दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर
काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएपछि विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसहित आठ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख रामहरि शर्माका अनुसार, काठमाडौं जिल्ला अदालतमा दुर्गा प्रसाईं, हरिहरि चौलागाईं, सरोज गौतम (तारा राजावादी), शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध मुद्दा दायर गरिएको हो । तीनकुनेमा भएको प्रदर्शनका क्रममा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । सोही घटनामा संलग्न आरोपमा उनीहरूलाई प्रतिवादी बनाइएको हो । चैत १५ गते राजसंस्था पुनःस्थापनाको माग गर्दै आयोजना गरिएको प्रदर्शनको नेतृत्व दुर्गा प्रसाईंले गरेका थिए, जुन समयक्रममा हिंसात्मक बनेको थियो ।
सिटिजन्स बैंक र लोमस डिजिटलबीच छुट सम्बन्धी समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र उत्तरढोका, काठमाडौंस्थित लोमस डिजिटलबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । यस सम्झौतापछि सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले हुइरपुल प्रोडक्ट्स र किचेन एड प्रोडक्ट्स खरिदमा आकर्षक छुट प्राप्त गर्नेछन् । बैंकले यो सहकार्य डिजिटल कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले गरेको हो । यसमार्फत ग्राहकहरू नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ आकर्षित हुने विश्वास बैंकले व्यक्त गरेको छ । सिटिजन्स बैंकले डिजिटल बैंकिङ प्रयोग विस्तार गर्न समय–समयमा ग्राहक लक्षित छुट तथा सेवा सुविधाहरू सञ्चालन गर्दै आएको छ । छुट र अफरसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा हेर्न सकिनेछ ।
जोमसोममा देशकै अग्लो ईभी चार्जिङ स्टेसन स्थापना, एमएडब्लूको नयाँ कीर्तिमान
काठमाडौं । एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको ईभी (विद्युतीय सवारी साधन) पूर्वाधार विकासमा नयाँ कीर्तिमान राख्दै जोमसोममा देशकै सबैभन्दा उच्च स्थानमा रहेको सीसीएस२ चार्जिङ स्टेशन स्थापना गरेको छ । कम्पनीले उक्त चार्जिङ स्टेसनको औपचारिक उद्घाटन गर्दै यो उपलब्धि केवल इन्जिनियरिङ सफलता मात्र नभई, दिगो परिवहन प्रणालीको दिशामा लिएको ऐतिहासिक कदम भएको जनाएको छ । जोमसोमजस्तो दुर्गम भौगोलिक क्षेत्रसम्म ईभी चार्जिङ सुविधा पुगेपछि अब विद्युतीय सवारी प्रयोगकर्ताहरूले सुरक्षित र भरपर्दो यात्राको अनुभव गर्न सक्नेछन् । एमएडब्लू वृद्धिले हालसम्म नेपालभर ११६ स्थानमा रणनीतिक रूपमा सीसीएस२ चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ । यो विस्तारले न केवल शहरी क्षेत्रलाई समेटेको छ, तर जोमसोमजस्ता कठिन र पर्यटकीय क्षेत्रमा पनि पहुँच पुर्याएको छ । कम्पनीका अनुसार जोमसोम चार्जिङ स्टेशनले केवल ईभी पूर्वाधार सुदृढीकरणमा मात्र नभई, वातावरणमैत्री र दिगो पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान दिनेछ । पर्यावरणप्रेमी यात्रुहरूका लागि यो स्टेशन नयाँ आशा र सहजताको प्रतीक बन्ने विश्वास लिइएको छ । 'हामी जहाँसुकै, जोकोहीका लागि सफा, सुरक्षित र भरपर्दो यातायात सम्भव बनाउने दिशामा काम गरिरहेका छौँ,' कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यो उपलब्धिले नवप्रवर्तन र प्रतिबद्धताको उत्कृष्ट मिसाल प्रस्तुत गर्दै सरकार, उपभोक्ता र निजी क्षेत्रबीचको विश्वासलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
विदेशीमैत्री हार्वर्ड अमेरिकी पैसामा चलेको विश्वविद्यालय हो : डोनाल्ड ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार हार्वर्डमा विदेशी विद्यार्थीहरूलाई रोक्ने आफ्नो प्रशासनको कदमको रक्षा गरेका छन् । हार्वर्डमा विदेशी विद्यार्थीमाथिको प्रतिबन्धलाई एक न्यायाधीशले निलम्बन गरेका थिए । विश्वविद्यालयले ट्रम्प प्रशासनको उक्त कार्यलाई गैरकानूनी भनेको थियो । 'हार्वर्ड किन भन्दैन कि उनीहरूका करिब ३१ प्रतिशत विद्यार्थी विदेशी भूमिबाट आएका छन् र अझै पनि ती देशहरू, केही संयुक्त राज्य अमेरिकाका लागि बिल्कुलै मैत्रीपूर्ण छैनन्, उनीहरूको विद्यार्थीको शिक्षाका लागि केही तिर्दैनन्, न त तिनीहरू कहिल्यै इच्छुक छन्', ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरे, 'हामी ती विदेशी विद्यार्थीहरू को हुन् भनेर जान्न चाहन्छौँ, यो एउटा उचित अनुरोध हो किनभने हामीले हार्वर्डलाई अर्बौं डलर दिन्छौँ, तर हार्वर्ड ठ्याक्कै खुलासा गर्न इच्छुक छैन ।' गृहमन्त्री क्रिस्टी नोएमले बिहीबार हजारौँ विद्यार्थीको भविष्य र उनीहरूले प्रदान गर्ने आकर्षक आय प्रवाहलाई शङ्कामा पार्दै विदेशी नागरिकहरू भर्ना गर्ने हार्वर्डको क्षमतालाई खारेज गरे । उनले गत महिना भिसा धारकहरूको ‘अवैध र हिंसात्मक गतिविधिहरू’ को रेकर्ड नदेखेसम्म विद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोक्ने धम्की दिएका थिए । तर विश्वविद्यालयले ‘सरकारको मनमानी, लापरवाह, गैरकानूनी र असंवैधानिक कार्यलाई रोक्न’ मुद्दा दायर गरेपछि न्यायाधीशले तुरुन्तै यस कदमलाई निलम्बन गरिदिए । ह्वाइट हाउसले अमेरिकी विश्वविद्यालयहरूमाथि धेरै मोर्चामा कडाइ गरिरहेको छ, जसलाई प्रशासनले भनेअनुसार अनियन्त्रित यहुदी विरोधी भावना र अल्पसङ्ख्यकहरूको ऐतिहासिक उत्पीडनलाई सम्बोधन गर्ने उद्देश्यले बनाइएका विविधता कार्यक्रमहरूलाई उल्ट्याउने आवश्यकताको प्रतिक्रियाका रूपमा उचित ठहराइएको छ । ट्रम्प प्रशासनले प्यालेस्टिनी लडाकू समूह हमासलाई समर्थन गरेको आरोप लगाउँदै गाजामा युद्धको विरोधमा संलग्न विदेशी विद्यार्थीहरूलाई भिसा रद्द गर्न र निर्वासन गर्न पनि कदम चालेको छ । हार्वर्डमा सरकारले नौ अर्ब डलरको कोषलाई समीक्षामा राख्ने धम्की दिएको छ, त्यसपछि दुई अर्ब २० करोड डलरको अनुदानको पहिलो किस्ता र छ करोड डलरको आधिकारिक सम्झौताहरू स्थगित गरेको छ । यसले हार्वर्ड मेडिकल स्कूलका एक अनुसन्धानकर्तालाई निर्वासनका लागि पनि लक्षित गरेको छ । विदेशी नागरिकहरूको हानि (विश्वविद्यालयको विद्यार्थी सङ्ख्याको एक चौथाईभन्दा बढी) हार्वर्डका लागि महँगो साबित हुन सक्छ । हार्वर्डले ट्युसनमा एक वर्षमा हजारौँ हजार डलर शुल्क लिन्छ । हार्वर्ड सन् २०२४ मा ५३ अर्ब २० करोड डलरको सम्पत्ति भएको अमेरिकाको सबैभन्दा धनी विश्वविद्यालय हो । रासस
राजावादीको आन्दोलनका दिन काठमाडौं नियन्त्रणमा लिन एमाले कार्यकर्तालाई ओलीको निर्देशन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूले आन्दोलन गर्ने घोषणा गरेको जेठ १५ गते राजधानी काठमाडौंलाई एमाले कार्यकर्ताले नियन्त्रणमा लिनुपर्ने बताएका छन् । उनले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं 'एमालेको हातमा' हुनुपर्ने भन्दै कार्यकर्तालाई आजैदेखि तयारी थाल्न निर्देशन दिएका हुन् । आइतबार ललितपुरमा नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको भेलामा सम्बोधन गर्दै ओलीले कार्यकर्तालाई पार्टीको निर्देशन नपर्खी अग्रिम तयारी गर्न आह्वान गरे । उनले राजावादीहरूलाई 'खाओवादी' को संज्ञा दिँदै भने, 'यी तथाकथित राजावादी साजावादी केही होइनन्, यी खाओवादी हुन् ।' उनले 'हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो' भन्ने नारा लगाउनेहरूमाथि टिप्पणी गर्दै नारायणहिटी दरबारमा राजा वीरेन्द्रको हत्या हुँदा किन बाँचिरहे भनेर प्रश्नसमेत गरे । ओलीले भने, '१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ। आन्दोलनमा प्रोटोकल हुँदैन, सबै एकै हौं, अगाडि बढौं ।' उनले पार्टीबाट थप निर्देशन आउने जनाउँदै कार्यकर्ताहरूलाई सतर्क र सक्रिय रहन आग्रह गरे ।
परिमार्जन भएका कानूनहरू कार्यान्वयनमा ढिला नगरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय परिमार्जन भएका कानूनहरू सही रुपमा कार्यान्वयनमा जान जरुरी रहेको बताएका छन् । नेपाल जग्गा तथा आवाश विकास संघको राजधानीमा भएको कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रमैत्री पछिल्लो समय धेरै कानूनहरू सरकारले ल्याएकाले त्यसको सही रुपमा कार्यान्वयन हुनुपर्ने बताएका हुन् । उनकाअनुसार निजी क्षेत्रले पटकपटक भनेपछि सरकारले निजी क्षेत्रमैत्री कानूनहरू ल्याएको छ, अब कानूनहरुको सही कार्यान्वयन गरेर मुलुकलाई अघि बढाउनुपर्छ । अध्यक्ष ढकालले भने–‘अहिले हाम्रा जुन कानूनहरु परिवर्तन भएका छन । वास्तवमा त्यो निजी क्षेत्रकै सुझावका आधारमा भएको हो । निजी क्षेत्रले पटकपटक कुरा गर्दा बल्ल सरकारले सम्बोधन गरेको छ । धेरै कुराहरु परिर्वतन भएका छन् । यो हुन सक्यो भने धेरै छिटो समयमा कामको परिणाम राम्रो आउनेछ ।’ अध्यक्ष ढकालले हदबन्दी, वर्गीकरण सम्बन्धि व्यवस्थाहरु साँधुरो भएका कारण समस्या निम्ताएको बताए । उहाँकाअनुसार उच्चस्तरीय आर्थिक सुधार आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सरकारले अक्षरशः पालना गर्नुपर्छ । निजी क्षेत्रले राजस्वदेखि रोजगारीसम्म बढाउन सक्ने भएकाले यो क्षेत्रको विकासका लागि सरकार उदार हुनुपर्नेमा उनले जोड दिए । विगतमा निजी क्षेत्रले दिएका सुझावहरु कार्यान्वयन नगरिएकै कारण मुुलुकले आर्थिक मन्दीसम्मको सामना गर्नुपरेको अध्यक्ष ढकालले जानकारी दिए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपकुमार मल्होत्राले घरजग्गा व्यवसाय नफस्टाएको कारणले अरु धेरै क्षेत्रमा समस्या आएको बताएका छन् । अध्यक्ष मल्होत्राले सबैभन्दा पहिला घरजग्गा, रियल स्टेट क्षेत्रको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने– ‘घरजग्गा व्यवसाय नफस्टाएको कारणले अरु धेरै क्षेत्रमा समस्या आएको छ । सबैभन्दा पहिला घरजग्गा, रियल स्टेट क्षेत्रको समस्यालाई समाधान गर्नुपर्छ । यसबारेमा हामीले सबैभन्दा बढि महत्व दिनुपर्छ । जबसम्म यो क्षेत्र फस्टाउँदैन अन्य उद्योग फस्टाउँदैन । घरजग्गा क्षेत्रलाई अघि बढाइनेछ ।’ अध्यक्ष मल्होत्राले देशभर जाने र घरजग्गासम्बन्धि कारोबार गर्ने सबैलाई त्यस कम्पनीको सदस्य बनाउने बताए । उनकाअनुसार पहिलेपहिले बैंकमा गएर खराब ऋणीको सम्पती लिन होड चल्ने गरेकोमा अहिले बैंकले नै त्यस्ता सम्पत्ति लिन उद्योगी व्यापारीलाई भनिरहेका छन । बजारमा डिमाण्ड कम भएका कारणले त्यस्तो प्रवृत्ति बढेको उनले जानकारी दिए । कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका नवनिवार्चित अध्यक्ष दीपक कुँवरले घरजग्गा व्यवसायलाई उद्योगका रुपमा विकास गर्न जरुरी रहेको बताए । अध्यक्ष कुँवरले घरजग्गा व्यवसायलाई लगाइएको अंकुशका कारणले सिमेन्ट, रड उद्योगसम्म अप्ठ्यारो स्थीतिमा पुगेको छ । अध्यक्ष कुँवरले भने– ‘अहिलेसम्म घरजग्गा व्यवसायलाई उद्योगका रुपमा विकास गर्न सकिएको छैन । घरजग्गा व्यवसायलाई लगाइएको अंकुशका कारणले सिमेन्ट, रड, रंग उद्योगसम्म अप्ठ्यारो स्थीतिमा पुगेको छ । आज व्यवसाय चलायमान नहुँदा मजदूरदेखि इन्जिनियरसम्म निराश बन्नुपरेको छ ।’ कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका निर्वतमान अध्यक्ष विष्णुप्रसाद घिमिरेले देशको प्रधानमन्त्री, अर्थमन्त्रीले समेत चासो देखाउँदा पनि घरजग्गा क्षेत्रमा परेको समस्या हट्न नसकेको बताए । उनका अनुसार स्थानीय तहलाई जग्गा वर्गीकरणको जिम्मा दिदाँ उनीहरुले काम गर्न सकेनन्, जसकारण घरजग्गा क्षेत्र तहसनहस भइरहेको छ । यसमा राज्यको ध्यान जान जरुरी रहेको निवर्तमान अध्यक्ष घिमिरेले जानकारी दिए ।
ग्वार्को फ्लाइओरभरको निर्माण कार्य चाँडै सकिँदै, शनिबारदेखि कालोपत्रे थालियो
काठमाडौं । राजधानीको रिङरोडमै निर्माणाधीन रहेको ग्वार्कोमा फ्लाईओभरको काम अन्तिम चरणमा पुगेको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको र शनिबारदेखि कालोपत्रेको काम भइरहेको छ । फ्लाईओभरमा अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको उनले बताए । प्रमुख बराहीले भने, ‘फ्लाईओभरमा कालोपत्रेको काम शनिबारदेखि सुरु गरेका छौं । हाल कोटेश्वरतर्फ कालोपत्रे भइरहेको छ । यही जेठ मसान्तसम्मा काम सकिनेछ । कालोपत्रेदेखि फ्लाईओभरमा ट्राफिक लाईट जडान, पेन्टिङ, रङरोगनलगायतको काम जारी छ । यो काम सकिएलगत्तै गाडी गुड्छ ।’ मौसमले साथ दियो भने काम चाँडै सकिने र गाडी गुड्ने उनको भनाइ छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आइतबार फ्लाईओभर निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै निर्माणका बाँकी कामहरु चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उनले भने, ‘अब काममा ढिलाई गरिनु हुँदैन । हामीले जतिसक्दो छिटो गाडी गुडाउनुपर्छ । मौसमले साथ दिए जेठभित्रमा गाडी चलाउनुपर्छ ।’ रिङरोडमा गुड्ने सवारी साधनहरू ट्राफिक जाममा रोकिनु नपर्ने गरी सरकारले ईपीसी मोडलमा २०७८ साल फागुन १२ गते निर्माण कम्पनी आशिष समानान्तर जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० फागुन ११ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, विभिन्न कारणले पटक–पटक म्याद थप हुँदै आएको छ । निर्माण कम्पनी जेभीले तोकिएको समयमा काम सम्पन्न नगरेपछि सरकारले २०८१ पुस ८ गतेसम्म म्याद थप गरेको थियो । निर्माण कार्य अन्तिम चरणमा पुगेकै बेला कंक्रिटको एउटा प्यानलको ज्वाइन्ट ग्याप बढेको देखिएपछि बनिसकेको पर्खाल भत्काउनुपरेको थियो । त्यसपछि पुनः म्याद थप गरी वैशाखसम्म पुर्याइएको थियो । सम्झौताअनुसार तोकिएको समयमा निर्माण सम्पन्न नगरेपछि कम्पनीलाई थप भार थपिँदै गएको छ । केन्द्रका अनुसार म्याद सकिएको पुस ८ गतेदेखि नै निर्माण कम्पनीले कुल बजेटको ०.०५ प्रतिशत हर्जाना तिर्दै काम गर्दै आएको छ । ‘फ्लाईओभर’ निर्माणको को कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ छ ।
जीतपुरमा कजारियाको नयाँ शोरूम : प्रिमियम टायल्स अब स्थानीय पहुँचमा
काठमाडौं । कजारियाले नेपालमा आफ्नो उपस्थिति थप सशक्त बनाउँदै जीतपुर, बारामा नयाँ अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । हिमाल ट्रेडिङ्गद्वारा सञ्चालित यस शोरूमले बढ्दो टायल मागलाई पूरा गर्न उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउने लक्ष्य कम्पनीले राखेको छ । शोरूमको उद्घाटन कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ प्रमुख अतिथि थिए । उनले रिबन काटेर उद्घाटन गर्दै शुभकामना व्यक्त गरे । कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका सेल्स प्रतिनिधिहरूको उपस्थिति पनि थियो । पूर्वमन्त्री श्रेष्ठले भने, 'जीतपुरमा कजारियाको शोरूम क्षेत्रीय विकासतर्फको एक महत्वपूर्ण पाइला हो। यसले स्थानीय उपभोक्तालाई विश्वस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउनेछ ।' बारा जिल्लाको महत्त्वपूर्ण क्षेत्र जीतपुरमा अवस्थित यस शोरूमले प्रिमियम टायल्सको विस्तृत संग्रह प्रस्तुत गर्दै निर्माण व्यवसायी, आर्किटेक्ट र घरधनीलाई सुविधा दिनेछ । कम्पनीका अनुसार नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरिसकेको कजारिया रमेश टाइल्स लिमिटेडले अत्याधुनिक प्रविधिबाट ३,००० भन्दा बढी डिजाइनका टायल्स उत्पादन गर्दै आइरहेको छ । नेपाली बजारको सजावटप्रतिको बढ्दो रुचिलाई ध्यानमा राख्दै कम्पनीले आफ्ना उत्पादनहरू सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित यो नयाँ शोरूम स्थापना गरेको हो ।