुलको पुनः मूल्याङ्कन गर्ने काम गरिएको छ । रासस

एनसेल फ्ल्याश सेल्समा अब आकर्षक डेटा प्याक, लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क पहुँच

काठमाडौं । एनसेलले प्रत्येक शनिबार सामाजिक सञ्जालमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँच उपलब्ध गराउने भएको छ । एनसेलले साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँच उपलब्ध गराउने भएको हो । यो अफर शनिबार (जेठ ३) बाट शुरु भई हरेक शनिबार जेठ ३१ गतेसम्म संचालनमा रहने छ । शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफर अन्तर्गत ग्राहकहरूले विभिन्न चार वटा प्याकहरु किन्दा बिना कुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राम वा अनलिमिटेड यूट्यूब पाउने छन् । सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ् सेवा भने उपलब्ध हुने एनसेलले जनाएको छ ।  एनसेलका अनुसार फ्ल्याश सेल्समा डबल मजा, डेटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी चार वटा प्याकहरु समावेश रहेका छन् । यस अफर अन्तर्गत ग्राहकले कर सहित १५० रुपैयाँमा डबल मजा प्याक लिँदा ७ दिन समयावधी रहेको ७ जीबी डेटा पाउने छन् । यस बाहेक एक दिन अर्थात २४ घन्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउँने सुविधा पाउने छन् । त्यसैगरी कर सहित २९९ रुपैयाँ पर्ने डेटा रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रुपमा २४ घण्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्ने छन् । ग्राहकले रुचाएका दुई होम एण्ड अवे रिन्यूअल प्याकहरु पनि यो अफरमा समावेश छन् । ५९९ रुपैयाँको होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घण्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउने छन् । अर्को ७९९ रुपैयाँको होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयावधी रहेको ६५ जीबी पाउँछन् र साथै २४ घन्टाका लागि यूट्युवमा अनलिमिटेड पहुँच पाउने एनसेलले जनाएको छ । यो फ्ल्याश सेल्स अफरले ग्राहकहरूलाई सुलभ दरमा डिजिटल अनुभव प्रदान गर्ने एनसेलको निरन्तरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । डेटा सेवाको माग र सामाजिक सञ्जालको प्रयोग बढिरहेको अवस्थामा, अनलिमिटेड सोसल मिडिया चलाउन सकिने सुविधा सहित आउने यी प्याकहरूले ग्राहकहरुलाई थप फाइदा प्रदान गर्ने एनसेलको दाबी छ ।