रवि लामिछानेको रिटमा सुनुवाइ स्थगित, इजलास बस्न सकेन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा बुधबार सुनुवाइ हुने भनिए पनि स्थगित भएको छ । मंगलबारदेखि न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुरु भएको सुनुवाइ नसकिएकाले मुद्दा आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । तर बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा व्यस्त रहेका कारण संयुक्त इजलास बस्न नसकेपछि सुनुवाइ स्थगित गरिएको हो । मंगलबार लामिछानेको तर्फबाट अधिवक्ताहरू सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दीपेन्द्र झा, नारायणदत्त कँडेल र विवेक राउतले बहस गरिसकेका छन् । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको बहस भने अझै बाँकी छ । त्यसपछि पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन् भने अन्त्यमा सरकारी वकिल र पीडित पक्षका वकिलको तर्फबाट बहस हुनेछ ।
टेस्लाको रोबोट्याक्सी परीक्षण : मस्कले खोल्दैछन् भविष्यको ढोका !
काठमाडौं । टेस्लाले अष्टिन, टेक्सासमा रोबोट्याक्सी सेवाको परीक्षण जुन महिनाको अन्त्यसम्ममा समयमै सुरु गर्ने तयारी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी एलन मस्कले मंगलबार उक्त जानकारी दिएका हुन् । यद्यपि कम्पनी अमेरिकी नियामकको तर्फबाट उठाइएका सुरक्षासम्बन्धी प्रश्नहरूको सामना गरिरहेको छ । मस्कले सीएनबीसीलाई दिएको अन्तर्वार्तामा भने अनुसार टेस्लाले सुरुमा सहरका केही भागहरूमा करिब १० वटा स्वचालित सवारीहरू सञ्चालनमा ल्याउनेछ र केही महिनाभित्र त्यसलाई विस्तार गर्दै करिब १ हजार पुर्याउने योजना बनाएको छ । 'हामी खासमा पूरै अष्टिन क्षेत्रमा होइन, केवल सबैभन्दा सुरक्षित भागहरूमा मात्र रोबोट्याक्सी तैनाथ गर्दैछौं,' मस्कले भने । टेस्लाको बिक्री विश्वभर घटिरहेको छ, किनभने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ र मस्कको दक्षिणपन्थी राजनीतिक दृष्टिकोणका कारण उनी आलोचित भइरहेका छन् । मस्कले भनेका छन् कि उनले ट्रम्पको लागि गर्ने काम घटाउने र टेस्लामा ध्यान केन्द्रित गर्नेछन् । 'ह्वाइट हाउसमा मेरो मोटामोटी योजना हरेक केही हप्तामा केही दिनको लागि त्यहाँ हुने र जहाँ सहयोग गर्न सकिन्छ, त्यहाँ सहयोग गर्ने हो,' उनले भने । टेस्लाका लागि सफल रोबोट्याक्सी परीक्षण अत्यन्तै महत्वपूर्ण छ किनभने मस्कले कम्पनीको ध्यान सस्तो विद्युतीय सवारी निर्माणबाट हटाएर रोबोट्याक्सी सेवा र यसको अप्टिमस ह्युमनाइड रोबोटहरूमा केन्द्रित गराएका छन् । टेस्लाको बजार मूल्यको ठूलो हिस्सा यही आशामा आधारित छ । 'दीर्घकालीन रूपमा वास्तवमा महत्त्वपूर्ण कुराहरू भनेका स्वचालित प्रणाली (अटोनोमी) र अप्टिमस हुन्,' मस्कले सीएनबीसीलाई बताए । स्वचालित सवारी प्रविधि व्यवसायिक रूपमा प्रयोगमा ल्याउन कठिन साबित भएको छ, कडा नियम तथा ठूलो लगानीका कारण धेरै कम्पनीहरूले हार मानिसकेका छन् । अझै दौडमा रहेका कम्पनीहरू, जस्तै अल्फाबेटको वेमो पनि बढ्दो निगरानीमा परेका छन् । अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) ले गत अक्टोबरदेखि कम दृश्यता भएका अवस्थामा टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ (एफएसडी) प्रविधि संलग्न दुर्घटनाहरूको अनुसन्धान गरिरहेको छ । सो नियामकले गत हप्ता टेस्लालाई यसको भुक्तानयोग्य रोबोट्याक्सी सेवा सुरु गर्दा ती सवारीहरू खराब मौसममा कसरी प्रदर्शन गर्नेछन् भन्नेबारे जानकारी मागेको थियो । मस्कका अनुसार टेस्ला अन्य ठूला अटो कम्पनीहरूसँग आफ्नो एफएसडी सफ्टवेयर लाइसेन्स गर्नका लागि कुराकानीमा छ, जुन यसको रोबोट्याक्सीहरूको मुख्य आधार बन्नेछ । आफ्नो व्यापक कृत्रिम बौद्धिकता (एआई) योजनालाई अगाडि बढाउन मस्कको एक्सएआई स्टार्टअपले थप उन्नत मोडेल प्रशिक्षणका लागि डेटा केन्द्र क्षमतामा विस्तार गरिरहेको छ र टेनेसीको मेम्फिसमा रहेको यसको सुपरकम्प्युटर कोलोस्ससलाई संसारकै ठूलो भनिएको छ । एक्सएआईले मेम्फिस नजिकै नयाँ केन्द्रमा एनभीडीयाका एक मिलियन अत्याधुनिक ब्ल्याकवेल चिपहरू प्रयोग गर्ने मस्कले बताए । एक्सएआईले टेनेसीको दक्षिणपश्चिम मेम्फिसमा १० लाख वर्गफुट क्षेत्रफलको सम्पत्ति किनेको ग्रेटर मेम्फिस चेम्बरले मार्चमा जनाएको थियो । मस्कले मार्चमा एक्सएआईलाई आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्ससँग गाभेका थिए । उनले टेस्ला र एक्सएआईबीच गाभ्ने योजना हालका लागि नभए पनि त्यसलाई असम्भव भने नभएको बताए ।
गभर्नर पौडेलले सर्वोच्च अदालत पुगेर लिए सपथ, पदभारका लागि पुगे राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सपथ लिएका छन् । उनले सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग सपथ लिएका हुन् । राष्ट्र बैंक ऐनमा गभर्नरले प्रधानन्यायाधीशबाट सपथ लिनुपर्ने व्यवस्था छ । पौडेल सपथ ग्रहणसँगै पदभार ग्रहण गर्न राष्ट्र प्रस्थान गरेका छन् । उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको थियो । उनीसँगै तीन जनाको नाम सिफारिस भएको थियो ।
नेपालको स्वास्थ्य सुधारबारे विश्वलाई जानकारी, स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि श्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका उनले विद्यमान स्वास्थ्य चुनौतीले सामना गर्ने नवीन समाधानको खोजी गरिरहेको भन्दै यसमा विश्व स्वास्थ्य संगठनको भूमिका अझ महत्वपूर्ण देखिएको उल्लेख गरे । मन्त्री पौडेलले महामारी नियन्त्रण पूर्वतयारीका लागि समतामूलक स्वास्थ्य सेवा र दह्रिलो विश्वव्यापी सहकार्य आवश्यक भन्दै महामारी नियन्त्रणका लागि संगठनले गरेको सम्झौताको स्वागत गरे । मन्त्री पौडेलले यसका लागि सदस्यहरूबीच बलियो सहकार्यका लागि आह्वान समेत गरे । नेपालको स्वास्थ्य सुधारबारे विश्व समुदायलाई जानकारी मन्त्री प्रदीप पौडेलले नेपालले मातृ शिशु मृत्युदर न्यूनीकरणमा तथा पोलियो उन्मुलनमा प्राप्त गरेको सफलताबारे विश्व समुदायलाई जानकारी गराएका छन् । नेपालले खोपको पहुँच विस्तारमा समेत प्रगति गरेको उल्लेख गर्दै पोलियो उन्मुलनसँगै सबै तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको उल्लेख गरेका छन् । ‘महिला सामाजिक स्वास्थ्य स्वयंसेविका तथा विद्यालय स्वास्थ्य कार्यक्रममार्फत सकारात्मक नतिजा प्राप्त गरेका छौं,’ मन्त्री पौडेलले भने । सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा नेपालले पहल थालेको भन्दै मन्त्री पौडेलले यसले सकारात्मक नतिजा दिने विश्वास गरे । नेपालले स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको चर्चा गर्दै उनले निरोधात्मक स्वास्थ्य सेवा, महामारी पूर्वतयारी तथा डिजिटल स्वास्थ्यमा समेत जोड दिएको मन्त्री पौडेलले उल्लेख गरे । जलवायु परिवर्तनको स्वास्थ्यमा प्रभावबारे ध्यानाकर्षण नेपालसामु बढिरहेको वृद्ध जनसंख्या, न्यून जन्मदर, आन्तरिक बसाईसराई तथा नसर्ने रोग र मानसिक रोगजस्ता स्वास्थ्य चुनौती खडा भएकाले यसको सामनाका लागि विश्व समुदायसँग सहकार्यका लागि आग्रह गरे । मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण समेत नेपाली स्वास्थ्य क्षेत्र प्रभावित भएको प्रसँग उठाए । ‘जलवायु परिवर्तनका कारण हाम्रो स्वास्थ्य क्षेत्रमा गम्भीर असर छ,' उनले भने, ‘हामीले सगरमाथा सम्वादका माध्यमबाट विश्वको ध्यानाकर्षण गर्यौँ ।' मन्त्री पौडेलले जलवायु स्वास्थ्य विषयमा नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने समेत घोषणा गरे । जेनेभामा रहेका मन्त्री पौडेलले विभिन्न देशका उच्चस्तरीय स्वास्थ्य अधिकारीहरूसँग नेपालको स्वास्थ्य सेवा सुधारबारे सहकार्यको प्रस्ताव गर्दै वार्ता गरिरहेका छन् ।
ब्ल्याकभ्यू ट्याब मेगा २ नेपालमा सार्वजनिक
काठमाडौं । प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट, ब्ल्याकभ्यू ट्याब मेगा २, नेपाली बजारमा सार्वजनिक गरेको छ । ब्ल्याकभ्यू ट्याब मेगा २ मा १२ इन्चको एचडी आईपीएस डिस्प्ले रहेको छ, जसले १२०० * २००० पिक्सेल रिजोलुसन र ६० हर्ट्ज रिफ्रेस रेट प्रदान गर्छ । यो ट्याब्लेट युनिसक टाइगर टी ६१५ अक्टा-कोर प्रोसेसरद्वारा सञ्चालित छ र यसमा ८ जीबी वा १२ जीबी र्याम साथ २५६ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ। स्टोरेजलाई माइक्रोएसडी कार्डमार्फत २ टेराबाइटसम्म विस्तार गर्न सकिन्छ । यो ट्याब्लेटमा ९,००० एमएएचको ब्याट्री छ, जसले १८ वाट फास्ट चार्जिङलाई समर्थन गर्छ। क्यामेराको कुरा गर्दा, यसमा १६ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश छ । ट्याब्लेटले एन्ड्रोइड १५ अपरेटिङ सिस्टममा आधारित डोक ओएस ५.० चलाउँछ, जसले प्रयोगकर्तालाई सहज र अद्यावधिक अनुभव प्रदान गर्छ। यसमा डुअल(बक्स स्पिकर, वाइडभाइन एल १ सपोर्ट, र डुअल ४ जी सिम स्लट पनि छन्। नेपालमा यो ट्याब्लेटको मूल्य ३१ हजार ९९९ रुपैयाँ तोकिएको छ । खरिदका लागि दाराज नेपाल र यन्त्र नेपाल मार्फत अनलाइन अर्डर गर्न सकिन्छ । ब्ल्याकभ्यूका नेपाल प्रतिनिधिका अनुसार, यो ट्याब्लेट मनोरञ्जन, काम र अध्ययनका लागि उपयुक्त छ । यो ट्याब्लेटले नेपाली बजारमा किफायती मूल्यमा आधुनिक सुविधाहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।
नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ बन्द
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल मोबिलिटी एक्स्पो २०२५ को पहिलो संस्करणको लागि बुकिङ बन्द भएको घोषणा गरेको छ । यो एक्स्पो २०८२ साउन २१ देखि २५ गते ९२०२५ अगस्ट ६ देखि १०० सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुनेछ । ४८ वटा स्टलको लागि आवेदन आएको नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले बताइन् । नाइमाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको मोबिलिटी क्षेत्रको प्रतिनिधित्व, रणनीतिक सहयोग, विकास र सामूहिक आवाज उठाउन एकीकृत मञ्चको रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल मोबिलिटी एक्स्पो २०२५ ले अत्याधुनिक मोबिलिटी समाधानहरू र नेपालमा विकसित हुँदै गरेको मोबिलिटी संस्कृतिलाई प्रदर्शन गर्दै यसअघिका भन्दा धेरै अनुभव दिने एक नयाँ प्रकारको अटोमोबाइल प्रदर्शनीको रूपमा एक माइलस्टोन इभेन्ट रहेको वैद्यले जानकारी दिइन् । मोबिलिटी एक्स्पोमा सहभागी फोर ह्वीलर ब्रान्डमा बीवाईडी, सिट्रोन, फर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केई, किया, लीपमोटर, लेभ वान, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा एन्ड जेको, पिजुट, प्रोटोन, रिनल्ट, टोयोटा, फक्सवागन र जिक्र रहेका छन् । एक्स्पोमा टु ह्वीलरमा एम्पेरे, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इन्फिल्ड, सेगवे-नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभाओलेटी, याडिया र जीहो रहेका छन् । सहभागी कमर्सियल वाहन ब्रान्डहरूमा चेरी वान्डा, डोनफेङ, फारिजोन, हुवाजी, कम, कारी, किङलङ र सनलङ रहेका छन् ।
५ करोडमा झेँदी पुल निर्माण सम्पन्न, स्थानीयवासी भए खुशी
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारबाट प्राप्त पाँच करोड १७ लाख ५० हजार ६६५ रुपैयाँमा निर्माणको काम सम्पन्न भएको हो । सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार ५६.३० मिटर लामो यो पुल लामो समयको प्रयासपछि पूरा भएको हो । पक्की बनाउन नसकिने स्थानमा यस्ता निर्माण गरिने उनले बताए । यो पुल २०७६ र २०७७ साल वैशाखमा दुईपटक भाँचिएपछि प्रारुप परिवर्तन गरेर नयाँ बनाइएको हो । पुलका संरचना भाँचिदा राज्यलाई हानि भएको थियो ।
ट्रम्पद्वारा १७५ अर्ब अमेरिकी डलरको ‘गोल्डेन डोम’ मिसाइल ढाल परियोजनाको अनावरण
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार ‘गोल्डेन डोम’ नामक १७५ अर्ब अमेरिकी डलरको मिसाइल प्रतिरक्षा प्रणालीको घोषणा गरेका छन् । जसलाई ट्रम्पले ‘म्यानहट्टन परियोजना–स्तरीय’ पहलको रूपमा वर्णन गरेका छन् । जसको नेतृत्व गर्न अमेरिकी अन्तरिक्ष बलका जनरल माइकल गुएटलिनलाई नियुक्त गरे । अमेरिकी रक्षा सचिव पिट हेगसेथ र गुएटलिनसँगै ओभल अफिस घोषणाको क्रममा ट्रम्पले यो परियोजना तीन वर्ष भित्र पूरा हुने र क्यानडासहित सम्पूर्ण महाद्वीपीय संयुक्त राज्य अमेरिकालाई हवाई खतराबाट जोगाउने खुलासा गरे । अमेरिकाको लागि यो एक महान दिन भएको ट्रम्पले घोषणा गरे । महत्वाकांक्षी प्रणाली आगमन मिसाइलहरू पत्ता लगाउन, ट्र्याक गर्न र अवरोध गर्न सक्षम उपग्रहहरूको एक व्यापक नेटवर्क सिर्जना गर्न डिजाइन गरिएको हो । ट्रम्पले यो प्रणाली विश्वको अन्य छेउबाट प्रहार गरिए पनि र अन्तरिक्षबाट प्रहार गरिए पनि क्षेप्यास्त्रहरूलाई रोक्न सक्षम हुने दाबी गरे । यो परियोजनाले प्रशासनको पहिलो हप्तामा अमेरिकाको लागि आइरन डोमको रूपमा घोषणा गरिएको भन्दा ठूलो विकासको प्रतिनिधित्व गर्दछ । जुन फेब्रुअरीमा पेन्टागनले गोल्डेन डोम नामकरण गर्नुअघि सम्भवतः इजरायलको अवस्थित आइरन डोम प्रणालीसँग ट्रेडमार्क चिन्ताको कारणले गर्दा भएको हुनसक्छ । गुएटलिनले पहिले अमेरिकी अन्तरिक्ष बलसँग अन्तरिक्ष सञ्चालनका उपप्रमुखको रूपमा सेवा गरिसकेका थिए । मिसाइल रक्षा र अन्तरिक्ष–आधारित क्षमताहरूमा व्यापक अनुभव छ । ट्रम्पले घोषणा गरेको १७५ अर्ब डलरको मूल्य ट्याग काँग्रेसनल बजेट अफिसको पहिलेको अनुमानभन्दा धेरै कम छ । जसले सुझाव दिएको थियो कि प्रणालीको लागत २० वर्षमा १६१ अर्ब देखि ५४२ अर्ब डलरसम्म हुनसक्छ । २०१२ को राष्ट्रिय अनुसन्धान परिषद्को एक अध्ययनले अनुमान गरेको छ कि अन्तरिक्ष–आधारित, बूस्ट–फेज मिसाइल रक्षा प्रणालीको कुल लागत ८३१ अर्ब डलर (२०२५ डलरमा) सम्म हुनसक्छ । रक्षा विश्लेषकहरूले परियोजनाको प्राविधिक सम्भाव्यताको बारेमा पनि प्रश्न उठाएका छन् ।