'सेयर प्रिमियम पुँजीकै स्वरूप हो, आयकर लाग्नु हुँदैन'
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आईक्यान)ले सेयर प्रिमियममा आयकर नलाग्ने व्यवस्था गर्न सुझाव दिएको छ । आईक्यानले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सेयर प्रिमियममा आयकर नलाग्ने गरी आर्थिक ऐन मार्फत स्पष्ट पार्न सुझाव दिएको हो । ‘सेयर प्रिमियममा आयकर लगाएको कारण पुँजी पलायन हुन सक्ने तथा वैदेशिक लगानीमा पर्न सक्ने नकारात्मक असर र अन्तर्राष्ट्रिय अभ्यासलाई मनन गर्दै पुँजीमा आयकर नलाग्ने गरी आर्थिक ऐन मार्फत स्पष्ट पार्न आवश्यक देखिन्छ,’ आईक्यानले आगामी बजेटका लागि दिएको सुझावमा उल्लेख छ । आर्थिक ऐन, २०८० ले आयकर ऐनको दफा ५६ (३) बमोजिम एफपीओबाट प्राप्त प्रिमियम रकमबाट बोनस सेयर वितरण गरेमा सो रकम आयमा समावेश गरी कर तिर्नुपर्ने र नतिरेको भए २०८० मंसिर मसान्तसम्म दाखिला गरेमा शुल्क तथा ब्याज मिनाहा हुने व्यवस्था उल्लेख गरेको थियो । जसले गर्दा एफपीओबाट प्रिमियम मूल्यमा सेयर जारी गर्ने तथा हकप्रद सेयरको लिलामीबाट सङ्कलन गरेको प्रिमियम मूल्यको रकममा आयकर लाग्ने अवस्था श्रृजना भएको छ । साथै, उक्त व्यवस्थाका कारण अन्तर्राष्ट्रिय आयकरको सिद्धान्त विपरीत भएको र कम्पनीहरूले विभिन्न शीर्षकमा पुँजी सङ्कलन गर्दा आयकर लाग्ने अवस्था सृजना भएको आईक्यानको ठहर छ । आयकर ऐन, २०५८ को दफा ५६ (३) मा कुनै निकायले कुनै हिताधिकारीलाई लाभांशको रुपमा मुनाफा बाहेकको लाभांश वितरण गरेमा त्यस्तो लाभांशको रकमलाई सो निकायको आय गणना गर्दा समावेश गर्नु पर्नेछ । तर, तोकिएको कुनै अवस्थामा यो उपदफामा उल्लेख गरिएको कुरा लागू नहुने गरी व्यवस्था गर्न सकिने उल्लेख छ । तर, आयकर नियमावलीमा भएको व्यवस्थाले व्यवसाय सञ्चालनको सिलसिलामा नभई अन्य कारणले मुनाफा बाहेकको लाभांश वितरण गरेमा आय गणना गर्दा समावेश गर्नुपर्ने छैन भनी थप स्पष्ट गरेको छ । आईक्यानका अनुसार दफा ५३ (१)र दफा ५३ (३) लाई अध्ययन गर्दा सेयर प्रिमियम रकमबाट बोनस सेयर जारी गर्दा निकायको सम्पति र दायित्वको मूल्य घट्ने नदेखिँदा सेयर प्रिमियमबाट बोनस सेयर जारी गरिएको रकम दफा ५३(१)(क) बमोजिम निकायको वितरण हुने आधार बलियो देखिंदैन । सेयर प्रिमियममा कर लगाउने सम्बन्धमा यस्ता छन् आईक्यानका सुझाव -सेयर प्रिमियम पुँजीकै स्वरूप भएको र यसलाई निकायको आयको रुपमा गणना गर्न मिल्दैन । आयकर आयमा मात्र लाग्ने र पुँजी योगदानमा नलाग्ने सर्वमान्य सिद्धान्त भएकोले सेयर प्रिमियम रकममा आयकर लाग्नु भनेको पुँजीमा कर लाग्नु सरह हो । पुँजीमा कर लाग्ने स्थिति भएमा पुँजी पलायन हुने वा लगानीको वातावरण बन्न नसक्ने स्थितिको सिर्जना हुन जाने हुँदा सेयर प्रिमियम रकम उपर कर लाग्ने व्यवस्था गर्दा सो तर्फ ध्यान दिनु उचित हुने देखिन्छ । - सेयर प्रिमियम प्राप्त भएकै बखत आय नहुने तर त्यही प्रिमियम बोनस सेयर वितरण गर्दा आय हुने भन्ने व्यवस्थाको स्पष्ट सैद्धान्तिक आधार छैन । आय लेखाङ्कनको समयको अवधारणा अनुसार यसलाई आय मान्न मिल्दैन । - आयकर ऐनको दफा ७ अनुसार व्यवसाय सञ्चालनबाट भएको मुनाफा वा लाभलाई मात्र कर प्रयोजनको लागि व्यावसायिक आय मान्ने व्यवस्था भएकोमा सेयर प्रिमियम व्यवसाय सञ्चालनसँग सम्बन्धित मुनाफा मात्र नभई लाभ समेत नभएको देखिन्छ । - सेयर प्रिमियमबाट जारी भएको बोनस सेयर ऐनको दफा ५३(३)को सर्त पुरा नभएकोले ऐनको दफा ५३ (१) ( क) अनुसारको वितरण भएको मान्न मिल्ने आधार देखिँदैन । - सेयर प्रिमियमबाट जारी भएको बोनस सेयर मुनाफाको पुँजीकरण नभएकोले ऐनको दफा ५३ (१) (ख) अनुसारको वितरण भएको मान्न मिल्ने आधार देखिँदैन । - आयकर प्रयोजनको लागि कम्पनी र सेयरधनीहरू छुट्टै किसिमले उत्तरदायी हुने हुँदा एफपीओ, वा अन्य कुनै माध्यमबाट प्राप्त प्रिमियम रकमबाट बोनस सेयर जारी गर्दा निकायलाई दफा ५६ (३) आकर्षित नभई निकायका सेयरधनीलाई दफा ७ वा ९ बमोजिम कर लाग्ने देखिन्छ । विधायिकी मनसाय पुँजीमा आयकर लगाउने भन्ने रहेछ भने पनि आयकर ऐन संशोधन गरी यस्तो कर नलाग्ने व्यवस्था गर्नुपर्ने आईक्यानको सुझाव छ ।
सिद्धार्थ बैंकका ग्राहकलाई होलिडे इन् रिसोर्टमा छुट
काठमाडौं । सिद्धार्थ बैंक र बुढानिलकण्ठस्थित होलिडे इन् रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकले उक्त रिसोर्टमा फुड तथा सफ्ट बेभरेजमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । ग्राहकहरूले सिद्धार्थ बैंकको डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुटको सुविधा प्राप्त गर्ने व्यवस्था मिलाइएको छ। बैंकले यस प्रकारका सहकार्यबाट नगद कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गर्न मद्दत पुग्ने विश्वास लिएको छ । सम्झौतासँगै बैंकले ग्राहकहरुलाई डिजिटल कारोबारमा आकर्षित गर्न 'सिद्धार्थ रिवार्ड्स' नामक लोयल्टी सेवा पनि सुरू गरिसकेको छ । जसअन्तर्गत डिजिटल माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई विभिन्न आकर्षक फाइदा प्रदान गरिन्छ । यस छुट तथा सुविधा सम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ घण्टा सञ्चालनमा रहेको ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् । सिद्धार्थ बैंकले भविष्यमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिँदै ग्राहकको सेवा अनुभवलाई अझ सहज र लाभदायक बनाउने जनाएको छ ।
५६ करोडको हिनामिना : मधेसका पूर्वअर्थमन्त्रीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमारसहित आठजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन अर्थमन्त्रीसहित आठ जनाले मिलोमत्तोमा ५६ करोड ७१ लाख रुपैयाँभन्दा बढीको सार्वजनिक सम्पत्ति हिनामिना गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध आयोगले सरकारी सम्पत्ति हानी, नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको हो। अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्लाहीको वागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन इन्जिनियर निरन्जन लामिछाने, तत्कालीन इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र मधेस प्रदेश अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेल छन् । दायर गरिएको मुद्दामा तत्कालीन मन्त्री विजय कुमारसँग २९ करोड ९९ लाख ८६ हजार १३५ रुपैयाँ, तत्कालीन नगरप्रमुख भरतकुमार थापासँग ५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ, तत्कालीन उपप्रमुख लीलाकुमारी मुक्तानसँग ५६ करोड ७१ लाख सात हजार २९२ रुपैयाँ र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसँग ५६ करोड ७१ लाख सात हजार २९२ रुपैयाँ बिगो दाबी गरिएको छ । यस्तै, तत्कालीन इन्जिनियरहरू निरन्जन लामिछानेसँग १० करोड १४ लाख ९५ हजार रुपैयाँ र सागर पौडेलसँग ४६ करोड ५६ लाख १२ हजार २९२ रुपैयाँ, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेलसँग ५६ करोड तीन लाख ३४ हजार ४०४ रुपैयाँ र तत्कालीन कानुन अधिकृतसँग २९ करोड ९९ लाख ८६ हजार १३५ रुपैयाँ बिगो दाबी गरिएको छ । अख्तियारका अनुसार सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रमा संघीय सरकार र मधेस प्रदेश सरकारको करोडौं रकम माछापोखरी निर्माण गरिएको थियो । त्यस क्रममा ठूलो मात्रामा अनियमितता भएको अनुसन्धानबाट देखिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को स्वीकृतिविना वन क्षेत्रमा विकासका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न नमिल्ने भए पनि उनीहरूले उक्त कार्य गरेको अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भैरहवा विमानस्थल छानबिन : संसदीय उपसमितिको संयोजकमा मञ्जु खाँण
काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे अध्ययन गर्न बनाइएको संसदीय उपसमितिको संयोजक नेपाली कांग्रेस सांसद मञ्जु खाँण चयन भएकी छन् । उपसमितिको आइतबार बसेको बैठकले खाणलाई संयोजक चयन गरेको हो । विमानस्थल निर्माणका क्रममा भएको अनियमितता र भ्रष्टाचार छानबिन गर्न नेकपा एमालेका सांसद योगेश भट्टराईको नेतृत्वमा उपसमिति बनाइएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले पूर्वमन्त्रीसमेत रहेका भट्टराई संयोजक हुँदा प्रश्न उठ्ने बताएका थिए । त्यसपछि भट्टराईले वैशाख २१ गते बसेको सार्वजनिक लेखा समिति बैठकमा आफू उपसमिति संयोजकमा नबस्ने बताएका थिए । यसअघिको बैठकमा एमाले सांसद अच्युतप्रसाद मैनालीको नाम प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि खाणलाई संयोजक चयन गरिएको हो । आजको बैठकमा भट्टराई र झा दुवै अनुपस्थित थिए । यसैगरी, बैठकले भैरहवा विमानस्थलको अध्ययन भ्रमण गर्ने निर्णय पनि गरेको छ ।
बीएलके म्याक्सको सीएमई सम्पन्न, कलेजो प्रत्यारोपण र चिकित्सा सहकार्यमा केन्द्रित
काठमाडौं । भारतको बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलद्वारा आयोजित कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम सम्पन्न भएको छ । कार्यक्रममा क्लिनिकल तथा ट्रान्सप्लान्ट हेपाटोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, लिभर रोग, ग्यास्ट्रोइंटेस्टाइनल तथा हेपाटो-प्यान्क्रियाटो–बिलियरी (एचपीबी) सर्जरी, लिभर ट्रान्सप्लान्ट लगायत विभिन्न विशेषज्ञता क्षेत्रमा कार्यरत चिकित्सकहरूको उल्लेखनीय उपस्थिति थियो । साथै, आन्तरिक चिकित्सा, ग्यास्ट्रोएन्टेरोलोजी, र सर्जिकल विभागका अनुभवी चिकित्सकहरू पनि सहभागी थिए । कार्यक्रममा चिकित्सा विज्ञानमा पछिल्ला प्रविधि र उपचार विधिहरूको आदान–प्रदान हुनुका साथै महत्वपूर्ण विषयमा गहन छलफल भएको छ । बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलका कलेजो प्रत्यारोपण सर्जन डा.अभिदीप चौधरीले 'कलेजो प्रत्यारोपणमा हालसालै भएका प्रगतिहरू' शीर्षकमा प्रस्तुति दिएका थिए । उनले कलेजो प्रत्यारोपण सम्बन्धी पछिल्ला वैज्ञानिक प्रगतिहरू, न्यून आक्रमणकारी प्रविधिहरू, सफलताका दर तथा पोस्ट-ट्रान्सप्लान्ट म्यानेजमेन्टका विषयमा जानकारी गराए । कार्यक्रममा कलेजो प्रत्यारोपणको क्षेत्रमा नेपाल र भारतबीचको सहकार्य र भविष्यका सम्भावनाहरूलाई पनि विशेष रूपमा जोड दिइएको छ । बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलले आयोजना गरेको कार्यक्रमको उदेश्य चिकित्सा पेशामा संलग्न चिकित्सकहरूलाई नवीनतम उपचार विधि, अनुसन्धान, तथा अन्तर्राष्ट्रिय अभ्यासहरूबारे जानकारी गराए । यसले नेपालका चिकित्सा क्षेत्रका विज्ञहरूसँग भारतका विशेषज्ञहरूबीच अनुभवको आदान–प्रदान गराउने प्लेटफर्मको रूपमा काम गर्ने चिकित्सकहरूले बताएका छन् । कार्यक्रमपश्चात चिकित्सकहरूबीच आपसी चिनजान, अनुभव साटासाट तथा सहकार्यको नयाँ सम्भावनाहरूबारे छलफल समेत गरिएको थियो । नेपाल र भारतबीचको स्वास्थ्य सेवामा सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो । बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलका तर्फबाट नेपालका लागि म्यानेजर सबिन कार्कीले भविष्यमा पनि यस्ता कार्यक्रमहरू नेपालमा नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाए ।
२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, १०० कम्पनीको मूल्य बढ्यो
काठमाडौं । पछिल्लो समय सेयर बजार घट्दो क्रममा रहेको छ । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले घटेर २६०८.०७ विन्दुमा झरेको छ । आज १०० कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३०९ कम्पनीको १ करोड ६९ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७० करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ५१ करोड, राधी विद्युत कम्पनीको ४८ करोड, युनिभर्सल पावर कम्पनीको ४३ करोड र हिमालयन रिइन्स्योरेन्सको ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ओम मेगाश्री फर्मा र छ्याङदी हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
पोखरादेखि पुनहिलसम्म पुग्दा बाटोमा जे-जे देखियो (फोटोफिचर)
काठमाडौं । पुनहिल नेपालकाे एक प्रसिद्ध पदयात्रा गन्तव्य हो, जुन पश्चिम नेपालकाे गण्डकी प्रदेशमा अवस्थित छ । यो स्थान मुख्यतया पर्वतीय दृश्यावलोकनका लागि प्रख्यात छ, विशेष गरी सूर्योदयको समयमा देखिने अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकहरूलाई आकर्षित गर्छ । पुनहिल म्याग्दी जिल्लाको घोरेपानी गाउँ नजिक, समुद्र सतहदेखि करिब ३ हजार २१० मिटर उचाइमा रहेकाे छ । यहाँबाट अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे (फिशटेल), निलगिरी, र अन्य धेरै हिमशृङ्खलाको स्पष्ट दृश्य देख्न सकिन्छ । पोखराबाट पुनहिलसम्मको यात्राका क्रममा देखिएका दृश्यहरू क्यामेरामा कैद गर्ने प्रयास गरेका छाैं । तस्बिरहरू : दीक्षा अर्याल/विकासन्युज
मखन आगलागी प्रकरण : छानबिन समिति गठन गर्न उपप्रमुख डंगोलको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिका-२८ मखनमा वैशाख ३१ गते बिहान भएको आगलागी समयमा नियन्त्रणमा लिन नसकिएकोप्रति गम्भीर ध्यानाकर्षण गर्दै उपप्रमुख सुनिता डंगोलले छानबिन समिति गठन गर्न निर्देशन दिएकी छन् । तीन वटा घरमा क्षति पुर्याएको उक्त आगलागीबारे महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निर्देशन दिँदै उपप्रमुख डंगोलले भनिन्, 'दमकल स्टेशन नजिकैको स्थानमा आगो नियन्त्रणमा लिन किन ढिला भयोरु दमकल समयमै किन पुग्न सकेन ? के पूर्वाधार समस्या हो कि मानवीय लापरवाही ?' उक्त दिन बिहान ६:५० बजे दयाराम श्रेष्ठको घरमा सुरु भएको आगलागी फैलिँदै रुकेश श्रेष्ठ, कैलाश श्रेष्ठ र विकास श्रेष्ठका घरमा समेत क्षति पुगेको थियो । आगलागीबाट धुवाँमा निस्सासिएर एक वृद्धाको ज्यानसमेत गएको थियो । उपप्रमुख डंगोलले वडाध्यक्ष विनोद कुमार राजभण्डारीसँगै घटनास्थलको निरीक्षण गरेपछि छानबिन आवश्यक रहेको निष्कर्षमा पुग्दै भनिन्, 'भौतिक मात्र होइन, मानवीय क्षति भएको छ । यस्ता घटनामा कसको कमजोरी भयोरु त्यसको जिम्मेवारी कसले लिन्छ ? सबै स्पष्ट हुनुपर्छ ।' उनले आगलागी नियन्त्रणमा ढिलाइ हुनुका पछाडि दमकलमा पानी नभएको, बाटोमा निर्माण सामग्रीले अवरोध गरेको, पूर्वतयारीको अभाव रहेको भन्ने गुनासो आएको जानकारी दिइन् । 'त्यस दिनको गल्ती दोहोरिन नदिन हामीले छानबिन समिति बनाउँदै छौँ,' उपप्रमुख डंगोलले भनिन्, 'आगामी दिनमा यस्ता घटनामा तयारी, प्रतिक्रिया र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे स्पष्ट सिफारिस पनि आवश्यक छ ।' समितिले दमकल, एम्बुलेन्स सेवा, स्थानीयवासी, जनप्रतिनिधि लगायतसँग छलफल गर्दै पूर्वतयारी, तत्कालीन प्रतिक्रिया, उद्धार र राहत व्यवस्थापनका विषयमा प्रतिवेदन पेश गर्नेछ ।