बजेट निर्माणमा अर्थमन्त्री पौडेलको सक्रियता, जनअपेक्षा र स्रोतको सन्तुलनमा बजेट तयार पारिँदै
काठमाडौं । अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको छ । विभिन्न क्षेत्रहरूबाट प्राप्त सुझावहरूलाई समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेटको तयारीमा व्यस्त भएको हो । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सिमा र प्राप्त सुझावहरूलाई ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी दिए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उनको टिम बजेट निर्माणमा केन्द्रित छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणबारे मन्त्रालयहरू, विभागहरू, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको थियो । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग परामर्श गरेका थिए । अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरूसँग समेत परामर्श गरेको थियो । त्यसैगरी पूर्व अर्थ सचिवहरू, अर्थ विद्हरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका विषयतगत संघसंस्थाहरूसँग छलफल गरेको थियो । विकास साझेदारहरुसँग पनि छलफल भएको थियो । बजेट निर्माणका सन्दर्भमा जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, नागरिकहरूले पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए । अर्थ मन्त्रालयले बजेट सम्बन्धी सुझाव दिनका लागि सार्वजनिक रुपमा आह्वान गरेको थियो । सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथिमकताबारे संसदमा छलफल भइसकेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षा लगायतलाई क्षेत्रगत प्रथामिकतामा राखिएको छ । जेठ १४ गते संसदमा आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट वक्तव्य पेश हुनेछ ।
शिक्षक अभावले मधेसमा पठनपाठन प्रभावित, गुणस्तरीय शिक्षामा बाधा
जनकपुरधाम । मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी न्यून भएकाले पठनपाठनमा समस्या हुँदै आएको बताएकी छिन् । मधेस प्रदेशको शिक्षासम्बन्धी प्रदेशस्तरीय कार्ययोजना तर्जुमा गोष्ठीको आज जनकपुरधाममा उद्घाटन गर्दै उनले सङ्घीय सरकारले मधेस प्रदेशअन्तर्गतका विद्यालयमा तोकिएको विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी उपलब्ध नगराउँदा गुणस्तरीय शिक्षाको विकासमा समस्या भएको उल्लेख गरिन् । 'हामीले पटकपटक विद्यार्थी अनुपातमा शिक्षक तोक्नुपर्ने माग गर्दै आएका छौँ, तर सो अधिकार सङ्घीय सरकारसँग रहकाले शिक्षा क्षेत्रमा देखिएका यस्ता समस्या समाधान गरी गुणस्तरीय शिक्षा र विद्यार्थी उत्पादनमा जोड दिनुपर्छ', मन्त्री तिवारीले भनिन् । शिक्षकको समस्या समाधानका लागि मन्त्रालयले स्वयंसेवक शिक्षक बहालीको माग गरेसँगै केही हदसम्म समस्या समाधनतर्फ गएको जनाउँदै उनले मधेस प्रदेशमा शिक्षा क्षेत्रको विकास तथा सुधारका लागि विनियोजित बजेट खर्च हुन नसकेकोप्रति चिन्ता व्यक्त गरिन् । मन्त्रालयको चालु आर्थिक वर्षमा रु दुई अर्ब ३२ करोड बजेट रहेको जनाउँदै तिवारीले शिक्षक अभावका कारण खर्च हुन नसकेको उल्लेख गरिन् । प्रदेश सरकार शिक्षासँग सम्बन्धित १८ वटा कार्यविधि पारित गरेर यस क्षेत्रको समग्र विकासमा लागेको स्पष्ट गरिन् । धनुषाको मुखियापटी मुसरनीया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले पालिकाभित्र रहेका १३ वटा विद्यालययको भवन निमार्ण र पूर्वाधार विकासमा रु २४ करोड बजेट विनियोजन गरेर कार्य गरिरहेको जानकारी दिए । 'छात्रछात्राका लागि निःशुल्क बससेवा, नास्ता तथा पोसाक र निःशुल्क पुस्तकको व्यवस्था गरेका छौँ । शिक्षकको कमीका कारण पठनपाठनमा भने समस्या भइरहेको छ', उनले भने । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) का केन्द्रीय अध्यक्ष राजेन्द्र पहाडीले संस्थाले गुणस्तरीय, प्रविधियुक्त वैज्ञानिक तथा दीर्घकालीन शिक्षाको विकासमा जोड दिएको बताउँदै न्यायपूर्ण समाज विकासमा लाग्न सबैलाई आग्रह गरे । उनले एनसिई मधेस प्रदेशको सात जिल्लामा शिक्षा सुधारका पक्षमा काम गर्दै आएको बताए । युरोपियन युनियनको आर्थिक सहयोगमा पिपल इन निड, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) तथा नेपाल अपाङ्ग महिला सङ्घद्वारा आयोजित गोष्ठीमा मधेस प्रदेशको शिक्षाको अवस्थाबारे जानकारी गराइएको थियो । एनसिईका प्रदेश संयोजक लक्ष्मेश्वर मण्डलको अध्यक्षतामा भएको उक्त गोष्ठीमा एनसिई धनुषा संयोजक कमलेश मण्डल, पिपुल इन निडका संयोजक सुशिल साह र शिक्षा तथा संस्कृति मन्त्रालयका अधिकृत दिलीप मुखियाले मधेस प्रदेशमा शिक्षाको अवस्था, समस्या र चुनौतीका बारे कार्यपत्र प्रस्तुत गरेका थिए । रासस
राजावादी प्रदर्शन प्रकरण : दुर्गा प्रसाईंलगायत ५३ जनालाई दुई दिन म्याद थप
काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दै जाँदा दुई जनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटनासमेत भएका थिए । सोही दिनदेखि प्रहरीले दर्जनौं व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उनीहरूविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अनुसन्धान भइरहेको छ । राज्यविरुद्धको कसुरमा मात्र २८ जना अभियुक्त छन् । सो घटनामा प्रमुख अभियुक्त दुर्गा प्रसाईं चैत १५ कै दिन निषेधित क्षेत्रतर्फ आफैंले गाडी चलाएर प्रवेश गरेको बताइएको छ । भिड नियन्त्रणबाहिर जानुमा त्यसको मुख्य भूमिका रहेको प्रहरीको दाबी छ । प्रसाईं घटनापछि भारत फरार भएका थिए भने पछि पक्राउ गरी नेपाल फर्काइएको हो । उक्त प्रकरणमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशम्शेर राणासहित ३७ जना हाजिर जमानीमा रहेका छन् । प्रहरीले अब थपिएको म्यादभित्रै अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । कानुनअनुसार सरकारी वकिल कार्यालयले ६० दिनभित्र अभियोगपत्र अदालतमा पेस गर्नुपर्नेछ ।
बिटकोइनको मूल्यमा नयाँ कीर्तिमान : पहिलोपटक १ लाख १० हजार डलर कट्यो, लगानीकर्तामा उत्साह
काठमाडौं । विश्वकै सबैभन्दा पुरानो, सबैभन्दा लोकप्रिय र सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिटकोइनले बिहीबार नयाँ इतिहास रचेको छ । बिहीवारको कारोबारको क्रममा बिटकोइनको मूल्य पहिलोपटक एक लाख १० हजार नाघेको छ । बिटकोइन पछिल्लो २४ घण्टामा करिब ४.३८ प्रतिशतले वृद्धि भई करिब एक लाख १० हजार ९०५ डलर पुगेको हो । अमेरिकाभित्र एक महत्त्वपूर्ण स्टेबलकोइन विधेयक पास भएकोले छ । बिटकोइनको मूल्य बढ्नुको अर्को कारण भनेको अमेरिकी व्यवसायी माइकल सायलरको कम्पनी स्ट्रेटेजीले बिटकोइनमा ५० अर्बभन्दा बढी लगानी गर्नु हो । यसबाहेक अन्य थुप्रै मानिसहरूले पनि डिजिटल सम्पत्ति संकलन गरिरहेका छन् । यही कारणले पनि बिटकोइनको माग बढिरहेको छ । फाल्कनएक्स लिमिटेडका ग्लोबल मार्केट प्रमुख जोशुआ लिमले भने, 'यो बिस्तारै बढ्दै जाँदा नयाँ रेकर्डहरू बनाउँदैछ ।' एसपीएसी र पीआईपीई डिलका कारण बिटकोइनको मागमा कुनै कमी देखिएको छैन । कोइनबेसमा स्पट मूल्यमा यसको प्रभाव देखिएको छ । मूल्य किन बढिरहेको छ? केही साना कम्पनीहरू र क्रिप्टो उद्योगका केही ठूला नामहरूले सुरु गरेका नयाँ सार्वजनिक कम्पनीहरूले पनि बिटकोइन खरिद गरिरहेका छन् । यी कम्पनीहरूले कनभर्टिबल बन्ड र प्रिफर्ड स्टक बिक्री गरेर पूँजी संकलन गरिरहेका छन् । आईजीका मार्केट विश्लेषक टोनी सिकामोरले एउटा टिप्पणीमा भने, 'नयाँ रेकर्डले देखाउँछ कि जनवरीमा बिटकोइनको मूल्य घटेको थियो ।' जनवरी २० मा यो आफ्नो अघिल्लो उच्च मूल्यबाट घटेर अप्रिलमा ७५ हजारभन्दा तल झरेको थियो । उनले भने, 'एक लाख १० हजार माथि टिकिरहन एक लाख २५ हजारतर्फ अघि बढ्न आवश्यक छ ।'
अदालतको आदेशमा एमाले नेता अर्याल पक्राउ, सहकारी ठगीमा दोषी ठहर
काठमाडौं । दिगो पर्यटन सहकारी संस्थामा ठगी गरेको आरोपमा एमाले नेता कृष्णकुमार अर्याललाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका- ३ सानेपास्थित घरबाट पक्राउ परेका अर्याललाई अदालतको आदेश कार्यान्वयन गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई अदालतमा पेश गर्ने तयारी गरिरहेको जनाएको छ । अर्याल एमालेको उपत्यका विशेष प्रदेश कमिटी सदस्य हुन् । उनले उद्योग व्यवसाय विशेष जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका थिए । उनीमाथि काठमाडौं जिल्ला अदालतले २०८२ जेठ ५ गते एक वर्ष कैद र ११ लाख ५० हजार रुपैयाँ बिगो तिर्नुपर्ने आदेश दिएको थियो ।
अर्थ समितिमा निजी क्षेत्रको जोड- साधारण खर्च घटाइ विकास खर्च बढाऔं
काठमाडौं । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्नुपर्नेमा जोड दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बिहीबार बैठकमा ‘आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विषय’सम्बन्धी छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले आगामी दशक (२०८२-२०९२) लाई लगानी दशक घोषणा गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले आगामी वर्षको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तार र नयाँ चरणको आर्थिक सुधारका लागि सकारात्मक परिवर्तन ल्याउने विषयलाई समेट्नुपर्ने बताए । 'साधारण खर्च घटाइ विकास खर्च बढाउने र सर्वसाधारणको क्रयशक्ति तथा उद्यमीको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने कार्यक्रम आगामी बजेटमा आउनुपर्छ,' उनले भने, 'नीतिगत स्थिरतासहितको लगानी मैत्री वातावरण अहिलेको आवश्यकता हो ।' आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै श्रेष्ठले एक सय भन्दा बढी रोजगारी प्रदान गर्ने उत्पादनमूलक, पर्यटन तथा सेवा उद्योगलाई रोजगार च्याम्पियन सम्मानसहित आयकरमा ४० प्रतिशत छुट दिनुपर्ने बताए । नेपाल उद्योग परिसङ्घका राष्ट्रिय परिषद् सदस्य लक्ष्मीप्रसाद सुवेदीले लगानीका नयाँ क्षेत्रको पहिचान गर्दै निजी क्षेत्रलाई त्यसतर्फ प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । 'लगानी आकर्षण गर्न उत्पादनमुलक उद्योगको नाफामा लाग्ने आयकरको दर क्रमशः कम गर्दै १० प्रतिशतमा सीमित गर्नुपर्छ,' उनले भने, 'पूँजीगत खर्चको बढोत्तरीका साथै निजी क्षेत्रबाट हुने लगानीका लागि उचित वातावरण बनाएर प्रोत्साहन गर्नुपर्छ ।' नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले आगामी आवको बजेटमार्फत नीतिगत स्थिरता सुनिश्चित गरिनुपर्नेमा जोड दिए । उनले विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताउँदै विद्युतीय सवारी साधनमा कर वृद्धि नभई थप सहुलियत दिनुपर्ने धारणा राखे । समावेशी र सन्तुलित बजेटमा सांसदको जोड बैठकमा सांसद पूर्णबहादुर तामाङले मुलुकको विकासको अवस्था हेरेर समावेशी र सन्तुलित बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदै आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट गरिनुपर्ने बताए । सांसद नारायणी शर्माले राज्यको नेतृत्वदायी भूमिका अर्थतन्त्रको विकासमा निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए । सांसद सूर्यबहादुर थापा क्षेत्रीले लहडमा नभई राष्ट्रिय आय र औसत उमेरलाई आधार मानेर सामाजिक सुरक्षा भत्ता निर्धारण गरिनुपर्नेमा जोड दिए । 'राज्यले नागरिकलाई दिन थालेको सहायता हटाउने होइन, औसत उमेर र राष्ट्रिय आयलाई हेरेर भत्ता निर्धारण गर्नुपर्छ,' उनले भने, 'दोहोरो भत्ताको सुविधा हटाउनुपर्छ ।'
सेयर बजारमा १०४ कम्पनीको मूल्य बढ्यो, ९ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ अंकले बढेर २६८८ बिन्दुमा पुगेको छ । आज १०४ कम्पनीको मूल्य बढ्दा १४२ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ । ३१४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादीको ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, राधी जलविद्युत कम्पनीको ६० करोड, कुमारी बैंकको ४२ करोड, युनिभर्सल पावरको ४० करोड र माउन्टेन इनर्जीको ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ओम मेयाश्री फर्माको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी सम्झदारी
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुष्मा कोइराला स्मृति अस्पताल, इन्टरप्लाष्ट नेपालबीच जलन र त्यसपछिका जटिलताका बिरामीको गुणस्तरीय उपचार तथा स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि त्रिपक्षीय सम्झदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिफारिस गरेका बिरामीलाई सुष्मा कोइराला स्मृति अस्पतालमा निःशुल्क उपचार प्रदान गरिनेछ । प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीलाई सैद्धान्तिक तथा व्यवहारिक तालिमसमेत दिइने छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. डबलबहादुर धामीले टेलिमेडिसिन, सर्जन आदानप्रदान, घुम्ती तालिमलगायत कार्यक्रमले कर्णालीका दुर्गम क्षेत्रका बासिन्दालाई जलन उपचारमा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरे । इन्टरप्लाष्ट, नेपालले प्राविधिक र आर्थिक सहयोगमार्फत यो साझेदारीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ । विशेषगरी सीमान्तकृत र विपन्न समुदायलाई लक्षित गरी सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानका निमित्त उपकुलपति धामीले बताए । सम्झदारीले जलन व्यवस्थापनसम्बन्धी तथ्याङ्क साझेदारी र अनुसन्धान परियोजनालाई समेत प्राथमिकता दिँदै अनुसन्धान र विकासमा संयुक्त सहकार्यको मार्ग सुनिश्चित गरेको छ । समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सुष्मा कोइराला स्मृति अस्पतालका मेडिकल डाइरेक्टर डा. सन्तोषविक्रम भण्डारी, प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रसिंह साउद, प्रतिष्ठानका निमित्त उपकुलपति डा धामी, निर्देशक डा. पुजनकुमार रोकाया, इन्टरप्लाष्टका उपाध्यक्ष डा. खाकिन्द्रबहादुर भण्डारी, शल्यचिकित्सा विभागका प्रमुख डा. निमरल थापालगायतको सहभागिता थियो ।