कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी सम्झदारी
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुष्मा कोइराला स्मृति अस्पताल, इन्टरप्लाष्ट नेपालबीच जलन र त्यसपछिका जटिलताका बिरामीको गुणस्तरीय उपचार तथा स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि त्रिपक्षीय सम्झदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिफारिस गरेका बिरामीलाई सुष्मा कोइराला स्मृति अस्पतालमा निःशुल्क उपचार प्रदान गरिनेछ । प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीलाई सैद्धान्तिक तथा व्यवहारिक तालिमसमेत दिइने छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. डबलबहादुर धामीले टेलिमेडिसिन, सर्जन आदानप्रदान, घुम्ती तालिमलगायत कार्यक्रमले कर्णालीका दुर्गम क्षेत्रका बासिन्दालाई जलन उपचारमा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरे । इन्टरप्लाष्ट, नेपालले प्राविधिक र आर्थिक सहयोगमार्फत यो साझेदारीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ । विशेषगरी सीमान्तकृत र विपन्न समुदायलाई लक्षित गरी सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानका निमित्त उपकुलपति धामीले बताए । सम्झदारीले जलन व्यवस्थापनसम्बन्धी तथ्याङ्क साझेदारी र अनुसन्धान परियोजनालाई समेत प्राथमिकता दिँदै अनुसन्धान र विकासमा संयुक्त सहकार्यको मार्ग सुनिश्चित गरेको छ । समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सुष्मा कोइराला स्मृति अस्पतालका मेडिकल डाइरेक्टर डा. सन्तोषविक्रम भण्डारी, प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रसिंह साउद, प्रतिष्ठानका निमित्त उपकुलपति डा धामी, निर्देशक डा. पुजनकुमार रोकाया, इन्टरप्लाष्टका उपाध्यक्ष डा. खाकिन्द्रबहादुर भण्डारी, शल्यचिकित्सा विभागका प्रमुख डा. निमरल थापालगायतको सहभागिता थियो ।
सिटिजन्स बैंकको सहयोगमा कोहलपुरमा शव दाह गृह निर्माण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित कोहलपुर नगरपालिका–११ मा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । कोहलपुरको दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन यस शव दाह गृहले स्थानीय बासिन्दालाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ, सुरक्षित र वातावरणमैत्री विकल्प प्रदान गर्ने लक्ष्य लिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक औपचारिक समारोहका बीच सहयोग हस्तान्तरण गरे । समारोहमा सम्बोधन गर्दै पोखरेलले सामाजिक हितका कार्यमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै, यस्ता कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । सिटिजन्स बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यसहित विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक रूपान्तरणमा योगदान पुर्याउने यस्ता कार्यलाई निरन्तरता दिने जनाएको छ ।
पतञ्जली जग्गा प्रकरणबारे गरिएको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
काठमाडौं । संसदीय समितिले पतञ्जली जग्गा प्रकरणबारे गरिएको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको छ । बिहीवार बसेको सार्वजनिक लेखा समितिको बैठकले पतञ्जली प्रकरणलाई लिएर गरेको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समिति सभापति ऋषिकेश पोखरेलले पतञ्जली जग्गा प्रकरणसँग जोडिएर सार्वजनिक लेखा समितिमा उजुरी आएको र मन्त्रालय र विभिन्न ठाउँहरूमा सोधपुछ गरी प्रतिवेदन बनाएकोमा बैठकले थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने निर्णय गरेको बताए । उनले भने, ‘पतञ्जली जग्गा प्रकरणसँग जोडिएर सार्वजनिक लेखा समितिमा उजुरी आएको थियो । मन्त्रालय र विभिन्न ठाउँहरूमा हामीले सोधपुछ गरिकन पठाएका थियौं । त्यसको अन्तिम फाइल बनाएका थियौं । त्यसलाई थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने निर्णय भएको छ ।’ बैठकले सार्वजनिक लेखा समितिमा आएका उजुरीहरूबारे अध्ययन गर्न गठित सात वटा उपसमितिको समय एक महिनाका लागि थप गर्ने निर्णय पनि गरेको छ । सभापति पोखरेलले भने, ‘लामो समयदेखि सातवटा उपसमिति निर्माण गरेर सार्वजनिक लेखा समितिमा आएका उजुरीहरूलाई सबैलाई समान समय आवश्यकता महसुस गरी, प्राथमिकता दिइ सम्पन्न गर्नेगरीको तयारी हामीले गरेका थियौं । त्यसको समय अवधि पुगेन भन्ने आयो । शीघ्र गर्ने र अलिखित हिसाबले एक महिनाभित्र सम्पन्न गर्नेगरी समय थप गरिएको छ ।’ सभापति पोखरेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबारे उपसमितिको प्रतिवेदनमा कसैको पनि अविश्वास नरहेको र अख्तियारमा थप अनुसन्धानका लागि पठाइसकेको जानकारी दिए ।
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायी उत्साहित
पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय विस्तारै चलायमान हुन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नेपाल हवाई खेलकुद संस्थाको सहकार्यमा प्याराग्लाइडिङको समय डेढ घण्टा थनुका साथै यसअघि हुँदै आएको खपौदीमा अवतरण गर्ने निर्णयले आशा जगाएको हो । पुरानै ठाउँमा अवतरण समय थप्ने निर्णयले पोखरालाई विश्वस्तरीय प्याराग्लाइडिङ गन्तव्यका रूपमा स्थापित गर्न सकिने अपेक्षा व्यवसायी र प्यारापाइलटले गरेका छन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सुरक्षाको कारण देखाउँदै सराङकोट र तोरीपानीबाट उडान हुने प्याराग्लाइडिङलाई मान्द्रेढुङ्गा स्थानान्तरण गरिएको थियोभने पामेमा अवरतरण हुँदै आएको थियो । सोही कारण प्याराग्लाइडिङ व्यवसाय स्थिरजस्तो बन्नुका साथै व्यवसायीलाई चुनौती थपेको थियो । अब भने सरागडकोट तोरीपानीको बाहाकोट उडान (टेक अफ) गरेर खपौदी, (इन्ड अफ लेक) मा पूर्ववत् स्थानमा अवतरण हुने निर्णय भएको नाका अध्यक्ष अनिल केसीले जानकारी दिए । 'यसअघि हामीमा प्याराग्लाइडिङ सञ्चालन चुनौतीपूर्ण र समस्यायुक्त थियो । अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराको आकाशको चमकता हराइसकेको थियो । व्यवसाय धान्न पनि मुस्किल थियोभने करिब एक सय ५० बढी प्यारापाइलट विस्थापित हुनुपरेको थियो । अब भने यो निर्णयले आशा जगाएको छ', उनले भने । उनका अनुसार बिहान ११ बजेदेखि साँझ ४ः३० बजेसम्म प्याराग्लाइडिङ सेवा सञ्चालन हुने भएको छ । योसँगै पर्यटक र पाइलटलाई फेवाताल र अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यको आनन्द लिन थप समय प्रदान गर्ने जनाउँदै नाका अध्यक्ष केसीले भने, 'यो समय विस्तारले उडान सङ्ख्या बढाउन र पर्यटकको अनुभवलाई अझ रोमाञ्चक बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।' पोखरा महानगरापालिका प्रमुख प्रमुख धनराज आचार्यले पोखरा भ्रमण वर्ष–२०२५ सञ्चालन भइरहेको सन्दर्भसँगै भएको यो निर्णयले पोखराको साहसिक गतिविधिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । 'सकारात्मक प्रयास भएको छ, यसले पुनः पोखराको पर्यटनमा गति थप्नेछ, ढिलै भए पनि व्यवसायीको माग सम्बोधन भएको छ', उनले भने, 'प्याराग्लाइडिङको समय विस्तारसँगै पुरानो स्थलमा अवतरणले साहसिक पर्यटकको मन जित्नेछ । पोखरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेछ ।' अध्यक्ष केसीले उनले आगामी दिनमा सोलो प्याराग्लाइडिङ सञ्चालन र अन्तरराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्ने योजनासमेत बनाइएको जानकारी दिए । पोखरा अन्तरराष्ट्रिय विमानस्थलका हवाई ट्राफिक नियन्त्रण प्रमुख योगेन्द्र कुँवरले दिगो पर्यटनका लागि क्यानको सहकार्यमा पुराना स्थलहरूमा अवतरण अनुमति दिइएको बताए । 'सुरक्षा पहिलो प्राथमिकता हो । सबै कम्पनी र पाइलटले कडा सुरक्षा मापदण्ड पालना गरी पर्यटकलाई सुरक्षित अनुभव प्रदान गर्नुपर्दछ', उनले भने । पोखरा भ्रमण वर्ष संयोजक गोपीबहादुर भट्टराईले पर्यटन वर्ष सफल पार्न पर्यटकीय गतिविधि बढाउनुका साथै चीन र भारतसँग पोखरालाई जोड्ने ‘कनेक्टिभिटी’को सुनिश्चिताको आवश्यक रहेको बताए । 'पोखराको सौन्दर्यकै रूपमा रहेको साहसिक पर्यटनको प्याराग्लाइडिङलाई अब कुनै हालतले विस्थापित हुन दिनुहुँदैन', उनले भने । भट्टराइले यसको विस्तार र प्रवर्द्धनका लागि थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वय, समर्थन तथा पर्यटन व्यवसायीको सक्रिय सहयोगले यो सम्भव हुने उनको भनाइ छ । प्याराग्लाइडिङलाई थप सुरक्षित बनाएर सुरक्षालाई प्राथमिकता दिँदै नाले मे २१, २०२५ मा पाइलटका लागि प्राविधिक तालिम सञ्चालन गरेको थियो । तालिममा हवाई क्षेत्रको सीमा, अनुशासन र सुरक्षा प्रोटोकलका बारेमा थप प्रशिक्षित गराइएको नाका महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार नाका प्राविधिक उपाध्यक्ष विजय गौतम, राष्ट्रिय खेलाडी विमल अधिकारी र प्रमुख प्रशिक्षक योगेशबहादुर भट्टराईले जिपिएस र आधुनिकपद विधिको प्रयोगबाट सुरक्षित र व्यवस्थित उडान सुनिश्चित गर्ने उपायबारे जानकारी दिएका थिए । जिपिएस र आधुनिक प्रविधिको प्रयोगले प्याराग्लाइडिङलाई थप सुरक्षित र व्यवस्थित बनाएको नाले जनाएको छ । समय, पूर्ववत् अवतरणस्थल र सुरक्षाका क्षेत्रमा गरिएको पहलले पोखराको प्याराग्लाइडिङले नयाँ उचाइ लिने अपेक्षा गरिएको नाका वरिष्ठ उपाध्यक्ष खेमराज आचार्यले बताए । 'प्राकृतिक सौन्दर्य, सुधारिएको नियमावली र महत्वाकाङ्क्षी पर्यटन योजनाको संयोजनले पोखरालाई सन् २०२५ र त्यसपछिका लागि साहसिक पर्यटकको अत्यावश्यक गन्तव्य बनाउने छ', उनले भने । उपाध्यक्ष आचार्यका अनुसार प्याराग्लाइडिङ व्यवसायमा करिब एक अर्ब लगानी छ भने ५९ व्यावसायिक कम्पनी छन् । चार सय जान ‘टेन्डम’ (दुई जना उड्न मिल्ने) पाइलट छन् । करिब एक सय ५० व्यवसायी विस्थापित भएको अवस्था रहेको बताउँदै उनले हाल दुई सय ५० ले काम गरिरहेका जानकारी दिए । पहिला दैनिक कम्तीमा पाँच सयदेखि बढीमा एक हजार पाँच सयसम्म उडान गर्न सफल हुँदै आएकामा स्थानान्तरणले उडानमा सीमित हुँदा व्यवसायी मर्कामा पर्दै आएका छन् । रासस
राष्ट्र बैंकका कार्यकारी निर्देशक उप्रेती एनसीएचएलको अध्यक्षमा नियुक्त
काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को सञ्चालक समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् । बिहीबार सम्पन्न औपचारिक कार्यक्रममा उप्रेतीले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । यसअघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा रहेका थिए । उप्रेतीले राष्ट्र बैंकको विभिन्न विभागमा २७ वर्षभन्दा बढी समय सेवा दिएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिए डिग्री हासिल गरेका उप्रेती हाल राष्ट्र बैंकको गैर-बैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको रूपमा कार्यरत छन् ।
राज्यमन्त्री चौधरीको घरबाट सुनचाँदीका गहनासहित नगद ६५ हजार रुपैयाँ चोरी
काठमाडौं । सुदूरपश्चिम प्रदेशका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको कैलालीस्थित घरमा चोरी भएको छ । लम्किचुहा नगरपालिका- ४ बलियामा रहेको निजी निवासमा चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सुनको औंठी, सिक्री, चाँदीका गहनासहित ६५ हजार रुपैयाँ नगद चोरी भएको परिवारले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरिसकेको जनाएको छ । प्रहरीका अनुसार उक्त घर विगत तीन महिनादेखि बन्द थियो । मन्त्रीको दिदी नाता पर्नेले घरमा चोरी भएको जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियाे । प्रहरीका अनुसार घरको दोस्रो तलाकाे ग्रिल फाेडेर चाेरी भएको हो ।
संकटमा पोर्शे : सीईओ ब्लुमलाई दुई पदमध्ये एक छोड्न लगानीकर्ताको दबाब
काठमाडौं । पोर्शे र पोर्शेको अभिभावक कम्पनी फक्सवागनको पनि नेतृत्व सम्हालिरहेका ओलिभर ब्लुममाथि लगानीकर्ताहरूले दुईमध्ये एक पद त्याग्नुपर्ने तीव्र दबाब दिएका छन् । चीनमा कमजोर बिक्री र अमेरिकामा ट्यारिफसम्बन्धी समस्याका कारण पोर्शेले आफ्नो आम्दानीको पूर्वानुमान घटाउन बाध्य भएपछि यस्तो माग उठेको हो । गत महिना पोर्शेले सन् २०२५ को पहिलो त्रैमासिकमा चीनमा बिक्री ४२ प्रतिशतले घटेको, अमेरिकी ट्यारिफका कारण कम्पनीको नाफा दर घटेको जनाएको थियो । बुधबार सम्पन्न वार्षिक सेयरधनी सभामा ब्लुम निराश लगानीकर्ताहरूको प्रश्नको सामना गर्दै थिए, जहाँ केहीले उनलाई दुबै कम्पनीको नेतृत्व गर्नु गलत निर्णय भएको भन्दै आलोचना गरे । 'यदि एउटै व्यक्तिले दुबै कम्पनी चलाउँछ भने स्वतन्त्र व्यवस्थापन सम्भव हुँदैन,' जर्मनीको डोइच बैंकअन्तर्गतको डीडब्ल्यूएसका हेन्ड्रिक श्मिटले भने । उनले थपे कि यो दोहोरो भूमिका पोर्शेको सेयर मूल्यमा छुट ल्याउने कारण बनिरहेको छ । ब्लुमले विगतमा भनेका थिए कि उनको यो भूमिका सफलताको सूत्र हो र यो सधैंका लागि रहने होइन । 'अब त बोर्डको कुनै एउटा पद त्याग्नुपर्छ,' डेका इन्भेस्टमेन्टका स्थायित्व प्रमुख इङ्गो स्पेइचले भने । २०२२ मा सेयर बजारमा प्रवेश गर्दा पोर्शेको मूल्यांकन फक्सवागनभन्दा बढी थियो, तर अहिले त्यसको लोकप्रियता घट्दै गएको छ र यसको सेयर मूल्य झण्डै ४५ प्रतिशतले घटेको छ । लगानीकर्ताहरूले चीन र अमेरिका जस्ता प्रमुख बजारमा पोर्शेको समस्या समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन् । 'पोर्शे अहिले चीन र अमेरिकाको समस्याबीच च्यापिएको अवस्थामा छ,' स्पेइचले भने, 'चीनमा समस्याको समाधानबारे कम्पनी मौन छ ।' डीडब्ल्यूएसका श्मिटले भने, 'पोर्शे आफ्ना उत्पादनहरूजस्तै हुनुपर्छ- छिटो, शक्तिशाली, तर सुरक्षित र आकर्षक ।' सेयरधनी सभामा बोल्दै ब्लुमले चुनौतीहरू स्वीकार गरे । 'गत वर्ष हामीले धेरै प्रतिकूल अवस्था भोग्यौं । अहिले हामी हिंसात्मक आँधीसँग जुधिरहेका छौं,' उनले भने, 'चिनियाँ बजार पूर्ण रूपमा ध्वस्त भएको छ ।' 'हामीलाई पूर्ण रूपमा थाहा छस् तपाईंहरू पोर्शेसँग अझ बढी अपेक्षा राख्नुहुन्छ। अवश्य। हामी पनि राख्छौं,' उनले थपे । यद्यपि लगानी कोषहरूले सेयरधनी सभामा मताधिकार प्रयोग गर्न सक्दैनन्, किनभने सेयर बजारमा मात्र गैर-मताधिकारप्राप्त प्राथमिक सेयरहरू कारोबार हुने गर्छन् । फक्सवागन र पोर्शे अटोमोबिल होल्डिङ जुन पोर्शे र पीएच परिवारको स्वामित्वमा छ, तिनीहरूले नियन्त्रण राखेका छन् । बीवाईडीको युरोपमा ईभी युद्ध सुरु, डल्फिन सर्फ जर्मनीमा सार्वजनिक ईभीमा घट्दो मागका कारण अब होन्डा पनि हाईब्रिडमा केन्द्रित हुने टेस्लाको रोबोट्याक्सी परीक्षण : मस्कले खोल्दैछन् भविष्यको ढोका !
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प, विद्यालयहरू बन्द
काठमाडौं । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको युएसजिएसले जनाएको छ । पर्यटकहरूमाझ लोकप्रिय क्षेत्र हालैका महिनाहरूमा धेरै कम्पनहरूले हल्लाएको छ, जसका कारण सान्टोरिनी र छिमेकी टापुहरूमा विद्यालयहरू अस्थायी रूपमा बन्द गर्नुपरेको छ । ग्रिक मुख्य भूमिको दक्षिणपूर्वमा साइक्लेड्स समूहको सान्टोरिनी, अमोर्गोस, आइओस र एनाफी टापुहरू बीच जनवरीको अन्त्यदेखि मुख्यतया कम परिमाणका हजारौँ भूकम्प रेकर्ड गरिएको छ । यो भूकम्पीय झुण्डले कुनै जनधनको हानि वा महत्त्वपूर्ण क्षति पुर्याएको छैन । अफ्रिकी र एनाटोलियन टेक्टोनिक प्लेटहरू मिल्ने ठाउँमा अवस्थित एजियन सागरमा प्रायः भूकम्पहरू आउने गर्छन् । तर विज्ञहरूका अनुसार यो क्षेत्रले सन् १९६४ मा रेकर्ड राख्न सुरु गरेदेखि यस्तो तीव्रताको घटना अनुभव गरेको थिएन । रासस