कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा
फुङ्लिङ । सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धनका लागि यही जेठ १५–१७ गते तीनदिने पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । सामुद्रिक सतहबाट तीन हजार ५१५ मिटर उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधताले भरिएको रमणीयस्थल हो । धार्मिक महत्वका साथै पर्यटन सम्भावनाले भरिपूर्ण यस क्षेत्रको समग्र विकासका लागि सिदिङ्वा धाम महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका अन्य प्रमुख पर्यटकीय गन्तव्य ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुङ्गालगायत स्थलको प्रचारप्रसार र प्रवर्द्धन पनि महोत्सवमार्फत गरिने छ । जैविक विविधताको संरक्षण, ग्रामीण तथा अन्तरराष्ट्रिय पर्यटनको विकास र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिका अध्यक्ष मानबहादुर राईले सिदिङ्वा धाम अन्तरराष्ट्रिय जैविक मार्गका रूपमा परिचित धार्मिक पर्यटकीय क्षेत्र भएकाले महोत्सवले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनका अनुसार पर्यटन गतिविधि बढेसँगै गाउँपालिकाको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने छ । गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले सिदिङ्वा धाम कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार भए पनि पर्याप्त प्रचारप्रसार नहुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताइन् । उनका अनुसार महोत्सवले स्थानीय तथा बाह्य पर्यटक आकर्षण बढाउने छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकका अनुसार महोत्सवमा सिदिङ्वा धाम दर्शन यात्रा, खेलकुद प्रतियोगिता, स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक प्रस्तुतिलगायत विविध गतिविधि रहने छन् । तीनदिने महोत्सवमा वडास्तरीय भलिबल प्रतियोगिता हुने छ । प्रतियोगिताका विजेतालाई नगद रु ५० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छभने उपविजेताले रु ३० हजार पुरस्कार पाउने छन् । त्यसैगरी, हाफ म्याराथन प्रतियोगिता पनि हुने छ, जसमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ४०, ३० र २० हजार पुरस्कार पाउने छन् । सांस्कृतिक कार्यक्रमअन्तर्गत नौमती बाजा, च्याब्रुङ नाच ९केःलाङ० तथा स्थानीय जातजातिका संस्कार–संस्कृति प्रदर्शन गरिने गाउँपालिकाले जनाएको छ । धार्मिक पर्यटनको दृष्टिले सिदिङ्मा धाम पछिल्लो समय आन्तरिक पर्यटकबीच लोकप्रिय बन्दै गएको छ । पछिल्लो समयमा भ्रमण गर्ने आन्तरिक पर्यटक उल्लेख्य वृद्धि भएको स्थानीय कैलाश राईले बताए । उनका अनुसार यसअघि सीमित पर्यटक मात्र पुग्ने सिदिङ्मा धाममा अहिले बढ्दो सङ्ख्यामा पर्यटक आउन थालेका छन् । धाम सिदिङ्वा गाउँपालिका–२ सादेवा र वडा नं ३ आङ्खोपको सीमामा अवस्थित छ । अहिले सिक्रेडाँडासम्म सडक पुगेपछि अझ सुलभ बनेको छ । सिक्रेडाँडाबाट सिदिङ्मासम्म करिब अढाइ घण्टाको पैदलयात्रा गर्नुपर्छ । यहाँबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गा, पाथीभरा (मुक्कुमलुङ), तिम्बुङ पोखरी, भारतका सिक्किम र दार्जिलिङका रमणीय दृश्य नजिकबाट अवलोकन गर्न सकिन्छ । धार्मिक मान्यताअनुसार सिदिङ्मा धामलाई सिद्ध नामक ऋषिले तपस्या गरेर मनोकाङ्क्षा पूरा गरेको स्थल मानिन्छ । दर्शनार्थीहरू यहाँ आफ्नो इच्छा पूरा हुने विश्वाससहित पूजाआजा गर्न पुग्ने गर्छन् । स्थानीयका अनुसार विशेषगरी वैशाख र असोजमा तथा ऋषि तर्पणीको समयमा सिदिङ्मामा उल्लेख्य सङ्ख्यामा धार्मिक पर्यटक पुग्ने गर्छन् । गाउँपालिका उपाध्यक्ष कडरियाले प्रचारप्रसारको अभावले पर्यटकको सङ्ख्या कम रहेको उल्लेख गर्दै पछिल्लो समय सामाजिक सञ्जाललगायत माध्यमले यस क्षेत्रमा पर्यटक बढ्न थालेको बताइन् । सिक्रेडाँडासम्म सडक ट्रयाक निर्माण, पदमार्ग, प्रवेशद्वार (गेट)लगायत संरचना निर्माण थालिएको उनले जानकारी दिइन् । गाउँपालिकाले सिदिङ्मा धाम क्षेत्रको थप प्रचारप्रसार र प्रवर्द्धनका लागि महोत्सवसहित दीर्घकालीन योजना बनाएको छ । हाल सिदिङ्मा धाममा स्थानीय, ताप्लेजुङका अन्य क्षेत्र र पाँचथरबाट पनि पर्यटक पुग्ने गरेका छन् । रासस
कैलाश डाँडादेखि हरित हिलसम्म पदमार्ग निर्माण, सिक्रेटारमा पर्यटन पूर्वाधार विस्तार
भोजपुर । अरुण गाउँपालिका–७ सिक्रेटार स्थित ‘कैलाश पर्वत र हरित हिल’ (पहाड)को संरक्षण थालिएको छ । यी सुन्दर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ संरक्षण तथा विकास थालिएको हो । कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताए । कैलाश डाँडाको संरक्षणका लागि पदमार्गसँगै आवश्यक संरचना निर्माण भइरहेको उनको भनाइ छ । कैलाश डाँडाबाट नजिकै रहेको हरित हिलसम्म पुग्नका लागि पनि पदमार्ग बनिरहेको वडाध्यक्ष थापाले बताए । प्रदेश सरकारबाट प्राप्त रु पाँच लाख बजेटबाट यहाँ कैलाश पर्वतसम्म पुग्ने पदमार्ग निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिए । यहाँका कैलाश पर्वत, हरित हिल, गौरीशङ्कर मन्दिर र सिंहदेवी मन्दिरलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्र बनाउने लक्ष्यका साथ कामको थालनी गरिएको वडाध्यक्ष थापाले बताए । पर्यटकलाई लक्षित गरेर वडा कार्यालय नजिकै रु १० लाख बजेटमा बाल उद्यानसमेत निर्माण गरिएको उनले जानकारी दिए । यहाँको कैलाश पर्वत, हरित हिललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यका साथ वडाले गरिरहेको कामले उत्साह थपिएको स्थानीयवासी टेकबहादुर बस्नेतले बताए । यहाँ कैलाश पर्वतसँगै गौरीशङक्र मन्दिर र सिंहदेवी मन्दिर रहेकाले यो स्थानको छुट्टै महत्व रहेको उनको भनाइ छ । 'यहाँको पर्यटकीय क्षेत्रको विकासमा स्थानीय सरकारले गरिरहेको काम राम्रो छ', उनले भने, 'कसैको नजर नपर्दा यी ऐतिहासिक स्थान संरक्षणविहीन बनेको अवस्था थियो । यी क्षेत्रको विकासपश्चात यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने हामीले अपेक्षा लिएका छौँ ।' कैलाश पर्वत र गौरीशङ्कर मन्दिरमा वर्षमा एकपटक भव्य मेला लाग्ने उनको भनाइ छ । मेलामा स्थानीयसँगै छिमेकी जिल्लाबाट समेत मानिसहरू दर्शन गर्न आउने उनले बताए । रासस
१६ अर्बको योजना : नारायणगढ–बुटवल सडकमा म्याद थपिए पनि काम अगाडि बढ्दै
त्रिवेणी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ । आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको छ । समग्रमा कुल भौतिक प्रगति ६६ दशमलब ५० प्रतिशत पुगेको छ । पुलहरूले ओगटेको क्षेत्रबाहेक एक सय १० दशमलव ४६ किमी कालोपत्र गर्नुपर्ने छ । पुलले तीन दशमलव ०७ किमी क्षेत्र ओगटेको सूचना अधिकारी खनालले बताए । हाल यस खण्डमा यात्रा गर्ने सवारीले ९३ दशमलव ९४ किमी कालोपत्र सडकमा यात्रा गर्न सक्ने उनले बताए । यो भनेको कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा यात्रा गर्न सकिने भएको सूचना अधिकारी खनालले बताए । उनका अनुसार यस खण्डमा काम गर्नुपर्ने बाँकी क्षेत्र अधिकांश दाउन्ने खण्डमा रहेको छ । सोहीअनुसार दाउन्ने खण्डमा काम केन्द्रित गरिएको छ । दाउन्ने क्षेत्रमा हाल कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र उक्त खण्डमा सडक ढलानको कामसमेत जारी रहेको छ । दाउन्ने खण्डको यात्रालाई जतिसक्दो छिटो सहज बनाउने योजनाअनुसारको काम जारी छ । नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल एक सय १३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा पनि काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरको सर्भिस लेन हुने छ । दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुने छ । राजमार्ग विस्तारको महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रीले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । तर अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै छ । उक्त क्षेत्रमा सामान्य वर्षा हुँदा पनि बाटो चिप्लो भएर घण्टौँ जाममा पर्नुपर्ने बाध्यता छ । रासस
सिन्धुलीमा एभरेष्ट बैंकको १३२औँ शाखा, बागमतीमा शाखा संख्या ४७ पुग्यो
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारलाई जारी राख्दै सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा १३२औँ शाखा स्थापना गरेको छ । यस शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । जेष्ठ ५ गते आयोजित समारोहमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा शाखाको उद्घाटन गरे । कार्यक्रममा वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो । उद्घाटन समारोहमा मेयर पोखरेलले बैंकको उपस्थितिले सिन्धुलीवासीका लागि गुणस्तरीय बैंकिङ सेवा सुनिश्चित हुने विश्वास व्यक्त गरे । अध्यक्ष डा. वैद्यले शाखा मार्फत सरल, सुरक्षित र आधुनिक सेवा प्रदान गर्दै स्थानीय आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । बैंकले नयाँ शाखाबाट स्थानीय बासिन्दालाई अत्याधुनिक, सहज र सुलभ बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।
हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा एससीटी-युपिआइ कार्डमार्फत भुक्तानी गर्दा छुट हुने
काठमाडौं । हेल्थी च्वाइस एस्थेटिक अस्पताल र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच भएको सहकार्यपछि अब एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले अस्पतालका सम्पूर्ण अफरहरूमा थप छुट पाउने भएका छन् । सम्झौता अनुसार, एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्ने ग्राहकहरूले ब्लड टेस्ट, छाला, कपाल तथा दन्त उपचारसम्बन्धी सेवा अफरहरूमा ५ प्रतिशत सम्म छुट पाउनेछन् । त्यस्तै, ओपीडी परामर्श, ईमप्लान्ट, प्लास्टिक सर्जरी, कसमेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, सोप्रानो हेयर रिमुभल प्याकेज तथा आउटसोर्स सेवा तथा उपकरण शुल्कमा हुने अफरहरूमा २.५ प्रतिशत छुट प्रदान गरिनेछ। एससीटीको नेटवर्कमा हाल ५ ‘क’ वर्गका, ६ ‘ख’ वर्गका, ११ ‘ग’ वर्गका बैंक तथा १०० भन्दा बढी सहकारी संस्था आबद्ध छन् । उनीहरूबाट जारी गरिएको एससीटी–युपिआइ कार्ड भएका ग्राहकहरूलाई यो अफर विशेष लाभदायक हुने अपेक्षा गरिएको छ। एससीटी कार्ड नभएका इच्छुक ग्राहकहरूले पनि नजिकको एससीटी सदस्य बैंक वा सहकारीमा सम्पर्क गरी सजिलै कार्ड प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य र सौन्दर्यसँग सम्बन्धित सेवा उपयोगलाई अझ सहज र किफायती बनाउन यो सहकार्य प्रभावकारी हुने दुवै संस्थाले विश्वास व्यक्त गरेका छन् ।
सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ काठमाडौंमा हुने
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ । विश्वभरका पर्वतारोहीलाई एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव आदानप्रदान गर्ने, साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट एलाइन्स नेपालले यही जेठ १३ मा सम्मेलन आयोजना गर्न लागेको हो । नेपालले पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौंमा आयोजना गर्न लागेको एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिए । उनका अनुसार सम्मेलनमा भाग लिन हालसम्म १६ देशका एक सय ७७ आरोहीले नाम दर्ता गराइसकेका छन् । सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका विश्वभरका पाँच सय आरोहीको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्वीट्जरल्याण्ड, नर्वे, इरान, सिङ्गापुर, अष्ट्रेलिया, लेवनान, मोरक्को, युएईलगायत मुलुकका आरोहीहरूले सहभागिता जनाउनेछन् । 'सम्मेलनमा ७१ वर्षअघिदेखिका सगरमाथा आरोहीको सहभागिता रहनेछ । कीर्तिमानी आरोहीको अनुभव आदनप्रदान हुनेछ । फरक क्षमता भएका कीर्तिमानी आरोहीको प्रस्तुति रहनेछ', अध्यक्ष नेपालले भने । उनका अनुसार सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलोपटक हुन लागेको सम्मेलनमा पहिलोपटक सर एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गरिनेछ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावका बारेमा बृहत् छलफल हुने अध्यक्ष नेपालले जानकारी दिए । हिमाल आरोहीका समस्या र आरोहणका क्रममा भएका खुसीको आदानप्रदान हुनेछन् । प्रकृतिका लागि विश्वव्यापी कोष (डब्लुडब्लुएफ), अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), समृद्ध पहाडलगायत विभिन्न सङ्घसंस्थाको सहभागितामा हिमालका समस्याका बारेमा आरोहीसँग समूहगत छलफल गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । पर्यटन व्यवसायीको छाता संस्थाहरू नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्ट), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाललगायत संस्थाको समन्वय र सहकार्य रहेको अध्यक्ष नेपालले जानकारी दिए । सम्मेलनले नेपाल भ्रमण गर्न आउने तथा बढी खर्च गर्ने पर्यटकलाई हौसला प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ । नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटनमा महत्त्वपूर्ण इभेन्टका रूपमा आयोजना हुने यस समिटर सम्मेलन साहसिक पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । रासस
मध्यपहाडी लोकमार्ग : हरिचोक-याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
कास्की । निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी रहेको छ । हालसम्म हरिचोकबाट जौवारी चेकपोष्टसम्म एकतर्फी कालोपत्र सकिएको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले झण्डै डेढ किमी सडक एकतर्फी कालोपत्र सकिएको जानकारी दिए । उनले भने, 'हरिचोक–याम्दी खण्डमा अहिले एकतर्फी कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रमा दुवै खण्डमा काम सम्पन्न गर्ने योजनामा छौँ ।' हरिचोक–याम्दी सडक १८ मिटर फराकिलो हुने छ । त्यसैगरी नालासहित २१ मिटर रहेको आयोजनाले जनाएको छ । यस खण्डमा अस्फाल्ट कालोपत्र १५ सेमी बाक्लो हुने छ । लामो समयसम्म यस सडकको काम सुस्त हुँदा राजमार्गमा यात्रा गर्ने यात्रीले सास्ती पाएका थिए । दुई किमी २०० मिटर लामो सडक निर्माणमा ढिलाइ हुँदा हिउँदमा धुलो र बर्खायाममा हिलोको समस्याले यात्रा कष्टकर हुने गरेको थियो । सडक निर्माण सुस्त भएपछि स्थानीयले सडकमै उत्रिएर काम छिटो गर्न दबाब दिएका थिए । पोखरा हरिचोकका भानुभक्त अधिकारीले ढिलै भए पनि कालोपत्रको काम सुरु भएकामा खुसी व्यक्त गरे । लामो समयसम्म सडक नबन्दा आफूहरूले धेरै सास्ती पाएकामा अब सजिलो हुने उनको विश्वास छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई वर्षमा सक्नेगरी २०७९ साल साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिसँग मूल्यअभिवृद्धि करसहित रु ४८ करोड लागतमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो । साविकको पोखरा–बाग्लुङ राजमार्गमा पर्ने यस सडक हुँदै पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपूर्वलगायत जिल्लाबाट दैनिक सयौँ सार्वजनिक तथा निजी सवारीका साधन पोखरा आवतजावत गर्ने गर्छन् ।
पाइपलाइनमा रहेका १४ कम्पनीको आईपीओ अस्वीकृत, नेटवर्थ ९० रुपैयाँभन्दा कम हुनु मुल कारण
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सर्वसाधारण सेयर (आईपीओ) निश्कासनका लागि पाइपलाइनमा रहेका १४ वटा कम्पनीको प्रस्ताव फिर्ता पठाएको छ । सेबोनले ९० रुपैयाँ नेटवर्थ नपुगेको भन्दै १४ वटा कम्पनीको प्रस्ताव फिर्ता पठाएर पुनः निवेदन दिन निर्देशन दिएको हो । जसमा ६ वटा हाइड्रोपावर कम्पनी रहेका छन् । सेबोनका अनुसार प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ नपुगेका कम्पनीलाई पाइपलाइनबाटै हटाइएको हो । ती कम्पनीलाई पुनः निवेदन दिन निर्देशन दिइएको हो । सेबोनका अनुसार प्रभु हेलिकप्टर, कान्तिपुर टेलिभिजन, एकर्ड फर्मा, अन्नपूर्ण केबुलकार, सानिमा हाइड्रोपावर, रिचेक जलविद्युत, लाफिङ बुद्ध, पुवा खोला जलविद्युत र बेनी हाइड्रोपावर लगायतलाई पुनः निवेदन गर्न निर्देशन गरेको हो । २०८१ जेठमा लेखा समितिले प्रतिसेयर ९० रूपैयाँ नेटवर्थभन्दा कम भएका कम्पनीको सेयर जारी गर्न रोक्का गरेको थियो । तर, ती कम्पनीले भने नेटवर्थ सम्बन्धि कुनै कानूनी व्यवस्था नै रहेको अवस्थामा सेबोनले यस्तो निर्देशन दिएको गुनासो गरेका छन् ।