निफ्राले जेठ १८ गतेदेखि ५ अर्बको ऋणपत्र बिक्री गर्ने, ७ वर्षसम्म ६ प्रतिशत ब्याज दिने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले जेठ १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८÷८९’ बिक्री गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ५ अर्ब रुपैयाँको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँको २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये १ लाख कित्ता सामूहिक लगानी कोष र सर्वसाधारण लगानीकर्तालाई १९ लाख कित्ता बिक्री गरिनेछ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिनुपर्नेछ । साथै बैंकको ऋणपत्रमा लगानीकर्ताहरूरूे जेठ २१ गते भित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा असार १ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले सिआस्बा सेवामा सहभागी बंक तथा वित्तीय संस्थाबाट र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।
अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव पनि छैन भन्ने जस्ता नकारात्मक धारणा बनाउने गरेको बताइन् । नकारात्मक प्रचार गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै उनले यस्तो सोचले न समाज र न त देशकै विकास हुने बताइन् । यस्तो सोच देशभित्रका राजनीतिक पार्टी, नेपाली समाज र विदेशमा बस्ने नेपालीहरूमा समेत रहेकाले यस्तो प्रवृत्ति त्यागेर देश निर्माणका लागि सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा उनको भनाइ छ । ‘कुनै कुराको पनि राम्रो प्रस्तुति या अभिव्यक्ति देख्दिनँ । समाजमा, देशमा राम्रा काम पनि त भएका छन् नि तर तीनलाई राम्रो भनेको कतै सुनिँदैन । सबैलाई मिडियामा भाइरल नै हुनुपर्ने जस्तो छ, नराम्रो प्रचार गरेपछि चर्चामा आइन्छ भन्नेमात्र सबैको सोच देख्छु, यसरी देश बन्दैन,’ उनले भनिन् । मन्त्री डा राणाले गैर आवासीय नेपालीहरूलाई पनि एकताबद्ध भएर सकारात्मक सोचका साथ लाग्न आग्रह गरिन् । ‘संसारमा रहेका नेपाली डायस्पोरासँग धेरै ठूलो शक्ति छ । तपाईँहरू एकताबद्ध हुनुभयो भने आफ्ना अधिकारका लागि लड्न ठूलो तागत मिल्ने छ । त्यसैले मेरो आग्रह छ, सानातिना कुरामा नअल्झिनुहोस्, एउटै एनआरएनए बनाउन लाग्नुहोस्,’ उनले भनिन् । मन्त्री डा राणाले सर्वोच्च अदालतको परमादेशको पालना गरेर नै सरकारले हालै मात्र एनआरएनएको महाधिवेशन सम्पन्न गर्न सहजीकरण गरेको र त्यसमा सहमतिबाट नै नयाँ कार्यसमिति बनेको पनि स्पष्ट पारिन् । मन्त्री डा राणाले विदेशमा आर्जन गरेको सीप, ज्ञान र पुँजीलाई नेपालको विकासमा लगाउन संसारमा रहेका नेपालीहरूलाई आग्रह पनि गरिन् । आफू परराष्ट्रमन्त्री भएपछि विश्वमा रहेका नेपाली डायस्पोरालाई कन्सुलर तथा परराष्ट्रसँग सम्बन्धित अन्य आवश्यक सेवा पुगोस् भनेर नै मन्त्रालयमा यससम्बन्धी अलग्गै महाशाखा स्थापना गरी काम अघि बढाएको जानकारी दिँदै उनले यसका लागि सबै नेपालीको सहयोग आवश्यक रहेको पनि बताइन् । ‘हामीले नेपाली डायस्पोराका साथै आर्थिक कुटनीतिसम्बन्धी पनि अलग्गै महाशाखा स्थापना गरेर काम अघि बढाएका छौँ । यसका लागि संसारमा रहेका सबै नेपालीको महत्त्वपूर्ण भूमिका रहन्छ र नेपाल सरकारले पनि सोही प्रकारको सहयोगको अपेक्षा गरेको छ,’ उनले भनिन् ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा हुने, अधिकांश भागमा बदली
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ । महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।
साढे ४ करोडको खरबुजा भित्रियो
काठमाडौं । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ४ करोड ६१ लाख ३४ हजार रुपैयाँको खरबुजा भारतबाट आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाली बजारमा भित्रिएको छ । गर्मीमा शीतल प्रदान गर्ने स्वादिष्ट फलका रूपमा खरबुजा बजारमा लोकप्रिय छ । स्थानीयले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आए पनि भारतबाट आयातित खरबुजाको ठूलो मात्राले स्वदेशी उत्पादनलाई ओझेलमा पार्दै आएको छ । विगत १० महिनामा सबैभन्दा बढी चैतमा १ करोड ३३ लाख ७ हजार रुपैयाँ मूल्य बराबरको ५ लाख १० हजार २३० केजी खरबुजा भारतबाट आयात भएको छ । भन्सारले जनाएअनुसार चालु आवको पहिलो महिना साउनमा ६० लाख ५० हजार रुपैयाँ मूल्य बराबरको २ लाख ३० हजार ८५० केजी, भदौमा ४८ लाख ९८ हजार रुपैयाँ मूल्य बराबरको १ लाख ८६ हजार १४० केजी, असोजमा ३७ लाख २९ हजार रुपैयाँ मूल्य बराबरको १ लाख ४१ हजार ४५० केजी, कात्तिकमा २१ लाख ३७ हजार रुपैयाँ मूल्य बराबरको ८१ हजार २४० केजी, मङ्सिरमा १४ लाख ६६ हजार रुपैयाँ मूल्य बराबरको ५५ हजार ७८० केजी र पुसमा १२ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको ४७ हजार २६० केजी खरबुजा भारतबाट काँकडभिट्टा हुँदै नेपाली बजारमा भित्रिएको छ । त्यसैगरी, माघमा २२ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको ८५ हजार ७१० केजी, फागुनमा ४४ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको १ लाख ७३ हजार ७८९ केजी, चैतमा १ करोड ३३ लाख ७ हजार रुपैयाँ मूल्य बराबरको ५ लाख १० हजार २३० केजी र वैशाखमा ६५ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको २ लाख ५२ हजार ६५० केजी खरबुजा आयात भएको पाइएको छ । विगत केही वर्षदेखि झापामा व्यावसायिक खरबुजाखेती हुने गरेको छ । तर, नेपाली उत्पादनले भारतबाट आयातित खरबुजासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर बिक्रीमा समस्या भइरहेको मेचीनगर–१५ स्थित नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक लीला खनालले बताए । खनालले साझेदारहरूसँग मिलेर भाडामा लिएको १३ बिघा जग्गामा खरबुजाखेती गर्दै आएका छन् । गत वर्ष उक्त फार्ममा ३५० मेट्रिक टन खरबुजा उत्पादन भएको थियो ।
बैतडीमा २ पटक गयो भूकम्प, क्षतिको विवरण आउन बाँकी
काठमाडौं । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम केन्द्र विन्दु भएर आज बिहान १ः४८ बजे ५.१ र २ बजे ३.७ रेक्टर स्केलको भूकम्प भएको हो । लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।
कुलिङ पिरियडले हंगामा : राजनीतिक भेटघाटमा कर्मचारी, अवकास हुँदा अपमान गरेको आरोप
काठमाडौं । निजामती सेवा विधेयकमा राखिएको कुलिङ पिरियडकाे विषयले अहिले सामाजिक सञ्जाल तातेको छ । विधेयकमा कुलिङ पिरियड राख्न नहुने माग गर्दै संघीय संसद सचिवालयका महासचिवसहितको टोलीले राष्ट्रिय सभा अध्यक्षसँग बिहीबार भेटघाट गरेसँगै सामाजिक सञ्जाल तातेको हो । टोलीले अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटघाट गरी निजामती विधेयबाट कुलिङ पिरियड हटाउन आग्रह गरेका छन् । निजामती कर्मचारी रिटायर्ट भएपछि दुई वर्षसम्म कुनै सरकारी वा संवैधानिक निकायमा नियुक्ति हुन नपाउने विषयले रिटायर्ड हुने बेलामा वा भइसकेपछि डिस्क्वालिफाईड गराएर रिटायर्ड गराउन उपयुक्त नहुने उनीहरूको भनाइ छ । महासचिव पद्यप्रसाद पाण्डेयले नियुक्ति गर्ने कि नगर्ने भन्ने कुरा सम्बन्धित निकाय, सरकारले आफै गर्नसक्ने भएकाले रिटायर्ट हुँदै गर्दा कर्मचारीको अपमान गर्न नहुने बताए । कुलिङ पिरियड राख्नु भनेको आफैमा संवैधानिक विषय नभएको र कुन संवैधानिक निकायमा कुन पदाधिकारी वा कस्तो योग्यता भएको व्यक्ति नियुक्ति गर्नुपर्छ भन्ने कुरा संविधान आफैले बोलेको उनको दावी छ । कुलिङ पिरियडको बारेमा कर्मचारीको विरोध नरहेको भन्दै राख्ने नै भए संविधानमा वा संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धी सेवा शर्त सम्बन्धी ऐनमा राख्नुपर्ने प्रस्ताव उनको छ । जुन पदमा नियुक्ति गरिने हो त्यही सम्बन्धी कानुनमा नराख्ने हो भने संविधान विपरीत हुने उनले बताए । महासचिव पाण्डेयले अहिलेको कुलिङ पिरियडको कुरा समानताको हक विपरीत रहेको जिकिरसमेत गरे । यता प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले फ्रेस हुनका लागि कुलिङ पिरियडको व्यवस्था राखिएको बताएका छन् । ‘कुलिङ पिरियड भारत, बंगलादेश, अमेरिकामा पनि छ । हामीले कोही कर्मचारीलाई अविश्वास गरेका होइनौं । उहाँहरू ३० वर्षसम्म सेवा गर्नुभएको छ, त्यसपछि दुई वर्ष रिचार्ज गर्नुहोस्, फ्रेस हुनूस् भनेको हो,’ उनले भने । कुलिङ पिरियडको विषयमा मुख्यसचिव लगायतका सचिवहरूको चासो अस्वाभाविक रहेका उनी बताउँछन् । ‘निजामती विधेयक भनेको कर्मचारीको संविधान हो । अब यो विधेयक बनाउने काम संवैधानिक असंवैधानिक के हो भन्ने जिम्मा तपाईंको र मेरो होइन । त्यसको अर्कै निकाय छ । हामीले एउटा निर्णय गरिसकेका छौं, त्यो पनि सर्वसम्मत,’ उनले भने । सभापति खतिवडाले ‘कुलिङ पिरियड’को प्रावधानबाट समिति पछि नहट्ने पनि स्पष्ट पारेका छन् । लामो छलफल र विज्ञहरूसँगको परामर्शपछि विधेयक पारित भएको उनको भनाइ छ । अहिले नै त्यसमा रहेको कुलिङ पिरियडको प्रावधानबाट पछि हट्न वा संशोधन गर्न नसकिने उनले स्पष्ट पारे ।
गभर्नर पौडेलले बैंकर्सहरूसँग भने- अहिलेको चुनौती समाधान गर्न एकजुट हुनुपर्छ
काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले बिहीबार नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेका छन् । सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरे। नवनियुक्त गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो । गभर्नर सिफारिस समितिले पौडेलसँगै राष्ट्र बैंककी कामु गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकले सिफारिसको एक नम्बरमा रहेका पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पौडेल २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।
अनुमतिपत्र नलिई इन्टरनेट सेवा सञ्चालन नगर्न/नगराउन दूरसञ्चार प्राधिकरणको आग्रह
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ। प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो । प्राधिकरणबाट अनुमति प्राप्त नगरी इमेल इन्टरनेट सेवा सञ्चालन गरिरहेको र भइरहेको पाइएमा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख गरेको छ । प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनी रूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्न समेत अनुरोध गरेको छ ।