विकासन्युज

सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीका १६ लाख ३२ हजार श्रमिक आवद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताबाट अबौं संकलन गरेको छ । २२ लाख १३ हजार योगदानकर्ताहरूबाट कोषले ७९ अर्ब ४२ करोड संकलन गरेको हो ।  नेपालमै रहेर काम गर्ने भन्दा वैदेशिक रोजगारीमा जानेहरू कोषमा धेरै आबद्ध भएका छन् । कोषले सार्वजनिक गरेको तथ्यांक अनुसार १६ लाख ३२ हजार वैदेशिक रोजगारीमा गएका श्रमिकहरू कोषमा आबद्ध भएका छन् ।  हाल सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रका २० हजार ५ सय प्रतिष्ठानमा कार्यरत ५ लाख ८० हजार श्रमिक आबद्ध भइसकेका छन् ।  सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत कोषमा जोड्दै लैजाने बताए पनि धेरै विस्तार गर्न सकेको छैन । हालसम्म जम्मा ४६१ जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा आबद्ध भएका छन् ।  कोषका प्रवक्ता कृष्ण अधिकारीले सामाजिक सुरक्षा कोषमा आकर्षण पछिल्लो समय बढ्दै गएको बताए ।  उनले भने, –‘कार्यविधिहरु समयानुकूल परिमार्जन गरिएका छन्, सुरुसुरुमा केही दुविधा भएपनि सहभागिता उल्लेख्य बढेको छ । सामाजिक सुरक्षा कोषले सुविधाहरू पनि थप्दै गएको छ, यसले पनि आकर्षणलाई थप बढाएको हुनसक्छ ।’ सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा पनि सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको छ । जसअनुसार सरकारले सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण अनिवार्य गरेको छ ।  सरकारले २०७६ सालमा ल्याएको सामाजिक सुरक्षा कोषमा हालसम्म उद्योग प्रतिष्ठानलाई सूचीकरण हुन अनिवार्य गरिएको थिएन । यो नीति कार्यान्वयनमा आए अब भने सबै प्रकृतिका जुनसुकै सेवा सर्तमा रोजगारीमा संलग्नलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुपर्नेछ । ‘कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य सहकारी संस्थाको नवीकरण गर्दा श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई नियमित योगदान गरेको प्रमाण पेश गर्नुपर्ने कानूनी व्यवस्था गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ । यसले पनि उद्योग, प्रतिष्ठानहरूलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य जान थप दबाब पर्ने देखिएको छ ।  यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले चैत १५ गते मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी कोषबाट पेन्सन सुविधा पाउने बाहेकका सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा लैजाने निर्णय गरेका छन् । यो कार्यान्वयनमा गइसकेको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार संघीय, प्रदेश र स्थानीय तहको सञ्चित कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठान वा यस्तै कुनै निकायको कोषबाट पारिश्रमिक पाउने व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रूपमा सूचीकृत गर्न थालिएको छ ।  श्रम मन्त्रालयका अनुसार उनीहरूले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानी त्यसको २० प्रतिशत रोजगारदाताको रूपमा रहेको सरकार र ११ प्रतिशत श्रमिकको तर्फबाट कोषमा जम्मा गरिनेछ । यसले पनि अब सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको संख्या ठूलो मात्रामा बढ्ने देखिन्छ । 

पवित्र स्थलमा अपवित्र काम : पशुपतिमा जुवा खेल्दाखेल्दै कोषका प्रमुखसहित ७ जना समातिए

काठमाडौं । पशुपति क्षेत्र विकास कोष अन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात जनालाई नगदसहित प्रहरीले शनिबार पक्राउ गरेको हो ।  नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त गौशाखाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुकदेव खनालले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् । खनालले अभियुक्तमाथि अनुसन्धान कार्य अघि बढाइएको बताएका छन् । ‘पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । शनिबार बिदा भएकाले आइतबारदेखि आवश्यक कानुनी प्रक्रिया अघि बढ्छ,’ उनले भने । यसैबिच, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले अमालकोट कचहरीभित्रै जुवातास खेल्नेहरू पक्राउ परेको सूचना आफूले पाएको बताएका छन् । डा. थापाले प्रहरी अनुसन्धान सकिएपछि कोषको कर्मचारी सेवा नियमावलीअनुसार कारबाही अघि बढाइने प्रस्ट पारेका छन् ।  ‘सात जनामध्ये को दोषी को निर्दोष भन्ने कुरा प्रहरी अनुसन्धानपछि थाहा हुने नै छ । कोषको आफ्नै नियमावली छ । पशुपतिनाथ मन्दिर परिसरमै जुवातास खेल्नेमाथि नियमावलीअनुसार कारबाही हुन्छ,’ डा. थापाले भने ।

परम्परागत पेशालाई आधुनिक बनाउने सीईओ कार्की प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा व्यवसायी सम्मानबाट कार्की सम्मानित भएका हुन् । नेपालभरीका टेलरिङ क्षेत्रको प्रतिनिधीत्व गर्दै कार्कीलाई सम्मानित गरिएको हो । राज कार्की नेपाली सिलाई उद्योगमा संघर्षरत र प्रेरणादायी युवा उद्यमी हुन् । जसले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढंगबाट अगाडी बढाईरहेका छन् । उनले बिगत ७ वर्षदेखी सञ्चालन गरिरहेको बागबजारस्थित सुटमाला आधुनिक, वातावरणमैत्री र नविनतम सोच बोकेको ब्राण्ड हो । कार्कीले टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र मात्र नभई उद्यमशिलताको एक स्कुलका रुपमा स्थापित गर्न चाहन्छन् । उनको विचारमा दर्जी व्यवसायले नाफा मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र नेतृत्व क्षमता विकासको मान्यतालाई आगाडी सारेको छ ।   स्वदेशमा नै लगानी सुनिश्चित गरी उद्यमशिलताको प्रवर्द्धन गर्ने तथा मुलुकमा रोजगारी सिर्जनामार्फत स्वाधिन आत्मनिर्भर, उन्नतशील, समुन्नत र सम्बृद्धि अर्थतन्त्र निर्माणका लागि पुर्याएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै युवा व्यवसायी सम्मान प्रदान गरिएको हो । उक्त कार्यक्रममा कार्की लगायत अन्य दस जना विभिन्न क्षेत्रका व्यवसायीहरू सम्मानित भएका हुन् । स्वदेशमा लगानी, उद्यमशिलता प्रवर्द्धन र रोजगारी सिर्जनामा अतुलनीय योगदानको कदरस्वरुप उक्त सम्मान प्रदान गरिएको हो । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागले कार्यक्रमको आयोजना गरेको हो । विभागका प्रमुख कुवेर अधिकारीले स्वदेशमा रहेर लगानी तथा उद्यमशिलतामा सक्रि युवाहरुलाई थप उर्जा प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित उद्यमीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे । ‘मिहिनेत र लगनशिलताले मानिसलाई सफलता दिन्छ ।’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘काम र अनुभवले मानिसले नेतृत्वमा पुर्याउँछ ।’  

निसानको कारखाना कटौती योजना : जापान र विदेशका कारखाना बन्द गरी १० मा सीमित गर्ने तयारी

काठमाडौं । निसानले जापान र विदेशका केही कार एसेम्बली प्लान्टहरू बन्द गर्ने योजना बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जसमा मेक्सिकोको प्लान्ट पनि समावेश छ । कम्पनीले यसै साता अघि प्रस्तुत गरेको लागत कटौती योजनाअन्तर्गत यस्तो विचार भइरहेको हो । स्रोतहरूका अनुसार निसानले जापानको ओप्पामा कारखाना (जहाँ कम्पनीले १९६१ देखि उत्पादन सुरु गरेको थियो) र निसान शाताईद्वारा सञ्चालित शोनान प्लान्ट(जहाँ निसानको ५० प्रतिशत स्वामित्व छ) बन्द गर्ने सोंच बनाइरहेको छ । यस्तो भएमा जापानमा निसानसँग केवल तीनवटा मात्र कार एसेम्बली प्लान्ट रहनेछन् । विदेशमा निसानले दक्षिण अफ्रिका, भारत र अर्जेन्टिनामा रहेको उत्पादन बन्द गर्नुका साथै मेक्सिकोमा रहेका कारखानाको संख्या घटाउने योजना बनाइरहेको स्रोतले बतायो।  जापानको तेस्रो ठूलो कार निर्माता कम्पनी निसानले मंगलबार एक व्यापक लागत कटौती योजना सार्वजनिक गरेको थियो, जसअनुसार कम्पनीले आफ्नो कार्यबलको करिब १५ प्रतिशत घटाउने र हालका १७ विश्वव्यापी उत्पादन प्लान्ट घटाएर १० बनाउने जनाएको थियो । योमीउरी पत्रिकाले सबैभन्दा पहिले निसानले जापान र विदेशका कारखाना बन्द गर्न सक्ने सम्भावनाबारे रिपोर्ट गरेको थियो । रिपोर्ट अनुसार मेक्सिकोका दुई कारखाना बन्द गर्नेबारे विचार भइरहेको छ । यो पनि पढ्नूहोस्-  निसानको पतन या पुनर्जागरण ? चुनौतीपूर्ण मोडमा जापानी अटो कम्पनी निसानले आफ्नो वेबसाइटमा जारी विज्ञप्तिमा भनेको छ कि केही प्लान्टहरू बन्द हुनेबारेका रिपोर्टहरू अनुमानका आधारमा आएका हुन् र ती कुनै पनि आधिकारिक जानकारीमा आधारित छैनन् । 'हालको अवस्थामा हामी यस विषयमा थप टिप्पणी गर्नेछैनौं,' निसानले विज्ञप्तिमा भनेको छ,'हामी हाम्रा सरोकारवालासँग पारदर्शिता कायम गर्न प्रतिबद्ध छौं र आवश्यक परेमा सम्बन्धित जानकारीहरू सार्वजनिक गरिनेछ ।' नयाँ सीईओ इभान एस्पिनोसाले प्रस्तुत गरेको यो नयाँ रणनीति अघिल्लो सीईओ माकोटो उचिदाको रणनीतिबाट निकै फरक छ । उचिदाले विश्वव्यापी उत्पादन विस्तार गर्ने महत्त्वाकांक्षा राखेका थिए र जापानका कारखाना बन्द गर्न अस्वीकार गरेका थिए । आर्थिक वर्ष २०२४ मा निसानको बिक्री ३३  लाख इकाइमा सीमित भयो, जुन २०१७ को तुलनामा ४२ प्रतिशत कम हो । शनिबारको विज्ञप्तिमा निसानले मेक्सिको र अर्जेन्टिनाबाट निसान फ्रन्टियर र नवारा पिकअप उत्पादनलाई केन्द्रीय रूपमा मेक्सिकोको सिभाक कारखानामा एकीकृत गर्ने योजना पहिल्यै घोषणा गरिसकेको जानकारी गराएको छ ।  साथै मार्चमा फ्रेन्च साझेदार रेनोल्टले भारतस्थित संयुक्त उद्यम 'रेनोल्ट निसान अटोमोटिभ इण्डिया प्रालि 'मा रहेको निसानको सेयर किन्ने घोषणा गरिसकेको थियो। स्रोतका अनुसार यदि निसानले आफ्ना तोचिगी, निसान मोटर क्युसु र निसान शाताई क्युसु (फुकुओकामा अवस्थित) कारखाना मात्र सञ्चालनमा राख्यो भने पनि त्यसले घरेलु बजारको सेवा गर्न र निर्यात कायम राख्न पर्याप्त हुनेछ । ओप्पामा प्लान्टको वार्षिक क्षमता करिब २ लाख ४० हजार कारको छ र सन् २०२३ को अक्टोबर अन्त्यसम्म त्यहाँ करिब ३ हजाचर ९०० कर्मचारी कार्यरत थिए । सन् २०१० मा यो प्लान्टले नै लिफ- विश्वको पहिलो व्यावसायिक इलेक्ट्रिक कारको उत्पादन सुरु गरेको थियो । शोनान प्लान्ट जसले व्यवसायिक भ्यान उत्पादन गर्छ, वार्षिक १ लाख ५० हजार युनिटको उत्पादन क्षमता राख्छ र करिब १ हजार २०० जनाले त्यहाँ काम गर्छन् । टेस्लाको गेमप्लान : प्रयोग गरिएका गाडी ‘अपग्रेड’ गरेर दोब्बर मूल्यमा बिक्री !  

टिकटक रोडमा गुलमोहर हेर्न सडक किनारमै सेल्फी लिन ओइरिन्छन् पर्यटक

झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । 'कति पर्यटक आउँछन् भनेर तथ्याङ्क राखिएको छैन', गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले भने । पर्यटकको चहलपहल बढेपछि स्थानीय तहले सो स्थानमा सुविधाका लागि गत वर्ष खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ । साना होटल र चिया पसल पनि खुल्ने क्रम जारी छ । झापाबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि रहेको छ । चिया बगानको सदावहार हरियालीका माझमा ढकमक्क राताम्य भएर फुलेका गुलमोहरले हरेक यात्रुलाई आकर्षित गर्ने गरेको छ । शनिबार र सार्वजनिक बिदाका दिन अन्य दिनभन्दा बढी पर्यटक आउने गरेका अध्यक्ष प्रसाईँले बताए । पालिकाले गत वर्ष त्यस वरपर दुई सयभन्दा बढी गुलमोहरका बिरुवा रोपेको छ । पालिकाले गुलमोहरको रुख भएको सडक छेउको आधा किलोमिटर क्षेत्रमा ब्लक बिछ्याएर सडकलाई फराकिलो बनाएको छ । पर्यटकले त्यसलाई ‘टिकटक रोड’ नाम दिएका छन् । इलामको कन्याम, श्रीअन्तु, माइपोखरीलगायत पर्यटकीयस्थल जाँदै गरेका व्यक्ति गुलमोहरको सौन्दर्यबाट मोहित बन्ने गरेका छन् । यहाँबाट एक किलोमिटर उत्तर बुद्धशान्तिकै वडा नं ६ मा कोशी प्रदेशकै लामो झोलुङ्गे पुल रहेको छ । झोलुङ्गे पुल हेर्न जानेसमेत बाटैमा रहेको गुलमोहरको सौन्दर्यको आनन्द लिन भुल्दैनन् । गुलमोहरले आकर्षित गर्दा यहाँका सवारीसाधनहरुमा यात्रुको चाप बढाएकाे छ । रासस

गलकोटमा रक्तसञ्चार सेवा सुरु, अब पोखरा–काठमाडौं पठाउनुपर्ने बाध्यता हट्ने

बागलुङ । बागलुङको गलकोट अस्पतालमा ‘ब्लड बैंक’ (रक्तसञ्चार सेवा) सञ्चालनमा आएको छ । दाताले लाखौँ रुपैयाँको उपकरण सहयोग गरेपछि नगर अस्पतालमा रक्तसञ्चार सेवा सञ्चालन भएको हो । १४ लाख रुपैयाँको लागतमा दाताले यहाँ उपकरण तथा अन्य आवश्यक सामग्री सहयोग गरेपछि नगरपालिकाले १५ लाख रुपैयाँमा पूर्वाधार निर्माण गरी सेवा सुरु गरेको हो । पश्चिम बागलुङमा अहिलेसम्म रक्तसञ्चार सेवा नहुँदा हजारौँ नागरिकले समस्या भोग्नुपरेको हुँदा दातासँग सहकार्य गरेर सेवा सुरु गरेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । श्रीपाली बस्नेत समाज, रेडक्रस सोसाइटी जिल्ला शाखाले रक्तसञ्चार सेवाका लागि मेसिनलगायत अत्यावश्यक उपकरण दिएको उनको भनाइ छ । ‘नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ, दूरदराजका नागरिक सामान्य उपचारका लागि पहिले पोखरा, काठमाडौं जानुपर्ने बाध्यता थियो, अहिले नगर अस्पताल सञ्चालन गरेर विशेषज्ञ सेवा दिन थालेका छौँ’, नगरप्रमुख गैरेले भने, ‘अहिले नगर अस्पतालको सेवा प्रभावकारी बन्दै गएको छ, यहाँ रक्तसञ्चार सेवाको निकै खाँचो थियो, यसपालि विभिन्न दातासँग सहकार्य गरेर त्यसको पनि व्यवस्थापन गरेका छौँ ।’ गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले अस्पतालमा प्रसूति, शल्यक्रिया र गम्भीर दुर्घटनाका बिरामी आउने तर रक्तसञ्चार सेवा नहुँदा पोखरा, काठमाडौं रिफर गर्नुपरेको भन्दै अब त्यो समस्याको समाधान भएको बताए । पछिल्लो समय रक्तसञ्चार सेवा लिने बिरामीसमेत बढेको उनको भनाइ छ । शल्यक्रियामार्फत प्रसूति गराउने महिलालाई रक्तसञ्चार सेवाले महत्त्वपूर्ण सघाउ पुर्याउने डा. पौडेलले बताए । उनले भने, ‘गलकोट क्षेत्रमा एउटा ‘ब्लड बैंक’को अतिआवश्यक थियो, पहिले यो सेवा नहुँदा यहाँबाट महिनामा करिब १२–१५ जना बिरामीलाई टाढा पठाउन बाध्य थियौँ, अब चाहिँ यहीबाट सेवा दिनसक्ने भएका छौँ, यो सेवाले पश्चिम बागलुङका ६ वटा पालिकाका हजारौँ नागरिक लाभान्वित हुने छन् ।’ २०७९ सालदेखि सुरु भएको नगर अस्पतालमा हाल १५ शय्याको सेवा सुरु भएको छ । अस्पतालबाट अहिले भिडियो एक्सरे, अल्ट्रासाउन्ड, ल्याब, फिजियोथेरापी, आँखा उपचार केन्द्र, ओपिडी, सुत्केरी सेवासहित शव परीक्षण सेवा सञ्चालन भइरहेको डा. पौडेलले बताए । रासस

म्याग्दी नदीको कटान रोक्न सिङ्गा तातोपानीमा कम्पोजिट पर्खाल निर्माण, जोखिममा रहेका बस्तीलाई राहत

म्याग्दी । नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ। चालु आर्थिक वर्ष २०८१ /८२ मा सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले पक्की पर्खाल निर्माण गरेका हुन्। गत फागुनदेखि सुरु भएको दुईवटै योजना बर्खा सुरु हुनुअघि नै सम्पन्न भएको तातोपानीका बासिन्दा दिनेश केसीले बताए । एक करोड ५५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको साहाना–बिआरटी जेभी पर्वतले सरस्वती माविमुनि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरेको छ। यो योजनाका लागि दुई करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीन-तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर नरजङ गुरुङले बताए। जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले विनियोजन गरेको ५० लाख रुपैयाँ बजेटबाट ठेक्का पाएको कम्पनी शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडि पक्की पर्खाल निर्माण गरेको छ । यो ठेक्कामार्फत ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण भएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले बताए । विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए । फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ । यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा यसपालिदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताए । प्राकृतिक उपचार स्थलका रूपमा परिचित सिङ्गा तातोपानी र बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि चालु आवमा बहुवर्षीय स्रोत सुनिश्चित भएको १० करोड रुपैयाँ बजेटको योजना कार्यान्वयनका लागि पनि ठेक्का प्रक्रियामा छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर गुरुङका अनुसार तातोपानीमा एक सय दुई मिटर र बेनीको दरवाङ बजार पछाडि एक सय ६५ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो । रासस