सेयर बजारमा सामान्य गिरावट, ७ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अंकले घटेर २६७९ बिन्दुमा झरेको छ । आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार लघुवित्त समूह २.३२ र व्यापार समूह ०.१३ प्रतिशतले बढेको छ ने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.६६, विकास बैंक १.४६, वित्त ०.९९, होटल तथा पर्यटन १.७५ र जलविद्युत् ०.३६ प्रतिशतले घटेको छ । त्यस्तै, लगानी समूह १.०३, जीवन बिमा ०.३३, उत्पादन तथा प्रशोधन ०.०३, म्युचुअल फण्ड २.९६, निर्जीवन बिमा ०.१० र अन्य समूह ०.४५ प्रतिशतले घटेको छ । आइतबार ३१४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ७१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, युनिभर्सल पावर कम्पनीको ३० करोड, न्यादी गुप्रको २९ करोड, युनाइटेड मोदीको २८ करोड र हिमालयन पावरको २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ओम मेगाश्री फर्माको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
डा. रिजालको गीत ‘मेरो मृत्युपछि’ सार्वजनिक
काठमाडौं । स्त्रीरोग तथा निसन्तान विशेषज्ञ डा. भोला रिजालको अङ्गदान सम्बन्धी सन्देशमूलक गीत ‘मेरो मृत्युपछि’ सार्वजनिक भएको छ । जसमा न्यूह बज्राचार्यले सङ्गीत छ भने गायक प्रवीण बेडवालले स्वर रहको छ । गीतको सङ्गीत संयोजन गोपाल रसाइलीले गरेका छन् । भिडियोमा डा. रिजाल आफै र डा. भगवान कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा. रिता गुरुङलगायतले पनि अभिनय गरेका छन् । शनिबार एक कार्यक्रम गरी यो गीत सार्वजनिक गरिएको हो । डा. रिजालले मृत्यु पछि आफ्नो अंग अरुलाई दान गरे सबैभन्दा पुण्य मिल्ने बताए । उनले यो गीतले अङ्ग प्रत्यारोपणका क्षेत्रमा ठुलो सहयोग हुने बताए । गीतको भिडियो डा. रिजालले आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् ।
मस्तिष्क मृत्यु भएका एकै व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण
काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएको डोनरबाट एउटै बिरामीमा मिर्गौला र कलेजो प्रत्यारोपण गरेको छ । सडक दुर्घटनामा परी घाइते भएका धादिङका १८ वर्षका एक युवाको काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार क्रममा मस्तिष्क मृत्यु भएपछि भएको थियो । परिवारले अङ्गदान गर्न सहमति जनाएपछि उनको कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको हो । एक पुरुषलाई यी दुवै अङ्ग एकैसाथ प्रत्यारोपण गरिएको छ भने अर्का ४२ वर्षीय महिलामा मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । यो नेपालमा पहिलो पटक एकै व्यक्तिबाट दुई वटा महत्त्वपूर्ण अङ्ग (मिर्गौला र कलेजो) लिएर प्रत्यारोपण गरिएको छ । नौ दिनअघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले यो प्रत्यारोपण नेपाली चिकित्सकहरूको ऐतिहासिक उपलब्धि भएको बताए । प्रत्यारोपण गरिएका दुवै बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको र चाँडै डिस्चार्ज गरिने जनाइएको छ । प्रत्यारोपणमा कलेजतर्फ डा. रोशन घिमिरे र डा. प्रविण महर्जनले साथ दिएका थिए यस्तै मिर्गौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा. रूपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारीले सहयोग गरेका थिए । त्यस्तै प्रत्यारोपण टोलीमा डा. विकास खड्का नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्यलगायत संलग्न थिए ।
अलिशा राईको नयाँ रोजाइ : ओमोडा ई-फाइभ
काठमाडौं । चर्चित अभिनेत्री तथा उद्यमी अलिशा राईले ‘ओमोडा ई–फाइभ लक्जरी भेरियन्ट’ आफ्नो नयाँ गाडीको रूपमा रोजेकी छिन् । विद्युतीय सवारीको यात्रामा पहिलो पाइला चालेकी राईले स्टाइलिस र जीवनशैलीसँग मेल खाने यो मोडेल छनोट गरेकी हुन् । ‘लुट २’ मार्फत चर्चामा आएकी र 'राई भाषाको फिल्म बिनायो' मा मन जितेकी अलिशाको यो छनोट नेपाली सेलिब्रेटीहरूमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दो क्रममा देखिएको प्रमाण हो । ओमोडा ई-फाइभ लक्जरी र डिलक्स गरी दुई संस्करणमा उपलब्ध छ । एक पटक चार्ज गर्दा ४३० किलोमिटरसम्म यात्रा गर्न सक्ने यस गाडीले ० देखि १०० किमि प्रतिघण्टा ७.६ सेकेन्डमा पुग्न सक्छ भने अधिकतम गति १७२ किमि प्रतिघण्टा रहेको छ । यसमा समावेश प्रविधि, सुरक्षाका अत्याधुनिक फिचरहरू र आकर्षक डिजाइनका कारण ओमोडा ई-फाइभ अहिलेका स्मार्ट र सचेत ग्राहकहरूका लागि उपयुक्त विकल्प बन्दै गएको कम्पनीले जनाएको छ । नेपालमा ओमोडा जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले इच्छुक ग्राहकहरूलाई नजिकको शोरूममा आएर परीक्षण ड्राइभ लिन आमन्त्रण गरेको छ ।
ग्वार्को फ्लाइओभर निर्माण अन्तिम चरणमा, जेठ मसान्तभित्र सञ्चालनमा आउने (तस्बिरहरू)
काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले जेठ १५ भित्रै काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ । आयोजनाले फ्लाइओभर जेठ मसान्तभित्र सवारीसाधन चलाउन मिल्ने गरी काम भइरहेको जानकारी दिएको छ । यसै क्रममा आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले फ्लाइओभरको स्थलगत निरीक्षण गरेका छन् । उनले कामको प्रगति र गुणस्तरबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ । फ्लाइओभर सञ्चालनमा आएपछि ललितपुरको ग्वार्को क्षेत्रमा देखिएको ट्राफिक जाम न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत
काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । जेनेभामा जारी संगठनको ७८ औं महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो । अब नेपाल तीन वर्ष संगठनको कार्यकारी समितिमा रहनेछ । निर्वाचित भएलगत्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यो नेपालका लागि स्वास्थ्य सेवा सुधारमा आफ्ना असल स्वास्थ्य अभ्यासको प्रसार र विश्वका असल अभ्यासको अनुकरणको ठूलो अवसर भएको उल्लेख गरेका छन् । यो जिम्मेवारीले नेपाली श्रमिकको स्वास्थ्य रक्षाका मुद्दामा विश्वव्यापी समर्थन जुटाउन योगदान पुग्ने उनको विश्वास छ । नेपालले आगामी वर्ष आप्रवासी श्रमिकको स्वास्थ्यका लागि रोजगारदातालाई जिम्मेवार बनाउन संकल्प प्रस्ताव लैजाने तयारी गरेको मन्त्री पौडेलले बताए । यसले नेपाली श्रमिक तथा विश्वभरका श्रमिकको स्वास्थ्यका पक्षमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । मन्त्री पौडेलले यसका लागि सबै नेपालीलाई बधाई समेत दिएका छन् ।
सम्झौताअनुसार काम नगर्ने छुट कसैलाई छैन: उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालय मातहत रहेका विभाग तथा संस्थानहरूलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयले आयोजना गरेको ‘सार्वजनिक संस्थानहरूको सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उनले मन्त्रालय मातहत रहेका विभाग र संस्थानहरूले आर्थिक वर्षको सुरुमा गरेका सम्झौताबमोजिम काम सम्पन्न गर्नुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले प्रधानमन्त्रीसँग आफूले र आफूसँग सचिवहरूले, सचिवले महाशाखा, विभाग तथा संस्थानहरूसँग गरेका सम्झौताको सतप्रतिशत नतिजा दिनुपर्नुपर्ने आवश्यकता औँल्याए। कतिपय निकायले नीतिगत समस्या वा अन्य बहाना देखाउँदै काममा ढिलासुस्ती गर्ने गरेकाले अब ती बहाना स्वीकार्य नहुने उनको भनाइ छ। मन्त्री भण्डारीले भने, ‘हामीले आर्थिक वर्षको सुरुआतमा जे छलफल गर्यौं, त्यसको आधारमा गर्न सकिने कामहरूको मात्रै सम्झौता गरेका छौं । तीमध्ये कतिपय कामहरू सम्पन्न पनि भएका छन् तर सम्झौताअनुरुप सन्तोषजनक उपलब्धि हासिल भएका छैनन् । कतिपय काम अधुरा छन्, ती समयमा सम्पन्न पूरा गरेर देखाउनु छ, त्यसमा असफल हुने छुट कसैलाई छैन ।’ उनले मन्त्रालय मातहत रहेका सबै निकायलाई आजका मितिदेखि कामको गति बढाउन निर्देशन समेत दिए । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सबै निकायसँग कानुन, जनशक्ति र संरचनाको पर्याप्तता भएको अवस्थामा समेत काम सम्पन्न गर्न नसक्नु दुःखद् विषय भएको उल्लेख गरे । उनले भने, ‘कर्मचारीहरूलाई आवश्यक पर्ने सबै सुविधा हामीसँग हुँदाहुँदै पनि कहिलेकाहीँ जोखिम लिन नसक्ने, समन्वय गर्न नसक्नेलगायत कारणले कामले गति लिन सक्दैन । समस्याहरू केही भए केके छन्, यसै अन्तरक्रियामा खुलेर राखौं र समाधानसहित परिणाममुखी काममा लागौं ।’ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख छविचन्द्र पराजुलीले निर्देशित कामहरू पूरा गर्ने जिम्मेवारीका साथ कार्यशैली सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा मन्त्रालयका सबै महाशाखा प्रमुख, मातहत संस्थानका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थितिमा चालु आवको सुरुवातमा लिइएका लक्ष्य र त्यसको उपलब्धिका विषयमा छलफल भएको थियो ।
प्रभु बैंक र इला कम्फर्ट होटलबीच छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र बागलुङ नगरपालिका-२, आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका कर्मचारी र ग्राहक लक्षित उक्त सम्झौतामार्फत होटलका विभिन्न सेवामा विशेष छुट प्रदान गरिनेछ । जेठ १२ गते सम्पन्न कार्यक्रममा होटलका तर्फबाट महाप्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत राजु रानाबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट र क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यममार्फत भुक्तानी गर्दा होटलको आवास सेवामा १५ प्रतिशत छुट र खानपिन तथा मनोरञ्जन सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । इला कम्फर्ट होटल एण्ड रिसोर्ट बागलुङको प्रमुख पर्यटकीय केन्द्र नजिकै अवस्थित छ, जहाँ कालिका मन्दिर, पञ्चकोट, शालिग्राम संग्रहालय लगायतका गन्तव्यहरू अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । यस सम्झौताले प्रभु बैंकका ग्राहकहरूलाई सेवा सुविधामा प्रत्यक्ष लाभ पुग्नुका साथै बागलुङको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।