उपसमितिले बुझाएको प्रतिवेदनमाथि शिक्षक महासंघको आपत्ति
काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधन गर्न गठित संसदीय उपसमितिले बुझाएको प्रतिवेदनमा शिक्षक महासंघले आपत्ती जनाएको छ । शिक्षकसँग गरिएका सम्झौतालाई वेवास्ता गर्दै उपसमितिले प्रतिवेदन बुझाएको भन्दै शिक्षकहरूले ध्यानाकर्षण गराएका छन् । ‘प्रतिवेदनले नेपाल शिक्षक महासङ्घको हिजोको आन्दोलन र विगतमा भएका सहमतिको सम्मान गरेको देखिएन,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलबहादुर थापाले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ । ‘आन्दोलनको मर्म र विगतका सहमति बिर्सेर कतिपय सवालमा प्रतिवेदन प्रस्तावित विधेयक भन्दा पनि पश्चगमन तर्फ उन्मुख छ । अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार) र विशेष शिक्षा लगायतका लागि प्रस्तावित आन्तरिक प्रतिस्पर्धाको प्रतिशत सहमति बमोजिम राखिएको छैन । त्यति मात्र होइन, त्यस प्रबन्धमा अस्थायी करार र सिकाइ अनुदान शिक्षकलाई छुटाइएको छ । स्थायी शिक्षकको आवधिक बढुवाको लागि प्रस्तावित अवधि सहमति अनुसार छैन भने प्रस्तावित अवधिमै पनि शर्तहरू राखेर शिक्षकलाई बढुवा हुन नदिने प्रपञ्च मिलाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ । लामो समय अस्थायी सेवा गरेर स्थायी भएका शिक्षकको अस्थायी सेवा अवधिको गणना गर्ने कुरा प्रतिवेदनमा नआएको भन्दै महासंघले आपत्ती जनाएको छ । यस्तै निवृत्तभरण प्रयोजनका लागि अस्थायी अवधिबाट सेवा थप्ने कुरामा समेत सहमती पालना नगरिएको, शिक्षकको सरुवा आम शिक्षकको भावना विपरीत प्रस्तावित गरिएको, जिल्लामा शिक्षाको एकाइ हटाएर शिक्षक–कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमान माथि प्रहार गरिएको भन्दै आपत्ती जनाएको छ । महासंघले अब समितिमा हुने छलफलबाट शिक्षक-कर्मचारी विरोधी प्रबन्धहरु हटाएर विगतमा भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी सुझाव सहितको प्रतिवेदन तयार पार्न आग्रह गरेको छ । यदि विज्ञप्तिमा उल्लेख गरिएका कुरा विद्येयकमा नसमेटिए अब अगाडिकै आन्दोलन भन्दा ठूलो र बलियो आन्दोलन लिएर सडकमा आउने चेतावनी शिक्षकहरूले दिएका छन् ।
गोपनियतासँग जोडिएका सूचनाहरू दिन जरुरी छैन : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले गोपनियतासँग जोडिएका सूचनाहरू दिन जरुरी नरहेको बताएका छन् । मंगलबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले संविधानले नागरिकलाई सूचनाको हकको अधिकार दिएको तर मुलुकको शान्ति सुरक्षा, मुलुकको प्रतिरक्षा, वैदेशिक सम्बन्ध, कुटनीतिक सम्बन्ध लगायतका सूचनाहरू दिन जरुरी नरहेको स्पष्ट पारे । यि सूचनाहरू मुलुकको प्रतिरक्षासँग जोडिएकाले पारदर्शिता, सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने जिकिर गरे । यसले मुलुकलाई अराजकतामा लैजाने बताए । संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी रहेको उल्लेख गरे । गृहमन्त्री लेखकले भने, ‘सूचनाको हक दिने हाम्रो कर्तव्य हो । सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो । सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन । कतिपय सूचनाहरू गोपनियतासँग जोडिएका हुन्छन् । वैदेशिक सम्बन्धसँग जोडिएका हुन्छन् । कुटनीतिक सम्बन्धहरुसँग जोडिएका हुन्छन् । सूचनाको हकको रेफ्रि सूचना आयोग नै हो ।’ गृहमन्त्री लेखकले सूचना नलुकाइकन दिन पनि आग्रह गरे । सूचना लुकाउनुपर्ने भए गोपनियताको यस कारण दिन सकिएन भन्नेकुरा लेखेर दिन आग्रह गरे ।
यी हुन् सेबोनले आईपीओको पाइपलाइनबाट हटाएका १४ कम्पनी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विभिन्न १४ कम्पनीलाई सेयर निष्काशनको अनुमतिका लागि पुनः आवेदन दिन पत्राचार गरेको छ । ९० रुपैयाँ भन्दा कम नेटवर्थ रहेका कम्पनीलाई धितोपत्र बोर्डले पुनः निवेदन दिनुपर्ने भन्दै पत्राचार गरेको हो । एपेक्स हस्पिटालिटी, अर्किड होल्डिंग्स, अन्नपूर्ण केबल कार, ठमेल प्लाजा होटल एण्ड सुइट्स, रिचेत जलविधुत कम्पनी, बेनी जलविद्युत परियोजना, लाफिङ बुद्ध पावर नेपाल, युनिक हाइडेल कम्पनी, पुवा खोला–वान हाइड्रोपावर, एकर्ड फार्मास्युटिकल्स, सोपन फार्मास्युटिकल्स, कान्तिपुर टेलिभिजन नेटवर्क, प्रभु हेलिकप्टरलाई पुनः आवेदन दिन पत्राचार गरेको हो । यी कम्पनी पुनः मूल्याङ्कन नगरी रियल नेटवर्थ ९० भन्दा कम नेटवर्थ रहेको बोर्डले जनाएको छ । साथै, सानिमा हाइड्रोपावरलाई विद्युत उत्पादनको अनुमतिको बाँकी अवधि करिब १२ वर्ष भएको तथा विद्युत खरिद बिक्री सम्झौताको समाप्त हुने अवधि ५ वर्षभन्दा कम भएकाले निवेदन फिर्ता गराएको हो ।
कालीमाटीमा बिक्रीका लागि ल्याइएको हरियो धनियाँमा ९९ प्रतिशत विषादी
काठमाडौं । कालीमाटीमा बिक्रीका लागि ल्याइएको हरियो धनियाँमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । काभ्रेपलाञ्चोकबाट मंगलबार कालीमाटी तरकारी बजारमा ल्याइएको हरियो धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिको आग्रहमा केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी बजारका १७ वटा पसलबाट संकलन गरिएको १७ थरी तरकारी तथा फलफूलको विषादी परीक्षण गरेको थियो । परीक्षणमा हरियो धनियाँमा अत्यधिक मात्रामा विषादी भेटिएको पुष्टि भएको हो । विषादीको मात्रा अत्यधिक भएका कारण ती धनियाँ उपभोगका लागि अयोग्य घोषित गरिएको छ । हालको मापदण्ड अनुसार ३५ प्रतिशतभन्दा कम विषादी भएको तरकारी उपभोगयोग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म भएको खण्डमा केही दिनपछि मात्र उपभोग गर्न मिल्ने व्यवस्था छ । तर ४५ प्रतिशतभन्दा बढी विषादी भएको तरकारी वा फलफूल खान नहुने मापदण्ड सरकारले बनाएको छ ।
गभर्नर बन्ने पक्का भनिएका विश्वमाथि पनि ओलीको प्रश्न, गृहमन्त्रीमार्फत देउवालाई पठाए यस्तो सन्देश
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय थप पेचिलो र रहस्यमयी बन्दै गएको छ । गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनेको दुई महिना पुग्नै लाग्दा पनि अहिलेसम्म एक पटक पनि समितिको बैठक बस्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा समितिको बैठक बस्न सकेको छैन । सोमबार धेरैले नयाँ गभर्नरको नियुक्ति हुन्छ भन्ने अपेक्षा गरेका थिए तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक नै स्थगित गरिदिए । नेपाली कांग्रेसले पनि सोमबार मन्त्रिपरिषद् बैठक बसेर यसअघि नै सहमति भइसकेका पात्र विश्व पौडेल गभर्नरमा नियुक्त हुन्छन् भन्ने अपेक्षा गरेको थियो । तर, ओलीले अन्तिम समयमा बैठक स्थगित गरेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा उनीसँग रुष्ट बनेको बुझिएको छ । ओलीले मन्त्रिपरिषद् बैठक नबोलाएपछि देउवालाई बालुवाटारमै भेट्न बोलाएको स्रोतको दाबी छ । तर, रुष्ट बनेका देउवाले गभर्नरको विषयमा यसअघि नै सहमति भइसकेकोले अब पटक-पटक भेट्न आवश्यक नभएको भन्दै बालुवाटार नगएको देउवाको सचिवालय स्रोतको दाबी छ । त्यसपछि दुई नेताबीच केही असन्तुष्टि पनि बढेको बुझिएको छ । देउवाले फोनवार्तामा केही आक्रामक शब्दहरु ओलीलाई भनेकोले ओलीले पनि त्यसको प्रतिवाद गर्दा दुई नेता एकअर्कामा रुष्ट बनेको दाबी गरिएको छ । दुई नेताबीच बेमेल बढेपछि गृहमन्त्री रमेश लेखक सोमबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको बताइएको छ । उनले ओली समक्ष मन्त्रिपरिषद् बैठक आह्वान गरेर कांग्रेसले नै अघि सारेको पात्रलाई गभर्नर बनाउन सुझाव दिएका थिए । तर, ओलीले पछिल्लो समय विश्व पौडेलको क्षमतामाथि प्रश्न उठिरहेको, संसदीय निर्वाचनमा पराजित पात्रलाई गभर्नर बनाउँदा सरकार नै आलोचित बन्ने तर्क लेखकसँग राखेको एमालेका एक नेताले बताए । ओलीले आफू बिरामी पनि भएकोले बैठक स्थगित गरेको लेखकसँग सुनाएको बुझिएको छ । तर, ओली सोमबार नै विभिन्न कार्यक्रममा सहभागी हुँदा तन्दुरुस्त देखिन्थे । मन्त्रिपरिषद् बैठककै समयमा बिरामी परे भन्ने विषयमा कांग्रेसले शंका गरेको छ । कांग्रेसले अघि सारेको पात्रलाई ओलीले बारम्बार विभिन्न बहाना बनाएर आफू निकट व्यक्तिलाई गभर्नरमा नियुक्त गर्न सक्ने सम्भावना रहेको कांग्रेसको शंका छ । यही शंकाका आधारमा कांग्रेसका केही शीर्ष नेताहरूले पनि आन्तरिक भेटवार्ता बढाएका छन् । ओलीलाई भेटेलगत्तै गृहमन्त्री लेखक पार्टी उपसभापति पूर्णबहादुर खड्काको निवासमा भेट्न पुगेका थिए । कांग्रेसका नेताहरूले भेटघाट गरेको खबर सुनेपछि ओलीले समेत एमालेका केही नेतालाई बालुवाटारमा भेटेर धारणा लिएको बुझिएको छ । उनले एमालेका नेताहरूसँग कांग्रेसले अघि सारेको पात्र विश्व पौडेलको विषयमा सर्वोच्च अदालतमा समेत रिट परेको बताउँदै पछि उनैलाई नियुक्त गर्दा एमाले नै विवादित बन्न सक्ने तर्क राखेका थिए । गभर्नर नियुक्तिको ढिलाइले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच बेमेल बढेको छ । गभर्नर नियुक्तिकै किचलोले दुई पटक गभर्नर सिफारिस समिति पुनर्गठन भइसकेको छ । यसअघिका समितिका सदस्य पूर्वगभर्नर विद्यानाथ भट्टराईले आफू रबरस्ट्याम्प नबन्ने भन्दै सदस्यबाट राजीनामा दिएका थिए । उनको ठाउँमा अहिले निवर्तमान गभर्नर महाप्रसाद अधिकारी छन् । त्यस्तै यसअघि सदस्य रहेका विश्व पौडेल आफू नै उम्मेदवार बन्नका लागि राजीनामा दिएका छन् । उनको ठाउँमा अहिले पोषराज पाण्डे सदस्य बनेका छन् । कांग्रेसले गभर्नरका लागि सुरुमा राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम अघि सारेको थियो । भट्टले कार्यकारी निर्देशकबाट दिएको राजीनामा कामु गभर्नर नीलम ढुंगानाले स्वीकृत नगर्दा उनको गभर्नर बन्ने बाटो बन्द भएको थियो । ढुङ्गाना पनि गभर्नर बन्ने दौडमै छिन् । भट्टको राजीनामा स्वीकृत नभएपछि ओलीले विकल्पमा अर्को नाम ल्याउन देउवालाई आग्रह गरेका थिए । सोही आधारमा देउवाले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका विश्व पौडेलको नाम अघि सारेका थिए । ओली त्यसमा सहमत समेत भएका थिए । तर, अहिले फेरि ओलीले उनको योग्यतामाथि प्रश्न उठाइरहेका छन् । मन्त्रिपरिषदमा प्रस्ताव जानुअघि अर्थमन्त्री पौडेलको नेतृत्वमा रहेको सिफारिस समितिले राष्ट्र बैंकका एक जना डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । ओलीको निर्देशनमा अहिलेसम्म समितिको बैठक एक पटक पनि नबस्दा र यति लामो समयसम्म गभर्नर नियुक्ति नहुँदा एमालेले भित्रैभित्र फरक रणनीति बनाएर काम गरिरहेको बुझाइ कांग्रेसको छ । सम्बन्धित सामग्री : तत्काल गभर्नर नियुक्त गर्न नसक्ने तीन कारण, ओलीसँग एकपछि अर्को तुरूप ओली-देउवाको सिकार बनेका काबिल थिंकट्याङ्क, गभर्नर नियुक्तिमा भद्दा मजाक स्वायत्तताको हत्या, ओली र पौडेलको नाङ्गो नाच गभर्नर नियुक्तिमा ‘परीक्षा’ पेण्डुलम बन्यो गभर्नर सिफारिस समिति, शीर्ष नेतृत्वबीच कुरा नमिल्दा बैठक पनि बस्न सकेन
जेमी डेमोनको चेतावनी : ट्यारिफ र घाटाले सेयर बजार धरासायी बनाउने
काठमाडौं । जेपी मोर्गन चेइसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेमी डिमोनले सोमबार अमेरिकी रेकर्ड घाटा, ट्यारिफहरू र अन्तर्राष्ट्रिय तनावले सिर्जना गरेका जोखिमलाई बजार र केन्द्रीय बैंकहरूले वास्ता नगरेको बताएका छन् । अमेरिकाको सबैभन्दा ठूलो बैंक (सम्पत्तिका आधारमा) का अनुभवी सीईओ तथा अध्यक्ष डिमोनले न्यूयोर्कमा आयोजित आफ्नो बैंकको वार्षिक लगानीकर्ता बैठकमा आफ्नो दृष्टिकोण प्रस्तुत गरे । उनले भने, 'उच्च मुद्रास्फीति र सम्भावित स्ट्यागफ्लेसन (मन्दी र मुद्रास्फीति एकैसाथ हुने अवस्था) का जोखिमहरू अहिलेको सेयर बजार मूल्यमा ठीकसँग समेटिएको छैन ।' 'हामीसँग विशाल घाटा छ- मलाई लाग्छ केन्द्रीय बैंकहरू पनि धेरै ढुक्क छन् ।तपाईंहरू सबैलाई लाग्छ उनीहरूले यो सबै सम्हाल्न सक्छन् । तर मलाई लाग्दैन,'डाइमोनले थपे । डिमोनका अनुसार अहिलेसम्म प्रभावकारी ट्यारिफहरू देखिएको छैन । डिमोनको भनाइ मोडीज रेटिङ एजेन्सीले शुक्रबार अमेरिकी क्रेडिट रेटिङ घटाएको केही दिनपछि आएको हो, जसमा सरकारी ऋण बोझ बढ्दै गएको चिन्ता गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले मुद्रास्फीति बढाउने र विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई सुस्त बनाउने डर बढेको कारण पछिल्ला केही महिनामा बजारहरू उथलपुथलमा परेका छन् । डाइमोनका अनुसार एसएन्डपी ५०० का कम्पनीहरूको वाल स्ट्रिट आम्दानी अनुमान जुन ट्रम्पको व्यापार नीतिका सुरुवाती हप्तामै घट्न थालेका थिए । ती अझै घट्नेछन् किनभने कम्पनीहरूले अनिश्चितताको कारण आम्दानी मार्गदर्शन हटाउने वा घटाउनेछन् । 'मलाई लाग्छ आम्दानी अनुमानहरू घट्नेछ, जसको अर्थ पीई अनुपात पनि घट्नेछ,' डाइमोनले भने । (पीई मूल्य-आम्दानी अनुपात, जुन सेयर बजार विश्लेषकहरूले नजिकबाट हेर्ने सूचक हो।) स्ट्यागफ्लेसन बजारले अनुमान गरेको भन्दा झन्डै दोब्बर रहेको डिमोनको भनाइ छ। अर्कोतर्फ डिमोनका एक शीर्ष सहकर्मीले कर्पोरेट ग्राहकहरू अधिग्रहण तथा अन्य सम्झौतासम्बन्धी मामिलामा अझै ‘पर्ख र हेर’को मनस्थितिमा रहेको बताए । सीईओको पद हस्तान्तरण कहिले गर्ने भन्ने सधैंको प्रश्नमा डाइमोनले भने, 'गत वर्षको आफ्नो भनाइबाट केही परिवर्तन भएको छैन ।' अर्थात् उनी पाँच वर्षभन्दा कम समयसम्म मात्रै रहने सम्भावना छ । 'म अझै चार वर्ष सीईओको रूपमा रहनेछु र सम्भवतः दुई वर्ष कार्यकारी अध्यक्षको रूपमा, त्यो लामो समय हो,'डाइमोनले भने । सोमबार दिइएका कार्यकारी प्रस्तुतिमध्ये उपभोक्ता बैंकिङ प्रमुख मरियन लेकले पूरै एक घण्टा बोलेर सबैभन्दा लामो समय लिइन् । उनी सम्भावित उत्तराधिकारीका रूपमा हेरिएकी छन् । सञ्चालन प्रमुख जेनिफर पिएप्स्जाकले सीईओको दौडमा नजाने घोषणा गरेपछि लेक सम्भावित उत्तराधिकारीको रूपमा हेरिन थालेकी हुन् ।
मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प
जनकपुरधाम । विगत पाँच दिनदेखि धनुषाको मिथिला नगरपालिकामा गरिएको तालाबन्दीले दैनिक कामकाज ठप्प भएको छ । नगरपालिकाको विकास निर्माणसम्बन्धी योजना वितरणमा भेदभाव भएको कारण देखाउँदै उपप्रमुख सुनिता सिंह बुढाथोकीको नेतृत्वमा वडाध्यक्षसहितको टोलीले तालाबन्दी गरेको थियो । आर्थिक वर्षका योजना कार्यान्वनमा केन्द्रीत हुनुपर्ने बेला तालाबन्दी हुँदा समस्या भएको छ । नगरप्रमुख महेन्द्र महतो र उपप्रमुख बुढाथोकीबीचको विवादले विगत पाँच दिनदेखि कामकाज ठप्प हुँदा नागरिकले नै घाटा बेहोर्नु परिरहेको थानीय रामसरोज साहको गुनासो छ । उनले तत्काल विवाद समाधान गरी विकास निर्माणका काम हुने वातावरण बनाउन सरोकार भएकाहरूलाई आग्रह गरेका छन् । आफ्नो अधिकारमाथि नगरप्रमुखबाट हस्तक्षेप भएको भन्दै उपप्रमुख बुढाथोकीले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन् । रासस
कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा
फुङ्लिङ । सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धनका लागि यही जेठ १५–१७ गते तीनदिने पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । सामुद्रिक सतहबाट तीन हजार ५१५ मिटर उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधताले भरिएको रमणीयस्थल हो । धार्मिक महत्वका साथै पर्यटन सम्भावनाले भरिपूर्ण यस क्षेत्रको समग्र विकासका लागि सिदिङ्वा धाम महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका अन्य प्रमुख पर्यटकीय गन्तव्य ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुङ्गालगायत स्थलको प्रचारप्रसार र प्रवर्द्धन पनि महोत्सवमार्फत गरिने छ । जैविक विविधताको संरक्षण, ग्रामीण तथा अन्तरराष्ट्रिय पर्यटनको विकास र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिका अध्यक्ष मानबहादुर राईले सिदिङ्वा धाम अन्तरराष्ट्रिय जैविक मार्गका रूपमा परिचित धार्मिक पर्यटकीय क्षेत्र भएकाले महोत्सवले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनका अनुसार पर्यटन गतिविधि बढेसँगै गाउँपालिकाको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने छ । गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले सिदिङ्वा धाम कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार भए पनि पर्याप्त प्रचारप्रसार नहुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताइन् । उनका अनुसार महोत्सवले स्थानीय तथा बाह्य पर्यटक आकर्षण बढाउने छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकका अनुसार महोत्सवमा सिदिङ्वा धाम दर्शन यात्रा, खेलकुद प्रतियोगिता, स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक प्रस्तुतिलगायत विविध गतिविधि रहने छन् । तीनदिने महोत्सवमा वडास्तरीय भलिबल प्रतियोगिता हुने छ । प्रतियोगिताका विजेतालाई नगद रु ५० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छभने उपविजेताले रु ३० हजार पुरस्कार पाउने छन् । त्यसैगरी, हाफ म्याराथन प्रतियोगिता पनि हुने छ, जसमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ४०, ३० र २० हजार पुरस्कार पाउने छन् । सांस्कृतिक कार्यक्रमअन्तर्गत नौमती बाजा, च्याब्रुङ नाच ९केःलाङ० तथा स्थानीय जातजातिका संस्कार–संस्कृति प्रदर्शन गरिने गाउँपालिकाले जनाएको छ । धार्मिक पर्यटनको दृष्टिले सिदिङ्मा धाम पछिल्लो समय आन्तरिक पर्यटकबीच लोकप्रिय बन्दै गएको छ । पछिल्लो समयमा भ्रमण गर्ने आन्तरिक पर्यटक उल्लेख्य वृद्धि भएको स्थानीय कैलाश राईले बताए । उनका अनुसार यसअघि सीमित पर्यटक मात्र पुग्ने सिदिङ्मा धाममा अहिले बढ्दो सङ्ख्यामा पर्यटक आउन थालेका छन् । धाम सिदिङ्वा गाउँपालिका–२ सादेवा र वडा नं ३ आङ्खोपको सीमामा अवस्थित छ । अहिले सिक्रेडाँडासम्म सडक पुगेपछि अझ सुलभ बनेको छ । सिक्रेडाँडाबाट सिदिङ्मासम्म करिब अढाइ घण्टाको पैदलयात्रा गर्नुपर्छ । यहाँबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गा, पाथीभरा (मुक्कुमलुङ), तिम्बुङ पोखरी, भारतका सिक्किम र दार्जिलिङका रमणीय दृश्य नजिकबाट अवलोकन गर्न सकिन्छ । धार्मिक मान्यताअनुसार सिदिङ्मा धामलाई सिद्ध नामक ऋषिले तपस्या गरेर मनोकाङ्क्षा पूरा गरेको स्थल मानिन्छ । दर्शनार्थीहरू यहाँ आफ्नो इच्छा पूरा हुने विश्वाससहित पूजाआजा गर्न पुग्ने गर्छन् । स्थानीयका अनुसार विशेषगरी वैशाख र असोजमा तथा ऋषि तर्पणीको समयमा सिदिङ्मामा उल्लेख्य सङ्ख्यामा धार्मिक पर्यटक पुग्ने गर्छन् । गाउँपालिका उपाध्यक्ष कडरियाले प्रचारप्रसारको अभावले पर्यटकको सङ्ख्या कम रहेको उल्लेख गर्दै पछिल्लो समय सामाजिक सञ्जाललगायत माध्यमले यस क्षेत्रमा पर्यटक बढ्न थालेको बताइन् । सिक्रेडाँडासम्म सडक ट्रयाक निर्माण, पदमार्ग, प्रवेशद्वार (गेट)लगायत संरचना निर्माण थालिएको उनले जानकारी दिइन् । गाउँपालिकाले सिदिङ्मा धाम क्षेत्रको थप प्रचारप्रसार र प्रवर्द्धनका लागि महोत्सवसहित दीर्घकालीन योजना बनाएको छ । हाल सिदिङ्मा धाममा स्थानीय, ताप्लेजुङका अन्य क्षेत्र र पाँचथरबाट पनि पर्यटक पुग्ने गरेका छन् । रासस