विकासन्युज

सिरहामा लागुऔषधसहित ७१ लाख नगद बरामद, पाँच जना पक्राउ

सिरहा । सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना पक्राउ गरेको छ । प्रहरीले फरक–फरक स्थानबाट ७१ लाख तीन हजार नेपाली रुपैयाँ तथा ३५ हजार भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लहान नगरपालिका–२२ लबटोलीका ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीय किरणकुमारी यादवका साथबाट रु ५५ लाख र २०० ग्राम ब्राउन सुगर बरामद गरिएको हो । प्रहरीले उनीहरुका साथबाट गत शुक्रबार २१ ग्राम ब्राउन सुगर र रु ५१ हजार तथा दुई थान मोबाइल बरामद गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा उनीहरूको कोठा खानतलासी गर्दा थप ५४ लाख १४ हजार नेपाली रुपैयाँ तथा ३५ हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।  त्यसैगरी, उनीहरुका साथबाट थप १८० ग्राम ब्राउनसुगर पनि फेला परेको थियो । प्रहरीका अनुसार, उनीहरू व्यावसायिक ढङ्गले नै लागुऔषधको कारोबार गर्दै आएका थिए । उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई विस्तृत अनुसन्धान कार्य गरिरहेको सिरहा प्रहरीले जनाएको छ । अभियुक्त दिनेश यसअघि पनि लागुऔषध कारोबारको अभियोगमा छ महिना जेल सजाय भुक्तान गरिसकेका व्यक्ति भएको प्रहरीको भनाइ छ ।  यस्तै, प्रहरीले सिरहा नगरपालिका–१७ का ४५ वर्षीय सञ्जय कारकलाई शनिबार सिरहा–२ स्थित महावीर चोकबाट स्रोत नखुलेको रु १६ लाख ३८ हजारसहित पक्राउ गरेको थियो । प्रहरीले औरही गाउँपालिका–३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायलाई ७१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । रासस

फाफ्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौंमा सुरक्षित अवतरण

काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ ट्वीनअटर विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई सुरक्षित अवतरण गरिएको छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएपछि विमानचालकले विमानलाई काठमाडौं फर्काउने निर्णय लिएका थिए । बिहान ७ बजेर २४ मिनेटमा विमान सुरक्षित अवतरण भएको हो ।       विमानको इञ्जीनमा समस्या पहिचान भएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको जनाइएको छ । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार यात्रु थिए । यात्रुहरू सबै सुरक्षित रहेको पनि विमानस्थल कार्यालयले जनाएको छ ।  

हेटौँडा- काठमाडौं कान्ति लोकपथ सडकअवरुद्ध

बागमती । हेटौँडा-काठमाडौंं जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो ।  वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढ्न गई डाइभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । डाइभर्सन मर्मत गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।   

नाफामा सेरेस ग्रुप, गिगाफ्याक्ट्री स्वामित्वका लागि स्टक एक्सचेन्जको स्वीकृति

काठमाडौं । हुवावे टेक्नोलोजिजसँग सहकार्यमा विद्युतीय सवारीसाधन निर्माण गर्दै आएको चिनियाँ कम्पनी सेरेस ग्रुप सन् २०२४ मा पुनः नाफामा फर्किएको छ । उत्कृष्ट सवारी बिक्रीसँगै कम्पनीले रणनीतिक गिगाफ्याक्ट्री अधिग्रहणका लागि स्टक एक्सचेन्जबाट स्वीकृति प्राप्त गरेको कम्पनीले जनाएको छ। कम्पनीले सन् २०२४ डिसेम्बर ३१ मा समाप्त आर्थिक वर्षको लागि ५.५ अर्बदेखि ६ अर्ब चिनियाँ युआन (अन्दाजी ७५६ मिलियनदेखि ८२५ मिलियन अमेरिकी डलर) बराबरको नाफा आर्जन हुने अनुमान गरेको छ । अघिल्लो वर्षको २.४५ अर्ब युआन घाटासँग तुलना गर्दा यो महत्वपूर्ण वित्तीय सुधार हो । सेरेसले यो सफलता हुवावे सँगको सहकार्यमा निर्माण गरिएको सेरेस आइटो ब्रान्डका न्यू इनर्जी भेहिकलको तीव्र बिक्री वृद्धिलाई श्रेय दिएको छ । कम्पनीका अनुसार सन् २०२४ मा सवारी बिक्री ९७ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार युनिटमा पुगेको छ । यसमध्ये न्यू इनर्जी भेहिकलको बिक्री तीनगुणा वृद्धि भई ४ लाख २६ हजार ९०० युनिट पुगेको हो । साथै, लंगशेंग न्यू इनर्जी टेक्नोलोजी को अधिग्रहणका लागि ८.१७ अर्ब युआन (१.१२ बिलियन अमेरिकी डलर) बराबरको सेयर बिक्री योजनालाई शांघाई स्टक एक्सचेन्ज ले स्वीकृति दिइसकेको कम्पनीले जनाएको छ । उक्त कम्पनीको प्रमुख सम्पत्ति हो । गिगाफ्याक्ट्री, जसमा हाल सेरेसले आइटो सिरीजका सवारी उत्पादन गर्दै आएको छ । उक्त कारखाना अत्याधुनिक प्रविधियुक्त पूर्ण स्वचालित प्रणालीमा आधारित छ, जसमा ३ हजार भन्दा बढी रोबोटहरू समन्वयमा कार्यरत छन् । गिगाफ्याक्ट्रीको स्वामित्व सेरेसले प्राप्त गरेपछि कम्पनीको उत्पादन प्रक्रियामा स्थायित्व, गुणस्तर नियन्त्रण र प्राविधिक स्वायत्तता उल्लेखनीय रूपमा वृद्धि हुने बताइएको छ । अन्तिम स्वीकृति भने हाल चीनको सेक्युरिटिज रेगुलेटरी कमिसनबाट आउन बाँकी छ । यसबीच, सेरेस ग्रुपको सेयर मूल्य ५.१ प्रतिशतले घटे पनि पछिल्ला १२ महिनामा समग्र रूपमा झन्डै १७ प्रतिशतले वृद्धि भएको उल्लेखनीय तथ्य रहेको बताएको छ ।

कजारियाको नयाँ सोरुम गैंडाकोटमा उद्घाटन, प्रिमियम टायल्स सजिलै उपलब्ध

नवलपुर । कजारिया रमेश टाइल्स लिमिटेडले गैंडाकोटको नवलपुरमा नयाँ अत्याधुनिक सोरुमको उद्घाटन गरेको छ । न्यू राजस्थानी मार्बल एण्ड टाइल्स सप्लायर्स द्वारा सञ्चालित यो सोरुमले नेपालमा कजारियाको उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन प्रमुख अतिथिका रूपमा सहभागी भए । समारोहमा कजारिया रमेश टाइल्सका क्षेत्रीय सेल्स प्रतिनिधि विकास गौतम र राष्ट्रिय प्रबन्धक अभ्याश भूषण तिवारीको पनि उपस्थिति थियो। कार्यक्रममा प्रमुख अतिथिले रिबन काटेर शोरुमको औपचारिक उद्घाटन गरे । सो अवसरमा राष्ट्रिय प्रबन्धक तिवारीले कजारियाको उद्देश्य टिकाउ, उच्च गुणस्तर र आकर्षक डिजाइनयुक्त टायल्स नेपाली उपभोक्तासम्म पुर्‍याउनु रहेको बताए । गैंडाकोटको यो शोरुमले आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूका लागि प्रिमियम टायल्सको विस्तृत संग्रह उपलब्ध गराउनेछ । यसले ग्राहकलाई स्थानीय तहमै गुणस्तरीय सेवा र सजिलो पहुँच सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । नेपालभर कजारियाका प्रिमियम टायल्स सहजै उपलब्ध गराउने लक्ष्यका साथ कम्पनीले नवलपरासीमा देशकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट सञ्चालनमा ल्याइसकेको छ । ४०० करोड रुपैयाँको लगानीमा स्थापना भएको उक्त प्लान्टले वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्ने लक्ष्य राखेको छ ।   

टेलिकमको नाफा २ अर्ब ८४ करोड, ९ प्रतिशत घट्यो कुल आम्दानी

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)को चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ४८.६७ प्रतिशत घटेर २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आवको ९ महिनामा कम्पनीको आम्दानी ०.६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले २५ अर्ब ४८ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको वित्तीय आम्दानी ४६ प्रतिशत घटेर २ अर्ब ८० करोड ३५ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले ५ अर्ब १९ करोड ३३ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको थियो ।  चालु आवको चैतसम्म कम्पनीको कुल आम्दानी ८.८९ प्रतिशत घटेर २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले ३१ अर्ब २० करोड ४८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।   १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७२ अर्ब ७० करोड ७२ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४४ अर्ब १८ करोड रुपैयाँ र कुल चालु दायित्व २१ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।   कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १९.९६ रुपैयाँ घटेर २१.०५ रुपैयाँमा झरेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२.७४ गुणा रहेको छ   

ट्रेड टावरले जेठ १४ गतेदेखि आईपीओ बिक्री गर्ने, १ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । ट्रेड टावरले जेठ १४ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरि बाँडफाँट पश्चात् सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।  कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९ कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८४ कित्ता र कम्पनीका कर्मचारीलाई ७९ हजार ४३३ कित्ता सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए जेठ २८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।  

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल, सभामुख घिमिरे र पूर्वाधारमन्त्री दाहालको चासो

काठमाडौं । अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माई नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् । स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उनी भन्छन्, ‘पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ ।’ हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ । बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ । अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको बताए । ‘सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले चासो देखाउनुभएको छ,’ उनले भने, ‘उहाँहरूले पुलको अवस्था हेर्नु भएको पनि छ र आगामी वर्षको बजेटमा पुल पर्ने आशा गरेका छौँ ।’ नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पुग्ने बजेट नभएको जनाउँदै उहाँले सङ्घीय सरकारकै बाटो कुर्नु बाध्यता भएको बताए । पुल भासिएर काम नलाग्ने भइसकेको कारण मर्मतसम्भारबाट काम नचल्ने उनको भनाइ छ । वि.संं २०६५ सालमा भारत सरकारको २ करोड रुपैयाँको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए । सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपिन ढुङ्गानाले चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल नपरेको बताए ।