सूर्य नेपाल च्यालेन्ज भोलिदेखि सुरु, ३६ प्रोफेसनल र ११ एमेच्योर खेलाडी सहभागी हुने
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४(२५ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ । ७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । ३६ होलको समाप्तीमा कट लागू हुनेछ । जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले बाँकी ३६ होलको लागि स्थान बनाउनेछन् । चार दिने प्रतियोगितालाई थप रोमाञ्चक बनाउन कोर्सलाई पनि सोहीअनुसार कठीन बनाइएको छ । नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी, यो सिजन उत्कृष्ट फर्ममा रहेका निरज तामाङ, साविक विजेता रवि खड्का, दिनेश प्रजापति र भारतीय गल्फ टुर खेलिरहेका शुक्रबहादुर राईजस्ता खेलाडीहरूबीच उपाधिको लागि प्रतिस्पर्धा हुने सम्भावना रहेको छ। यो पटक नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले व्यक्तिगत कारण सहभागीता नजनाउने भएका छन् । सदभाव सहभागी नहुने भए पनि अर्का एमेच्योर राहुल विश्वकर्माले प्रोफेसनल खेलाडीहरूलाई कडा चुनौती दिन सक्ने आँकलन गरिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख रुपैयाँ रहेको छ। विजेताले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशस् ७० हजार र ५० हजार हात पार्नेछन् । साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरूले पनि नगद प्राप्त गर्नेछन् ।
सुर्ती नियन्त्रणमा असाधारण योगदानका लागि भन्दै विश्व स्वास्थ्य संगठनद्वारा स्वास्थ्य मन्त्री पौडेल पुरस्कृत
काठमाडौं । सुर्ती जन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाललाई विश्व स्वास्थ्य संगठनले पुरस्कृत गरेको छ। विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५ का लागि नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महानिर्देशकको विशेष सम्मान अवार्ड प्राप्त गरेको हो । विश्व स्वास्थ्य संगठनको ७९ औं सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा। टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई पुरस्कृत गरेका हुन् । हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा असाधारण योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने शिलशिलामा यस वर्ष नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पुरस्कृत गरिएको संगठनले जनाएको छ । मन्त्री पौडेलले सुर्तीजन्य पदार्थको बट्टाको अग्रभाग र पछाडि शतप्रतिशत चेतावनीजन्य सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थासम्बन्धी निर्णय गरेका थिए । अब यो निर्णय कार्यान्वयनमा आउनेछ । सरकारको यस निर्णयलाई विश्व स्वास्थ्य संगठनले असाधारण योगदान भनेको छ ।
रिलायन्स फाइनान्स नेपाल पे कार्ड र एनपीएस-एनसीएसमा आबद्ध
काठमाडौं । रिलायन्स फाइनान्स र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । एनसीएचएलले हालै एनपीएस एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको छ । यस अनुरूप विभिन्न बैंक तथा वित्तीय संस्था नेपाल पे कार्ड र एनपीएस एनसीएसमा क्रमशः आबद्ध हुँदैछन् । नेपाल पे पूर्वाधारको कमर्शियल रोलआउटपछि रिलायन्स फाइनान्सले आफ्ना ग्राहकहरूलाई नेपाल पे कार्ड इस्यू तथा अक्वायर गर्न सक्षम हुनेछ । एनपीएस एनसीएसलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टका लागि एक केन्द्रीय कार्ड स्विचको रूपमा स्थापना गरिएको छ । यस प्रणालीको पूर्ण कार्यान्वयनले डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नयाँ उपकरणहरूको विकास तथा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला हुँदै
काठमाडौं । नेपालमा टिभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्न लागेको छ । यो मेला जेठ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार यस विशेष मेलामा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी सजिलै घर लैजान सक्नेछन् । साथै, मेलामा विभिन्न आकर्षक अफर र रमाइलो मनोरञ्जनका कार्यक्रमहरू पनि आयोजना गरिने छन् । मेलाको सुरुमै, जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारी प्रि-बुकिङ गर्ने ग्राहकहरूले ५ हजाररुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन् । पुरानो सवारीको न्यूनतम मूल्याङ्कन ३० हजार रुपैयाँसम्म सुनिश्चित गरिएको छ भने ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागिताले ग्राहकलाई सबैभन्दा उच्च मूल्याङ्कनको भरोसा दिने कम्पनीले जनाएको छ । त्यसैगरी, ग्राहकहरूले ८ हजार रुपैयाँसम्म नगद छुट र १० हजार रुपैयाँसम्म थप मूल्याङ्कन पाउने मौका पाउनेछन् । साथै, शून्य प्रतिशत ब्याजदरमा पनि सवारी किन्न सकिने सुविधा उपलब्ध हुनेछ (नियम तथा सर्तहरू लागू हुने) छ । नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकलाई हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपहार स्वरूप प्रदान गरिने छ । मेलामा विभिन्न मनोरञ्जन कार्यक्रमहरू समेत हुनेछन् । लाइभ ब्यान्ड प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, खेलकुद, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्र समेत तयार गरिनेछ। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो र उत्सवको माहोल प्रदान गर्नेछ ।
२०२५ मा आउँदैछ ठूलो आर्थिक संकट : रोबर्ट कियोसाकीले दिए चेतावनी
काठमाडौं । प्रशिद्ध लेखक रोबर्ट कियोसाकीले फेरि एक पटक चेतावनी दिएका छन् । उनका अनुसार यस वर्ष अर्थात् २०२५ मा ठूलो आर्थिक संकट आउनसक्छ । यस संकटका कारण १.६ ट्रिलियन डलर (करीब २१९.२ लाख करोड रुपैयाँ) एकैचोटि डुब्न सक्छ । तर कियोसाकीले यस संकटबाट कसरी बच्न सकिन्छ भन्ने पनि बताएका छन् । कियोसाकीले उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्ट गरेका छन् । त्यसमा उनले पहिले कसरी आर्थिक संकटहरू आएका थिए भन्ने बताएका छन् । उनले लेखेका छन्, ‘सन् १९९८ मा वाल स्ट्रिटले मिलेर लङ टर्म क्यापिटल म्यानेजमेन्ट (एलटीसीएम) नामक एक हेज फन्डलाई बचाएको थियो । सन् २००८ मा केन्द्रीय बैंकहरूले वाल स्ट्रिटलाई बचाएका थिए । अब सन् २०२५ मा मेरो साथी जिम रिकड्र्स सोध्दैछन् कि केन्द्रीय बैंकहरूलाई को बचाउने ?’ संकट हरेक पटक अझ खतरनाक कियोसाकीको विश्वास छ कि हरेक पटक संकट अझ खतरनाक बन्दै गएको छ किनभने यसको वास्तविक कारण कहिल्यै ठीक गरी समाधान गरिएको छैन । उनका अनुसार यो समस्याको सुरुवात सन् १९७१ मा भएको थियो । त्यो बेला अमेरिकाका राष्ट्रपतिको रूपमा रिचर्ड निक्सनले डलरलाई सुनको मापदण्डबाट हटाएका थिए । कियोसाकीको भनाइमा यसले पैसाको वास्तविक मूल्यलाई समाप्त गर्यो र यहींबाट समस्या सुरु भयो जुन अहिले अझ बढ्दै गएको छ । कियोसाकीका साथी र आर्थिक मामिलाका विशेषज्ञ जिम रिकर्ड्स पनि यस कुरामा सहमत छन् । उनीहरूको मान्छन् कि १.६ ट्रिलियन डलरको विद्यार्थी ऋण डुब्न सक्छ र यही अर्को आर्थिक संकटको कारण बन्न सक्छ । यस्तो छ बच्ने उपाय कियोसाकीका अनुसार सरकार वा सेयर बजारबाट तपाईंलाई कुनै सहयोग पाउनु पर्ने छैन । तपाईंले आफै आफ्नो सहायता गर्नुपर्ने हुन्छ । कियोसाकीले मानिसहरूलाई सल्लाह दिन्छन् कि उनीहरूले सुन, चाँदी र बिटकोइनजस्ता वास्तविक सम्पत्ति किनून् । उनका अनुसार यदि आर्थिक रूपमा बलियो रहन चाहनुहुन्छ भने आफै केही गर्नु पर्ने हुन्छ र अरूमा भरोसा गर्नु हुँदैन । उनले आफ्नो किताब ‘रिच ड्याड पुअर ड्याड’ मा वित्तीय संकटहरूको विषयमा लेखेका छन् ।
साल्ट ट्रेडिङ उपभोक्ता सुरक्षाको आधार बनिरहेको छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले रैथाने बालीबाट उत्पादित बस्तुहरुको बजारीकरण गर्न साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी)ले महत्वपूर्ण योगदान दिएको बताएका छन् । सोमबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेशनको संयुक्त आयोजनामा आयोजित उपभोक्ता सुरक्षाबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अत्यावश्यक बस्तुको व्यापार र आपुर्तिमा एसटिसीले पनि महत्वपूर्ण भुमिका निर्वाह गरेको पनि उनले बताए । यसैगरि दशैं तिहार जस्ता चाडपर्वमा कम्पनीले सुपथ मूल्य पसल सञ्चालन आपुर्ति श्रृंखलालाई थप व्यवस्थीत गराएको उनको भनाइ छ । यसले मंहगी नियन्त्रणमा सहयोग पुगेको पनि उनले बताए । गत दशैंमा एसटीसीले चिनीको आपुर्ति राम्रो गराएर सम्भावित अभाव हुन नदिएको उनको भनाइ छ । ‘आपुर्ति श्रृंखला व्यवस्थीत गर्न यो सँस्थासँग नजिक भएर काम गर्ने कुरामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर यो छलफल गरिहेका छौं । सरकारको नीतिलाई कार्यान्वयन गर्ने महत्वपूर्ण व्यवसायिक संस्थाको रुपमा यसले काम गरिरहेको छ,’ उनले भने, ‘आपुर्ति श्रृंखलामा देखिएको विविध समस्या समाधान गर्न सहयोग गर्नेछौं ।’
सरकारले आयोजना गर्ने कार्यक्रममा नआउनेको रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नबोलाउनू : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेहरुलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गरे । कुनैपनि सरकारले आयोजना गरेका कार्यक्रमहरुमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरेको भन्दै उनीहरुको रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिए । कुनै अर्थ र महत्व नै नबुझ्नेहरुको नाम सधैँ झुन्ड्याइरहने काम राम्रो नभएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने । मानका खातिर मानको चलन चाहीँ छोड्दा पनि हुन्छ की क्यो हो । कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ । हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने ।’ प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाउनुपर्ने र सरकारी कार्यक्रममा मात्रै भर पर्न नहुने बताए ।
महिलाको साहस र संघर्षलाई इनड्राइभको सम्मान, वृत्तचित्रमार्फत विश्वसामु प्रस्तुत
काठमाडौं । अन्यायलाई चुनौती दिने र समुदायलाई सशक्त बनाउने उद्देश्यका साथ अघि बढिरहेको ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले, महिला सशक्तिकरण, सामाजिक न्याय, र समुदायमा आधारित परिवर्तनलाई केन्द्रमा राख्दै निर्माण गरिएको एक सशक्त नेपाली वृत्तचित्रको समर्थन गर्न पाएकोमा गर्व गर्दछ । यो सहकार्यले इनड्राइभको कोर भ्यालू –निष्पक्षता, समानता, र समाजमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँछ । कम्पनीका अनुसार समाजमा निहित असमानतासँग लड्न र प्रत्येक व्यक्तिलाई अवसरमा पहुँच दिलाउन इनड्राइभले प्रारम्भदेखि नै निष्पक्षता, सशक्तिकरण, र वास्तविक कथाहरूको प्रवर्द्धन गर्दै आएको छ । यही सिद्धान्तअनुरूप, यस वृत्तचित्रको समर्थनले स्थानीय समुदायका प्रेरणादायी कथाहरूलाई विश्वमाझ पुर्याउँदै, समतामूलक समाज निर्माणको दिशामा योगदान पुर्याउने विश्वास इनड्राइभले लिएको छ । समतामूलक पहुँच र न्यायको जगमा निर्माण गरिएको इनड्राइभको यात्रामा, यस्ता सशक्त स्थानीय कथाहरूले अझ प्रेरणा दिनेछन् र समुदायमा वास्तविक परिवर्तन ल्याउनका लागि मार्गदर्शन गर्नेछन् । चलचित्र मार्फत आवाजहरूलाई सशक्त बनाउने अभियान कथा–वाचन (स्टोरीटेलिङ) एक शक्तिशाली माध्यम हो, जसले समुदायहरूबिच जागरूकता फैलाउने मात्र होइन, परिवर्तनको वकालत गर्ने प्लेटफर्मसमेत प्रदान गर्छ । विशेषगरी, नेपालसहितका विभिन्न देशहरुमा, महिलाहरूले विभिन्न सामाजिक र सुरक्षा सम्बन्धी चुनौतीहरूको सामना गरिरहेका छन्, र वास्तविक जीवनका कथाहरूले साहस, संघर्ष, र सफलताको प्रेरणादायी यात्रा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छ । स्थानीय आवाजलाई बुलन्द पार्ने र न्यायको पक्षमा दृढतापूर्वक उभिने उद्देश्यका साथ, इनड्राइभले नेपालमा महिलाहरूले भोगेका सुरक्षा चुनौतीहरू र उनीहरूले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरूलाई उजागर गर्ने वृत्तचित्रहरूलाई समर्थन गर्दै आएको छ । यस पहलले नारी सशक्तिकरणलाई अगाडि बढाउँदै त्यसका साथमा हुने संघर्ष र जितहरूलाई विश्वसामु प्रस्तुत गर्न सहयोग पुर्याउँछ । इनड्राइभको यो अभियान समुदायमा सकारात्मक परिवर्तनको लागि आवाज उठाउने, समानताको पक्षमा दृढतापूर्वक उभिने, र स्थानीयस्तरमा भएका क्रियाकलापहरूलाई थप प्रेरणा प्रदान गर्ने दीर्घकालीन प्रतिबद्धताको एक हिस्सा हो । कम्पनीले महिला सुरक्षाको क्षेत्रमा मात्र नभई, समुदायको हकहित र अधिकार सुनिश्चित गर्नका लागि पनि सामाजिक अभियानहरूलाई निरन्तरता दिँदै आएको छ । वृत्तचित्रमार्फत प्रस्तुत गरिने यी कथाहरूले नारीहरूको आत्मविश्वास, संघर्ष र सफलतालाई सम्मानपूर्वक प्रस्तुत गर्दै, अन्यलाई पनि परिवर्तनको पक्षमा उभिन र सशक्त बन्न प्रेरित गर्नेछ । नवीनता र प्राविधिक उत्कृष्टताको दिगो समर्थन इनड्राइभले वृत्तचित्रहरूमा मात्र सीमित नभई रचनात्मकता र प्राविधिक नवीनतालाई प्रोत्साहन गर्ने विभिन्न प्लेटफर्महरूलाई निरन्तर समर्थन गर्दै आएको छ । इनड्राइभद्वारा आयोजित ‘अल्टरनेटिभा फिल्म अवार्ड‘ यसको उदाहरण हो, जहाँ परम्परागत धारणालाई चुनौती दिने र नदेखाईएका कथाहरू उजागर गर्ने स्वतन्त्र फिल्महरूलाई विशेष अवसर प्रदान गरिन्छ । यस पहलले कलात्मक अभिव्यक्तिलाई सामाजिक परिवर्तनको शक्तिशाली माध्यमको रूपमा प्रयोग गर्दै, फरक दृष्टिकोण र कथाहरूलाई विश्वव्यापी मञ्चमा पुर्याउँछ । हालै सम्पन्न भएको इन्डोनेसियाको योगाकार्तामा आयोजित अल्टरनेटिभा फिल्म अवार्डमा नेपालबाट समेत उत्कृष्ट वृतचित्र तथा फिल्महरु सर्टलिस्टमा समावेश हुनु इनड्राइभको यो अभियानको महत्वपूर्ण उपलब्धि हो । इनड्राइभले सिर्जनात्मकता मात्र नभई प्राविधिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु‍र्याउँदै आएको छ । यसैको प्रमाणस्वरूप, इनड्राइभले ‘अरोरा टेक अवार्ड‘ मार्फत प्रविधिमा सक्रिय रहेका महिला इनोभेटरहरूलाई सम्मान गर्दै आएको छ । यो अवार्डले नारी सशक्तीकरण र लैङ्गिक समानतालाई प्रोत्साहित गर्दै, प्रविधिमा महिलाहरूको पहिचान र योगदानलाई उच्च सम्मान प्रदान गर्दछ। इनड्राइभको यो अभियानले डिजिटल वल्र्डमा महिलाहरूको पहुँचलाई विस्तार गर्दै सामाजिक प्रगतिमा थप प्रेरणा दिन्छ । इनड्राइभका यी पहलहरू मार्फत सिर्जनात्मकता, प्राविधिक उत्कृष्टता र सामुदायिक विकासलाई एकैसाथ अघि बढाउन र समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यलाई पनि मजबुत बनाएको छ । इनड्राइभ एशिया प्यासिफिक (एपीएसी) क्षेत्रका पब्लिक पोलिसी एण्ड रिजनल अफेयर्सका हेड एन्टोन एम्ब्रोसले भने, ‘इनड्राइभ, असमानतालाई चुनौती दिने सिद्धान्तहरूमा आधारित प्लेटफर्म हो, नेपाली महिलाहरूको जीवनसंघर्ष र शक्तिलाई यथार्थपरकरूपमा प्रस्तुत गर्ने यस प्रेरणादायी वृत्तचित्रलाई समर्थन गर्न पाउँदा हामी अत्यन्त गर्व महसुस गर्दछौं । महिलाहरूले देखाएको सौहार्दता, साहस र सम्मानको लागि गरेको संघर्ष इनड्राइभको निष्पक्षता र समानताको मिशनसँग गहिरोरुपमा जोडिन्छ । हामी विश्वास गर्छौं कि यस्ता कथाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्दछ । इनड्राइभले नेपाली फिल्म निर्माताहरूलाई अन्तर्राष्ट्रिय स्तरको ‘अल्टरनेटिभा फिल्म अवार्ड‘ मा भाग लिन प्रोत्साहन गर्दै आएको छ, जसले उनीहरूको सिर्जनशीलता र कथनशैलीलाई विश्वसामु प्रस्तुत गर्ने अवसर प्रदान गर्छ। साथै, नेपाली महिला उद्यमीहरूलाई ‘अरोरा टेक अवार्ड‘ मा सहभागी भई आफ्नो नवीन सोच र क्षमतालाई प्रवद्र्धन गर्न पनि प्रेरित गर्दै आएको छ ।‘ कम्पनीका अनुसार यस वृत्तचित्रले केवल चलचित्रको रूपमा सीमित नरही, स्थानीय कथा वाचनको महत्त्व र समुदायिक नेतृत्वमा आधारित पहलहरूको एक शक्तिशाली प्रमाण प्रस्तुत गर्दछ । यसले समाजमा भइरहेको परिवर्तनशील गतिविधिहरूलाई उजागर गर्दै, सामुदायिक समस्याहरूको समाधानका लागि स्थानीय नेतृत्वलाई प्रोत्साहन गर्दछ । इनड्राइभले नेपाल लगायत अन्य विभिन्न देशहरूमा पनि यस्ता प्रेरणादायी अभियानहरूलाई समर्थन गर्दै, जनचेतना अभिवृद्धि, निरन्तर संवाद र सकारात्मक कार्यहरूको लागि प्रेरित गर्ने लक्ष्य लिएको छ । यो पहलले स्थानीय स्तरमा मात्र नभई अन्तर्रााष्ट्रिय मञ्चमा समेत सशक्त समुदाय निर्माणको संदेश प्रवाह गर्ने अपेक्षा राखिएको छ । इनड्राइभले समुदायमा आधारित यस्ता अभियानहरू मार्फत सामाजिक न्याय, महिला सशक्तिकरण र सामुदायिक नेतृत्वलाई ससक्तरुपमा अगाडि बढाउँदै आएको छ । यस किसिमका गतिविधिहरूले सामाजिक सचेतना अभिवृद्धि गर्दै दीर्घकालीनरुपमा सकारात्मक परिवर्तनको बाटो तयार पार्ने विश्वास लिएको छ ।